(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवस हो । यसै सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले करिब ४५ वर्ष अगाडि लेख्नु भएको लेख प्रकाशन गरिएको छ । यो लेखको पहिलो भाग हो । )
समाजवाद मूलतः अन्तर्राष्ट्रिय आन्दोलन हो । कुनै एउटा राष्ट्रविशेषको दायरामा समाजवादी आन्दोलन सीमित रहन सक्तैन। कार्ल मार्क्सले उहिले आह्वान गरेका थिए- ‘दुनियाका मजदुर एक हौं।
डा. राममनोहर लोहिया खुद अन्तर्राष्ट्रिय भाइचाराका अडिग समर्थक थिए। सम्पूर्ण संसारका निमित्त उपयोगी र सार्थक सिद्ध हुनसके मात्र समाजवादी राजनीति र सिद्धान्तको औचित्य प्रमाणित हुने छ भन्ने डा. लोहियाको विश्वास थियो । त्यसो हुँदा समाजवादी आन्दोलन र चिन्तनलाई भौगोलिक आधारमा विभाजन गर्ने कोसिस युक्तिसंगत छैन । कुनै पनि सच्चा समाजवादीले यस्तो कोसिस रुचाउने छैन । तैपनि एउटा कुरा भन्नै पर्छ । एशिया र युरोपको परिस्थितिमा प्रशस्त अन्तर छ । दुवैका आर्थिक- सामाजिक संरचना बिलकुलै बेग्लै किसिमका छन् । कार्ल मार्क्सलाई पनि यस तथ्यको आभाष थियो । कार्ल मार्क्सले बेला बखतमा यस तथ्यको कुरा उठाएका थिए । मार्क्सले आफ्नो जीवनकालमा एशियाई उत्पादन पद्धतिका बारे विशेष अध्ययन गर्न भ्याएनन् ।
कार्ल मार्क्सको देहान्तपछि पनि त्यसतर्फ कसैको ध्यान गएन । दुर्भाग्यवश मार्क्सको देहान्तपछि मार्क्सवादको अध्ययनको दिशा विपरीत भयो । मार्क्सवादी विद्वान्हरूले मौलिक अध्ययनमा ध्यान दिएनन् । उनीहरूले ‘शास्त्रसम्मत’ अध्ययनमा आफ्नो समस्त शक्ति लगाए । त्यसको परिणाम राम्रो भएन। तसर्थ एशियामा समाजवादको मौलिक परम्परा अझै स्थापित हुनसकेको छैन । यस दृष्टिले एशियाई समाजवादको इतिहासमा डा. लोहिया अत्यन्त महत्वपूर्ण स्थान राख्दछन् ।
एशियाई समाजवाद स्वयं आफूमा स्वायत्त तथा आत्मनिर्भर व्यवस्था हुनेछ भने डा. लोहियाको भनाइ थिएन । तर, एसियाई समाज व्यवस्थाको विशिष्टताप्रति डा. लोहिया अति जागरुक थिए । त्यसै जागरुकताले डाक्टर लेहियालाई अत्यन्त शक्तिशाली विचारकका ठाउँमा प्रतिष्ठित गरेको छ । सामयिक एशियाले डाक्टर लोहियाको वैचारिक शक्तिको प्रभाव अद्यावधि महसुस गरेको छैन । हामीले अझै उनको महत्व बुझिसकेका छैनौं । झन्डै हरेक मौलिक विचारक आफ्नो युग तथा कालमा उपेक्षित रहेको हुन्छ ।
प्रायः प्रत्येक विचारक आफ्नो युगका बद्धमूल मान्यतासित विद्रोह गर्छ । तत्काल ऊ पराजितसमेत देखिन्छ । तर, समयका साथ उसको सत्य प्रकट हुन्छ । डा. लोहियाले पनि आफ्नो युगसित विद्रोह गरे। फलतः युगले उनको उपेक्षा गन्यो । डाक्टर लोहियाका कुनै पनि गम्भीर अध्येताले यो कुरो निश्चयसाथ भन्ने छन् । यो उपेक्षा स्थायी हुने छैन । लोहियाले एशियाई समाजवादको बहस र छलफलमा मौलिक योगदान दिएका छन् । एशियाई समाजवादको सन्दर्भमा हुने भोलिको कुनै पनि प्रयास र प्रयोगका निमित्त लोहियाको व्यक्तित्व र कृतित्वले गतिलो प्रस्थान विन्दुको काम गर्नेछ ।
१२ अक्टुवर १९१० का दिन उत्तरप्रदेश, भारतमा मध्यवित्तीय परिवारमा डाक्टर लोहियाको जन्म भएको थियो । उनको पूरा नाम राममनोहर लोहिया थियो । उनका पिताको नाउँ हीरालाल लोहिया थियो । तिनताका भारत बृटिश साम्राज्यवादको एउटा पनिवेश थियो। तर, भारतमा स्वाधीनता संग्रामको आविर्भाव भइसकेको थियो । तिलक,अरविन्द, गोखले र लाजपत राय राजनीतिमा सक्रिय थिए। गान्धी अझै अफ्रिकामा नै थिए । लोहिया दस वर्षका नपुग्दै गान्धी पनि भारत फर्के । त्यसपछि गान्धीको नेतृत्वमा भारत जनान्दोलनको महान् अभियानमा अग्रसर भयो ।
हीरालाल लोहिया महात्मा गान्धीका परम अनुयायी भए। महात्मा गान्धीको नेतृत्वमा सञ्चालित ‘नमक सत्याग्रह’ को क्रममा धरनामा हीरालाल सरिक थिए । बेस्सरी कुटिए र जेल परे । यो १९२९-३० को कुरो हो । गान्धीका सम्पर्कमा परेका कुनै पनि राजनीतिक कर्याकर्ता सामान्य मानिस रहन्नथे । गान्धीका नैतिक तथा राजनीतिक आग्रह अति ठोस,सगुण र सबल थिए। गान्धीका अनुयायीका निमित्त चखो, खद्दर र समता अनिवार्य शर्त थिए। अरू पनि अनेकौं शर्त थिए। हीरालाल लोहियाको परिवारमा पनि यी शर्तहरू पालना गरिन्थे । शिशु लोहिया की माता प्रशवपछि धेरै बाँचिनन् । बालक राममनोहरको पालन-पोषण पिता हीरालालको प्रत्यक्ष रेखदेखमा भयो । किशोरावस्थामा टेक्नासाथ राममनोहर लोहिया पनि स्वाधीनता संग्रामतर्फ आकर्षित भए । महात्मा गान्धीको उनका उपर विशेष प्रभाव पन्यो । लोहियाका उपरको गान्धीको यो प्रभाव आजीवन कायम रह्यो । गान्धी सम्पूर्ण मानव इतिहासमा ३/४ महानतम व्यक्तिमध्ये एक हुन् भन्ने बुझे । लोहियाले गान्धीको तुलना अक्सर धर्मका महान् संस्थापकहरू तथा गौतम बुद्ध, ईसा मसीह, मोहम्मद साहेवसित गरेका छन् ।
