प्रदीप गिरिको निधन भएको आज १३ दिन भयो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्लो दुई साता जति कहिल्यै भएको थिएन।
गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो। त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं। राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो आलेख समसामियक नेपालका लागि अझै पनि वैचारिक तरंग सिर्जना गर्न उपयोगी रहेको हाम्रो विश्वास छ। यो आलेखको दोस्रो भाग आज यहाँ प्रस्तुत गरेका छौं–
मूल कुरो हो– पुँजीवादको नियम, उसको विकासको नियम। यस नियमलाई देश, काल र परिस्थितिअनुसार केही रूपान्तरणका साथ प्रस्तुत गर्नुमा कुनै अनुचित नहोला। मार्क्स, एङ्गेल्स अथवा लेनिनले लेखेका कृतिहरू हजारौं-हजार पृष्ठमा छरिएका छन्। महापुरुषहरूको यस किसिमको विशाल कृति र लेखनमा कतिपय अन्तरविरोध भेटिनु नौलो कुरो होइन। खास गरेर दुई भिन्न र खास परिस्थितिमा बोलिएका कुराहरूमा केही अन्तरविरोध रहनसक्छ तर त्यस्ता विषयगत अन्तरविरोधले सामान्य नियमको महत्त्वलाई खण्डन गर्न सक्दैनन्।
मार्क्सवादद्वारा प्रतिपादित पुँजीवादका सामान्य नियमलाई पनि यही दृष्टिबाट हेरिनुपर्छ। पुँजीवादले आफ्ना विकासका दौरानमा आफ्नो निषेधलाई अनिवार्यरूपमा उत्पन्न गर्दछ भन्ने कुरो मार्क्स, लेनिन, ट्रटस्की र स्टालिनसमेतले पनि मानेको देखिन्छ। ठीक त्यस्तै पुँजीको केन्द्रीकरणको प्रक्रिया पनि सर्वमान्य छ। श्रमिक वर्गको सामाजीकरणको सिद्धान्त पनि सबैले स्वीकारेका छन्। कुरा यत्ति हो– यी कुराहरू एकै ठाउँमा भने एकैपटक प्रकट भएनन्। विभिन्न समाजमा विभिन्न प्रवृत्तिहरू प्रकट भएका देखिन्छन्। पश्चिमी देशहरूमा पुँजीको केन्द्रीकरण भएको छ। त्यहाँका श्रमिकहरू पनि सामाजिकीकरण भएका छन् तर त्यहाँ गरिबी र दारिद्र्य बढेको देखिदैन। एउटा एकाइका रूपमा पश्चिमी समाज झन्-झन् धनी भएको छ। गरिबीजति पूर्वमा केन्द्रित भएको छ। यो कुरा हाम्रो ऐतिहासिक अनुभवले प्रमाणित गरिरहेको छ। यस अनुभवको प्रकाशमा पुँजीवादको विकासको नियमलाई हामीले नयाँ रूपमा लेख्नुपर्छ। त्यसका निमित्त हामीले अतिरिक्त मूल्यको सिद्धान्तका उपर अतिरिक्त चिन्तन गर्नु आवश्यक छ। यति भएपछि विश्व क्रान्तिको रणनीति र कार्यनीतिका उपर पनि पुनर्विचार गर्नु स्वतः अनिवार्य हुनेछ। यस पुनर्विचारको परिणाम बडो दूरगामी हुनेछ। कता–कता मलाई यस्तो लाग्छ, समाजवादको निर्माणको वास्तविक कार्य अनि मात्र प्रारम्भ हुनेछ। अहिलेसम्म समाजवादका नाउँमा अलमल, अन्योल र भ्रान्ति रहेको छ। उपर्युक्त कुरामा विचार पुर्याएपछि समाजवादको नवनिर्माण साँचो अर्थमा सम्भव हुनेछ।
