प्रदीप गिरिको निधन भएको आज १८ दिन भयो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्ला केही साता जति कहिल्यै भएको थिएन।
गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो। त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं। राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो आलेख समसामियक नेपालका लागि अझै पनि वैचारिक तरंग सिर्जना गर्न उपयोगी रहेको हाम्रो विश्वास छ। यो आलेखको तेस्रो भाग आज यहाँ प्रस्तुत गरेका छौं–
विगत ४०० वर्षदेखि एउटा ऐतिहासिक प्रक्रियाका रूपमा पुँजीवाद संसारमा विकासित तथा प्रसारित भयो तर अब यसको मरण निश्चित छ। जो जन्मन्छ, त्यो अवश्य मर्छ’, मार्क्सको यो कथन बिल्कुलै सही थियो। मार्क्सले रोगको निदान अलि ठीक ढंगले गर्न सकेनन्। त्यसमा कुनै आश्चर्य छैन। अब हामीले यो काम गरे केही बिग्रिन्न। रुढीवादीहरू अझै पनि पुँजीवादलाई प्रगतिशील छ भन्दै छन्। यो एउटा मूर्खतापूर्ण तथा भयंकर मान्यता हो। पुँजीवाद प्रगतिशील छ भनेर एउटा सार्वभौम सिद्धान्त कदापि बनाउन सकिदैन। हो, पश्चिममा पुँजीवादले उत्पादनको साधनमा अवश्य सुधार ल्यायो तर सँगसँगै तत्काल नै पूर्वमा त्यसै पूँजीवादले ठूलो दरिद्र्य उत्पन्न गर्यो। यी दुई प्रक्रिया अलग-अलग कुरा होइनन्। यी दुवै प्रक्रिया सँगसँगै नै उत्पन्न भए। यी दुवै प्रक्रिया एउटै कालावधिमा क्रियाशील रहे। अब यी दुई प्रक्रियालाई सँगै नहेर्ने हो भने पूँजीवादको वास्तविक अनुहार देखिनेछैन। पुँजीवादको अनुहारमा एउटा आँखामा रगतको आँसु र अर्को आँखामा विलासको नशा म एकसाथ देख्दैछु। यो कुरा मार्क्सले किन देखेनन्, मलाई आश्चर्य छ। झन् लेनिनले त पक्कै देख्नुपर्ने हो। लेनिनलाई औपनिवेशिक समाजको दर्द र तकलिफ प्रति गहिरो संवेदना थियो तर त्यति हुँदा पनि लेनिनले पनि पुँजीवादलाई ऐतिहासिक दृष्टिले प्रगतिशील भन्ने संज्ञा दिए। लेनिनले खासमा साम्राज्यवादका विषयमा एउटा विशेष पुस्तक नै लेखेका छन्। त्यो पुस्तक समाजवादीहरूका माझ लोकप्रिय पनि छ। लेनिनका अनुसार साम्राज्यवाद पुँजीवादको ‘चरम अवस्था’ हो। म अहिले यस पुस्तकको सविस्तार व्याख्या गर्न गइरहेको छैन। यो काम अन्यत्र नै भइसकेको छ। संक्षेपमा भनौं, यो पुस्तक अनेकौं दृष्टिले महत्त्वपूर्ण र ज्ञानबर्धक छ तर यसको शीर्षक नै भ्रामक छ। चरम अवस्था किन ? पुँजीवाद र साम्राज्यवाद इतिहासमा सँगसँगै देखापरेका हुन्। लेनिनले साम्राज्यवाद र पुँजीवादलाई जुम्ल्याहा प्रक्रियाका रूपमा अध्ययन गर्दा पनि उनको क्रान्तिकारी निष्कर्ष यथावत् रहँदैन र ? अवश्य रहन्छ तर लेनिनले यसो गरेनन्।