लोहियाको प्रारम्भिक शिक्षा कलकत्ता र वाराणसीमा सम्पन्न भयो । लोहियाले काशी विश्वविद्यालयबाट स्नातक तहको शिक्षा प्राप्त गरे । उच्चतर शिक्षाका निमित्त त्यसपछि लोहिया जर्मनी गए। जर्मनीका ती वर्ष (१९२९-३२) अत्यन्त उद्वेगपूर्ण थिए । एक जमानामा जर्मनी समाजवादी राजनीति र चिन्तनको प्रमुख केन्द्र थियो । रुसी राज्यक्रान्तिपछि जर्मनी विश्वासका सारा समाजवादीको आशाको केन्द्र भएको थियो । प्रथम विश्वयुद्धअघि जर्मनीको सामाजिक जनतान्त्रिक पार्टी विश्वको सर्वाधिक सबल र विशाल समाजवादी पार्टी थियो । प्रथम महायुद्धका दरम्यान यो पार्टीको जन्म भयो । १९२०-३० ताका जर्मनीमा समाजवादी लक्ष्य राखेका दुई सशक्त पार्टी उपस्थित थिए । तर, हेर्दाहेर्दै हिटलर र उसको नाजी पार्टीको उदय भयो । समाजवादी पार्टीहरू अर्थात् सोसल डेमोक्र्याटिक पार्टी र कम्युनिस्ट पार्टी दुवै नित्य निर्बल हुँदै गए। पार्टिहरूसित सही कार्यक्रम थिएन, रणनीति थिएन । कार्यनीति थिएन । फलतः हिटलर अजेय भए । हजारौं समाजवादी नेता र अन्ततः हिटलरको ग्यास चेम्बरमा भष्म भए ।
सन्१९२९-३० मा यो सब घटित भइसकेको थिएन । तर, वातावरणमा पूर्वाभाष अवश्य थियो । समाजवादी बुद्धिजीवीहरूका माझ प्रशस्त बहस र छलफल, उद्विग्नता र आत्मचिन्तन थियो । तरुण लोहिया ज्ञानपिपासु थिए । लोहिया तत्कालीन वातावरणप्रति उदासीन थिएनन् । जर्मनीको तत्कालीन बहस र विवादमा लोहियाले पूरापुर भाग लिए । सौभाग्यले लोहियाका केही साथी प्राध्यापक तथा अन्तर्राष्ट्रिय ख्यातिका विद्वान् थिए । लोहियाले तिनीहरूको सान्निध्यको लाभ उठाए। जर्मनीको बौद्धिक तथा राजनीतिक वातावरणले लोहियाको समाजवादी चिन्तनको परिष्कार गयो । डिग्रीका दृष्टिले लोहियाको जर्मन प्रवास विशेष महत्वपूर्ण सफल भयो । यद्यपि जर्मनीबाट थोरै समयमा नै डाक्टरको उपाधि लिन लोहिया सफल भए । लोहियाको शोधको विषय गान्धीको ‘नमक सत्याग्रह’ थियो । लोहियाको शोधको विषयले पनि लोहियाको तिनताकको मानसिकता राम्ररी प्रस्ट्याउँछ । तरुण लोहियाका निमित्त महात्मा गान्धी र उनको विचारधारा प्रमुख चिन्तन- सन्दर्भ थियो ।
१९३३ मा लोहिया भारत फर्के । लोहिया एकचोटि फेरि गान्धीको माध्यमबाट भारतीय राष्ट्रिय कांग्रेसका समीप पुगे । जवाहरलाल नेहरू तिनताका भारतीय राष्ट्रिय कांग्रेसमा प्रभावशाली हुँदै गएका थिए । विशेष गरेर तरुण पुस्तामा नेहरू अति लोकप्रिय थिए । लोहिया पनि नेहरूको सम्मोहनबाट मुक्त रहेनन् । जर्मनीबाट फर्केपछि केही वर्ष लोहिया नेहरूको निकटतम सम्पर्कमा रहे । भारतीय राष्ट्रिय कांग्रेसको विदेशनीतिमा नेहरूलाई विशेष दिचस्पी थियो । नेहरूले लोहियालाई कांग्रेसको विदेश विभागको काममा संलग्न गरे । यो काम लोहियाले अभिरुचि तथा योग्यताका साथ गरे। नेहरू र लोहियाको सहचिन्तनका आधारमा भारतीय राष्ट्रिय कांग्रेसको परराष्ट्रनीतिको रूपरेखा तयार भयो । पछि स्वाधीन भारतले यसै रूपरेखाको अनुशरण गर्ने कोसिस गयो ।
जवाहरलाल नेहरू एउटा सामान्य राजनेता थिएनन् । उनी उच्चकोटिका बुद्धिजीवी थिए। एउटा राजनीतिक पार्टीका रूपमा भारतीय राष्ट्रिय कांग्रेसको रीतिथिति एवं क्रियाकलापसित स्वयं नेहरू सन्तुष्ट थिनन् । भारतीय राष्ट्रिय कांग्रेसमा तिनताका विशेष गरेर पुँजीपति तथा जमिनदारको प्राबल्य थियो । तदनुरूप कांग्रेससित किसान तथा मजदुरका कुनै कार्यक्रम थिएनन् । नेहरू एउटा समाजवादीका रूपमा किसान तथा मजदुरका समीप जान चाहन्थे । तर, फेरि उनी कांग्रेसलाई छाड्ने पक्षमा थिएनन् । कांग्रेस तत्कालीन हिन्दुस्तानको सशक्ततम तथा जीवन्ततम जनआन्दोलन थियो। नेहरूले यो तथ्य बिर्सेका थिएनन् । त्यसैले जहाँसम्म हुन सक्छ कांग्रेसको नै क्रान्तिकरणको प्रयास हुनुपर्छ भन्ने नेहरूको विश्वास थियो ।
तर, यस प्रयासको सफलताप्रति नेहरू स्वयं विश्वस्त थिएनन् । बेलाबखतमा आफ्नो शंका प्रकट गर्नबाट नेहरू चुकेका थिएनन् । तरुण पुस्ताले नेहरूको शंकामा आफ्नो प्रतिध्वनि भेटेको थियो । फलतः अनेकौं प्रतिभाशाली तरुण नेहरूसित झ्याम्मिएका थिए। डा. लोहिया, जयप्रकाश, सम्पूर्णानन्द, अरुणा आसफअली, रफी अहमद किदवई, जे. ए. अहमद, पूर्णिमा बनर्जी त्यस्तै तरुण थिए ।
भारतीय राष्ट्रिय कांग्रेस मूलतः भारतको राष्ट्रिय जनआन्दोलनको अभिव्यक्ति थियो । राष्ट्रिय स्वाधीनता अर्थात् बृटिश शासनको समाप्ति यस आन्दोलनको प्रमुख लक्ष्य थियो । अरू कुरा गौण थिए । यो कुरा राष्ट्रिय कांग्रेसको सांगठनिक ढाँचामा पनि प्रतिविम्बित हुन पुगेको थियो । भारतीय राष्ट्रिय कांग्रेसभित्र एकसाथ अनेकौं राजनीतिक प्रवृत्ति उपस्थित थिए । प्रत्येक राजनीतिक प्रवृत्तिका आडमा निश्चित् सामाजिक आर्थिक शक्तिहरूले राष्ट्रिय कांग्रेसभित्र प्रतिनिधित्व प्राप्त गरेका थिए । तर, राष्ट्रिय पुँजीपति, गान्धी र कांग्रेस एकअर्काका पर्याय थिएनन् । बेलाबखतमा गान्धी र राष्ट्रिय कांग्रेस विपरीत दिशामा हिडेका देखिन्थे । त्यस्तो बेलामा राष्ट्रिय कांग्रेसको पुँजीवादी झुकाव स्पष्ट देखिन्थ्यो । पुँजीपति वर्ग तथा पुँजीवादी विचारधारा मजदुर किसानसित भयभीत रहन्छ । पुँजीपति वर्ग गान्धी र कांग्रेसलाई किसान मजदुरका समीप जान दिन चाहन्नथे । राष्ट्रिय कांग्रेसलाई आम जनताको हितमा हिंडाउने हो भने संघर्ष आवश्यक थियो । मुलुकको मुख्य खाँचो राष्ट्रिय