प्रदीप गिरिको निधन भएको आज १९ दिन भयो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्ला केही साता जति कहिल्यै भएको थिएन।
गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो। त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं। राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो आलेख समसामियक नेपालका लागि अझै पनि वैचारिक तरंग सिर्जना गर्न उपयोगी रहेको हाम्रो विश्वास छ। यो आलेखको अन्तिम भाग आज यहाँ प्रस्तुत गरेका छौं–
प्रजातन्त्रको कुरा गरौं। साम्यवादी र समाजवादीका बीच राजनितिक प्रजातन्त्रको स्वरूपका बारे निकै द्वन्द्व भएको छ। खासमा यस द्वन्द्वको ऐतिहासिक जरो मार्क्सको विश्लेषण प्रणालीमा छ भन्दा कुनै अत्युक्ति हुनेछैन। मार्क्स स्वयम् प्रजातन्त्रवादी थिए। उनको प्रजातन्त्रवाद तथा उनको पुँजीवादको विश्लेषणमा घनिष्ट सम्बन्ध छ। सामान्यतः हामी प्रजातन्त्र भन्नाले बहुमतको शासन भन्ने सम्झिन्छौं। इंगल्यान्ड र जर्मनीमा मार्क्सका समयमा पनि मजदुरहरू स्पष्टरूपेण बहुमतमा थिए। त्यस्ता देशहरूमा समजवादी क्रान्ति भयो भने तथाकथित प्रजातन्त्रको प्रश्नमा लामो विवाद निश्चय हुनेछैन। बहुमतको शासन र समाजवाद एक-अर्काको पर्याप्त हुनेछन् तर यही कुरो रुसमा भएन। झन् चीन र भारतमा हुने कुरै भएन। रुसमा त लेनिन थिए। लेनिनले रुसमा यस समस्याको तात्कालिक समाधान गरे। लेनिन साच्चै नै महापुरुष थिए। सबैथरिका समाजवादीहरूले समाजवादीले यस्ता महापुरुषको व्यक्तित्व, विचार तथा जीवनीको अध्ययन गर्न जरुरी छ तर यस्ता महापुरुषहरूलाई उनीहरूको ऐतिहासिक सन्दर्भबाट टाढा राखेर बुझ्न सकिन्न। त्यसर्थ उनीहरूको समाधान सार्वभौम तथा सर्वव्यापी हुन सक्दैन। उनीहरूको कार्यशैली र अन्तरदृष्टि भने ज्याद महत्वपूर्ण हुन्छ। लेनिनको जीवनकालमा रुसमा केही नौला, मौलिक तथा अभूतपूर्व प्रजातान्त्रिक प्रयोगहरू भएका थिए तर आजको रुसमा ती प्रयोग इतिहासको विषय भएका छन्। आजको रुस ‘अर्थवादी’ भएको छ। आर्थिक उपलब्धिले आपसे आप समजवाद ल्याउँछ भन्नु गलत हो तर लेनिनोत्तर रुसमा यस्तै सोचाइ बलियो हुँदै गयो। मर्क्सवादको व्याख्यामा द्वन्द्व र द्विविधा यसै पनि छँदै थियो। रुसको तत्कालीन परिस्थितिले गर्दा अर्थवादी चन्तन पछि झन् बलियो हुँदै गयो। पछि ट्रटस्की र स्टालिनमा भएको विवादमा यस समस्याको प्रतिध्वनि पाइन्छ। विभिन्न रूपमा यो विवाद आज पनि जारी छ।
त्यसैले म बिलकुल प्रारम्भमै यस सम्बन्धमा समाजवादी दलको स्थिति स्पष्ट होस् भन्ने चाहन्छु। समाजवादी क्रान्ति मात्र आर्थिक रूपान्तरणको समस्या होइन। यद्यपि आर्थिक रूपान्तरण समाजवादी क्रान्तिको अत्यावश्यक धारतल अवश्य हो। अथवा अलि स्पष्ट रूपले भनौं आर्थिक क्रान्तिविना समाजवादी क्रान्तिको कल्पना गर्नै सकिन्न।