एउटा कुरो म यहीं भनिहालौं। हुन त सविस्तार यही कुरालाई भन्नुपर्ने प्रसंग अलि पछि पनि आउनेछ। कुरो के हो भने समाजवादका बारे दुईवटा परस्पर विरोधी परिकल्पना अहिले हाम्रा माझ उत्तिकै जबर्जस्तरूपमा प्रचलित छन्। एउटा परिकल्पनाले समाजवादलाई पुँजीवादी जीवन-प्रणालीको विकासको अघिल्लो चरणका रूपमा लिएको छ। अर्को परिकल्पनाले समाजवादलाई सर्वथा मौलिक तथा अभूतपूर्व सामाजिक व्यवस्थाका रूपमा लिएको छ। खासमा यो दोस्रो परिकल्पना नै सच्चा समाजवाद हो तर यस समय संसारमा पहिलो परिकल्पनाको बोलबाला छ। मानिसहरूले कमसे कम बहुसंख्यक राजनीतिक कार्यकर्ताले समाजवादलाई पुँजीवादको उन्नत तथा प्रगतिशील संस्करण सम्झिएका छन्। पुँजीवादले उत्पादन प्रणालीको विकास र परिष्कार गरिसकेको छ। समाजवादको उत्पादन सम्बन्धलाई पुनर्गठन गर्न बाँकी रहेको छ। अमेरिका, जर्मनी र पश्चिम युरोपमा नपुग्दो के छ र ? त्यहाँ एउटै कमी छ। त्यहाँका विशाल र महान् उत्पादन संयन्त्रलाई राजकीय स्वामित्व अन्तरगत ल्याउनु पर्ने खाँचो छ। त्यति गर्नासाथ त्यहाँबाट अतिरिक्त मूल्यको अपहरण स्वतः लोप हुनेछ। मजदुरहरूलाई ती कारखाना सञ्चालनको जिम्मा दिएपछि झन् सुनमा सुगन्ध थपिनेछ। समाजवादको साररूप यही नै हो। यो सोचाइ करिब-करिब संसारभरि नै अहिले प्रभावकारी छ। समाजवादका प्रवर्तकहरू यथा मार्क्स अनि एंगेल्स पनि यस्तै धारणा राख्दथे भन्ने ठानिन्छ तर मलाई लाग्छ कुरा यति सजिलो छैन। मार्क्सले पुँजीवादको उत्पादन क्षमता तथा क्रान्तिकारी चरित्रको प्रशंसा अनेकौंपटक अनेकौं रूपमा गरेका छन्। पुँजीवाद र समाजवाद दुईवटा मौलिक तथा गुणात्मक रूपमा भिन्न सामाजिक व्यवस्था हुन् भन्ने कुरो उनीहरूले सधैं भन्ने गरेका थिए तर मार्क्सका पछिका अनुयायीहरूले यो दोस्रो कुरा बिर्सिए लेनिनमा यदाकदा समाजवादको साँच्चो स्वरूपको झझल्को पाइन्छ तर उनले पनि पुँजीवादको उत्पादन प्रणालीको मोह छोड्न सकेनन्। पुँजीवादको उत्पादन प्रणालीलाई छोड्न सकिदैन भन्ने भावना झन् झन् प्रबल हुँदै गयो। रुस र चीनको साम्यवादी क्रान्तिले आफ्नो सारा ध्यान पुँजीवादी औद्योगिकीकरणमा केन्द्रित गर्यो। औद्योगिकीकरण नै मानौ, समाजवादको पर्याय भयो। तथाकथित समाजवादी देशहरूले झन्डै सबै क्षेत्रमा पश्चिमका पुँजीवादी देशहरूको अनुकरण गर्न थाले। एउटै मात्र निसिद्ध रहेको छ। त्यो हो, राजकीय स्वामित्वको समाजवादी सिद्धान्त। बाँकी सबै कुरो उस्तै छ।