मार्क्स र लेनिनको यो दृष्टि-दोषलाई बुझ्ने कोसिस गर्दा म एकपटक मार्क्सवादको अध्ययन प्रणालीका तर्फ फर्कन चाहन्छु। मार्क्सले प्रत्येक विचारलाई यसको उत्पत्तिको समाजिक सन्दर्भमा राखेर हेर्ने आग्रह गर्दथे। मार्क्स र लेनिनको सिद्धान्त पनि यस नियमको अपवाद देखिदैन। मार्क्सलाई त यसै पनि भारत र चीनको परिस्थितिको विशेष जानकारी थिएन। लेनिन भारत र चीनको समस्याबाट भने अवगत थिए। तैपनि साम्राज्यवाद सम्बन्धी उनको रचना मुख्यरूपले युरोप केन्द्रित छ। फ्रान्स, जर्मनी र इंगल्यान्डमा क्रान्ति भएन। त्यहाँका मज्दुरहरू पुँजीवादका विरोधमा क्रान्ति गर्न तम्सिएनन्। आखिर किन ? लेलिन यस समस्याको उत्तर दिने कममा साम्राज्यवादको विश्लेषणमा पुगेका छन्। साम्राज्यवादले शोषित मुलुकहरूलाई पतनको अनन्त गहिराइमा पुर्याएको छ। यद्यपि त्यो पतनको तथ्य लेनिनको विश्लेषणको प्रस्थानविन्दु भएको छैन। लेनिनको नजर युरोपमा मात्रै केन्द्रित छ- खास गरेर युरोपका मजदुरमा। युरोपका मजदुरहरूको बुर्जुवाकरण भयो। युरोपका मजदुरहरू क्रान्तिकारी रहेनन्।
समाजवादी चिन्तनको इतिहासमा अब अर्को मार्क्स जन्मने छैनन् मार्क्सको २-४ वटा कण्ठस्थ पारिएका उद्धरणका आधारमा मुलुकमा समाजवाद ल्याउने सपना पनि नदेख्नुहोस् किनभने मार्क्सलाई हामीले धेरै अध्ययन र अनुसन्धननबाट पुर्नु, भर्नु परेको छ। तेस्रो विश्वबाट मार्क्सवादले ग्रहण गर्नुपर्ने कुरा मनग्य छन्। यसैक्रममा साम्राज्यवादको ज्यादा वैज्ञानिक तथा तथ्यपूर्ण परिभाषाको विकास हुनेछ भन्ने मेरो विश्वास छ।
साम्राज्यवादी लुटले युरोपका मज्दुरको वर्ग चेतना तथा क्रान्ति चेतनालाई पुष्टि त गर्यो। लेनिनको चिन्ता यस्तै छ। यस्तै चिन्तामा अलमलिएका लेनिन अतिरिक्त मूल्यको सिद्धान्तको त्रुटि देख्न सक्दैनन्। आखिर यो काम तेस्रो विश्वका समाजवादीहरूको काँधमा आइपरेको छ। यो उचित पनि हो। आशा छ तेस्रो विश्वका समाजवादीहरूले बेलैमा यस क्षेत्रमा आवश्यक अध्ययन र अनुसन्धान गर्नेछन्। तेस्रो विश्वका समाजवादीहरूले पुँजीवादको विकास र गतिको नियमलाई ज्यादा वैज्ञानिक तथा तथ्यपूर्ण हिसाबले हेर्नु पर्नेछ। मार्क्सले औँल्याएको अध्ययन प्रणाली बिल्कुलै सार्थक र वैज्ञानिक छ। भारत र चीनको समाज तथा इतिहासका बारेमा भने उनको जानकारी ज्यादै सीमित थियो। सौभाग्यवश मार्क्सले ठाउँ ठाउँमा आफ्नो अनभिज्ञता तथा समयको कमी स्वीकार गरेका छन्। मार्क्सका उत्साही शिष्यहरूमा भने गुरुको त्यो विनम्रता र वैज्ञानिकताको सर्वथा अभाव रह्यो। फेरि मार्क्सका कम्युनिस्ट अनुयायीहरूले मार्क्सका रचनाहरूलाई करिब-करिब पवित्र धर्मग्रन्थको स्थान दिइसकेका छन्। अब यसमा कसले के भन्ने ? तर, म भन्छु- यस्तो दृष्टिकोण एकदमै गलत हो। यस दृष्टिकोणले मार्क्सका आलोचनात्मक बुद्धिको