फगत आर्थिक क्रान्तिका आधारमा साजवादी क्रान्ति सम्पन्न हुँदैन। मैले सुविधाका निमित्त समाजवादी क्रान्तिको जुम्ल्याहा लक्षका कुरा गर्नेगरेको छु। मैले एक- भौतिक लक्ष्य, दुई सामान्य लक्ष्य भन्ने गरेको छु। कुरो उही नै हो भने पनि हुन्छ। मार्क्सवादले आधार र आधेय (उपरीढाँचा) भन्ने गरेको छु। मैले अधारका क्षेत्रमा गर्नुपर्ने कामलाई भौतिक लक्षको संज्ञा दिएँ। अनि आधेयका क्षेत्रमा गर्नुपर्ने कार्यलाई समान्य लक्ष्य भनें। यी दुवै क्षेत्रमा गरिनुपर्ने कार्यमा अघि र पछि भन्ने कुरा हुन सक्दैन। यी दुवै क्षेत्रको आफ्नो स्वत्व र स्वायत्तता छ। यो कुरो सार्वभौम सत्य हो। युरोप र अमेरिकाका समाजवादीले पनि यो कुरो बिर्सिनु हुँदैन। झन् तेस्रो विश्वका साजवादीहरूले त यो कुरो बिर्सिने कुरै छैन।
भौतिक लक्ष्य के हो, त्यो कुरो हामी सबैलाई थाहा छ। हामीलाई भौतिक लक्ष्यको महत्त्व पनि करिब-करिब थाहा छ। उत्पादन प्राणालीका बारेमा, उत्पादकत्वका बारेमा र जीवनस्तरको बारेमा सबैथरिका समाजवादीले मनग्य मगज खियाएका छन्। आर्थिक शोषण के हो र यो कसरी समाप्त हुन्छ भने कुरो समाजवादी सिद्धान्तले मनग्य व्याख्या गरको छ तर यही कुरो सामान्य लक्ष्यका बारे भन्न सकिदैन। म यहाँ सामान्य लक्ष्य भन्नाले संस्कृति, शिक्षा, नैतिकता र सौन्दर्यशास्त्रका समेत कुराहरू कोट्याउन चाहन्छु। राज्य, कानुन र धर्मका कुरा छँदैछन् तर सुन्दर के हो ? मानिस के हो ? कठोपनिषद्मा नचिकेताले यमराजलाई केही प्रश्न गरेका थिए। सबै हिन्दूहरूलाई ती प्रश्नका बारे थोर-बहुत जानकारी छ। जीवन र मृत्युका बारेमा मानिस विह्वल भएर प्रश्न गर्दछ। किन ? म यी सबै कुराहरूलाई समान्य लक्ष्यका शीर्षकअन्तरगत राख्न चाहन्छु। समाजलाई आर्थिक क्रान्ति चाहिन्छ सम्पन्नता चाहिन्छ तर आर्थिक सम्पन्नता हुनासाथ उपर्युक्त सारा सवालहरू समाप्त हुँदैनन्। यी सवालहरू सवाल नै रहन्छन्। समाजमा समता अथवा समाजवाद स्थापित हुने हो भने पनि यी सवालहरूलाई पन्छाउन सकिदैन। अझ म त के भन्छु भने यी सवालहरूका प्रति मानिसलाई झन् जगरुक तथा संवेदनशील बनाएर मात्र समाजवादको स्थापना गर्न सकिन्छ।
यहाँ म एउटा खास कुरो उठाउन चाहन्छु। मेरा कम्युनिस्ट मित्रहरूलाई यो कुरो अप्रिय लाग्ला तर अप्रिय त मलाई पो लाग्नु पर्ने हो। मेरा ती मित्रहरूले मलाई अनेकौं पटक अमेरिकन एजेन्ट भनेर गाली गरेका छन्। उनीहरूले मलाई बेलाबेलामा डलरको दलाल पनि भनेका छन्। आखिर म पनि मानिसनै हुँ। मलाई पनि झोक चल्छ। मैले पनि एक-दुईपटक उहाँहरूलाई ओठे जवाफ दिए। मैले कम्युनिस्टहरूलाई रुसी दलाल र रुवलका गुलाम भनेको छु। पछि शान्त र संयम भएर मैले सोचे मैले बेकार नै झुठ र असत्यलाई बढावा दिएँ। कम्युनिस्टहरूले मलाई दलाल भने त्यो झूठ हो तर के प्रतित्युत्तरमा मैले पनि झुठ नै बोल्नुपर्छ भन्ने थियो त ? हामी राजनीतिज्ञहरू एउटा नयाँ किसिमको समाजको स्थापन गर्ने कुरा गछौं। त्यो समाज अहिले धेरै नै पर छ तर त्यस समाजको आधारशीला आज नै राखिँदै छ। हाम्रो आजको आचरण, वचन र कर्म त्यस समाजका आधारशीला हुन्। हामी भने अहिले नै च्युत भइसक्यौं कम्युनिस्टहरू मलाई अमेरिकन दलाल भन्छन्। म उनीहरूलाई रुसी दलाल भन्छु– यी दुवै कुरा असत्य हुन्। फेरि यी कुरा असत्य हुन् भन्ने जानकारी पनि दुवै पक्षलाई छ तर हामी जानाजान असत्यको सहारा लिन्छौ। किन? के हाम्रो