मुख्य कुरो अर्थात् उत्पादन प्रणालीमा पश्चिमको अन्धानुकरण गर्ने जबर्जस्त कोसिस आज पनि जारी छ। यस अवस्थामा रुस र चीन आज छन्। भोलिको भारत पनि यस्तै हुने हो कि भन्ने आशंका छ। नेहरूले सके भने यसै गर्लान्। नेहरूको दिमाग यस्तै छ। उनको र मेरा अनेकौ साथीभाइको दिमागमा समाजवादको यस्तै तस्वीर नै छ। यो बडो खतरनाक कुरा हो। यो समाजवादको एउटा असम्भव र अव्यवहारिक परिकल्पना हो। किन र कसरी भन्नेबारेमा यसलाई हामी उदाहरणबाटै यो कुरो बुझौं।
गरिबीजति पूर्वमा केन्द्रित भएको छ। यो कुरा हाम्रो ऐतिहासिक अनुभवले प्रमाणित गरिरहेको छ। यस अनुभवको प्रकाशमा पुँजीवादको विकासको नियमलाई हामीले नयाँ रूपमा लेख्नुपर्छ। त्यसका निमित्त हामीले अतिरिक्त मूल्यको सिद्धान्तका उपर अतिरिक्त चिन्तन गर्नु आवश्यक छ।
हामी भारतकै उदाहरण लिउँ। पुँजीवादको त्यो शृङ्खला भारतमा नै टुट्यो भन्ने कल्पना गरौं। आजको भारतमा समाजवादी क्रान्ति र पुनर्निर्माण हुनु भनेको के हो ? आजको भारतीय अर्थतन्त्रलाई पुँजीवादी नियन्त्रणबाट मुक्त गरेपछि के-कस्ता कार्य गरिनु आवश्यक हुन्छ ? पहिले तथ्यलाई हेरौं। मुलुकमा जनसंख्या, प्राकृतिक संसाधन, भूमि र पुँजी कति छ ? यिनको लेखा-जोखा नगरी आर्थिक पुनर्निर्माणको कुरा उठाउन सकिदैन। यति कुरामा त कमसेकम विवाद नहोला कि ? मैले अखिल्लो खण्डमै भनिसकें यस मुलुकमा प्रत्येक श्रमिकसित सरदर १५० रुपैयाँको औजार बडो मुस्किलले पर्दछ। यसोभन्दा हलो, कोदालो, गोरु, राँगासमेतलाई गनेर भनिएको हो। यो एउटा अर्थशास्त्रीय हिसाब हो। अब भारतीय मजदुरलाई सम्पन्न बनाउने हो भने उपाय सोझो छ। हामीले यी मजदुरहरूलाई उत्पादनका आधुनिक औजार उपलब्ध गराउन सक्नु पर्दछ। नेहरू भने भन्छन्- ‘अझ परिश्रम गर।’ कति परिश्रम गर्ने ? कति पसिना चुहाउने ? भारतको यो गर्मीमा यहाँका खेताला र रिक्सावालाले चुहाएको पसिना बरा नेहरूले के देखुन्। भारतीय जनता परिश्रम नगरेर पिछडिएका होइनन्। उनीहरू पैसा नभएर पिछडिएका हुन्। व्यक्तिगत सम्पत्ति वा पैसाको कुरा छाडिदिनुस्। यस राष्ट्रको पञ्चवर्षीय योजनालाई सम्झनुस्। भारतसँग कति पुँजी छ ? र भारतलाई कति पुँजीको खाँचो छ ? यी दुईका बीचमा कति अन्तर छ ? भारतका बीस करोड मजदुरलाई आधुनिक उत्पादन प्रणालीसँग जोड्नका निमित्त चाहिने धनको हिसाब गरेर हेर्नुहोस्, दिमाग चर्कनेछ। प्रत्येक मजदुरलाई ५००० रुपैयाँ प्रतिव्यक्तिका दरले पुँजी उपलब्ध गराउने हो भने हामीलाई २० करोड×५,००० रुपैयाँ चाहिन्छ। प्रत्येक व्यक्तिलाई सरदर १०,००० रुपैयाँ मोल पर्ने औजार दिने हो भने २० करोड×१०,००० रुपैयाँ चाहिन्छ। अब यो रकमको तुलना हाम्रो राष्ट्रिय आयसँग गर्नुहोस्। हाम्रो पञ्चवर्षीय योजनासित गर्नुहोस्। अनि सोच्नुहोस्, हामीलाई उत्पादनको आधुनिक प्रणाली आपनाउन पुँजी कसले दिने ?
