बढ्दो ‘केक कल्चर’को दुष्प्रभाव

केकमा खासै कुनै पोषक तत्व रहेको हुँदैन तर क्यालोरी भने अत्यधिक हुन्छ

डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)

केक काट्ने संस्कृति पश्चिमबाट नेपालमा भित्रिएको हो भन्ने विषय अधिकांशलाई थाहा छ। यो संस्कृति अहिले नेपाली संस्कृति कै रूपमा शरहदेखी गाउँगाउँ (जनस्तर) सम्म अभ्यास भइरहेको छ। दैनिक लाखौंको केकको व्यापार हुने गर्दछ। बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ। यो केक कल्चरको अभ्यास केहीले रहरले गरिरहेका छन् भने केहीले बाध्यतावश। घरघरमा  केक काट्ने संस्कृति फेसनका रूपमा अभ्यास भइरहेको छ। धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ।

सानो सानो बच्चाबुच्चीले पनि हिजो आज जन्मदिन आउनु ६ महिना पहिलेदेखि नै आफ्नो जन्मदिनमा केक काट्ने कुराको चर्चा गर्छन्। आफ्ना साथीभाइलाई ६ महिना पहिलेदेखि नै केक खाने निम्ता दिने गरेको पाइन्छ। ६ महिना पहिलेदेखि नै आमाबुबालाई केकको लागि बारम्बार सोध्ने गर्छन्। आखिर त्यस्तो के नशा हुन्छ केकमा?

जन्मदिनको अवसरमा केक काट्ने चलन अहिले हाम्रो समाजको स्वभाविक एवं स्वीकृत संस्कृति बनिसकेको छ। एक वर्षको बच्चादेखि सयवर्षका बुढाबुढीसम्म पनि खुसीखुसी केक काट्न तम्सिन्छन्। यो अभ्यासलाई स्वाभाविक ठान्छन् र सहर्ष स्वीकार गर्दछन्। केक काट्नुप्रति गौरव महसुस् गर्दछन्। केक काट्दै गरेको पलको तस्बिर एवं भिडियो सामाजिक सञ्जालमा सार्वजानिक गर्न हतारिन्छन्। केक कति स्वास्थकर हुन्छ ? केट काट्नुको औचित्य के ? यी विषयमा सोच्ने समय कसैसँग छैन।

केक काट्ने अभ्यास अब जन्मदिन र वैवाहिक वर्षगाठका अवसरहरूमा मात्र सीमित छैन। नेपाली समाजको चाडपर्व एवं सामाजिक अवसरहरूमा पनि केकले प्रवेश पाउन थालेको छ। फादर्स डे, मदर्स डे, बेबी सावर आदि अवसरहरूमा पनि हिजोआज केक सजाउने र काट्ने चलन व्यापक चलेको छ। केही सांस्कृतिक अभियन्ताहरूले केक काट्ने अभ्यासको विरोध गरेको पाइन्छ जसलाई हाम्रो समाजले असहजतापूर्वक लिने गरेको छ।

७ जुन, सन् २०२० मा रोमन एस्ट्रच र समूहले न्युट्रियेन्टस् नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गरेको अनुसन्धानका अनुसार पछिल्लो ३० वर्षमा विश्वव्यापी रूपमा मोटोपन बढ्नुका धेरै कारणहरू मध्ये पेस्ट्री केकको अधिक खानपिन पनि एक प्रमुख पक्ष रहेको बताएको छ। अत: मोटोपनको बढ्दो महामारीलाई घटाउन अन्य धेरै कुराहरूमा सुधार गर्नुसँगै केक जस्तो हाई क्यालोरी र लो न्युट्रिएन्टस् भएको प्रशोधित जंकफुडको खानापिन गर्ने जीवनशैली छोड्नुपर्छ भनिएको छ।