संसारमा सत्य भाषणको कुनै महत्त्व छैन ? सत्य र नैतिकताको सम्बन्ध के छ ? हामीले निर्माण गर्न चाहेको भोलिको समाज यस्तै मिथ्या र असत्य भाषणको गर्भबाट उत्पन्न हुने जस्तो देखिन्छ त्यो समाज कस्तो होला ? मलाई लाग्छ, यो बडो गम्भीर सवाल हो। यो समाजवादी नैतिकताको सवाल हो। क्रान्तिकारीहरूले यस सवाल उपर लामो समयदेखि बहस गरेका छन्। यो सवाल साध्य र साधनको सम्बन्धको सवाल हो। कुनै पनि समाजवादीहरू यस सवालबाट भाग्न सक्दैनन्। आजसम्म कम्युनिस्टहरूले नैतिकताको सवाललाई सापेक्षरूपमा हेरेका छन्। उनीहरू साध्यलाई नै सबै थोक ठन्दछन्। म यसबारेमा गम्भीरतापूर्वक विचार गर्न चाहन्छु।
म साधनको पवित्रतामा विश्वास राख्दछु तर मेरो यो विश्वास मात्र नैतिकतामा आधारित छैन। नैतिकता महत्त्वपूर्ण कुरो हो तर नैतिकताका बारे बडो अन्त्यहीन विवाद छ। कम्युनिस्टहरूले यस विवादलाई झन् गूढ र जटिल बनाएका छन्। मार्क्सलाई दोष दिन सकिदैन होला तर लेनिन भने जोगिदैनन्। क्रान्तिकारीले आफ्नो लक्ष्यप्रति इमानदार हुनुपर्छ त्यो लक्ष्य हासिल गर्न उसले जुनसुकै साधन पनि अपनाउन सक्छ। उसले झुट बोले पनि हुन्छ। लेनिनका भनाइमा यस्तो शिक्षा भेटिन्छ। अझ त्यसमाथि कम्युनिस्टहरूले पार्टीको अनुशासन र आदेशलाई करिब करिब दैवीय गरिमा प्रदान गरेका छन्। पार्टीले आदेश दिएपछि जे गरे पनि हुन्छ। चोरी, डकैती, झुठ, ठगी यी सब साधन हुन्। साध्य अर्कै छ। साधन जस्तो भए पनि हुन्छ। साधन ठीक रहनुपर्छ। जनताको सेवाका निमित्त बोलिएको झुठ झुठ होइन परमार्थका निमित्त गरिएको चोरी चोरी होइन। व्यक्तिगत स्वार्थमा लिप्त हुनुहुँदैन तर परमार्थका निमित्त जे गरे पनि हुन्छ। लगभग यस्तै सोचाइबाट कम्युनिस्ट आन्दोलन प्रेरित छ। यो एक प्रकारको धार्मिक मानसिकता हो जस्तो मलाई लाग्छ। महाभारतका कृष्ण पनि यस्तै छली थिएनन् र ?
कृष्णका भक्तहरूले कृष्णको व्यक्तित्वको नकारात्मक पक्ष हेर्न चाहँदैनन् तर कृष्णले हाकाहाकी मिथ्या र असत्यको उपयोग गरेको उदाहरणबाट महाभारत भरिएको छ। उनले आफू मात्र झुट बोलेनन्। उनको आदेशमा युधिष्ठिर जस्ता सोझा र धर्मनिष्ठ पात्रले पनि झुठ बोले। महाभारतको युद्धमा अनेकौं नियम तथा प्रतिज्ञा पाण्डव पक्षबाट तोडिए। तपाईं कुनै पण्डितसित यी कुराहरू उठाउनुहोस्। उसले अद्भूत र अलौकिक स्पष्टीकरण दिनेछ। भगवान्को लीला हामी कहाँ बुझ्न सक्छौं र ? भनेर यसै पनि गाउँले बाजेहरू पनि भन्छन्। म यस्तो स्पष्टीकरण र भनाइबाट चित्त बुझाउँदिन तर मेरो वित्त नबुझेर के भयो र ? कृष्णका भक्तहरूलाई यसबाट कुनै असर पर्दैन। कम्युनिस्टहरूको ठीक यस्तै अवस्था छ। साध्य र साधनको सम्बन्धका बारेमा उनीहरू उहिले नै एउटा निधोमा पुगिसकेका छन्। अब त्यो कुरो उठाउनु बेकार छ। म भने यो कुरो उठाउन चाहन्छु तर म यो पुरानो आधारमा यो कुरो उठाउन चाहन्न। परम्परागत नैतिकताका आधारमा धेरैले कम्युनिस्टहरूको आलोचना गरे म त्यो गर्न चाहन्न। कम्युनिस्टहरूले जुन भाषा बोल्दछन्, म पनि त्यही भाषा बोल्छु। कम्युनिष्टहरू भौतिक र आर्थिक भाषा बुझ्छन्। म त्यस्तै आधारमा नैतिकताको कुरो उठाउन चाहन्छु। मैले माथि विश्व पुँजीवादको विश्लेषण पेश गरेँ। मेरो नैतिक आग्रह उपर्युक्त विश्लेषणसित अभिन्नरूपमा गाँसिएको छ। म उत्पादनको प्रणालीमा आमूल परिवर्तन चाहन्छु उत्पादनको सम्बन्धलाई मात्र फेरेर हुँदैन। उत्पादनको शक्तिलाई पनि बदल्नु पर्छ। यो पछिल्लो काम नैतिक क्रान्तिको परिवेशमा मात्र सम्भव छ।