अहिलेको चालू पञ्चवर्षीय योजना करिब २५ बिलियन रुपैयाँमा चलेको छ। यस हिसाबले हाम्रो वार्षिक खर्च पाँच बिलियनको हुन आउँछ। उता, उत्पादन प्रणालीलाई आधुनिक बनाउनका निमित्त हामीलाई एक हजार बिलियन घटीमा चाहिने हिसाब छ। यस लक्ष्यमा भारतवर्ष कहिले पुग्ने ? कंग्रेस सरकारको वर्तमान लक्ष्य र कार्यक्रम हेर्दा यति पुँजी संकलन गर्न २०० वर्ष लाग्ने देखिन्छ। आर्थिक विकासको क्षेत्रमा गुणक प्रभाव सक्रिय हुन्छ भन्ने मान्यता छ। त्यो गुणक प्रभावको पनि हिसाब गर्ने हो भने यो २०० वर्षको समयलाई घटाउन सकिन्छ तर जस्तै घटाएर पनि ८० वर्षभन्दा कम समयमा भारतले आफ्नो आन्तरिक स्रोतका आधारमा यत्रो पुँजी एकत्र गर्न सक्दैन। फेरि केही दशकपछि साँच्चै नै भारत यत्रो पुँजी एकत्र गर्ने ठाउँमा पुग्यो नै भने पनि त्यस बेला विश्वको आर्थिक परिस्थितिमा ठूलो परिवर्तन भइसकेको हुनेछ। यी वर्षहरूमा रुस, अमेरिका र पश्चिम युरोप चुप लागेर बस्ने छैनन्। यी उन्नत समाजले आर्थिक विकासको अर्को चरण प्राप्त गरिसकेका हुनेछन्। हाम्रो स्थिति जहाँको त्यहीं रहनेछ। पश्चिमी मुलुकद्वारा फ्याँकिएका र तिरस्कार गरिएका उत्पादन प्रणालीमा हामी पुग्दा उनीहरू झन् अगाडि बढिसकेका हुनेछन् उनीहरूको अनुकरण गर्ने प्रयासको परिणाम यस्तै नै हुनेछ। एक त अनुकरण सम्भव नै छैन दोस्रो त्यो अनुकरण सुखदायी पनि छैन त्यसैले एसिया, अफ्रिका, दक्षिण अमेरिकाले बेलैमा चेत्नु बडो आवश्यक छ। यी मुलुकहरूमा पुँजीवादको उत्पादन प्रणाली र जीवनशैलीको यथावत् प्रयोग गर्न सकिदैन। बिल्कुल प्रारम्भदेखि नै नयाँ किसिमको आविष्कार र अनुसन्धानका आधारमा तेस्रो विश्वको उत्पादन प्रणालीलाई पुनर्गठित गर्नुपर्नेछ।
यहाँ फेरि कम्युनिस्ट मित्रहरूले रुसको कुरा उठाउने सम्भवना छ। रुसले जुन काम गर्न सक्यो, त्यो काम हामी किन गर्न नसक्ने भन्ने कुरो उठ्छ। रुसमा साम्यवादको प्रयोग हुनु वास्तवमा बौद्धिक दृष्टिले एउटा भ्रान्तिमूलक घटना भएको छ। हाम्रा साम्यवादी मित्रहरूले रुसको आर्थिक इतिहास गम्भीरता पूर्वक पढेका छन् जस्तो मलाई लाग्दैन। अथवा पढे पनि रुसको क्रान्तिकारी चमकले उनीहरूको आँखा तिर्मिराएको हुन सक्छ। जग्गा, जनसंख्या, खनिज पदार्थ र पुँजी कुनै पनि देशको आर्थिक विकासको मूल आधार हो। रुसमा कति जमिन छ, कतिलाई थाहा छ ? म मेरा साथीहरूलाई रुस, चीन र भारतमा उपलब्ध रहेको जनसंख्याको घनत्वको तथ्यांक बुझ्नुहुन अनुरोध गर्दछु। रुसमा आज पनि प्रतिवर्गमिल सरदर २० जना मानिस बस्दछन्। चीनमा यो बसाइ १५ गुणा ज्यादा छ र भारतमा २५ गुणा ज्यादा। यस अवस्थामा यो तथ्यांक रहेको छ। आगामी वर्षहरूमा यस तथ्यांकले झन् भयानक रूप लिनेछ। रुसमा जनसंख्याको वृद्धिदर करिब-करिब नियन्त्रित छ। चीन र भारतमा आगामी दशकहरूमा जनसंख्याको विस्फोट हुने कुरा प्रायः निश्चित छ।