स्वाधीनता थियो । यस कामका निमित्त पुँजीपति वर्गसमेतको सहयोग आवश्यक थियो । तर, मात्र पुँजीपति वर्गको भर र भरोसामा राष्ट्रिय स्वाधीनता सम्भव थिएन भन्ने कुरो पनि १९२९-३० ताका प्रस्ट हुँदै गएको थियो । यी कुरा धेरै हदसम्म गान्धी र नेहरूले पनि बुझेका थिए । तरुण पीढ़ी भने कृतसंकल्प थियो । कांग्रेस समाजवादी पार्टी यसै संकल्पको परिणाम थियो । महात्मा गान्धी र जवाहरलालसित तरुण समाजवादीहरूको त्यस समय विशेष राम्रो सम्बन्ध थियो । दुवैले समाजवादीहरूको संकल्प र प्रयासलाई शुभकामना र आशीर्वाद प्रदान गरे । त्यसो हुँदा कांग्रेस सोसलिस्ट पार्टीको गठनको कार्य निकै सजिलो भयो । महात्मा गान्धीमा आफ्नो कमजोरी लुकाउने प्रवृत्ति थिएन । ‘नमक सत्याग्रह’ पछि राष्ट्रिय कांग्रेसमा आएको कमजरोरी उहाँलाई थाहा थियो । सेप्टेम्बर १९३४ मा बल्लभभाइ पटेललाई लेखेको एउटा पत्रमा उहाँले लेख्नुभयो- त्यस विकट घडीमा स्वविकेकले कसैले राष्ट्रहितार्थ केही गर्छ भने राम्रो कुरा हो ।
सोसलिस्ट समूहको गठन राम्रो कुरा हो जस्तो लागेको छ । मैले यस समूहको स्वागत रगेको छु । भविष्यमा यस समूहको उन्नति अनिवार्य छ । अनेकौं प्रश्नमा गान्धी र सोसलिस्टहरू बेग्लाबेग्ले विचार राख्दथे । तर, वैचारिक विभेदले उनीहरूको सौहार्द्र प्रभावित भएको थिएन । यो सौहार्द्र पछिसम्म कायम रह्यो ।
आखिर, १९३४ मा पटनामा कांग्रेस सोसलिस्ट पार्टीको स्थापना भयो । आचार्य नरेन्देव स्थापना सम्मेलनका अध्यक्ष थिए। सम्मेलमा विहार, उत्तरप्रदेश र महाराष्ट्रका प्रतिनिधिहरू ज्यादा संख्यामा उपस्थित थिए । आचार्य नरेन्द्रदेव, जयप्रकाश र लोहियाबाहेक अशोक मेहता मीनु मसानी, सम्पूर्णानन्द, कमलादेवी चट्टोपाध्याय, पूर्णीमा बनर्जी, युसुफ मेहरअली, अच्युत पटबर्द्धन, एन. जी. गोरे, रामानन्द मिश्र आदि व्यक्तिहरू सम्मेलनका प्रमुख कार्यकर्ता थिए। कांग्रेस सोसलिस्ट पार्टीले जयप्रकाश नारायणलाई संगठनको सचिव नियुक्त गन्यो । संगठनको ढाँचामा सचिवको पदको विशेष महत्व थियो । सगठन करिव करिव कम्युनिष्ट पार्टीको ढाँचामा ढालिएको थियो । नयाँ सदस्याता प्रदान गर्ने पार्टीको अधिकार संस्थापक सदस्यहरूको हातमा केन्द्रित थियो । एउटा विशेष कुरा के थियो भने कांग्रेसका सदस्य भएका व्यक्तिहरू मात्र कांग्रेस सोसलिस्ट पार्टीको सदस्य हुन पाउँथे ।
स्वाधीनताको लक्ष्यको दृष्टिले कांग्रेस सोसलिष्ट पार्टी हरतरहले राष्ट्रिय कांग्रेसका साथ थियो । स्वाधीनताको प्राप्तिका दृष्टिले भने कांग्रेस सोसलिष्ट पाटीका आफ्ना केही खास आग्रह थिए। स्वाधीन भारतको आर्थिक सामाजिक पुनर्निर्माणका दृष्टिले पनि काग्रेस सोसलिष्ट पार्टीको स्वतन्त्र सोचाइ थियो ।
विचारधाराका दृष्टिले कांग्रेस सोसलिष्टमा मार्क्सवादको विशेष प्रभाव थियो । नरेन्द्रदेव र जयप्रकाश नारायण आफूलाई कट्टर मार्क्सवादी सम्झन्थे । स्मरणीय छ, यो १९३४ को कुरो हो । स्टालिनको लोमहर्षक हत्याकाण्डबाट विश्व अझै परिचित थिएन। विश्व सर्वहारा वर्गको अधिनायकत्वको सम्पूर्ण परिणामबाट अझै परिचित थिएन । जर्मनीमा नात्सीवादको कुरूपता देखिएको थियो । त्यसको तुलना गर्दा साम्यवादी प्रभावका तर्फ बुद्धिजीवीहरूको आकर्षण बढेको थियो । नेताहरूको लेखेका थिए- नात्सीवाद र साम्मावाद यस युगका मात्र दुई विकल्प हुन् । कांग्रेस सोसलिष्ट पार्टी पनि करिब-करिब यही सोच्दथ्यो । तिनताका नेहरू सोवियत रुसको औद्योगिक विकासका उपलब्धिबाट बिलकुलै अभिभूत थिए । कांग्रेस सोसलिष्ट पार्टीको मनस्थिति पनि त्यही थियो । तैपनि कांग्रेस सोसलिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टीमा केही महत्वपूर्ण मतभेद थिए । ती मतभेद मुख्यतः तीन बुँदामा केन्द्रित थिए। ती बुँदा निम्न प्रकारका थिए :
१. भारतीय कम्युनिष्ट पार्टी इन्टरनेस्नलसित सम्बद्ध थियो । भारतीय कम्युनिष्ट पार्टीको कार्यक्रम कम्युनिष्ट इन्टरनेशनद्वारा प्रस्तावित एवं स्वीकृत कार्यक्रम थियो । यसका विपरीत सोसलिष्ट पार्टीको कार्यक्रम पार्टीको आफ्नो अध्ययन, समझदारी र सामूहिक निर्णयमा आधारित थियो ।
२. कम्युनिष्ट इन्टरनेसनलका नजरमा महात्मा गान्धी प्रतिक्रियावादी तथा पुनरुत्थानवादी नेता थिए । तदनुरूप भारतीय सोसलिष्टहरू महात्मा गान्धीका एक नम्बरका शत्रु भएका थिए। भारतीय सोसलिष्टहरूको अर्कै दृष्टिकोण थियो । भारतीय सोसलिष्टहरू गान्धीका कतिपय मान्यतालाई त्रुटिपूर्ण सम्झिन्थे । तर, महात्मा गान्धी महान् देशभक्त हुन् भन्ने कुरामा सोसलिष्टहरूलाई शंका थिएन। महात्मा गान्धी भारतीय स्वाधीनता संग्रामका स्वाभाविक तथा सुयोग्यतम नेता हुन् भन्ने सोसलिष्टहरू महात्मा गान्धी र राष्ट्रिय कांग्रेससित घनिष्ट सम्बन्ध बनाएर काम गर्ने पक्षमा थिए ।