लेनिन साच्चै नै महापुरुष थिए। सबैथरिका समाजवादीहरूले यस्ता महापुरुषको व्यक्तित्व, विचार तथा जीवनीको अध्ययन गर्न जरुरी छ तर यस्ता महापुरुषहरूलाई उनीहरूको ऐतिहासिक सन्दर्भबाट टाढा राखेर बुझ्न सकिन्न। त्यसर्थ उनीहरूको समाधान सार्वभौम तथा सर्वव्यापी हुन सक्दैन ।
आखिर उत्पादन शक्ति भनेको के हो ? मेसिन, जलथल र मजदुरहरूको संयोगलाई उत्पादनको शक्ति भनिन्छ। मजदुरहरू आखिर मानिस हुन्। उनीहरू नै उत्पादक शक्तिको केन्द्रीय तत्त्व हुन्। उनीहरूको आफ्नै किसिमको सोचाइ, संस्कार र विश्वास हुन्छ। कारखानाको स्वामित्वको प्रकृति फेरिनासाथ यी सारा कुरा फेरिन्छन् भन्नु गलत हो। यी कुराहरू फेरिंदैनन्। त्यसैले यस क्षेत्रमा स्वतन्त्र संघर्षको खाँचो रहन्छ। यसलाई मैले सामान्य लक्षका निमित्त गरिएको दोहोरो संघर्ष हो संघर्षको दोहोरो चरित्रलाई ध्यानमा राख्नासाथ वर्ग संघर्षको स्वरूपमा परिवर्तन आउँछ। समाजवादका लक्ष्यमा पुग्नका निमित्त वर्ग संघर्ष अनिवार्य छ। सामान्यतः वर्गसंघर्ष भन्नाले एक प्रकारको उग्रता तथा आक्रामकताको बोध हुन्छ। यस किसिमको उग्रता तथा आक्रामकता सर्वथा सराहनीय छ। उग्रता चाहिन्छ तर हिंसा र उग्रता एक-अर्काका पर्याय कदापि होइनन्। मानिसहरू हिंसा र उग्रतालाई एक-अर्काको पर्याय सम्झिने गल्ती गर्दछन् तर यी दुईमा भेद छ। समाजवादी कार्यक्रमले यस भेदको व्याख्या गर्नु आवश्यक छ। वर्गसंघर्षमा हरेक हालतमा हिंसा हुनै पर्छ भन्ने कुरो छैन। समाजवादी अन्दोलनमा हिंसा र अहिंसाको द्वन्द्व निकै पुरानो छ। म यस सवालका उपर पनि पुनर्विचार चाहन्छु। यो सवाल साध्य र साधनसँग जोडिएको सवाल छ। म यी जोडिएका सवालहरूलाई सँगसँगै स्पष्ट गर्न चाहन्छु।
हिंसा साधन हो। हामी समाजवादी समाज कायम गर्न चाहन्छौं। साध्य त्यो समाज हो। हामीले निर्माण गर्न खोजको समाज हिंसाको गर्भबाट निस्किन सक्छ कि सक्दैन यो विचारणीय सवाल छ। हाम्रो पुस्ताको क्रान्तिसम्बन्धी धारणा फ्रान्सेली राज्य क्रान्तिको आतंक र मार-काटबाट धेरै हदसम्म प्रेरित छ। मार्क्स र लेनिन पनि फ्रान्सेली राज्य क्रान्तिको उदाहरणबाट प्रेरित थिए। त्यसैले समाजवादी क्रान्ति र हिंसाको धनिष्ट सम्बन्ध छ भन्ने धारणा देखिन्छ। म भने हिंसा र शक्तिमा अन्तर गर्न चाहन्छु। समाजवादी रूपान्तरणका निमित्त शक्ति चाहिन्छ, राज्य शक्ति पनि चाहिन्छ तर शक्ति र हिंसा एउटै कुरा होइनन्। यी दुवै एक अर्काका पर्याय पनि होइनन्। हिंसा र अहिंसाका बारेमा हाम्रो हिन्दु परम्परामा बडो सूक्ष्म शास्त्रार्थ भएको छ। जैन मुनिहरू अदृश्य कीटाणु वा जीवाणुसमेतको हत्या गर्न चाहँदैनन्। उनीहरू मुखमा पट्टी बाँधेर हिंड्छन् दूध पनि रगतबाट बनेको हुन्छ। त्यसैले