अझ एउटा अर्को आधारभूत कुरो म कोट्याउँछु। विकासको आधुनिक अर्थशास्त्रमा इस्पातको ठूलो महत्त्व छ। रुसमा साम्यवादी क्रान्तिअघि नै इस्पातको उत्पादन एउटा खास उचाइमा पुगिसकेको थियो। आजको भारत वा चीनसँग रुसको इस्पातको उत्पादकताको तुलना हुन सक्दैन। त्यसबेला पश्चिमी युरोप र अमेरिका इस्पातको उत्पादनमा रुसभन्दा अगाडि थिए। यी सबै देश इस्पात परिवारका सदस्य थिए। रुस अलि गरिब थियो तर परिवार उही थियो। वंश एउटै थियो। रुसको समाजवादी क्रान्ति र आर्थिक पुनर्निर्माणको अध्ययन गर्न चाहने व्यक्तिले रुसको इतिहास अलि राम्ररी पढ्नु आवश्यक छ। रुसको औद्योगिकीकरण रुसका महत्त्वाकांक्षी जार सम्राटहरूले सुरु गरेका थिए। रुसको इतिहासमा पिटर द ग्रेर भन्ने अद्भुत जार शासक भएका थिए। उनले कारिगरको भेष धारण गरेर आफैँ युरोपका कारखानाहरूको भ्रमण गरेका थिए।
रुस र अमेरिकाको समाज र सभ्यताका बाहिरी समानताका बारेमा धेरैले चर्चा गरेका छन्। समाजशास्त्रका विद्वान्हरूको यस किसिमको चर्चा परिचर्चालाई ‘अनिवार्य एकरूपताको सिद्धान्त’ (convergence theory) का नामले जानिन्छ। म त्यस सिद्धान्तको पक्षमा छैन तर बेग्लै बेग्लै नारा, प्रतीक र भाषाको प्रयोग गरेर पनि कतिपय आन्दोलनको आन्तरिक ध्येय एउटै भएको कुरो इतिहासमा देखिएको छ।
पछि रुसमा क्याथेरिन द ग्रेट अलेक्जान्डर प्रथमको सैनिक विजयको चर्चा आउँछ। क्याथेरिन अथवा अलेक्जान्डर युरोपमा आफ्नो हस्ती राख्दथे। यिनीहरूलाई कुनै युरोपीय वादशाहले कहिल्यै पनी हेप्न सकेनन्। रुस यस्तो थियो। आज रुस संसारमा दुई नम्बरको शक्तिशाली देश भएको छ तर इतिहासमा पहिलोपटक रुस यस स्थानमा पुगेको होइन। नेपोलियनको युद्धपछि पनि रुस यही अवस्थामा थियो। त्यसपछि निकै लामो समयसम्म रुसको यो स्थिति र शक्ति कायम रह्यो। त्यसैले रुसको शक्ति र उन्नतिको अनुकरण गर्न चाहने मित्रहरूलाई म इतिहास पढ्ने सल्लाह दिन्छु। रुसको उपलब्धि कुन हदसम्म उसको राष्ट्रिय भूगोल, इतिहास तथा चरित्रको विशेषता हो र कुन हदसम्म मार्क्सवाद अथवा साम्यवादको देन हो। यो एउटा अध्ययन गरिनु पर्ने विषय छ। चीन र भारत पनि विशाल देश छन्। दुवैका अनन्त सम्भावना छन् तर मार्क्सवादका नाममा रुसको अनुकरण गर्न खोज्नु यी दुई देशको निम्ति घोर घातक हुनेछ। रुसको इतिहास, भूगोल र प्राकृतिक संसाधन अनि जनसंख्याको सन्तुलनका बारेमा जानकारी नभएको मानिसले मात्र उपर्युक्त भूल गर्नेछ। वास्तवमा रुसको आर्थिक विकासको इतिहास र अमेरिकाको आर्थिक विकासको इतिहासमा धेरै नै समानता छ। दुवै महादेशीय आकारका राष्ट्रिय राज्य हुन् दुवैमा आधुनिक उत्पादन प्रणालीको प्रवेश पछि