३. भारतीय कम्युनिष्ट पार्टी हरेक दृष्टिले नियन्त्रित पार्टी थियो । कम्युनिष्ट पार्टीका तुलनामा कांग्रेस सोसलिष्ट पार्टीमा प्रशस्त विचार स्वातन्त्र्य थियो । कम्युनिष्ट पार्टीका प्रत्येक सदस्यका निमित्त मार्क्स, लेनिन र स्टालिनका वचन अकाट्य थिए। नेता-वचन स्वयं आफूमा प्रमाण थिए । आप्तवचन थिए। यस दृष्टिले कांग्रेस सोसलिष्ट पार्टीले एउटा अर्कै परम्परा बसाउन खाजेको थियो । कांग्रेस सोसलिष्ट पार्टीका केही शीर्षस्थ नेता यथा आचार्य नरेन्द्रदेव र जयप्रकाश मार्क्सवादप्रति विशेष निष्ठा अवश्य राख्थे । तर, कांग्रेस सोसलिष्ट पार्टीभित्र अरू धारा पनि विद्यमान थिए । कांग्रेस सोसलिष्ट पार्टीका कतिपय नेता तथा अशोक मेहता, मीनु मसानी आदि मार्क्सवादका कट्टर आलोचक थिए। स्वयं डाक्टर लोहिया पनि मार्क्सवादी थिएनन् ।
कुनै पनि राजनीतिक सैद्धान्तिक मतभेदका अनिवार्य व्यावहारिक परिणाम हुन्छन् । कम्युनिष्ट र सोसशलिष्टका मतभेदका व्यावहारिक परिणाम छिटै देखा परे। कांग्रेस सोसलिष्ट पार्टीको स्थापनाको पाँच वर्ष नबित्दैमा विश्वव्यापी दोस्रो महायुद्ध (१९३९-४३) थालियो । जर्मनीका हिटलर यस महायुद्धका खलनायक थिए। प्रजातन्त्रको रक्षाको नाममा बृटेन र फ्रान्स हिटलरसितको संघर्षमा सामेल भए । भारतको स्वाधीनता सेनानीका माझ पनि यस युद्धका विषयमा ठूलो विवाद मच्चियो। भारतीय कांग्रेसको राजनीति पनि यस विवादबाट मुक्त रहेन । जवाहरलाल नेहरूले बृटेनप्रति सहानुभूति देखाए। सुभाष बोस भने जर्मनीका मद्दतले भारतलाई आजाद गराउन चाहन्थे । महात्मा गान्धी यस किसिमको पक्षधरतामा अलमलिन चाहन्नथे। आखिर महात्मा गान्धीको आग्रह र पहलकदमीमा भारतमा एकखेप फेरि एउटा महान् जनआन्दोलनको श्रीगणेश भयो । यो जनआन्दोलन भारतको इतिहासमा ‘भारत छोडो’ का नामले प्रसिद्ध छ । यो १९४२ को कुरो हो। प्रारम्भमा ४२ को भारत छोडो आन्दोलन थियो। अन्तिम चरणमा गएर यो जनान्दोलन सशस्त्र विद्रोहमा परिणत भयो ।
१९४२ को सशस्त्र विद्रोह महात्मा गान्धीको राजनीतिक जीवनको चरमोत्कर्ष थियो । यस आन्दोलनले महात्मा गान्धीको राजनीतिक कौशल, दृढता तथा यथार्थवादीताको राम्रो परिचय दियो । तर, यो विद्रोह मुख्यतः कांग्रेस सोसलिष्ट पार्टीको गौरव गाथा सिद्ध भयो । ४२ को विद्रोहमा राष्ट्रिय कांग्रेसका नेताहरूको विशेष भूमिका थिएन ।
अनेकौ अलमल र विवादपछि भारतीय राष्ट्रिय कांग्रेस संघर्षको फैसलामा पुगेको थियो । अंग्रेजलाई भारत छोड भन्ने सम्बोधन गरेको हुँदा यो आन्दोलन ‘भारत छोडो’ आन्दोलनको नामले प्रसिद्ध भएको हो । ९ अगस्त १९४२ का दिन भारतीय कांग्रेसको केन्द्रीय समितिले “भारत छोड’ प्रस्ताव पारित गर्यो । महात्मा गान्धीले ‘गर कि मर’ भनी कांग्रेसी कार्यकर्तालाई मन्त्र दिए । तर, त्यसपछि लगत्तै महात्मा गान्धीलगायत सबै कांग्रेसी नेताहरू गिरफ्तार गरिए । कुनै शीर्षस्थ नेता कारागारबाहिर रहेनन् । गान्धी, जवाहरलाल नेहरू, सरदार पटेल, डाक्टर राजेन्द्रप्रसाद, मौलाना अब्दुल कलाम आजाद आदि सबै जेल परे । आचार्य नरेन्द्रदेव पनि जेल परे । जयप्रकाश नारायण, राममनोहर लोहिया र कांग्रेस सोसलिष्ट पार्टीका अनेकौं तरुण नेताले भने भूमिगत हुने निधो गरे । आम जनतामा ठूलो जोश र आक्रोश थियो। ‘भारत छोड’ भन्ने हाँक थियो । त्यतिले नपुगेर नेताको ‘गर कि मर’ भन्ने मन्त्र थियो । यस परिस्थितिमा विद्रोहमुखी जनतालाई नेतृत्व दिने अभिभारा कांग्रेस सोसलिष्ट पार्टीमा आयो । त्यो यस परीक्षामा सगौरव उर्त्तीण भयो । अझ त्यसमा पनि जयप्रकाश नारायण र डा. लोहियाले यस विद्रोहको क्रममा रातारात राष्ट्रिय कांग्रेसका सम्पूर्ण नेताहरू गिरफ्तार भएका हुँदा अगस्त १९४२ को भारतीय राष्ट्रमा एकाएक आएको किकर्त्तव्यविमूढतालाई तोडे । विद्रोहमा जयप्रकाश नारायण र लोहिया राष्ट्रिय प्रतिरोधका प्रमुख केन्द्र. भए । स्वभावतः सम्पूर्ण राष्ट्रले उनीहरूलाई चिन्यो । सशस्त्र विद्रोहको सञ्चालनको क्रममा जयप्रकाश र लोहिया नेपाल पनि आएका थिए । देशभित्र र बाहिर गरी जयप्रकाश र लोहियाले निकै लामो समयसम्म सशस्त्र विद्रोहको नेतृत्व गरे । तर, पछि दुवै गिरफ्तार भए। जेलमा उनीहरूलाई नाना याताना दिइयो । पछि भारत स्वाधीन हुने टुङ्गो भएपछि दुवै जेलबाट छाडिए । लोहिया र जयप्रकाश नारायण अप्रिल १९४६ मा सँगै जेलबाट छुटे ।
१९४२-४३ ताका नै डा. लोहियाको विचारधारा करिब-करिब परिपक्व भइसकेको थियो भन्ने कुरा उनका तिनताकाका कृतिहरू ‘माक्र्सोत्तर अर्थशास्त्र’ पढ्दा प्रस्ट बुझिन्छ । तिनताका लोहिया ३२-३३ वर्षका प्रखर तन्नेरी थिए । महात्मा गान्धीसित उनको सम्बन्ध दिनानुदिन प्रगाढ भएको थियो । ४२ को विद्रोहको प्ररिप्रेक्ष्यमा गान्धीका त्यतिन्जेलमा अनेकौं शिष्य गान्धीसित विमुख भएका थिए । अरू त अरू स्वयं जवारहराल नेहरूको दृष्ट्रिकोणमा समेत स्पष्ट परिवर्तन आएको थियो । गान्धी र नेहरूमा तथा नेहरू र समाजवादीहरूमा दूरी बढ्दै गएको थियो । यिनै तथ्यको तार्किक उत्पत्तिका रूपमा गान्धी र सोसलिष्टहरू पनि एक- अर्काका नजिक आएका थिए । अझ त्यसमा पनि गान्धी र लोहियाको सामीप्य र आत्मीयता विशेष उल्लेखनीय थियो ।