उपहास र अपमान गरेको छ मार्क्सलाई कसैले तथ्य देखाइदिए, उनी प्रशन्न हुन्थे। हामी पूर्वेलीले मार्क्सलाई देखाउन सक्ने कुरा अनेकौं छन्। यसको अर्थ हामी मार्क्सभन्दा जान्ने भयौं वा बाठो भयौं भन्ने होइन। समाजवादी चिन्तनको इतिहासमा अब अर्को मार्क्स जन्मने छैनन् मार्क्सको २-४ वटा कण्ठस्थ पारिएका उद्धरणका आधारमा मुलुकमा समाजवाद ल्याउने सपना पनि नदेख्नुहोस् किनभने मार्क्सलाई हामीले धेरै अध्ययन र अनुसन्धननबाट पुर्नु, भर्नु परेको छ। तेस्रो विश्वबाट मार्क्सवादले ग्रहण गर्नुपर्ने कुरा मनग्य छन्। यसैक्रममा साम्राज्यवादको ज्यादा वैज्ञानिक तथा तथ्यपूर्ण परिभाषाको विकास हुनेछ भन्ने मेरो विश्वास छ।
अब म मार्क्सवाद र समाजवादको सम्बन्धको चर्चा गर्नेछु। ऐतिहासिक दृष्टिले समाजवाद पहिले आयो। एउटा विचारधाराका रूपमा समाजवादका लेखक र द्रष्टाहरू पहिले देखिए। रवर्ट बेबेन, फेरियर र पुन्दो यस्तै द्रष्टाहरू थिए। मार्क्स र एंगेल्सले यिनीहरूको चर्चा गरेका छन्, यिनीहरूको ऋण स्वीकारेका छन्। यद्यपि यिनीहरू कोही पनि गम्भीर अध्ययेता थिएनन्। यिनीहरूले आन्दोलन गरे। यिनीहरूले समानता र क्रान्तिका निमित्त अवाज उठाए। यिनीहरूले संघर्षको पृष्ठभूमि बनाए। मार्क्स र एङ्गेल्स पछि आए। इतिहासमा यस्तो क्रम पहिले पनि देखिएको छ। पहिले आन्दोलन हुन्छ, पछि विचार आउँछन्। पहिले संघर्ष हुन्छ। पछि सिद्धान्त बन्दछ। समाजवादका साथ पनि यस्तै भयो। समाजवादको शुरुवात साममाजिक न्यायको कार्यक्रमका साथ भयो। यसको ध्येय वर्गविहीन समाजको स्थापना गर्नु थियो तर बुज्रुकहरूले यस ध्येयको उपहास गरेर खिल्ली उडाए। यस किसिमको काम असम्भव छ भनी पाण्डित्य देखाए। अब ती पण्डितहरूलाई जवाफ दिनु जरुरी थियो। यी पण्डितहरूलाई उनीहरूकै क्षेत्रमा र उनीहरूकै भाषामा प्रत्युत्तर दिनु आवश्यक थियो। मार्क्स र एङ्गेल्स यो काम गर्न अघि सरे। दुवैले तथाकथित बुर्जुवा पण्डित्यलाई काण्ड पुग्ने गरी जवाफ दिए। मार्क्स र एङ्गेल्सको पण्डित्य पनि अतुलनीय थियो। उनीहरूले दर्शन, इतिहास र अर्थशास्त्रको क्षेत्रमा समाजवादी चिन्तनको अजेय दुर्गको निर्माण गरे। त्यस दिनदेखि आजसम्म लडाइँ जारी छ। बुर्जुवा बुद्धिवादीहरू परेसान छन्। मार्क्सवादको छिद्रान्वेषणको व्यापार र उद्योग रात-दिन चलिरहेको छ।
यसैबीच रुसमा क्रान्ति भयो। रुसी क्रान्तिले मार्क्सवादलाई आफ्नो राजकीय सिद्धान्तको स्थान दिएको छ। इतिहासमा आजअघि पनि विभिन्न सिद्धान्तहरूले राजकीय विचारधाराको रूप लिए। सम्राट् अशोकले बौद्ध दर्शनलाई राज्य-धर्मको रूप दिए। कन्ट्याइन दिनोपोलले ईसाई धर्मलाई आफ्नो राजकीय धर्मको संज्ञा दिए। हिन्दुहरूले वेद, उपनिषद् र मनुस्मृतिका आधारमा राज्य चलाएको दाबा गरेका छन्। यो एउटा ठूलो समस्या छ। विचारधाराबिना क्रान्ति हुन सक्दैन तर, क्रान्ति र विचारधारा एक-अर्काका पर्याय पनि हुन सक्दैनन्। सिद्धान्तविना राज्य चल्दैन तर राज्यले सिद्धान्तलाई जन्म दिने दुस्साहस गर्नु हास्यास्पद हो। मार्क्स र एङ्गेल्सको प्रखर आलोचानात्मक बुद्धि आज कहाँ पाइएला ? फेरि उनीहरू कुनचाहिँ राज्यका अधीनमा बसेर त्यस राज्यको राजगुरु वा पुरेत हुन रुचाउने थिए होला। उनीहरूका विचारमा दर्शनको कर्तव्य नै आलोचना थियो। उनीहरू निषेधको दर्शनका प्रवर्तक थिए। यसैले मार्क्सवादलाई एउटा राजकीय दर्शनका रूपमा पचाउन बडो गाह्रो छ। राज्यको कुरा छोडिदिनुहोस्। एउटा राजनीतिक पार्टीले पनि मार्क्सवादलाई कसरी बुझ्ने वा बुझाउने एउटा गहन प्रश्न छ।
हामीले समाजवादी पार्टी बनाएका छौं। हाम्रो पार्टीमा कतिपय कट्टर मार्क्सवादीहरू छन्। स्वयम् हाम्रा आदरणीय नेता आचार्य नरेन्द्रदेव आफूलाई पक्का मार्क्सवादी भन्नुहुन्छ उहाँको विद्वत्ताको म कदर गर्दछु। बेला बखतमा उहाँमा मैले गान्धीको झझल्को पाएको छु। मैले बेला बखतमा गान्धीलाई बुद्धभन्दा ठूलो मानिस भन्ने गरेको छु तर म गान्धीवादी होइन मार्क्सको समर्थन वा विरोधका आधारमा राजनीतिक बहस चलाउनु नादानी हो। समाजवादी दलका सभा सम्मेलनमा मलाई पार्टीका मार्क्सवादी मित्रहरूले जिस्क्याउने गरेका छन्। अझ उनीहरूले मलाई मार्क्सप्रति मेरो दृष्टिकोण ठोस रूपमा बताउनु भनी कर गर्दछन्। यो ठोस रूप भनेको के हो ? म यस्ता जिद्दीवाल साथीहरूलाई मेरा लेख, वा भाषणहरूको गम्भीर अध्ययन गर्न अनुरोध गर्दछु। मैले मार्क्सको अध्ययन-प्रणालीलाई जहाँसम्म सम्भव हुन्छ आत्मसात गर्ने कोशिस गरेको छु तर म उनका कतिपय निष्कर्षहरूसित सहमत हुन सकेको छैन। यस समाजवादी आन्दोलनले पनि मार्क्सका प्रति यस्तै धारणा राख्नुपर्छ भन्ने सोचाइ छ। सबै समाजवादीहरूले मार्क्सका प्रति विल्कुलै एउटै एकैनासको रुढीग्रस्त विचार राख्नैपर्छ भन्ने छैन। हाम्रै पार्टीमा कतिपय कट्टर गान्धीवादीहरू पनि हालमा सामेल गरिनुभएको छ।
म यसलाई नराम्रो कुरा मान्दिन तर, द्वन्द्वात्मक भौतिकवाद वा गान्धीजीको अन्तरआत्माको पुकारजस्ता कुराहरूका बारेमा पार्टीभित्र अल्पमत वा बहुमतका आधारमा फैसला गर्नदिनु भने हुँदैन। यस्ता कुराहरूमा एक हदसम्म खुलापन रहन सक्छ तर पार्टीको आधारभूत सिद्धान्त र कार्यक्रमको स्पष्ट, ठोस र सगुण रूप सधैं नै कार्यकर्ताका अघि राखिनुपर्दछ। मार्क्स र एङ्गेल्स आफ्ना समयका ज्ञान र विज्ञानका नवीनतम धाराहरूसित परिचित थिए तर अहिलेका मार्क्सवादीहरू आलस्य गर्दछन्। भारतमा मार्क्सवाद र समाजवादको चर्चा परिचर्चा शुरु भएको निकै वर्ष भइसक्यो तर अझै पनि कसैले भारतको भरपर्दो आर्थिक इतिहास लेखेको छैन। मार्क्सले लेखेको, मार्क्सका नाउँमा प्रचलित रहेको पुँजीवादका नियमलाई यान्त्रिक रूपमा दोहोर्याएर यहाँका मार्क्सवादीहरू आफ्नो काम चलाउँछन्। म यसको विरोध गर्दछु। म सबै समाजवादीहरूलाई मेरो यस विरोधको प्रकृतिलाई ठम्याउनु हुन अनुरोध गर्दछु। यो नै निर्णायक विन्दु हो। शास्त्रीय मार्क्सवाद र समाजवादी आन्दोलनको सम्बन्धको द्वन्द्वलाई यस सन्दर्भमा राम्ररी बुझ्न, बुझाउन सकिन्छ। शास्त्रीय मार्क्सवादको आफ्नै महत्त्व र गरिमा छ तर लेनिनले पनि शास्त्रीय मार्क्सवादलाई यथावत् व्यवहारमा उतारेनन्। लेनिनले रुसी क्रान्तिको औचित्य ठहर गर्न मार्क्सवादको नयाँ व्याख्या गर्नु पर्यो।
माओले त्यसै गरे। हामीले पनि भारतको परिस्थितिअनुसार मार्क्सवादको नयाँ व्याख्या गर्ने जरुरत छ। यति कुरो स्वीकार गरिसकेपछि तपाईं आफूलाई मार्क्सवादी भन्नुहोस् वा समाजवादी भन्नुहोस्, त्यो महत्त्वपूर्ण होइन। नाम महत्त्वपूर्ण होइन। म नामबाट जान चाहन्न। म आफूलाई मार्क्सवादी वा गान्धीवादी भन्न चाहन्न। म समाजवादी हुँ। मेरा निमित्त यो शब्द बडो सुन्दर अनि अर्थपूर्ण छ।
अब समाजवादको कुरा गरौं। समाजवादले मार्क्सवादको बौद्धिक प्रभाव अवश्य स्वीकार गर्छ तर मार्क्सवाद र समाजवाद एक-अर्काको पर्याय होइन। मार्क्सवाद एउटा वैज्ञानिक विचारधाराका रूपमा अगाडि आएको छ। समाजवाद मुख्यतः आन्दोलन र कार्यक्रम हो। विचारधारा, आन्दोन र कार्यक्रममा आपसमा सम्बन्ध रहन्छ तर ती एक-अर्काका पर्याय हुँदैनन्। झन् देश, काल र परिस्थितिको भेद नबुझ्ने हो भने विचारधाराले बन्धनको रूप लिन्छ। मार्क्सवादले भारतको परिवेशमा बन्धनको रूप लिने खतरा छ। यसैले म बेलैमा भन्छु- म मार्क्सवादी होइन तर मैले मार्क्सबाट धेरै कुरो सिकेको छु। मार्क्सका सिद्धान्तलाई जडसूत्रका रूपमा लिनु हुँदैन भन्ने शिक्षा पनि मार्क्सको देन हो। यसैले म भन्छु- भारतका सन्दर्भमा पुँजीवादको ऐतिहासिक विकासलाई नयाँ ढङ्गबाट हेर्ने र बुझ्ने हामीलाई पूरा अधिकार छ। अहिले मैले यस दिशामा केही प्रारम्भिक प्रयास गरेको छु। यथासमय यस क्षेत्रमा अरू अवश्यक शोध र अनुसन्धान होला।
अब हामी समाजवादी चिन्तनको अर्को पक्षमा ध्यान दिउँ। पुँजीवादको व्याख्या नयाँ रूपमा गरियो। यस नयाँ व्याख्याका व्यावहारिक निष्कर्षका तर्फ पनि अब ध्यान दिउ। असली कुरो आखिर यही नै हो। सिद्धान्त व्यवहारका निमित्त बनेका हुन्छन्। सोभियत रुसले समाजवादको अधुरो अर्थ लगायो। सोभियत रुसले उत्पादनको प्रणालीलाई बदल्ने कुरा एकांगी रूपमा लियो। उत्पादन प्रणालीका दुई अंग हुन्छन्। एउटा अंगलाई उत्पादनको शक्ति र अर्को अंगलाई उत्पादनको सम्बन्ध भन्यौं। सोभियत रुसले दोस्रो कुरोलाई फेर्ने कोशिस गयो। रुसले पहिलोलाई चाहिँ उसले यथावत् राख्न चाहेको हो जस्तो देखियो। हामी यस किसिमको द्वन्द्व र दुविधालाई प्रश्रय दिन सक्दैनौं। भारतमा हामीले उत्पादनको शक्ति र सम्बन्ध दुवैलाई बदल्नु परेको छ। यो कुनै मनचिन्ते कुरा होइन। यो मेरो आत्मगत प्रलाप नठानियोस्। हाम्रो समाजको विकासको ऐतिहासिक बाध्यता यस्तै छ। हामी पुँजीवादी देशको ऐतिहासिक प्रक्रिया यहाँ दोहोर्याउन सक्दैनौ।
पुँजीवादले आफ्नै किसिमको यन्त्र प्रविधि र कल-कारखानाको विकास गरेको छ तर त्यस विकासमा जन्मस्थलको अनिवार्य छाप छ। ब्रिटेन र अमेरिकामा जमिन धेरै थियो, मानिस थोरै थिए। तदनुरूप यन्त्र र प्रविधिको विकास भयो तर यहाँ स्थिति उल्टो छ। ती यन्त्रहरूलाई आयात गर्ने लोभ हामीमा हुनु स्वभाविक हो तर यो गलत छ। हामीले हाम्रै भौतिक परिस्थिति र राष्ट्रिय पुँजीलाई ध्यानमा राखेर हाम्रो उत्पादन प्रणालीलाई नयाँ टुप्पाबाट पुनर्गठित गर्नुपर्नेछ। नयाँ किसिमका यन्त्र र औजारको आविष्कारको निमित्त समाजवादी सरकार र राज्य कृतसंकल्प रहनुपर्नेछ हामीले माथि हिन्दुस्तानमा रहेको पुँजीको कुरा गर्यौ। संकल्प गरेर पहिले सादगीपूर्ण जीवन बिताउने हो र सञ्चय गर्ने हो भने पुँजी सञ्चयको दर र मात्रा बढाउन सकिन्छ तर जस्तै बढे पनि अमेरिका र युरोपको स्तरमा पुग्न सकिन्न। आजको भारतको वर्तमान स्तर पनि असह्य छ। यो स्तर तोडिनु पर्दछ। नयाँ स्तरमा पुग्नु आवश्यक छ। मेरो विचारमा हामी भारतका श्रमिकलाई सरदर एक हजार रुपैयाँ प्रतिव्यक्तिको औजार दिने योजना बनाउन सक्छौं। स्मरणीय छ, अहिले प्रतिव्यक्ति पुँजीको दर मात्र १५० रुपैयाँ छ। यस अवस्थामा प्रतिव्यक्ति १००० रुपैयाँका औजार उपलब्ध गराउन सक्नु सानो कुरो हुनेछैन। फेरि यी औजार नयाँ किसिमका हुनेछन्। भारतको भूमि, प्राकृतिक संसाधन र जलवायुलाई ध्यानमा राखेर यी औजार बनाइनेछन्। यस किसिमका औजारले हाम्रो अर्थ-व्यवस्थालाई निकै व्यापकरूपमा आधुनिकीकरण गर्नेछ। योभन्दा महँगो उपकरणको अनुकरण गरेमा हाम्रो अर्थतन्त्रमा असन्तुलित र असमान विकासले प्रोत्साहन पाउनेछ। यद्यपि सरदर एक हजार रुपैयाँ प्रतिव्यक्तिको लगानी भने समाजिक तथा आर्थिक दुवै दृष्टिकोणले विवेकसम्मत हुनेछ भन्ने मेरो हिसाब छ।
समाजको शेष ढाँचा आफसे आफ रूपान्तरित भइहाल्छ। यो सोचाइ एकपक्षीय सोचाइ हो। यो अधुरो क्रान्तिकरण हो तर कम्युनिष्टहरूले आफू सत्तामा आउँदा यसै गरेका छन्। कम्युनिष्टहरूले पुँजीपति वर्गलाई समाप्त गरे तर पुँजीवादको उत्पादनका साधनहरूमा उनीहरूले कुनै परिवर्तन ल्याएनन्, त्यति मात्र होइन। चिन्तन र संस्कृतिको क्षेत्रमा पनि उनीहरू खास क्रियाशील भएनन्।