भयो। दुवै नै प्राकृतिक संसाधन र जनसंख्याको दृष्टिले भने पुँजीवादी उत्पादन प्रणालीका निमित्त सर्वथा उपयुक्त थिए। अमेरिकाले पुँजीवादको उत्पादन प्रणाली र उत्पादनको सम्बन्ध यी दुवैलाई अंगीकार गर्यो। रुसले उत्पादनको सम्बन्धलाई स्वीकार गरेन तर उत्पादन शक्तिलाई ग्रहण गर्यो। यस तर्कलाई अलि गहिरिएर अध्ययन गर्नु आवश्यक छ। समाजवादी चिन्तनको इतिहासमा यो तर्क जोडदाररूपमा उठेको छैन। रुस र अमेरिकाको समाज र सभ्यताका बाहिरी समानताका बारेमा धेरैले चर्चा गरेका छन्। समाजशास्त्रका विद्वान्हरूको यस किसिमको चर्चा परिचर्चालाई ‘अनिवार्य एकरूपताको सिद्धान्त’ (convergence theory) का नामले जानिन्छ। म त्यस सिद्धान्तको पक्षमा छैन तर बेग्लै बेग्लै नारा, प्रतीक र भाषाको प्रयोग गरेर पनि कतिपय आन्दोलनको आन्तरिक ध्येय एउटै भएको कुरो इतिहासमा देखिएको छ। अमेरिकाका फोड र रुसका स्टालिन कहीं यस्तै ऐतिहासिक धोकाका शिकार त भएनन् ? म अहिले गहिराइमा जान सक्तिन। यो एउटा गहन विषय छ तर फोड र स्टालिनमा समानता अवश्य छ। अनेकौं समानता छ खास गरेर आज इतिहासको यस वर्तमान विन्दुमा दुवैमा बाह्य समानता आश्चर्यजनक छ। भोलि रुस कता जाने हो, अहिले नै भविष्यवाणी गर्न सकिन्न। अमेरिका कता जाने हो, त्यो पनि भन्न सकिदैन। यद्यपि अहिले यी दुवै सामाजिक प्रणाली एउटै ऐतिहासिक प्रक्रियाका अभिव्यक्ति प्रतीत हुन्छन्। दुवै लड्दै छन्। यो साँच्चो हो। इतिहासका लागि भने यस लडाइँमा कुनै नवीनता छैन। एउटै धर्म वा सभ्यताका बाहकहरू आजअघि पनि इतिहासमा यसरी नै लडेका छन्। इतिहासमा यस्तो लडाइँ विश्व थर्काउने गरी भएका छन्। यहाँ भारतका कौरव र पाण्डव यसरी नै लडेका थिए। बेबिलोनियाँ र इजिप्टका साम्राज्य यसरी नै लडेका थिए। द्वन्द्व यस्तै नै चर्को थियो। बौद्ध धर्म महायान र हीनयानमा बाँडियो। इसाईहरू क्याथोलिक र प्रोटेस्टाइन्टमा बाँडिए। हामीलाई इस्लामको विभाजन पनि थाहा छ। म अहिले निष्कर्षमा पुगिहाल्न चाहन्न तर पुँजीवाद र साम्यवादको अध्ययन गर्दा मैले माथिका विभाजनहरू कहिल्यै बिर्सिन सक्दिन। यस सन्दर्भमा रुसको औद्यौगिकीकरणको कष्टकर प्रक्रियालाई सम्झिंदा झन् दुःखी हुन्छु।
रुसले औद्योगिकीकरण गर्यो। यस अभियानमा रुस राम्ररी सफल भयो। लेनिन र ट्रटस्की अनि स्टालिनको नेतृत्वमा रुसले आफ्नो राष्ट्रिय लक्ष्य पूरा गर्यो। रुसमा यस समय समाजवादी समाज छ भन्ने कुरो म मान्दिन। म मात्रै किन मजस्ता सयकडौं अध्येताहरू संसारभरि छन्। रुसको भौतिक उपलब्धिलाई म इन्कार गर्दिन। रुसले जसरी होस् आज बिजुली, कोइला र इस्पातका क्षेत्रमा ठूलो फड्को मारेको छ तर म रुसको बाटोलाई समाजवादी बाटो मान्न तयार छैन। रुसले ‘आनन्द’ गर्यो। भोगको बाटो भेट्यो। भोकलाई हटायो तर चीन र भारतका समाजवादीहरूले रुसको सफलताबाट मोहित हुनु ठूलो मूर्खता हुनेछ। साँच्चै भन्ने हो भने म यसलाई मात्र मूर्खता भनेर सन्तुष्ट हुनेछैन। म त यसलाई ‘पाप’ भन्न चाहन्छु। पापको पनि आफ्नो आनन्द हुन्छ। रुसले पापको बाटोमा कदम बढायो। उसले पापको आनन्द उठायो। रुसले चितायो तथा चिताएअनुसार पुऱ्यायो तर भारत ? भारतले आधुनिक सभ्यताका ताम-झाम र चहक – महकहरू आफ्नो समाजमा ल्याउन चाहनु अपराध (गुनाह बेलज्जत) हुनेछ र आनन्दचाहिँ हुनेछैन। सामाजिक व्यवस्थाको नाम चाहे जे रहोस् पुँजीवाद, साम्यवाद वा समाजवाद या चाहे जे भन्नुहोस्। आजको भारतले भने आजको यस परिवेशमा पश्चिमको जीवनस्तरको आशा राख्न सक्दैन। म पश्चिमको जीवनस्तरको विरोधी हैन। उनीहरूको खानपिन, रहनसहन र लुगाफाटो देख्दा मलाई पनि लोभ लाग्छ। म पुराना जमानाका ऋषि-मुनिले देखाएजस्तो वितृष्णा देखाउने पक्षमा छैन। मैले नैतिक आधारमा पश्चिमको आलोचना गरिरहेको छैन। म त शुद्ध आर्थिक विश्लेषणका आधारमा यो कुरो गर्दैछु। मात्र व्यवहारिकतालाई सम्झेर यो कुरो भन्दैछु। कुरो यो हो- पश्चिमको जीवनस्तरमा पुग्ने इच्छा गलत मात्र होइन, असम्भवसमेत छ। यस्तो कोसिसको भयंकर परिणाम अनिवार्य छ। यस्तो कोसिसले हाम्रो समाजमा विलासिता, असमानता, इर्ष्या र वर्ग-द्वेषलाई झन् चर्को बनाउनेछ। समाज सधैं अस्थिर रहनेछ। समाजको आर्थिक पुनर्संरचनाको कार्यक्रम मात्र मृगमरिचिका ठहरिनेछ। मैले माथि ८०-९० वर्षमा पश्चिमको जीवनस्तरमा पुग्न सकिन्छ कि भनी एउटा अनुमान गरें तर त्यो पनि एउटा गणितीय अनुमान मात्र हो। ममात्र गणितका आधारमा मानव समाजको सञ्चालन गर्न सकिन्न भन्ने मत राख्छु। हाम्रो समाजमा पुँजीवादी जीवन प्रणालीको प्रयोग गर्नासाथ समाजमा क्षेत्रीय तथा आन्तरिक विसमताले उग्ररूप लिनेछ। कतिपय प्रान्त र क्षेत्रचाहिँ ज्यादै गरिब हुनेछन्। समाजको एउटा हिस्साले, भनौं सहरी क्षेत्रले विकास र विज्ञानका सारा सुखसुविधाको उपभोग गर्नेछ। गाउँको अवस्था झन् दयनीय हुनेछ। यस्तो परिवेशमा वर्गसंघर्ष र गृहयुद्ध झन् चर्किनु स्वाभाविक हुनेछ। कदाचित् भारतीय राज्यको अस्तित्व एकपटक फेरि लोप हुने स्थिति आउन बेर छैन। पुँजीवादको यान्त्रिक अनुकरणको परिणाम यस्तै हुनेछ।
इतिहास-चक्रले एकपटक फेरि नाटक खेल्न सक्छ। पश्चिमी युरोप र अमेरिकाभन्दा चीन र भारत विकासको दौडमा अगाडि बढ्न सक्छन्। हिजोको ऐतिहासिक भूमिकामा परिवर्तन आउनु आवश्यक छ। आजसम्म पश्चिमले हाम्रो समाजबाट अतिरिक्त मूल्यको अपहरण गर्यो। अब हामीले पश्चिमबाट अतिरिक्त मूल्यको अपहरण गर्नु आवश्यक छ। अथवा शोषण र असमान विनियमको अर्को कुनै स्वरूपको कल्पना गर्नुहोस्। लुट्न त लुट्नै पर्छ। गोरा देशलाई नलुटी तत्काल कालाहरू धनी हुने कुनै सम्भावना छैन।
एउटा बाटो अवश्य छ तर त्यो सर्वथा काल्पनिक बाटो हो। त्यो बाटोको चर्चा सुन्दा बुज्रुकहरू हाँस्न बेर छैन। इतिहासका गम्भीर विद्यार्थीहरूले भने हाँस्न सुहाउँदैन। मानव इतिहासले आजअघि पनि यस्ता धेरै उत्थान र पतन देखेको छ। बडा बडा शक्तिशाली साम्राज्य सभ्यता इतिहासबाट अप्रत्यासितरूपमा लोप भएका छन्। पश्चिमी युरोप र अमेरिका यस समय शीर्षस्थ समाजका रूपमा प्रतिष्ठित छन् तर उनीहरू यस शिखरबाट खँदारिने छैनन् भन्न सकिन्न। यही २५ वर्षको इतिहास हेर्नुस्। ब्रिटेन र जर्मनी शिखरबाट खँदारिए। अमेरिका र रुस त्यसका ठाउँमा आसीन भएका छन्। इतिहास-चक्रले एकपटक फेरि नाटक खेल्न सक्छ। पश्चिमी युरोप र अमेरिकाभन्दा चीन र भारत विकासको दौडमा अगाडि बढ्न सक्छन्। हिजोको ऐतिहासिक भूमिकामा परिवर्तन आउनु आवश्यक छ। आजसम्म पश्चिमले हाम्रो समाजबाट अतिरिक्त मूल्यको अपहरण गर्यो। अब हामीले पश्चिमबाट अतिरिक्त मूल्यको अपहरण गर्नु आवश्यक छ। अथवा शोषण र असमान विनियमको अर्को कुनै स्वरूपको कल्पना गर्नुहोस्। लुट्न त लुट्नै पर्छ। गोरा देशलाई नलुटी तत्काल कालाहरू धनी हुने कुनै सम्भावना छैन। यो एउटा भौतिक सत्य हो। यो असम्भव पनि छैन तर म भने व्यक्तिगत रूपमा यो स्थिति रुचाउन्न।
इतिहासले यस्तो उकालो-ओरालो अनेकौंपटक देखिसकेको छ। एउटा इलाकाले अर्कालाई लुट्छ। एउटा अगाडि बढ्छ, अर्को पछाडि हट्छ। कार्ल मार्क्सले इतिहासमा वर्गसंघर्ष देखे तर सभ्यता र राष्ट्रहरू पनि इतिहासमा एउटा निश्चित नियमका परिधिमा रहेर उत्थान र पतनको रोटेपिङ खेलिरहन्छन्। धन र सत्ता स्थिर रहँदैन। एउटा जमाना थियो चीन र भारतको। चीन र भारतमा सभ्यता र सम्पदाको शिखरमा पुगेका थिए। त्यस बेला पश्चिमी युरोपमा जङ्गली र बर्बर जातिहरूको राज्य थियो। त्यस्तै एउटा जमाना थियो, मध्यपूर्वको मुसलमान सभ्यताको। यिनै मुसलमानले युरोपलाई सुधार र पुनर्जागरणको प्रेरणा दिए। ग्रिस, रोम र इरान पनि आ-आफ्ना समयमा इतिहासको टाकुरामा बसिसकेका छन्। अहिले अमेरिकाको पालो आएको छ। म अमेरिका यस टाकुराबाट लडोस् र आफ्ना हात खुट्टा भाँचोस् भन्न चाहन्न। म उसको उपलब्धिको इर्ष्या पनि गर्दिन तर अमेरिका जे छ, जस्तो छ, त्यो वाञ्छनीय र कमनीय छ भन्ने मेरो सोचाइ छैन। म आफ्नो समाजका निमित्त उन्नति, प्रगति र शान्ति चाहन्छु तर उन्नति र प्रगतिको मेरो परिभाषा र प्रतिमान बेग्लै छ। म आफ्नो परिभाषालाई सबैका निमित्त र सधैंका निमित्त कारगर छ भन्ने पक्षमा छैन तर हाम्रो समाजका समस्याहरूको समाधानको मेरो तरिका ज्यादा सार्थक छ भन्ने मेरो दाबा छ। म आफ्नो यसै दावाअनुसार पुँजीवादका सार्वभौम नियमलाई सच्याएर पढ्ने पक्षमा छु।
क्रमश:
श्रोत: आइएनएस-स्वतन्त्र समाचार