अहिंस्रकहरूका निमित्त दूध त्याज्य छ भन्ने तर्क मैले सुनेको छु। अझ अन्डाको त कुरै छोडिदिऊँ। हाम्रा मठी गान्धीवादीहरूले पनि अहिंसाको विवादमा नयाँ योगदान गरेका छन्। उनीहरू बहुमतको शासनलाई पनि हिंसाको शासन भनेर प्रचार गर्दै छन्। अझ झन् हडताल सत्याग्रह, भूमि आन्दोलन र त्यससँग जोडिएका जोर जबरजस्तीलाई उनीहरूले के भन्लान् ? म भने भीडले गरेको जोर जबरजस्ती समेतलाई अहिंसा भन्ने पक्षमा छु तर संगठित सुनियोजित हिंसामा भने मलाई विश्वास छैन। अहिंसाको नाममा जनताको पहल कदमीमा हुने विशाल आन्दोलनलाई रोक्ने पक्षमा म छैन। जनआन्दोलन बढी महत्त्वपूर्ण कुरो हो जनआन्दोलनको तीव्र विकासको क्रममा तोड़ फोड हुनसक्छ। जेथा जयादादको लुटपाट हुन सक्छ। गाउँमा किसान आन्दोलन गर्दा अकुत भूमिपतिको बाली काट्ने वा जमिन कब्जा गर्ने कामलाई हाम्रो पार्टीले पनि उचित ठहर्याएको छ। म यी सबै कम लाई अहिंसाको दायरामा परेको ठान्दछु। यी सबै काम गर्दा कार्यकर्ताहरूले हत्या र झूठबाट जोगिनु पर्छ। हाम्रो अहिंसाको परिभाषा यस्तै छ।
खासमा हिंसा-अहिंसा साध्य र साधनको यस द्वन्द्वलाई एउटा सिद्धान्तको सन्दर्भमा मात्र व्याख्या गर्न सकिन्छ। समकालीन राजनीतिक आन्दोलनले गन्धीबाट त्यो सिद्धान्त लिएको हो। गान्धीको चर्चा गर्दा म उक्त सिद्धान्तको सविस्तार व्याख्या गर्नेछु। मैले यस सिद्धान्तलाई तात्कालिक औचित्यको सिद्धान्त (Test of immediacy) भन्ने गरेको छु। यस सिद्धान्तले साध्य र साधनको अन्योन्याश्रित सम्बन्धमा जोड दिन्छ। यस सिद्धान्तले साध्य र साधन एक-अर्कामा अनिवार्य रूपले निर्भर छन् भन्ने व्याख्या गर्छ। एउटा उदाहरणबाट यो कुरा बुझौं। हामी कुनै काम गछौं। त्यो कामको परिणाम तत्काल नदेखिन सक्छ। त्यसैले परिणामको प्रतीक्षा गछौं तर यो प्रतीक्षा अनन्त कालसम्म गर्ने कुरो हुँदैन। हाम्रो अन्तिम लक्ष्य तथा त्यस लक्ष्यकातर्फ बढ्दा लिइएको कदमको सम्बन्ध स्पष्ट हुँदैन। खास गरेर राजनीतिक दलमा यो काम खुब भइरहेको हुन्छ। नेतृत्वले एउटा काम गर्छ, अथवा काम गर्न अह्राउँछ। कार्यकर्ताहरूले बेला बखतमा शंका उठाउँछन्। यस कामको औचित्य के त ? भन्ने प्रश्न उठ्छ। पर्ख, पछि थाहा हुनेछ भन्ने उत्तर पाइन्छ। यो प्रतीक्षा वर्षौंको हुन सक्छ। तात्कालिकताको सिद्धान्त यस किसिमको प्रतीक्षाको आदेशलाई शंका गर्न चाहन्छ। इतिहासमा यस किसिमको प्रतीक्षाको राम्रो परिणाम भएको छैन। क्रान्तिको सुदृढ लक्ष्यको सेवा गर्न आज घोर प्रतिक्रियावादी र अन्यायमूलक संस्कार तथा व्यवहारलाई प्रोत्साहन दिएको धेरै उदाहरण हामीले भेटेका छौं। खास गरेर क्रान्तिकारी दल तथा आन्दोलनमा यो प्रवृत्ति बडो बलियो हुन्छ। समस्यालाई यसरी राखिन्छ मानौं नेता अथवा केन्द्रीय समितिले सबै कुरो देखेका हुन्छन्, नेता र केन्द्रीय समिति सधैं दूरदर्शी हुन्छन्। कार्यकर्ताहरू भनेका अवोध हुन्छन्। कार्यकर्ताहरूले पार्टीको कुनै कदमको अर्थ बुझ्न प्रतीक्षा गर्नुपर्ने हुन्छ। अध्यक्ष वा प्रधानमन्त्रीले आजै बुझिसकेका हुन्छन्। यस मानसिकताले पार्टी वा राज्यमा व्यक्तिवाद, नेतावाद र