हिजो मात्र म एउटा कलेजको बिदाइ कार्यक्रममा सहभागी भएको थिएँ। अस्ति एकजना छिमेकी काकाको रिटायरमेन्ट पार्टीमा सहभागी हुने अवसर मिल्यो। ती दुवै ठाउँमा केक काट्ने कार्यक्रम राखिएको थियो। जन्मदिनको अवसरमा मात्र काटिने केक कल्चर अहिले जुनसुकै अवसरका लागि उपयोगी र उपयुक्त मानिन थालेको छ।  अझ भनौ द्रुत गतिमा विस्तार भइरहेको नवीन संस्कृति बन्दै गएको छ।  किन यसरी फैलिँदै गएको यो अभ्यास ? आखिर केक काट्नुमा के त्यस्तो जादु हुन्छ जसले आम मानिसहरूलाई यो अभ्यासप्रति यसरी आकर्षित गरिरहेको छ।

केक कति स्वस्थर ?

केक एउटा खाने परिकार हो, पाउरोटी जस्तै। पाउरोटीको परिस्कृत परिकारलाई नै केक भन्न सकिन्छ। केक बनाउने तरिकामा विश्वव्यापी रूपमा निकै विविधता पाइए पनि यसमा प्रयोग गरिने कच्चा पदार्थहरूमा भने धेरै समानता पाइन्छ। केकमा आधारभूत रूपमा मैदा (प्रशोधित पिठो), बटर, सेतो चिनी, सेतो नुन, तरल पदार्थ (प्राय: दूध, दही, आदि), अण्डा, बेकिङ सोडा आदि अनिवार्य रूपमा राखिने गरिन्छ। त्यस अतिरिक्त केकमा स्थिरता, स्वाद र आकर्षण आदिका लागि केकमा चकलेट र क्रिम पनि राख्ने गरिन्छ।

९८ प्रतिशत उपभोक्ताहरूले केक बजारबाट नै किन्ने गर्दछन्, मात्र २ प्रतिशतले घरमा बनाउने गर्दछन्। व्यावसायिक दृष्टिले बजारमा बेचिने केकमा अत्यधिक सेतो चिनी राखिएको हुन्छ। अधिक मात्रामा (बटर वा तेल वा डाल्डा) बोसो पदार्थ राखिएको हुन्छ। यी दुई चिजको अधिकताको कारण केक अत्यधिक क्यालोरीले भरिएको हुन्छ। त्यस अतिरिक्त केकलाई रङ्गिन एवं आकर्षक देखाउन अनेक खालका रङको समेत प्रयोग गरिएको हुन्छ जुन अस्वस्थकर हुन्छ।

७ जुन, सन् २०२० मा रोमन एस्ट्रच र समूहले न्युट्रियेन्टस् नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गरेको अनुसन्धानका अनुसार पछिल्लो ३० वर्षमा विश्वव्यापी रूपमा मोटोपन बढ्नुका धेरै कारणहरू मध्ये पेस्ट्री केकको अधिक खानपिन पनि एक प्रमुख पक्ष रहेको बताएको छ। अत: मोटोपनको बढ्दो महामारीलाई घटाउन अन्य धेरै कुराहरूमा सुधार गर्नुसँगै केक जस्तो हाई क्यालोरी र लो न्युट्रिएन्टस् भएको प्रशोधित जंकफुडको खानापिन गर्ने जीवनशैली छोड्नुपर्छ भनिएको छ।

केकमा विभिन्न खालको स्वाद (फ्लेवर) निकाल्न अनेक प्रकारका फलफुलको रस केक बनाउन तयार पारिएको पिठोमा मिसाइन्छ जसलाई स्वस्थकर मान्न सकिन्छ तर जब फलफूलको रस पिठोमा मिसाएर १५० डिग्री सेन्टीग्रेडसम्म पकाइन्छ त्यसपछि त्यो रसको प्राकृतिक स्वरूप बिग्रिएर जान्छ। फलत: त्यो पनि हानीकारक पदार्थ मै रूपान्तरण भइदिन्छ।