वास्तवमा भन्ने हो भने गान्धी र लोहियाको सामीप्य र आत्मीयता कुनै नयाँ कुरा थिएन । यत्ति हो, समयका साथ गान्धीप्रतिको उनको आस्था झन्-झन् गहन तथा धनीभूत हुँदैगयो । कांग्रेस सोसलिष्ट पार्टीको मार्क्सवादी वातावरणबाट लोहिया सर्वथा अप्रभावित थिए । कांग्रेस सोसलिष्ट पार्टी बेलायतको लेवर पार्टीबाट प्रभावित थियो । लोहियालाई त्यस धाराले पनि प्रभावित गर्न सकेन । बेलायत अथवा जर्मनीबाट लोहियाले केही सिकेनन् भन्ने होइन । लोहियाले युरोपबाट प्रशस्त ज्ञान आर्जन गरे । लोहियाका वचन तथा कर्मबाट सो कुरो राम्ररी थाहा पाइन्छ । खास गरेर लोहिया मार्क्स र मार्क्सवादका प्रविण जानकार थिए । जर्मनी तिनताका मार्क्सवादको मूल थलो थियो । जर्मनीको सोसलिष्ट पार्टी अर्थात् जर्मन सोसल डेमोक्र्याटिक पार्टीको नीति र कार्यक्रम त्यतिन्जेल मार्क्सवादमा आधारित थियो । अझ भन् कम्युनिष्ट पार्टीको त कुरै भएन । कम्युनिष्ट पार्टी झन् कट्टर मार्क्सवादी पार्टी थियो । तर, नाजी पार्टीको आक्रमणका सामु दुवै पार्टीको केही लागेन । तिनताका दुवै पार्टी विघटनोन्मुख भएका थिए । लोहियाले आफ्ना आँखाले यो सबै देखेका थिए । त्यसो हुँदा लोहियाका मनमा मार्क्सवादकाप्रति कहिल्यै कुनै अतिरिक्त मोह भएन । बेलायतका फेवियनवाद र लेवर पार्टीलाई हेर्ने लोहियाको दृष्टि बेग्लै थियो ।
भारतको स्वाधीनता संग्रामप्रति लेवर पार्टीको दृष्टिकोण स्पष्ट थिएन। अपवादस्वरूप २-४ जनालाई छाडिदिने हो भने बेग्लै करो हो । नत्र दलका रूपमा बेलायतको लेवर पार्टी र कन्जरभेटिव पार्टीको भारत- नीतिमा कुनै फरक थिएन । आफूलाई समाजवादी सम्झिने अंग्रेज पनि भारतीय स्वाधीनताका समर्थक थिएनन् । लेवर पार्टीका नेताहरू भारतलाई असभ्य देश सम्झन्थे । अंग्रेजी शासनले भरतमा सभ्यताको सञ्चार र प्रसार गरेको छ भन्ने उनीहरूको धारणा थियो । विश्वबन्धुत्व र विश्वभ्रातृत्वको नारा मात्र जिब्रोमा सीमित थियो । औपनिवेशिक श्रेष्ठताको अभिमानले कुनै अंग्रेज समाजवादी मुक्त थिएन । १९४२ मा भारत आएको क्रीप्स मिशनले यो कुरो स्पष्ट पारेको थियो । बेलायतको राष्ट्रिय राजनितिक दृष्टिले सर स्टैफर्ड क्रीप्स पक्का समाजवादी थिए । बेलाबखतमा भारतीय स्वाधीनताप्रति सहानुभूति देखाउन पनि उनी चुक्दैनथे । तर, यो सहानुभूति विशेष गहिरो थिएन, १९४२ मा थाहा पाइयो । भारतीय स्वाधीनताका समस्याहरूको अध्ययन गर्न १९४२ मा क्रीप्स भारत आए । उनको आगमन भारतको इतिहासमा ‘क्रीप्स मिशन’ को नामले प्रसिद्ध छ । सर स्टैफर्ड क्रीप्सका प्रस्ताव भारतीय स्वाधीनताका दृष्टिले उत्साहवर्धक थिएनन् । युद्धको समय थियो । बृटिश सरकार युद्धका निमित्त भारतीय जनताको सहायता चाहन्थेोा । क्रीप्स मिशन भारतीय सहानुभूति आर्जन गर्ने एउटा धूर्ततापूर्ण कोशिस थियो । क्रीप्स मिशनमा भारत-विभाजका वीज विद्यमान थिए ।
क्रीप्स मिशनमा भारतका तत्कालीन राजा-रज्यौटालाई विशेष सम्प्रभुता दिइएको थियो । क्रीप्स मिशन बेलायती समाजवादीको वास्ताविक अनुहार एकखेप फेरि उदांगियो । त्यही बेला लोहियाले एउटा तीखो लेख लेखेका थिए ‘द मिस्टर अफ सर स्टैफर्ड क्रीप्स’ । युरोपीय समाजवादीहरूप्रति लोहियाको धारणा के थियो भन्ने कुरो यस लेखबाट पनि बुझिन्छ । घटनाक्रमले लोहियाका आधारभूत मान्यतालाई झन् प्रस्ट पारेर लग्यो ।
कांग्रेस सोशलिष्ट पार्टीको स्थापना (१९३४) पछि लोहिया पार्टीको साप्ताहिक प्रकाशन कांग्रेस सोशलिस्टको सम्पादक भएका थिए। तिनताका लोहिया धेरैजसो घुमिरहन्थे । त्यसै पनि विशेष गरेर प्रकाशनका सिलसिलामा लोहियाको बसोवास कलकत्ता र इलाहावादमा रहयो । कलकत्ताका बालकृष्ण गुप्त लोहियाका परम मित्र थिए । दुवै बालसखा पनि थिए । बालकृष्ण गुप्त पनि अति प्रखर बुद्धिजीवी थिए । बालकृष्ण गुप्तको राजनीतिक विचारधारामा भने लीओन ट्राटस्कीको विशेष प्रभाव थियो । दुवै रात-रातभरि बहस गर्थे र सूब पढ्थे । लोहियाको व्यक्तित्वमा एउटा विशेष किसिमको स्वच्छता थियो । समाजको परम्परागत नियम- कानुन उनलाई मन्जुर थिएन। इलाहावादमा लोहिया नेहरू परिवारका अतरङ्ग सदस्य भएका थिए । नेहरूको बौद्धिक र मावतावादी व्यक्तित्व लोहियाका निमित्त विशेष आकर्षणको वस्तु थियो । तिनताका नै लोहिया र आचार्य नेरेन्द्रदेवमा पनि घनिष्ठ सम्बन्ध स्थापित भयो । उमेरका दृष्टिले आचार्य नरेन्द्रदेव लोहियाभन्दा करिब २० वर्ष जेठा थिए । तर, उमेरको यो अन्तरले मित्रतामा बाधा भएन। तिनताका नै लोहिया उत्तरप्रदेशको राजनीतिमा प्रतिष्ठत भए । लोहियाका प्रयासले उत्तरप्रदेशमा समाजवादी आन्दोलन निकै सबल भयो । स्वायत्तोत्तर राजनीतिमा पनि लोहिया विशेष गरेर उत्तरप्रदेशमा सक्रिय रहे । उनी त्यसैबाट चुनाव पनि लडे ।
कांग्रेस सोसलिष्टको सम्पादनका दौरान लोहियाले अनेकौं लेख खेले । ती वर्षहरूमा लोहियाले अनेकौं विवादमा हिस्सा लिए। भारत मात्र हैन, विश्वकै इतिहासमा ती वर्ष (१९३४-४७) युगान्तकारी वर्ष सिद्ध भए । १९३४-३६ मा स्पेनमा गृहयुद्ध भयो । त्यस गृहयुद्धले संसारभरिका आदर्शवादी तन्नेरीहरूको मनस्थितिमा खलबल पैदा गर्यो । स्पेनको गृहयुद्ध द्वितीय विश्वयुद्धको रिहर्सल थियो । एकापट्टि फासीवादका जनरल फाँको थिए, अर्कापट्टि प्रजातान्त्रिक शक्ति थिए । प्रजातान्त्रिक शक्तिका पक्षमा युरोपका सोशल डेमोक्र्याट्स र कम्युनिष्ट थिए । तर, त्यस दारुण, गृहयुद्धमा पनि सोशल डेमोक्रयाट्स र कम्युनिष्टहरूले आफ्ना मतभेद मुलतवी राख्न सकेनन् । खास गरेर स्टालिनको कौटिल्य- नीतिमा कुनै न्यूनता आएन । आपसी सौहार्द्र र सहयोगका अभावमा स्पेनको प्रजातान्त्रिक पक्ष पराजित भयो ।