अरु अवाञ्छनीय प्रवृत्तिलाई बढावा दिन्छ। साध्य र साधनको सवाल पनि यसै मनोवृत्तिसित सम्बन्धित छ। आखिर मानिसले गलत साधनलाई जानाजान किन स्वीकार गर्छ। हामी भोलिको दुराशामा आज गल्ती गर्छौं। आज यो काम गलत भए पनि भोलि यसै कामको परिणामस्वरूप सही नतिजा निस्कन्छ भन्ने हाम्रो सोचाइ रहन्छ। के यो सोचाइ तर्कपूर्ण छ? मेरो विचारमा यो सोचाइ सारासर अन्धविश्वास हो तर इतिहासमा यो अन्धविश्वास बडो प्रवल सिद्ध भएको छ। इतिहासका विभिन्न चरणमा यो अन्धविश्वास अनेकी रूपमा प्रकट भएको छ। पुराना धर्मगुरुहरू स्वर्गको विश्वास दिलाउँथे। अहिले स्वर्गको चर्चा गरिँदैन अहिले स्वर्णिम भविष्यको कुरा गरिन्छ। म पनि स्वर्णिम भविष्यमा विश्वास राख्न चाहन्छु तर म जानाजान आफ्नो विवेक र बुद्धिलाई तिलाञ्जलि दिन चाहन्न। मलाई केही आधारभूत कुराहरू थाहा छ। हत्याबाट जीवनको सेवा गर्न सकिदैन। रोगबाट स्वास्थ्यको सेवा गर्न सकिदैन। आज आफूसित भएको विवेकलाई तिलाञ्जलि दिएर भोलि विवेकशील समाजको स्थापना गर्न सकिदैन। समाजवाद भनेको मानिसको व्यक्तित्वको सर्वांगीण विकास हो। यस विकासको सुदूर उपलब्धिका निमित्त पार्टीमा लागेको छु तर त्यहाँ पुग्ने बाटोको मैले थोर बहुत अनुमान आज पनि गर्न सक्छु। राजनितिक दलको आन्तरिक जीवनको क्रियाकलापमा त्यस सुदूर लक्ष्यको प्रतिविम्ब रहनु पर्दछ जो भएका मानिसलाई आज नै। झन् पङ्गु, झन् दब्बु र झन् भयाकूल बनाएर भोलिको समाजवादको सपना देखाउन काहाँसम्मको मानवता हो। रुस र चीनमा ठीक यही भइररहेको छ भन्ने मेरो आरोप छ। यहाँका नेताहरूको इमानदारी र इरादामा मलाई शंका छैन। उनीहरू त्यगी र परोपकारी मानिस होलान् तर इरादाले के हुने हो र ? कार्य प्रणाली ज्यादा महत्त्वपूर्ण कुरो हो। आज गरिएको अन्यायबाट भोलिको अन्याय समाप्त हुन्छ भनेर सोच्ने मानिसलाई कसले सम्झाउन सक्दछ तर आज संसार यस्तै उल्टो बाटोमा हिंडेको छ। हतियारको उत्पादन बढाउ, अणुबम बनाउ। त्यसबाट शान्ति कायम हुन्छ। हिंसाबाट अहिंसाको जन्म हुन्छ। युद्धले नै युद्ध समाप्त गर्दछ। आज चारैतिर यस्तै कुरा सुनिन्छ। यस्ता कुराहरूको प्रत्युत्तरमा तात्कालिक औचित्यको सिद्धान्त हामी भारतीय समाजवादीहरूले अगाडि ल्याउन सक्नु परेको छ। एउटा गान्धी भन्ने अचम्मको र अद्भुत मानिस केही दिन अघिसम्म यस मुलुकमा घुम्दै, डुल्दै थिए। हामीले पनि उनको संगत गर्यौं। औचित्यको सिद्धान्त त्यही संगतको फल हो। यस सिद्धान्तले साधन र साध्यको सम्बन्धलाई प्रमाणिक रूपमा व्याख्या गरेको छ। साधन दीर्घकालमा साध्य बन्दछ। साध्य अल्पकालको साधन हो। अर्को शब्दमा भन्ने हो भने अल्पकालीन साध्य साधन हो भने दीर्घकालीन साध्य नै साधन हो। यही हो तात्कालिक औचित्यको सिद्धान्तको व्याख्या।
हाम्रो आजको आचरण, वचन र कर्म त्यस समाजका आधारशीला हुन्। हामी भने अहिले नै च्युत भइसक्यौं कम्युनिस्टहरू मलाई अमेरिकन दलाल भन्छन् । म उनीहरूलाई रुसी दलाल भन्छु– यी दुवै कुरा असत्य हुन्। फेरि यी कुरा असत्य हुन् भन्ने जानकारी पनि दुवै पक्षलाई छ तर हामी जानाजान असत्यको सहारा लिन्छौ। किन?
कुनै पनि समाजको विकासका निमित्त वर्गसंघर्ष अनिवार्य छ। भारतमा पनि वर्गसंघर्ष अनिवार्य छ तर माथिको सिद्धान्तले वर्गसंघर्षको हाम्रो धारणालाई गहिरो रूपमा प्रभावित गर्दछ। मुख्य बुझ्नुपर्ने कुरो के छ भने वर्गसंघर्ष मात्र आर्थिक क्षेत्रमा सीमित रहने कुरा होइन। स्वयम् मानिसको आफ्नो आत्मचेतना पनि वर्गसंघर्षबाट प्रभावित रहन्छ। हामी सबै सधै नै एउटा द्वन्द्वमा बाँचिरहेका हुन्छौं। राम्रो के हो, नराम्रो के हो। कर्तव्य के हो, अकर्तव्य के हो। आत्मिक शान्ति कसरी पाइन्छ र संसारमा शान्ति कसरी स्थापित हुन्छ। यी प्रश्नहरू अति प्राचीन छन्। मानिसले युगौंदेखि यी प्रश्नको उत्तर दिने कोशिस गरेको छ। कठोपनिषदमा नचिकेताले श्रेय र प्रेयको द्वन्द्व उठाए। गीतामा कर्तव्य र अकर्तव्यको विशद चर्चा छ। मानिसले सधैं बाह्य मात्र होइन। आन्तरिक शान्ति पनि खोजेको छ। मानिसको आन्तरिक खोजले उसलाई योग र तन्त्रका समीप पुऱ्याएको छ। धर्मको रहस्यवादलाई मार्क्सले आफ्नै किसिमबाट बुझे। उनको बुझाइ नै अन्तिम बुझाइ हो भन्न म सक्दिन। समाजवादले यी सारा प्रश्नहरूलाई गहिराइमा खोतल्नु आवश्यक छ। मैले यी प्रश्नहरूलाई मानिसको सामान्य लक्ष्यका अन्तरगत राखेको छु। पश्चिमी युरोप अथवा अमेरिकामा समान्य लक्ष्यको उपेक्षा हुन सक्ला तर हामीकहाँ सामन्य लक्ष्यको उपेक्षा गर्न सकिन्न। हाम्रो समाजको आर्थिक विकासलाई समान्य लक्ष्यले सोझै प्रभावित गर्दछ। पुँजीवादको विकास र सामान्य लक्ष्य हाम्रो समाजमा पत्यक्षरूपमा सम्बन्धित छन्। यो सम्बन्ध एक होइन, अनेकौं स्तरमा हेर्न, देख्न सकिन्छ।
एउटा उदाहरण लिउँ। पश्चिमको आर्थिक विकासलाई नियालेर हेरौं। आज इंग्ल्यान्ड, फ्रान्स र पश्चिम जर्मनीले एउटा निश्चित स्तरको भौतिक लक्ष्य प्राप्त गरिसकेका छन्। त्यहाँ एउटा खास जीवन स्तरसम्म सर्वहारा वर्ग पनि पुगिसकेको छ। त्यहाँ असाध्य धनी पुँजीपति पनि छन् तर हाम्रो समाजको तुलनामा त्यहाँ विषमताको अनुपात कम छ। पश्चिमी युरोपमा आन्तरिक विषमता घट्दै गएको छ। यो एउटा तथ्य हो। आज भारतमा विषमता तीव्ररूपले बढिरहेको। भारतमा मात्र होइन, तेस्रो विश्वका सबै नवोदित राष्ट्रहरूमा विषमता तीव्रतर भइरहेको छ। धनी झन् धनी हुँदै छन्। यो पनि हाम्रो समाजको विकासको नियम हो। एकातिर समग्ररूपमा एसियाई देशहरू झन् झन् गरिब भइरहेका छन्। अर्कोतिर यी गरिब देशहरूमा धनी र गरिबका बीचको खाडल झन् फराकिलो बन्दै गइरहेको छ। यो एउटा अचम्मको अवस्था छ। गरिब मुलुकको धनी र नवधनीहरू सम्पत्ति बटुल्ने कलामा झन् झन् दक्ष भएका छन्। राज्य, व्यापारी तथा अपराधीहरूको त्रिवेणीले शोषण र लूटको नयाँ औजार उध्याउँदैन। नयाँ नयाँ अत्याचार भइरहेका छन् तर अत्याचार भन्दा पनि डरलाग्दो अर्को कुरा छ। अन्याय र विषमताको यो महासमरमा मानिसको भावना र संवेदनाको हत्या भइरहेको छ। मानिसलाई मानिसके दु:ख र तक्लिफले असर गर्न छाडेको छ।
आजभन्दा २५०० वर्ष अघिको कुरा हो गौतम बुद्ध गरिबी र बुढापा देखेर भावुक भएका थिए तर त्यस्तै भावुकता अब उपहासको विषय भएको छ र त्यो भावुकता हराउँदै गएको छ। हामी अवर्णनीय दु:ख र कष्ट दिनदिनै देख्छौं।
सडकमा, स्टेशनमा, पार्कमा भोका र नांगा माग्नेहरू सधैं देखिन्छन् तर हाम्रा मनमा विद्रोहको भावना जाग्दैन। हाम्रा मनमा दयाकै भावना जाग्दैन। यस्ता दृश्यका प्रति सुस्तरी तर निश्चित रूपमा अभ्यस्त हुँदै जान्छौं। यसैले हाम्रो र मन र दिमागमा एउटा द्विविधा मोटाउँदै जान्छ। मुखले त हामीहरू क्रान्तिकारी छौं तर हाम्रो आचरण र कर्मले सामाजिक अन्याय र विषमतासित सम्झौता गरिरहेको हुन्छ। युरोपमा मानिसहरू भौतिकवादी छन् भनिन्छ तर यो भनाइ कस्तो हो म बुझ्दिन। युरोपवासीहरूले आफ्नो समाजमा भएको अन्याय र अत्याचारसित बारम्बार विद्रोह गरेका छन्। युरोपका प्रत्येक मुलुकमा क्रान्ति भएको छ। युरोपमा सामाजिक विषमता घट्दै गएको छ तर उनीहरू भौतिकवादी रे। अन्याय र विषमता विरुद्ध लड्नु भौतिवाद भयो। हामी अन्याय सहिरहेका छौं। हाम्रो समाजमा विषमता बढिरहेको छ। यस अन्याय र विषमताका विरुद्धमा हाम्रो समाजमा कोही चुँइक्कसम्म पनि गर्दैन। हामी चाहिँ आदर्शवादी रे। यो कस्तो भौतिकवाद र कस्तो आदर्शवाद ? मलाई त यी परिभाषाहरू नै अचम्मका लाग्दछन्। म हाम्रा विद्वान्हरूको दार्शनिक प्रवचन सुनेर आफैं पो बौलाउने हुँ कि जस्तो लाग्छ। भो भइहाल्यो, अहिले त्यता नजाउँ। मेरो भनाइ मुख्य यही नै हो– हामीले यी दुवै क्षेत्रमा धेरै नै कार्यहरू गर्नु छ। अलगअलग कार्य गर्नु छ। आर्थिक क्रान्ति गर्नुछ तर फेरि आर्थिक क्रान्ति नै काफी छैन। मानिसले निजी सम्पत्तिको लोभ छा्ड्नु पर्छ तर निजी सम्पत्ति नभएको मानिस समाजमा पनि विलास, भ्रष्टाचार विषमता हुन सक्छ। निजी सम्पत्ति र यी मानवीय कमजोरीहरूमा कुनै प्रत्यक्ष सम्बन्ध नहुने रहेछ। खास गरेर हाम्रो जस्तो गरिब मुलुकमा निजी सम्पत्ति निर्मुल गरेर समस्याको समाधान हुन्न। कानूद्वारा निजी सम्पत्ति निर्मुल गरेर समस्याको समाधान हुँदैन। कानूनद्वारा निजी सम्पत्तिलाई निर्मुल गर्न सकिन्छ। कानूनद्वारा गरिबलाई निर्मुल गर्न सकिन्छ तर गरिबी कायम नै रहन्छ। गरिब देशका शासकहरूमा लोभ, वासना र दुर्व्यसन आउँदैन भन्ने कुनै ग्यारेन्टी छैन। अनि भ्रष्टाचार बढ्न थाल्छ। मलाई लाग्दछ, मार्क्सले समस्याको यस स्वरूपका बारेमा सोच्नु परेन। उनको समाजवाद सम्पन्न देशको समाजवाद हो। इंगल्याण्ड र अमेरिकाका मानिस भौतिक दृष्टिले एक हदसम्म अघाएका हुन सक्छन् तर हामी भने भोका छौं। भोका र अघाएकाको सामाजिक व्यवस्था निर्माण एउटै बाटोबाट हुन सक्दैन। (अन्तिम भाग) समाप्त
श्रोत: आइएनएस-स्वतन्त्र समाचार