यो काम गर्न भने कठिन छ। यस कामका निमित्त एकसाथ प्रखर कल्पना शक्ति र प्रवल संकल्प शक्तिको खाँचो पर्नेछ। पहिले त हाम्रा अन्धविश्वासी तथा जडवादी राजनीतिज्ञहरूले यस कुरालाई हाँसोमा उडाउनेछन्। ल हेर, अब यो लोहियाले विज्ञान र आविष्कारलाई पनि आदेश दिने भयो भनेर पक्कै होहल्ला गर्नेछन्। के आविष्कार पनि राजनीतिज्ञले भनेर हुने कुरो हो र ? म हाम्रा बुद्धिजीवीहरू तथा देशवासीलाई यस प्रश्नका उपर गम्भीरता पूर्वक विचार गर्न आह्वान गर्दछु। पहिलो कुरा विज्ञानको आधारभूत नियमको आविष्कार र प्रविधिको विकासको प्रक्रिया अलग-अलग कुरा हो। विज्ञानका नियम पत्तो लगाइन्छ। यी नियमहरू पत्तो लाग्नुअघि पनि अस्तित्वमा रहेका हुन्छन्। त्यसैले कुनै राजनीतिज्ञको वा राज्यको आदर्शका आधारमा यी नियमको आविष्कार गर्न सकिन्न। न्युटन, डाल्टन वा आइन्सटाइनले यस्तै नियमको अध्ययन तथा आविष्कार गरे।
यस्ता वैज्ञानिकहरूको कार्यमा हस्तक्षेप गर्नु वा उनीहरूलाई आदेश दिनु सरासर मूर्खता हुनेछ तर यही कुरो सीप वा प्राविधिका बारे भन्न सकिन्न। कुनै भौतिक शास्त्रीलाई अणुको आधारभूत संरचना र गतिका विषयमा मनोनुकूल विचार व्यक्त गर भन्न सकिदैन तर फेरि अणुको प्रयोगका बारेमा अवश्य पनि निर्देशन दिन सकिन्छ। विज्ञान तथा प्रविधिको आजसम्मको इतिहास हेर्दा यो कुरो आफैँ छर्लङ्ग हुनेछ। विज्ञानका नियमहरू कसैको वशमा रहँदैनन् तर प्रविधिको विकास र परिस्कार मनुष्यको इच्छा र निर्णयबाट प्रभावित हुन्छ। शासक वर्गको नीति र नियमले उत्पादनका औजारहरूलाई अवश्य नै बनाउन सकिन्छ। दुर्भाग्यवश भारतजस्ता अविकसित मुलुकहरूले यसतर्फ समुचित ध्यान दिइरहेका छैनन्। भारतीय राज्यसित शोध र अनुसन्धानका वैज्ञानिक केन्द्रहरू छन्। यस्ता केन्द्रहरूले समुचित निर्देशन पाइरहेका छैनन्। हामी पश्चिमका प्राविधिको अन्धाधुन्द आयात तथा अनुकरण गरिरहेका छौं। यो गलत तथा घातक प्रवृत्ति हो। समाजवादी दलले यस प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु आवश्यक छ। हामी सत्तामा आएको खण्डमा हामीले प्रविधिमा क्रान्तिकारी परिवर्तन ल्याउनु पर्नेछ तर यो भोलिको कुरा हो। भोलि ढिलो हुनसक्छ। त्यसैले हामीले अहिले नै उपयुक्त प्रविधिको महत्त्वबाट हाम्रो राष्ट्र र समाजलाई अवगत गराउनु आवश्यक छ।