स्पेनको गृहयुद्धको नाटकीयता र मार्मिकताले धेरै तरुणहरू प्रभावित भए । लोहियाका उपर यस गृहयुद्धको आफ्नै किसिमको प्रभाव पर्यो । लोहियालाई सोशल डेमोक्रेसी र कम्युनिष्ट दुवैसित विश्वक्रान्तिका निमित्त कुनै सन्देश छैन भन्ने लाग्यो । साँच्चै भन्ने हो भने लोहिया सुस्तरी तर निश्चितरूपले सम्पूर्ण पश्चिमी सभ्यतालाई शंकाको नजरले हेर्न लागे। महात्मा गान्धी त्यसै पनि पश्चिमी सम्यताका तीव्र आलोचक थिए । त्यस दृष्टिले लोहिया र गान्धीको सामीप्य झन् प्रगाढ भयो । तर, ठीक यसै प्रश्नमा लोहिया र नेहरूका बीच भने विभेद देखिदै गयो । नेहरू पनि गान्धीलाई अत्यन्त आदर र स्नेह गर्थे । तर, आफ्ना समस्त स्नेह र आदरका बाबजुद नेहरू गान्धीलाई सर्वथा अव्यावहारिक चिन्तक सम्झन्थे । त्यस दृष्टिले नेहरू आधारभूत रूपमा पश्चिमी सभ्यताका उपासक थिए। नेहरूको व्यक्तिगत सोचविचार, खानपिन, रहनसहनसमते पश्चिमी सभ्यताबाट प्रभावित थियो । त्यस दृष्टिले उनी गान्धीको विलोम थिए । समस्या नेहरू र लोहियाको वा नेहरू र गान्धीको व्यक्तिगत सम्बन्धमा सीमित थिएन। तर, व्यक्तिगत सम्बन्धका साथ राजनितिक दृष्टिकोणको कुरा पनि अनिवार्य रूपले गाँसिएको थियो । प्रारम्भमा नेहरूसमेतको वरदहस्तबाट कांग्रेस सोशलिष्ट पार्टीको स्थापना भएको थियो । तर, १९३९-४० तिर आइपुग्दा नेहरूले अनेकौंपटक कांग्रेस सोशलिष्ट पार्टीको कटु आलोचना गर्ने खण्ड आइसकेको थियो । त्यसै बीच एउटा अर्को घटना भयो । आचार्य नरेन्द्रदेव कांग्रेस सोशलिष्ट पार्टीका शीर्षस्थ नेता थिए। तर, राष्ट्रिय कांग्रेसमा पनि उनको त्यत्तिकै सम्मान थियो । उत्तरप्रदेशको प्रान्तीय अध्यक्षका रूपमा कांग्रेस पार्टीको संगठनमा उनले प्रशंसनीय योगदान दिएका थिए । तिनताका भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष प्रतिवर्ष विधिवत छानिन्थ्यो ।
१९३९ को वर्षको अध्यक्षका रूपमा आचार्य नरेन्द्रदेवको नामको चर्चा चल्यो । खुद महात्मा गान्धीले यो प्रस्ताव ल्याउनुभयो । कांग्रेस सोशलिष्ट पार्टीका निमित्त आचार्य नरेन्द्रदेवको सम्मान गर्नु खुसीको कुरा थियो । तर, किन हो कुन्नि, जवाहरलालले यो कुरो रुचाएनन् । जवाहरलाल नेहरूले आचार्य नरेन्द्रवको तीव्र विरोध गरे । आखिर आचार्य नरेन्द्रदेव कांग्रेसका अध्यक्ष भएनन् । यस घटनाले नेहरू र कांग्रेस सोशलिष्ट पार्टीको सम्बन्धमा कटुता उत्पन्न गर्यो । तैपनि महात्मा गान्धीको स्नेही एवं समन्वयशील उपस्थितिले गर्दा कांग्रेसभित्र कुनै अप्रिय स्थिति उत्पन्न भएन । तर, यी घटनाक्रमले नेहरू र गान्धीको व्यक्तित्वको अन्तर भने राम्ररी प्रस्टिएको थियो । गान्धीको सोचाइको सन्दर्भमा राजनीतिक सत्ताको कुनै स्थान थिएन । नेहरू बहुधा राजनितिक सत्ताको सन्दर्भमा सोच्दथे । अरू जे मतभेद थिए, ती त छँदै थिए। सौभाग्यवश दुवैले ती मतभेद लुकाएका थिएनन् ।
आफ्नो राजनीतिक जीवनको प्रारम्भका वर्षहरूमा अर्थात् दक्षिण अफ्रिकामा छँदा नै महात्मा गान्धीले आफ्ना वैचारिक मान्यताहरूलाई स्पष्टरूपमा व्याख्या गरेका थिए । ‘हिन्द स्वराज्य’ भन्ने एउटा सानो पुस्तिकामा महात्मा गान्धीले आफ्ना मूलभूत विचार सरल तथा संक्षिप्तरूपमा एक ठाउँमा राखेका छन् । यो पुस्तिका १९०८ मा नै लेखिएको तथा छापिएको थियो । गान्धीका कतिपय मान्यता तपसिलका दृष्टिले पछि फेरिए । तर, ती परिवर्तन गौण थिए। १९०८ का गान्धीका मान्यताका आधारभूत तत्त्वमा कुनै परिवर्तन थिएन । ‘हिन्द स्वराज्य’ मा गान्धीले पश्चिमी सभ्यताको यावत उपलब्धिलाई प्रश्न गरेका छन् । आफ्ना प्राविधिक उपलब्धिको बोझले थिचिएर पश्चिमी सभ्यता मरणोन्मुख भएको छ । पश्चिमको अन्धानुकरणबाट भारतमा स्वराज्य स्थापित हुँदैन । स्वराज्य हासिल गर्नका निमित्त भारतले सर्वप्रथम पश्चिमको व्यामोहबाट मुक्त हुनुपर्छ। मशिन-प्रधान सभ्यताको तिरस्कार त्यस मुक्तिको पहिलो शर्त हो भन्ने गान्धीको धारणा छ । ठूलो कुरो के छ भने त्यस सानो पुस्तिकामा गान्धी बारम्बार दुई विपरीत सभ्यताको प्रारम्भताको प्रसंग उठाउँछन् । भारत र बेलायतको टकराहट मूलतः दुई भिन्न सम्भताको टकराहट हो । यो टक्कर मात्र दुई आर्थिक वा राजनितिक प्रणालीको टक्कर कदापि हैन । सभ्यताको कुरो झिकेर गान्धीले एउटा सारयुक्त प्रसंग थालेका थिए । यस प्रसंगले लोहियालाई आफ्नो विचारधाराको विकास गर्न ठूलो सघाउ पुग्यो ।
नेहरूको दृष्टि बेग्लै थियो । नेहरू केही हदसम्म बेलायती उदारवाद र सोभियत मार्क्सवादबाट एकसाथ प्रभावित थिए। यसमा एउटा अजीव सम्मिश्रण विद्यमान थियो । तर, यो सम्मिश्रण स्वाभाविक थिएन । दुवै प्रभावमा युरोपीय तत्त्व थियो । नेहरूले खास त्यही युरोपीय तत्त्व ग्रहण गरेका थिए । नेहरू युरोपीय औद्योगिक विकासको प्रबल प्रशंसक थिए । औद्योगिक विकासका दृष्टिले बेलायती उदारवाद र सोभियत मार्क्सवादमा कुनै पनि अन्तर थिएन । कुनै पनि मुलुकको सभ्यता तथा प्रगतिको निमित्त विशाल कलखारखाना तथा औद्योगीकरण अनिवार्य छ भन्ने नेहरूको विश्वास थियो । नेहरूको परिकल्पनाको स्वाधीन भारत मूलतः उद्योग-प्रधान भारत थियो । १९४० मा नै नहरूले प्रस्ट लेखेका थिए- ‘भावी भारतमा ग्रामीण उद्योग पनि अवश्य चाहिने छन् । तर, ग्रामीण उद्योगलाई केन्द्रमा राखेर भावी भारतको कल्पना गर्न सकिदैन । विशाल उद्योग र प्राविधिक आवश्यकतालाई मध्यनजर राखेर मात्र कुटिर उद्योगलाई प्रोत्साहन दिइनेछ ।’ गान्धी र नेहरूको दृष्टि यस प्रश्नमा सर्वथा विपरीत थियो । गान्धी पनि सबै किसिमका कलकारखानाका विरोधी थिएनन् । कतिपय कलकारखाना सर्वथा अनिवार्य हुनेछन् भन्नेबारेमा गान्धीलाई कुनै शंका थिएन। जनवरी २७,१९४० को हरिजनमा गान्धिले लेखेका थिए- ‘भावी भारतले सबै प्रकारका कल र उद्योग छाड्नै पर्नेछ भन्ने मेरो भनाइ होइन । बिजुली, रेल, जहाज, इस्पात आदि आवश्यक सेवाका निमित्त चाहिने मशिन गाउँबाट प्राप्त हुनेछैन भन्ने मलाई थाहा छ । मेरो आग्रह त यत्ति हो, यी यावत् सेवा गाउँले जनताको हितलाई ध्यानमा राखेर मात्र प्रयोगमा ल्याइनु पर्छ । अर्का शब्दमा भने हो भने गाउँले जनताका दिनानुदिनका प्रयोगका कुराहरूको उत्पादन पहिले गरियोस् । भारी उद्योगको कुरा त्यसपछि मात्र गरियोस् ।’ संक्षेपमा गाउँको आर्थिक विकासको सारा सम्भावनालाई प्राथमिकता प्रदान गरेर मात्र गान्धी उद्योगका समीप पुग्ने पक्षमा थिए ।
तर, औधोगिक विकासको प्राथमिकताको कुरो निश्चय प्रमुख प्रश्न थिएन । मूल कुरो के थियो भने इगल्याण्ड र रुस नेहरूका निमित्त भारतको भावी आदर्श थियो । नेहरूको विकासको मोडेल युरोप थियो । गान्धीका निमित्त सो थिएन। गान्धी युरोपीय सभ्यता उपयोगी तत्त्व लिने पक्षमा थिए। तर, ती मशिन र उधोग गान्धीका विचारमा उपयोगी तत्त्व थिएनन् । गान्धीले स्वयं पश्चिमी सभ्यताबाट धेरै कुरा सिकेका थिए। मुख्यतः गान्धी भारतका निमित्त भारतीय बाटो खोज्न आतुर थिए । भारतको विशिष्टतामा गान्धीको विशेष आग्रह थियो । गान्धीलाई भारतको आध्यात्मिक अतीतका उपर विशेष गर्व थियो । नेहरू आध्यात्मिक अतीतका त्यस्ता कुरालाई भावुकता सम्झन्थे । तर, गान्धीका निमित्त आध्यात्मिकता जीवन-भरणको प्रश्न थियो । धर्म र अध्यात्मको माध्यमबाट उनी राजनितिको समीप पुगेको थिए । गान्धीलाई सत्ताको दृष्टिले राजनीतिमा कुनै रुची थिएन । बरु उनका निमित्त राजनीति आत्मसन्धानको महान प्रयोग थियो । ‘हिन्द स्वराज्य’ का प्रत्येक पृष्ठिमा गान्धीको अध्यात्मिक विश्वासको प्रतिध्वनि छ । आधुनिक पाठकहरूका निमित्त ‘हिन्द स्वराज्य त्यति पठनीय पुस्तक छैन । तर, ‘हिन्द स्वराज्य’ का पृष्ठमा वास्तविक गान्धी उपस्थित छन् ।
डाक्टर राममनोहर लोहियाको मुख्य विशेषता के रह्यो भने उनले बेलैमा यस वास्तविक गान्धीलाई चिने । त्यहीं मात्र हैन, उनले गान्धीक चिन्ता र चिन्तनलाई अझ गहन रूप दिए। सामान्यतः आफ्ना लेख व भाषणमा गान्धी धार्मिक आध्यात्मिक भाषाको प्रयोग गर्छन् । लोहिय आफ्ना रचनामा धर्म-निरपेक्ष तथा वैज्ञानिक शब्दावलीको प्रयोग गर्छन् । समकालीन पाठकका निमित्त एउटा अर्को कठिनाइ छ । अक्सर गान्धी आफ्नो राजनैतिक पक्षमा तर्क र विवेक पेश गर्न विशेष रुची राख्दैनन् । उनी अन्तरात्माको आवाज तथा अन्तःप्रेरणाको कुरा उठाउँछन् । लोहियाको निमित्त भने तर्क उनको राजनितिको प्रमुख हतियार हो । युरोपको विवेकवादबाट लोहिया विशेषरूपमा प्रभावित थिए। युरोपको समाजवादी चिन्तनको शास्त्रार्थबाट लोहिया अवगत थिए । आफ्ना मूलभूत विचारका निमित्त लोहिया सोह्रै आना गान्धीका ऋणी छन् । गान्धीले आफ्नो कुरा सूत्ररूपमा भने । लोहियाले ती सूत्रको वैज्ञानिक एवं वैचारिक विकास गरे । गान्धीलाई शास्त्रार्थमा रुचि थिएन । लोहिया शास्त्रार्थमा रमाउँथे । गान्धीमा पाण्डित्य थिएन । लोहियाको पाण्डित्य उनको प्रत्येक वाक्यमा प्रकट हुन्छ । तसर्थ गान्धी र लोहियाको शैलीमा ठूलो अन्तर दृष्टि-गोचर हुन्छ । अन्यथा लोहियाले गान्धीको आधारभूत मान्यताको सुसंगत विकास र स्पष्टीकरण गर्ने काम विशेष ध्यानले गरेका छन् । लोहियाका विचारमा गान्धी बीसौं शताब्दीका दुई महान् आविष्कारमध्ये एक हुन् । अर्को आविष्कार बम हो । आजको मानवताले यी दुई अविष्कारमध्ये एकको चयन गर्नु परेको छ । बीसौं शताब्दीको कुनै पनि युक्तिसंगत विचारधाराले गान्धीको उपेक्षा गर्न सक्तैन भन्ने लोहियाको विश्वास थियो ।
गान्धीले आफू र आफ्नो कर्मलाई कुनै वादको संज्ञा दिन चाहेनन् । यद्यपि गान्धीलाई समाजवाद शब्दप्रति कुनै पनि विरोध थिएन । तर, गान्धी समाजवादी थिएनन् । लोहिया समाजवादी थिए । विश्व समाजवादी आन्दोलनको मूल-धारमा लोहिया दृढतापूर्वक अवस्थित भएर पनि गान्धी र लोहियाको सम्बन्ध एकत्व र अविभाज्य छ । लोहियाको समाजवादी चिन्तनका नायक गान्धी हुन् । गान्धी र नेहरूको चिन्तन-शैलीमा पनि छन त कतिपय साम्य छ । गान्धीले नेहरूलाई सर्वाजनिकरूपमा आफ्नो राजनितिक उत्तराधिकारी नियुक्त गर्नुभएको थियो । तर, पाश्चात्य सभ्यताको प्रासंगिकताको प्रश्नमा गान्धी र नेहरूमा आभारभूत पार्थक्य थियो । लोहिया भने ठीक यही पार्थक्य विन्दुमा आएर गान्धीसित मिसिन्छन् । पश्चिमी सभ्यताको अप्रासंगिकता गान्धी र लोहियाको साझा सन्दर्भ विन्दु हो । यस विन्दुमा फर्की गान्धी र लोहिया अन्ततः एकै जग्गामा उभिन्छन् । सानातिना यस्ता अनेकौं मोड छन्, जहाँ लोहिया गान्धीभन्दा सर्वथा भिन्न भाषा र भगिमाको प्रदर्शन गर्छन् । तर, भाषा र भंगिमा गौण कुरा हुन्, जहाँ तात्विक कुरो आउँछ । लोहिया धुमीफिरी त्यही साझा सन्दर्भ- विन्दुमा पुग्छन्, जसलाई हामीले पश्चिमी सभ्यताको अप्रासंगिकताको संज्ञा दियौं ।
४२ को विद्रोहपछि अनेकानेक कारणले लोहिया र गान्धी एकापट्टि निकट आउँदै गए । अर्कापट्टि लोहिया र नेहरूको सम्बन्ध विग्रिदै गयो । कतिले यसरी लोहिया र नेहरूबीच सम्बन्ध विग्रिनुमा जिनी जीवनको सन्दर्भ भेटेका छन् । जिनी जीवनको सन्दर्भ पनि थियो होला । तर, एउटा द्रष्टव्य छ लोहियाले नेहरूको पहिलो सार्वजनिक आलोचना क्रीप्स मिशनको सन्दर्भमा गरेका थिए । क्रीप्स मिशनप्रति नेहरूको दृष्टिकोण सम्झौतावादी थियो । लोहिया क्रीप्स मिशनको पक्का विरोधी थिए । स्मरणीय छ, गान्धीले पनि क्रीप्स मिशनको कटुतम आलोचना गरे । स्वयं स्टैफर्ड क्रीप्सका अनुसार गान्धीको हठवादिता तथा षडयन्त्रले गर्दा नै उनको मिशन असफल भएको थियो । तर, नेहरू भने सर स्टैफर्ड क्रीप्सको समाजवादी व्यक्तित्वबाट मोहित थिए । त्यस प्रसंगमा लोहियाले तीता लेख लेखे- ‘यतिन्जेल भारतको युवा पिढीले दुई राष्ट्रिय नेताको कुरा सुन्ने गरेको थियो ।
नेहरूले यस्तै ढुलमुलपना देखाउने हुन् भने देशका तन्नेरीले अब मात्र एक नेताको कुरा सुन्नेछन् ।’ सौभाग्यवश तत्काल पछि नेहरूको दृष्टिकोणमा पनि परिवर्तन आयो । फेरि ४२ को विद्रोहमा सबै अल्झिए । नेहरू जेल परे । लोहिया भूमिगत भए । पछि लोहिया पनि जेल परे । यो ४२ को विद्रोहले गर्दा नेहरू र सोशलिष्ट पार्टीका नेताको सम्बन्ध अझ बिग्रियो । ४२ को विद्रोहको नेतृत्वको श्रेय नेहरूले पनि लिन चाहन्थे । नेहरूले पनि जेलबाट छुटेपछि ४२ को विद्रोहको मुक्त कण्ठले प्रशंसा गरे । तर, ४२ को विद्रोहको चर्चा गर्दा नेहरूले जयप्रकाश र लोहियालाई भने सधै बिर्सिए । उनी अक्सर अरू स-साना नेताहरूको चर्चा गर्थे। नेहरूले जानाजानी यसो गरेका हुन्। भन्ने कुरा हुन थाल्यो । नेहरू कांग्रेस सोशलिष्ट पार्टीका नेताहरूको प्रतिष्ठा बढेको देख्न चाहन्नन् भन्ने कुरो हुन थाल्यो । मानिसले १९३२ को कांग्रेस अध्यक्ष- प्रकरण पनि विर्सेका थिएनन् । यस अभिक्रममा लोहिया र नेहरूको सम्बन्ध भने विशेष नराम्ररी बिग्रिन थाल्यो ।
१९४५ को मध्यतिर आएर द्वितीय विश्वयुद्ध समाप्त हुने लक्षण देखा पर्न थाल्यो । युरोपमा करिब-करिब युद्ध सिद्धिइसकेको थियो । युद्धोत्तर युरोप नयाँ सामजिक व्यवस्थाको खोजीमा लागिसकेको थियो । जुन १९४५ मा बृटेनमा आम चुनाव भयो । आम चुनावमा लेवर पार्टी जिजयी भएको थियो । चुनाव अभियानमा भारतीय स्वाधीनताको प्रश्न पनि उठेको थियो । लेबर पार्टी भारतीय स्वाधीनताका निमित्त प्रतिबद्ध थियो । द्वितीय महायुद्धले बृटिश साम्राज्यवादको नंग्रावंगा झारेको थियो । अझ इंगल्याण्ड एउटा जर्जर राष्ट्र रहेको थियो । ४२ को विद्रोहको घटनाक्रमको आवेग बृटेनले बिर्सेको थिएन । फलतः राष्ट्रिय संघर्षको लामो इतिहासमा भारतीय स्वाधीनता पहिलोपटक ठोस सम्भावनाका रूपमा उपस्थित भयो । सुभाष वोसको ‘आजाद हिन्द फौज’ ले पनि भारतीय मानस चमत्कृत भएको थियो। बम्बईमा नौसेना विद्रोह भयो । यी सारा घटनाक्रमले भारतीय स्वाधीनतालाई शक्ति प्रदान गरे। फलतः सत्तारुढ लेबर पार्टीले भारतीय स्वाधीनताको स्वरूपतर्फ सोच्न थाल्यो । भारतीय राष्ट्रिय कांग्रेसका नेताहरू जेलबाट छाडिन थाले । महात्मा गान्धी जुन १९४४ मा नै खराब स्वास्थ्यका कारणले कारामुक्त गरिनुभएको थियो। एटली मन्त्रिमण्डले (जुन १९४५ मा) अन्य राष्ट्रिय नेतालाई पनि छिट्टै कारमुक्त गर्यो। तर, लोहिया र जयप्रकाश नारयण जेलबाट छाडिएनन् । क्लेमेण्ट एटलीको तथाकथित समाजवादी सरकारले पनि लोहिया र जयप्रकाश तत्काल जेलबाट छोड्न सकेन । करिब १ वर्षपछि अर्थात् अप्रिल १९४६ मा लोहिया र जयप्रकाश जेलबाट छाडिए ।
१ अगस्त १९४७ मा भारत स्वाधीन भयो । तर, यो स्वाधीनता खण्डित, निर्मम र महँगो थियो । आजीवन महात्मागान्धी अहिंसाका उपासक रहे। हिंसायुक्त स्वाधीनता मलाई मन्जुर छैन भनेर गान्धीले अनेकौं खेप भनेका थिए । तर, इतिहासलाई यो मन्जुर भएन । क्रमशः
(नोट : स्वर्गीय प्रदीप गिरिले करिब ४५ वर्ष आगाडि लेख्नुभएको डा. लोहियाको जीवनीमा आधारित यो लेखको दोस्रो भाग भोलि प्रकाशन हुनेछ )
श्रोत: आइएनएस-स्वतन्त्र समाचार