हाम्रो समुदायमा हरेकदिन कसै न कसैको जन्मदिन पर्छ र बच्चाहरू त्यस्ता अवसरमा सहभागी बनेर केक खाने गर्छन्। यसरी केक कै कारण आज धेरै बच्चाहरूमा सानै उमेरमा मोटोपनको समस्या आएको पाइन्छ। जसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याइरहेको छ। केकमा हुने अत्यधिक चिनी र उच्च क्यालोरीयुक्त खाद्यले बच्चाहरूको मानसिक क्षमतामा निकै ह्रास ल्याउँछ। स्मरणशक्तिमा कमी आउँछ। मानसिक शान्ति र एकाग्रता नाश हुन्छ।

बजारमा पाइने लेज, चिप्स (जंक फुड) आदि जस्तै केकमा खासै कुनै पोषक तत्व रहेको हुँदैन तर क्यालोरी भने अत्यधिक हुन्छ। केकलाई उच्च तापक्रममा तयार पारिने भएकाले त्यसको घटकमा हुने प्राकृतिक तत्व केही पनि बाँकी रहेको हुँदैन।

केकमा डेरी प्रडक्टस् बटर वा दूध वा दहीसँग अण्डा मिसाइन्छ जुन सर्वथा सैद्धान्तिक रूपमा सही होइन। दुवै खाद्य फरक प्रकृतिका हुन् र दुवैमा अधिक प्रोटिन हुन्छ। यसर्थ यी दुई चीजलाई मिसाउनुलाई एक तरिकाले विरूद्ध मान्न सकिन्छ। घटकहरूको गलत संयोगले बनेको केकले पाचन शक्तिलाई असन्तुलित गर्दछ। पेटको जठराग्निलाई मन्द पार्दछ। सही तरिकाले नपचेको तत्वहरू आन्द्रामा गएर टासिन्छ। फलत: अधिक केक सेवन गर्ने व्यक्तिमा स्वभाविक रूपमा कब्जियत उत्पन्न हुन्छ। पाचन प्रणली सम्बन्धी अनेक समस्याहरू उत्पन्न हुन्छन्।

सबै केक पूर्णतया हानिकारक हुन्छ भन्ने होइन तर निसन्देह बजारबाट किनेर ल्याइएका केकहरू भने हानिकारक हुन्छन्। शरीर र मन दुवैका लागि अस्वस्थकर हुन्छ। स्वस्थकर मानिने केकमा तुलनात्मक रूपमा कम हानिकारक तत्वहरू हुने मात्र हो। त्यहाँ पनि अस्वस्थकर तत्वहरूकै प्रधानता हुन्छ। समग्रमा केक मानव स्वास्थका लागि अहितकर हुन्छ। कहिलेकाँही मात्र त्यस्तो केक खानुले धेरै गडबडी नल्याउला तर बच्चाबुच्चीहरूलाई दैनिकजसो पर्ने जन्मदिन आदि अवसरहरूमा लानु र केक खुवाउने अभ्यास दीर्धकालीन स्वास्थ समस्याहरूको कारण बन्नसक्छ।

केक खाने संस्कृति नेपाली संस्कृति होइन। केक स्वास्थ्यको दृष्टिले स्वस्थकर हुँदैन। दैनिक रूपमा केक खाने अभ्यास गरियो भने यसले बच्चाहरूको स्वास्थमा गम्भीर खालका स्वास्थ्य समस्या ल्याउन सक्छ। केक कल्चर पैसाको मात्र नाश हो। यो कुनै पनि दृष्टिले हितकर छैन। यस विषयमा हरेक व्यक्ति समयमै सचेतहुनु जरूरी छ।

शांकेतिक तस्बिरः अभिनेतृ शिल्पा पोखरेल आफ्नो जन्मदिन मनाउँदै।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap