खाना आफैंमा कुनै धर्म होइन। खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो। यद्यपि खाना धर्म संस्कृति आदिसँग पनि जोडिन्छ। जसलाई खानाको धार्मिक सांस्कृतिक पाटोको रूपमा अथ्र्याइन्छ। फेरि पनि खाना कुनै धर्मको अंग होइन, यो केवल ऊर्जाको स्रोत हो– शरीरको, मनको र जीवनको।
पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक अजैविक पदार्थमा औषधीय गुण हुन्छ। जसलाई कुनै न कुनै रूपमा औषधि बनाएर प्रयोग गर्न सकिन्छ तर ती सबै पदार्थलाई खानाको रूपमा प्रयोग गर्न सकिदैन। कुनै पनि चिजलाई खानाको रूपमा प्रयोग गरिनु र औषधीको रूपमा प्रयोग गरिनु फरक फरक दृष्टिकोण र अभ्यास हो।
प्राचीनकालदेखि नै वैदिक समाजले दैनिक खानपिनमा प्याज र लसुनको प्रयोगलाई वर्जित गर्दै आएको छ। व्रत, पूजा–पाठ, अनुष्ठान आदिको बेलामा मात्र नभएर जुठो परेको बेला क्रियापुत्रीलाई पनि प्याज र लसनु विशेष रूपमा निषेध गरिन्छ। लसुन र प्याज यतिविधि महत्त्वपूर्ण हुँदाहुँदै पनि किन वर्जित गरिँदै आएको हो। आखिर त्यस पछाडिको विज्ञान के हो त ?
खानालाई औषधीको रूपमा प्रयोग गर्न सम्भव हुन्छ तर हरेक औषधीय तत्त्व भएको पदार्थलाई खानाको रूपमा प्रयोग गर्नु घातक हुन्छ, मूर्खता हुन्छ। औषधी थौरै मात्रामा खाइन्छ, निश्चित अवधिका लागि खाइन्छ, निश्चित समय मै खाने विधान हुन्छ। खानाको मात्रा व्यक्ति पिच्छे फरक फरक हुन्छ, जीवनभरि प्रत्येक दिन खाइन्छ। भोक लागेपछि खाइन्छ।
स्वास्थ्यका दृष्टिले, औषधीय गुणको दृष्टिले प्याज र लसुन अत्यन्तै गुणकारी मानिन्छन्। लसुन (रसोन) छालारोग, हृदयरोग, पाचन सम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या, वातरोग, पक्षघात, साइटिका, फेसियल प्यारालाईसिस, ज्वर, सुन्निएको एवं दुखाइ घटाउन, टाइफाइड, डिप्थेरिया आदि रोगमा विशेषत: औषधीको रूपमा प्रयोग गरिन्छ। लसुनको पात, कन्द र तेल प्रयोग गरिन्छ। अंग्रेजीमा गार्लिक भनिने लसुनको विशिष्ट गन्ध भएकाले यसलाई उग्रगन्धा पनि भनिन्छ।
सन् १९५० ताका के थाहा पाइएको थियो भने मस्तिष्क कोषहरूलाई विषाक्त बनाउने लसुनको प्रभावको कारण मस्तिष्क तरङ्गहरू खुम्चिन्छन्। फलत: लसुनको सेवन गर्न पाइलटको रियाक्सन टाइम (केही क्रिया हुँदा त्यसको प्रतिक्रिया जनाउन लाग्ने समय) तीन गुनाले घट्छ। यही कारणले पाइलटहरूलाई प्लेन चलाउन जानु ७२ घण्टा अघिबाटै लसुनको सेवन नगर्नु भन्ने निर्देशन दिइएको हुन्छ।
प्याजको पात, कन्द र बीज औषधीको रूपमा प्रयोग हुन्छ। स्नायु प्रणली सम्बन्धी रोगहरूमा यसको प्रभावकारी प्रयोग हुन्छ। यसको गन्ध पनि निकै उग्र हुन्छ। लसुनको प्रयोग हुने प्राय: रोगमा प्याजको प्रयोग पनि उपयोगी मानिन्छ। प्याजलाई संस्कृतमा प्लाण्डु र अंग्रेजीमा ओनियन भनिन्छ।
गुणको आधारमा आयुर्वेद एवं वैदिक मान्यता अनुसार खानालाई तीन प्रकारले वर्गीकरण गरिएको छ। सात्विक, राजसी र तामसिक। ताजा दूध, घ्यु, चामल, पिठो, दाल, सागसब्जीहरू सामान्यत: सात्विक बुझिन्छ। सात्विक चिजले शरीर एवं मनलाई न उत्तेजित गर्छ न निरुत्साहित गर्छ। सहज र एकाग्र स्थितिमा राख्दछ। तारे भुटेको, पिरो, अमिलो, चटपटा, नुनिलो आदि स्वादप्रधान भोजन राजसी खाना मानिन्छन्। राजसी खानाले शरीर एवं मनलाई असन्तुलित रूपमा उत्तेजित बनाउँछ। शरीर र मनको असन्तुलित सक्रियताको कारक हुन्छ, राजसी गुण र चिज। बासी, सञ्चय गरी राखिएको, पटकपटक तताएर राखिएको, प्रशोधन गरिएको आदि खानालाई तामसी खाना मानिन्छ। शरीर र मनको जडताको कारक हुन्छ, तामसिक गुण र चिज।
सात्विक खानाले सत्वगुण, राजसीले रजो गुण र तामसीले तमो गुण बढाउँछ। श्रीमद् भगवद्गीताको १८ औं अध्यायमा भनिएको छ कि व्यक्तिले जस्तो भोजन गर्छ उ त्यस्तै प्रकृतिको शरीर र मन प्राप्त गर्दछ (यु आर ह्वाट यु इट)। सात्विक खानाले प्रसन्नता, उत्साह, सकारात्मकता, शान्ति, संयमता, पवित्रता, बुद्धि, ज्ञान आदि भावको उत्पादन गर्दछ। राजसी खानाले साहस, शौर्य, अंहकार, क्रोध, जोस आदि भाव उत्पादन गर्दछ। तामसी खानाले उत्तेजना, आलस्यता, तन्द्रा, निन्द्रा, अज्ञानता आदि भाव उत्पादन गर्दछ।
जुनै पनि तत्व जसले तत्काल उत्तेजित बनाउँछ कालान्तरमा त्यसले स्वभाविक रूपमा निरुत्साह आमन्त्रित गर्दछ। लसुन र प्याज प्राथमिक रूपमा उच्च राजसी चिज हुन् जसले कालान्तरमा तामसिक भाव उत्पन्न गराउँछ। खाद्य पदार्थहरू मध्ये स्नायु प्रणालीलाई उत्तेजित बनाउने सबैभन्दा श्रेष्ठ चिज हो लसुन, त्यसपछि आउँछ प्याज। त्यसपछि भण्टा, कफी, चिया आदि पर्छ।
स्नायु प्रणालीलाई उत्तेजित बनाउने लसुन र प्याजको श्रेष्ठ गुण निश्चित मात्रामा, निश्चित समयको लागि औषधीको रूपमा प्रयोग गरिनु बुद्धिमानी मानिन्छ तर खानामा लसुन र प्याजको दैनिक प्रयोग गर्नु शरीर र मनलाई प्रत्येक दिन पटक पटक असन्तुलित रूपमा उत्तेजित बनाउनु शरीर माथिको शोषण र असंवेदनशीलता हो।
स्वादे जिभ्रोको कुलतमा फसेर शरीर र मनलाई प्रत्येक दिन लसुन र प्याजद्वारा पटक पटक उचाल्नु र पछार्नु जस्तै हो। खानामा यस्तो उत्तेजनायुक्त पदार्थ बारम्बार प्रयोग गर्नु स्वयंको शरीरमाथिको अपराध मान्नुपर्छ। स्वास्थ्यको दृष्टिकोणले पनि दैनिक रूपमा पटक पटक अमात्रामा लसुन र प्याजको प्रयोग गर्नु अहितकारक हो।
सन् १९८० को दशकमा डा रोबर्ट सी. बेकले लसुनमा हुने सल्फोन हाईड्रोक्सिल आयोनहरूले मानव शरीरको बल्ड ब्रेन ब्यारियरलाई छेदन गर्ने क्षमतायुक्त रहेको पाएका थिए, जसले मस्तिष्कका कोषहरूलाई विषाक्त बनाउने गर्दछ।
डा रोबर्ट सी. बेककै अनुसार सन् १९५० ताका के थाहा पाइएको थियो भने मस्तिष्क कोषहरूलाई विषाक्त बनाउने लसुनको प्रभावको कारण मस्तिष्क तरङ्गहरू खुम्चिन्छन्। फलत: लसुनको सेवन गर्न पाइलटको रियाक्सन टाईम (केही क्रिया हुँदा त्यसको प्रतिक्रिया जनाउन लाग्ने समय) तीन गुनाले घट्छ। यही कारणले पाइलटहरूलाई प्लेन चलाउन जानु ७२ घण्टा अघिबाटै लसुनको सेवन नगर्नु भन्ने निर्देशन दिइएको हुन्छ। यसै कारणले लसुन कुलको वनस्पतिहरू हानिकारक हुने देखिएको छ।
धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक दृष्टिले लसुन र प्याजलाई अशुद्ध मान्ने धेरै कारण हुनसक्ला तर मूलरूपमा लसुन र प्याजको गुण नै कारण हो। लसुन र प्याजको उत्तेजक स्वभाव नै हो। धार्मिक आध्यात्मिक कार्यहरूमा शरीर भन्दा पनि मनस्थिति बढी महत्त्वपूर्ण हुन्छ। जहाँ मनमा सात्विक गुण अपेक्षित हुन्छ। भगवान्लाई लसुन र प्याजसँग केही लिनुदिनु सायदै केही होला।
बौद्धिक कार्य गर्नेले वा आध्यात्मिक साधकले इन्द्रियलाई संयममा राख्न लसुन र प्याजको सर्वथा प्रयोग छोड्नुपर्छ। जुठो परेको बेला, शोकमा परेको क्रियापुत्रीका लागि लसुन र प्याजका साथै अन्य धेरै पदार्थ वर्जित गर्नुको कारण पनि यही नै मान्न सकिन्छ। लसुन र प्याजको सेवन छोडेपछि क्रियापुत्रीको इन्द्रियहरू नियन्त्रणमा रहन्छन्, उत्तेजित हुन पाउँदैनन्। फलत: मनमा सकरात्मकता, शान्ति र एकाग्रता कायम हुन्छ। जसले गर्दा मृतकको चीर शान्ति र परलोकको सहज यात्राको लागि शुद्ध भावले कामना गर्न सकिन्छ। साथै क्रियापुत्रीले जीवनको सार्थकता र मृत्युको सत्यलाई अनुभव गर्न मनस्थितिले सहयोग पुर्याउँछ।
मनको संयमता र सकरात्मकताको लागि इन्द्रिय संयमता अनिवार्य हुन्छ। स्वादे जिभ्रोलाई नियन्त्रणमा राख्नु अनिवार्य हुन्छ। जसका लागि उत्तेजक पदार्थहरूको प्रयोग सर्वथा निषेध गरिएको हुन्छ। तामसिक पदार्थहरू पनि वर्जित गरिन्छ। त्यसैले लसुन र प्याज योगिक एवं वैदिक संस्कृतिमा अशुद्ध मानिन्छ। लसुन र प्याजको सेवन वर्जित गरिन्छ। वैदिक समाजले दैनिक खानामा लसुन र प्याज वर्जित गर्नुको विज्ञान यही नै हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) का अन्य पोस्टहरु:
- भात स्वस्थकर कि रोटी ?
- हानिकारक प्रशोधित खानाको लतमा नेपाली
- बढ्दो ‘केक कल्चर’को दुष्प्रभाव
- आयुर्वेदिक औषधिको ‘एक्सपाइरी डेट’ हुन्छ ?
- रक्सीसित मासुकै सितन किन ?
- डेंगु रोगः मेवा–पातको रस र विज्ञान
- दशैंको स्वास्थ्य सुत्र
- बढी मसला हाले मिठो हुन्छ भन्ने बुझाइ नै गलत
- डेंगु रोगको उपचारमा मेवा–पात रसको वैज्ञानिक प्रामाणिकता
- अन्धविश्वासको आवरण र विश्वासको धरातल बीच धामीझाँक्री र झारफुक चिकित्सा