मार्क्सवादले आर्थिक विकासलाई एउटा अनिवार्य प्रक्रियाका रूपमा वर्णन गरेको छ। खासमा स्वयम् मार्क्सको सोचाइ यस विषयमा के कस्तो थियो, त्यो विवादास्पद छ तर प्रचलित मार्क्सवादलाई भने यसरी नै हेरिन्छ। प्रचलित मार्क्सवादले समाजको आर्थिक लक्ष्य र बन्दोबस्तलाई ठूलो महत्त्व दिएको छ। मार्क्सवादका किताबहरूमा अर्थतन्त्र वा उत्पादन प्रणालीलाई आधार भन्ने चलन छ। यस आधारका उपरमा सम्पूर्ण उपरीढाँचा खडा हुन्छ भनिन्छ। उपरीढाँचा अन्तर्गत राजनीति, नियम, कानुन, धर्म, संस्कृति, साहित्य, कला, संगीत, नैतिकता आदि पर्दछन्। समाजमा परिवर्तन भइरहन्छ तर यस्ता परिवर्तनहरू वास्तवमा आधारमा भएको परिवर्तनको परिणाम हुने गर्दछ। असली कुरो आधार नै हो। आधारलाई फेरिदिने हो भने समाज आफसे आफ फेरिन्छ। आधारको परिवर्तनले अनिवार्यरूपमा समाजका सोचाइ, मान्यता, संस्कार, नैतिकता तथा राजनैतिक संघ-संस्थासमेतमा परिवर्तन हुन्छ। मार्क्सवादके सोचाइ यस्तै छ। यसै सोचाइअनुसार मार्क्सवादले आर्थिक परिवर्तनलाई नै आफ्नो केन्द्रीय कार्यक्रम मान्दछ।
यस मान्यताअनुसार चिन्तन र संस्कारको क्षेत्रमा विशेष काम गर्नुपर्ने जरुरत महसुस गरिएको देखिन्न। अब यस पृष्ठभूमिमा एकपटक फेरि माथि भनिएको उपयुक्त प्रविधिको कुरो उठाऔं। उपयुक्त प्रविधिका निमित्त नयाँ किसिमको मानसिकताको आवश्यकता देखिन्छ। समाजको आर्थिक विकासमा मानिसले के-कस्ता प्रकारले हस्तक्षेप गर्न सक्छ पुँजीवादको विकास मनुष्यले आफ्ना संकल्पबाट गरेको थिएन तर के समाजवादको निर्माणमा पनि मानिसले आफ्नो इच्छा र संकल्पद्वारा प्रभावित गर्न सक्दैन त ? मार्क्सवादको इतिहासदर्शनका क्षेत्रमा यो प्रश्नले निकै बहस गराएको छ ? हामीले समाजवादको निर्माणको महान् अभियान चाल्दा यी प्रश्नहरू एकपटक फेरि जीवित हुन्छन्। अहिले यहाँ म यी प्रश्नहरूको गहिराइमा जान सक्दिन। यी प्रश्नहरूले स्वतन्त्र विवेचनाको अपेक्षा राख्दछन्। म अहिले आर्थिक क्रान्तिको अपर्याप्तताको चर्चामा आफूलाई केन्द्रित गर्न चाहन्छु, समाजवादी क्रान्ति मात्र आर्थिक कदापि होइन। आधारमा परिवर्तन ल्याइदिए पुग्छ।
समाजको शेष ढाँचा आफसे आफ रूपान्तरित भइहाल्छ। यो सोचाइ एकपक्षीय सोचाइ हो। यो अधुरो क्रान्तिकरण हो तर कम्युनिष्टहरूले आफू सत्तामा आउँदा यसै गरेका छन्। कम्युनिष्टहरूले पुँजीपति वर्गलाई समाप्त गरे तर पुँजीवादको उत्पादनका साधनहरूमा उनीहरूले कुनै परिवर्तन ल्याएनन्, त्यति मात्र होइन। चिन्तन र संस्कृतिको क्षेत्रमा पनि उनीहरू खास क्रियाशील भएनन्। ढिलो चाँडो यसको परिणाम अवश्य नै प्रकट हुनेछ। खास गरेर भारत तथा चीनमा यसको गम्भीर परिणाम हुनेछ। भारत तथा चीनका बारेमा मार्क्सले विशेष विचार गरेनन् तर त्यो उनको गल्ती होइन। गल्ती हाम्रो हो। मार्क्सको परिस्थिति र मजबुरी बुझ्दा बुझ्दै पनि हामी अल्छी भएका छौं। हाम्रो आफ्नो परिस्थितिको अध्ययन तथा अनुसन्धान गर्ने काम हामी गरिरहेका छैनौ। मार्क्सका सूत्र र नियमहरू दोहोर्याएर हाम्रो समाजका समस्याहरू समाधान हुँदैनन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार