बीपी कोइरालाको जन्म सन् १९१४ मा भएको थियो । उहाँका पिता कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका एक सुपरिचित एवं सम्भ्रान्त उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । सन् १९१४ ताका कृष्णप्रसाद कोइरालाको आर्थिक अवस्था राम्रो थियो । उहाँलाई व्यापार र उद्योगमा राज्याश्रयसमेत थियो । तर यो स्थिति धेरै दिनसम्म रहेन । राणा प्रधानमन्त्री चन्द्रशमशेर पछि कुपित भए । चन्द्रशमशेरको कोपभाजनमा परेपछि पिताजी सपरिवार भारत निर्वासित हुनुभयो । बीपी कोइरालाका संस्मरणमा निर्वासनका वर्षहरूको मार्मिक वर्णन पाइन्छ । ती वर्षहरूले नै बीपी कोइरालालाई संस्कार र व्यक्तित्व प्रदान गर्यो, त्यस्तैमा युवक कोइराला शिक्षित एवं दीक्षित हुनुभयो । तिनताका गान्धीजी भारतीय राजनीतिमा प्रभावशाली हुँदै जानुभएको थियो । बीपी कोइरालाले आफ्नो आत्मकथामा गान्धीको असहयोग आन्दोलनमा एउटा बालकका रूपमा भाग लिन तत्परता देखाएको कुराको सगर्व उल्लेख गर्नुभएको छ ।
बीपीको राजनीतिमा प्रवेश
कोइरालाले किशोर उमेरमै कांग्रेस सोशलिस्ट पार्टीको सदस्यता लिनुभयो । कांग्रेस सोशलिस्ट पार्टी एउटा सङ्गठनका रूपमा गान्धीको विचारधारासित असहमत कांग्रेसी युवाहरूको जमात थियो । कांग्रेस सोशलिस्ट पार्टी मुख्यतः मार्क्सवादी विचारधाराबाट प्रेरित सङ्गठन थियो । सोशलिस्टहरू गान्धीको जीवनदृष्टि र कार्यक्रमका समेत आलोचक थिए । भारतीय स्वाधीनताको सङ्घर्षका सीमित परिप्रेक्ष्यमा मात्र सोशलिस्टहरूले गान्धीको नेतृत्वलाई स्वीकार गरेका थिए ।
यति हुँदाहुँदै पनि गान्धीको मानवीय एवं नैतिक प्रभावबाट भने कुनै पनि सोशलिस्ट नेता मुक्त थिएनन् । यसैले होला, जयप्रकाश नारायणदेखि बीपी कोइरालासम्मका सबै सोशलिस्ट नेताहरू जीवनको उत्तरार्द्धमा गएर अन्य कुनै चिन्तकको भन्दा गान्धीको नजिक पुगेका भेटिन्छन् । काशी विश्वविद्यालयमा बीए पढेताका बीपी कोइराला भारतीय राजनीतिमा प्रत्यक्ष मुछिन थाल्नुभएको थियो । भारत स्वाधीन नहुँदासम्म नेपालमा परिवर्तन हुन सक्तैन भन्ने कुरामा सिङ्गो कोइराला परिवार विश्वस्त थियो । भारतीय स्वाधीनता आन्दोलनका क्रममा थुनिएका बीपी कोइराला हजारीबाग जेलबाट सन् १९४६ मा छुट्दा भारत स्वाधीन हने को पक्कापक्कीजस्तै भइसकेको थियो । बीपी कोइरालाले त्यसपछि नेपाली राजनीतिमा प्रत्यक्ष हामफाल्नु भयो ।
नेपाली राजनीतिमा बीपीको प्रवेश
नेपालीहरूले आफ्नो राष्ट्रिय राजनीतिक सङ्गठन बनाउन पर्छ भन्ने उहाँको पहिलो आह्वान सन् १९४६ को अक्टुबरमा छापिएको भेटिन्छ ।’ भारतीय स्वाधीनता सङ्ग्राममा अरू अनेकन नेपाली तन्नेरीहरूले पनि भाग लिएका थिए ।
भारतीय जेलमा थुनिने नेपालीहरूको संख्या उल्लेखनीय थियो । पटनाको ‘सर्चलाइट’मा छापिएको त्यो आह्वानसँगसँगै र अघि पनि कोइरालाले निर्वासनमा रहेका नेपाली जमातसँग प्रत्यक्ष सम्पर्क गर्ने क्रम जारी राख्नुभएको थियो। फलतः ‘सर्चलाइट’मा प्रकाशित उक्त आह्वानको लगत्तै कलकत्तामा राष्ट्रिय कांग्रेसको पहिलो सम्मेलन भएको पाइन्छ । त्यस सम्मेलनले बीपी कोइरालालाई राष्ट्रिय कांग्रेसको कार्यकारी अध्यक्ष चयन गर्यो।
राणाशाहीको जेलमा यातना खपेर बसिरहेका टंकप्रसाद आचार्य भने नेपाली कांग्रेसका प्रथम अध्यक्ष बनाइनुभएको थियो । नेपाली राष्ट्रिय कांग्रेसको कार्यकारी अध्यक्षका रूपमा कोइरालाले अद्भुत गतिशीलता प्रदर्शित गर्नुभयो । नवगठित पार्टीको नेता एवं सिद्धान्तकारका रूपमा कोइराला छिट्टै नै प्रतिष्ठित हुनुभयो। बनारसबाट ‘युगवाणी’ भन्ने पत्रिकाको सम्पादन एवं प्रकाशन भट्टराईबन्धुद्वारा प्रारम्भ भयो । यस पत्रिकामा कोइरालाका राष्ट्रिय कांग्रेसको ध्येय र साधनका बारे लेख पढ्न सकिन्छ ।
सन् १९४७ अगस्ट १५ का दिन भारत विधिवत रूपमा स्वाधीन भयो । यसका सँगसँगै नेपाली जनआन्दोलनमा नवीन उत्साह र जाँगर आयो । नेपाली राष्ट्रिय कांग्रेसको प्रभाव बढ्दै गयो । तिनताका नै केही अन्य नेपाली तन्नेरीहरूले नेपालमा प्रजातन्त्रको स्थापनाको लक्ष्यका साथ एउटा अर्को पार्टीको गठन गरिसकेका थिए । त्यस नयाँ दलको नाम नेपाल प्रजातन्त्र कांग्रेस थियो ।
नेपाली काङ्ग्रेसको गठन र सात सालको क्रान्ति
प्रारम्भिक प्रतिस्पर्धा र केही कटुता समेतको अनुभव गरेर पछि दुवै दल एक भए र नेपाली कांग्रेसका रूपमा एउटा नयाँ पार्टी गठन भयो । १९५० अप्रिल ९ का दिन त्यो नयाँ पार्टी गठन भएको विधिवत् घोषणा भयो ।
त्यसको केही महिनापछि सन् १९५० को सेप्टेम्बर महिनामा नेपाली कांग्रेसले बैरगनीयामा आफ्नो अधिवेशनसमेत गर्यो । त्यसपछि तीव्र रूपले घटनाक्रमहरू अगाडि बढ्न थाले । सन् १९५० नोभेम्वर ६ का दिन राजा त्रिभुवनले भारतीय दुतावासमा शरण लिए । राजा त्रिभुवनको यो कदम नेपाली कांग्रेसको आन्दोलन र सङ्घर्षप्रति खुल्ला समर्थन थियो । यस घटनाको चार दिनपछि मात्र नेपाली कांग्रेसको मुक्तिसेनाले वीरगञ्ज कब्जा गर्यो । सशस्त्र सङ्घर्ष धेरै लम्बिएन । सन् १९५१ जनवरी १० सम्म पुग्दा नपुग्दै प्रधानमन्त्री मोहनशमशेर गलिसकेका थिए । राणाशाहीका प्रतिनिधिहरू दिल्ली पुगेर कुटनीतिक गतिविधिमा संलग्न भए । अन्ततः दिल्ली सम्झौताको नामले जानिएको राजनीतिक निर्णय हुन पुग्यो ।
सन् १९५१ फेब्रुवरी १८ का दिन राजा त्रिभुवनले ऐतिहासिक शाही घोषणा गरे । अबउप्रान्त नेपालको सरकार जनताले आफैँले तयार गरेको एउटा लिखित संविधानद्वारा निर्देशित एवं सञ्चालित हुनेछ भन्ने त्यस घोषणाको सार थियो । निकट भविष्यमै वालिग मताधिकारका आधारमा संविधानसभाको चुनाव हुने घोषणा भयो । जनताप्रति उत्तरदायी हुने गरी मोहनशमशेरकै नेतृत्वमा नयाँ सरकारको गठन भयो । यस सरकारमा राणा र कांग्रेस दुवै शामेल भए । यसै सरकारले एउटा अन्तरिम संविधान अविलम्ब बनाउने कुरा पनि घोषणामा उल्लेख भयो । मोहनशमशेर प्रधानमन्त्री रहेको सरकारमा कांग्रेसको पक्षको नेतृत्व गरेर बीपी कोइराला गृहमन्त्री हुनुभयो ।
२००७ सालको क्रान्तिले नेपाललाई परिवर्तनको तीव्र भेलमा समाहित गरिदिएको थियो । परिवर्तनको यस्तो भेलमा ढुंगा, यात्रु र माझीसमेत पनि शान्त र स्थिर रहन सक्दैनन् । नेपालमा उथलपुथल जारी रह्यो । गृहमन्त्रीका रूपमा बीपी कोइराला प्रशस्त आलोचितसमेत हुनुभयो । तर प्रश्न बीपी कोइरालाको आलोचना वा प्रशंसाको थिएन ।
२००७ सालको लगत्तैपछि नेपाली समाजमा यथास्थितिवाद र अग्रगमनको तीव्र सङ्घर्ष सुरु भइसकेको थियो । नेपाल लामो समयदेखि तामसिकता र जडतामा जकडिएर रहेको थियो । हिजोसम्मका शासक र शोषकको गठबन्धनका निमित्त कोइरालाको समाजवादी व्यक्तित्व र संस्कार सुपाच्य थिएन । कोइराला भने क्रान्तिकारी उत्साह र अधैर्यका प्रतिमूर्ति देखिनुहुन्थ्यो । विवाद र कोलाहल स्वाभाविक कुरा थिए ।
राणासँगको अन्तिम विद्रोह
माथिको पृष्ठभूमीमा कोइरालाले गृहमन्त्रीको पदबाट राजीनामा दिनुभयो । प्रथमतः आमजनताले कोइरालाको राजीनामाको समाचार रेडियो भाषणबाट थाहा पाए । त्यो कोइरालाको आफ्नो शैली थियो । राजीनामामा पनि कोइरालाको आफ्नै तर्क थियो । संयुक्त सरकारका ठाउँमा नेपाली कांग्रेसको एकमना सरकार कायम हुनुपर्छ भन्ने बीपी कोइरालाको जिकिर थियो । त्यस्तै नै भयो । नयाँ सरकारको नेतृत्व भने मातृकाप्रसाद कोइरालाले गर्नुभयो ।
मातृकाप्रसाद कोइराला नै त्यससमय नेपाली कांग्रेसको सभापतिसमेत हुनुहुन्थ्यो। त्यसैले त्यस निर्णयको विरोध गर्ने विशेष ठाउँ त थिएन, तर मातृकाप्रसाद कोइरालाले २००७ सालको क्रान्तिको भावनालाई निश्चय पनि प्रतिनिधित्व गर्नु हुँदैनथ्यो ।
कालान्तरमा बीपी र मातृकाका बीच ठूलो विवाद भयो । मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेस छोड्नुपर्यो । उहाँले छुट्टै नयाँ पार्टी गठन गरेको घोषणा गर्नुभयो। राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई त्यस छुट्टै पार्टीको नेताका रूपमा सरकार बनाउन आमन्त्रित गरे । यसको सँगसँगै नेपाली राजनीतिमा दरबारको प्रत्यक्ष र अशुभ हस्तक्षेप प्रारम्भ भयो । नेपाली कांग्रेस सत्ताबाट बाहिरियो ।
राजा महेन्द्रको उदय र बीपीसँगको प्रतिशोध
सन् १९५५ मार्च १३ का दिन राजा त्रिभुवनको ज्यूरिच, स्विजरल्याण्डमा देहान्त भयो। यसअघि नै राजा त्रिभुवनले सन् १९५५ फरवरी १८ का दिन युवराज महेन्द्रलाई सबै राजकीय अधिकार सुम्पिसकेका थिए । त्रिभुवनका तुलनामा महेन्द्र शक्तिकामी, चलाख र महत्वाकाङ्क्षी राजा थिए । तद्नुरूप उनले राजनीतिक दलहरूलाई अल्मल्याउने, लडाउने र तोडफोडसमेत गर्ने गराउने काममा चासो देखाए ।
नेपाली कांग्रेसलगायतका पार्टीहरू संविधानसभाको चुनाव गराउनका निम्ति आवाज उठाइरहेको थियो । कांग्रेसले सत्याग्रहसमेत गरेको थियो । तर राजा महेन्द्र संविधानसभाको चुनाव गर्न गराउन तयार थिएनन् । राजा भएको देशमा संविधानसभाको चुनाव हुनै सक्दैन भन्ने उनको तर्क थियो । त्यस्तो तर्कको समर्थन गरिदिने नेता र बुद्धिजीवीको पनि नेपालमा कमी थिएन ।
सुरुमा त नेपाली कांग्रेसले तिनताका संविधानसभाको पक्षमा स्पष्ट एवं जोडदार आवाज प्रस्तुत गरेको थियो । तर राजाले संविधानसभाको चुनाव गराएनन् । राजा महेन्द्रले आफैँले संविधान तयार गर्न लगाए र त्यही संविधानअन्तर्गत नै चुनाव हुने घोषणा गरे । नेपाली कांग्रेसलगायत सबैजसो पार्टीले संविधानसभाको माग छाडे ।
सन् १९५९ को फेब्रुवरीमा नेपालमा पहिलो सम्झौतामूलक आमचुनाव सम्पन्न भयो । यस आमचुनावमा नेपाली कांग्रेस प्रचुर बहुमतका साथ विजयी भयो । बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको एकमना सरकार गठन भयो । ०१५ सालको आमचुनावमा कांग्रेसले शानदार सफलता गरेको थियो । कांग्रेसका शीर्षथ नेताहरूलाई पनि यस्तो विजयको आशा थिएन होला ।
राजा महेन्द्रका निम्ति त यो चिताउँदै नचिताएको अवस्था थियो। यसैले हो कि, राजा महेन्द्रले कांग्रेसका नेतालाई अर्थात् वीपी कोइरालालाई सरकार बनाउनका निमित्त पनि अत्यन्त ढिलो गरेर आमन्त्रित गरे ।
त्यति भएर पनि कोइराला सरकारको उपलब्धि भने सर्वथा प्रशंसनीय थियो । कोइराला सरकारले आफ्ना बोली, बचन र आचरण समेतबाट जनताको मन जित्न कुनै कसर राखेको थिएन । मुलुकमा पहिलोपटक आधुनिक, सक्षम र लोककल्याणकारी राज्यको प्रयोग भएको थियो । कोइरालाको लोकप्रियता बढ्दै थियो । राजा महेन्द्र आखिर अधीर भए ।
पुस १, २०१७ सालका दिन राजा महेन्द्रले आफ्ना मातहतमा रहेका सेनाका सहायताले नेपाली कांग्रेसको जननिर्वाचित सरकारलाई अपदस्थ गरे । बीपी कोइराला, उहाँका मन्त्रिमण्डलका सदस्य र प्रतिनिधिसभाका सभामुखसमेतलाई कुनै कारण नदेखाई गिरफ्तार गरियो । सबै राजनीतिक दलहरू प्रतिबन्धित भए । पार्टीहरूले भूमिगत रूपमा वा निर्वासनमा गएर आफ्नो साङ्गठनिक गतिविधि गर्नुपर्ने भयो । राजा महेन्द्रले नेपाली कांग्रेसको नेतृत्व र कार्यकर्ताहरूको ठूलो जमातलाई काराबासलगायत अरू दमनको तारो बनाए । नेपाली कांग्रेसका धेरै कार्यकर्ताहरू भारतमा राजनीतिक शरण लिन बाध्य भए ।
२०१७ सालको प्रतिगमन र बीपीको काराबास
पुस १ गते २००७ सालको गिरफ्तारीका साथ कोइरालाको राजनीतिक जीवनको एउटा अध्याय समाप्त भयो । यस समापनले व्यक्तिगत रूपमा कोइरालालाई के कस्तो दुःख, हानि-नोक्सानी भयो त्यो कुरा आफ्ना ठाउँमा छ । तर त्यस ऐतिहासिक दुर्भाग्यले मुलुकको प्रगतिलाई ठूलो आघात पुऱ्यायो ।
पुष १, २०१७ साल १० वर्षअघि सम्पन्न भएको २००७ सालको क्रान्तिको ठाडो अस्वीकृति थियो । २००७ सालको क्रान्तिले परम्परागत नेपाली समाजमा ठूलो हलचल ल्याएको थियो । युगौदेखि सङ्गठित रहेका मूल्य, मान्यता र स्वार्थ खलबलिएका थिए । कालको ओखती छैन, हुकुमको जवाफ छैन भन्ने समाजले क्रान्ति, समाजवाद र साम्यवादबाट प्रेरणा लिएको थियो । मुलुकमा जनउत्तरदायी प्रतिनिधिमूलक संस्था प्रतिष्ठित भएको थियो । मुलुकमा सर्वथा नौलो किसिमको विश्वास र जाँगर सञ्चालित भएको थियो । तर पुष १ गते २०१७ सालले यस अभिक्रममा विरामचिन्ह लगायो । मुलुक एकपटक फेरि प्रतिक्रिया र जडताको अतीततर्फ फर्कियो । राजनीतिक दलहरू मात्र प्रतिबन्धित मात्र भएनन् । प्रत्येक नौलो विचार र अभियान प्रतिकृत र पराजित भए ।
फर्केर हेर्दा नेपाली कांग्रेसको स्थापनाको दिनदेखि पुष १ गते २०१७ सालसम्ममा झन्डै १५ वर्ष बितेको थियो । यो १५ वर्ष कोइरालाका जीवनका अत्यन्त सिर्जनशील वर्षहरू थिए । कोइरालाको सिर्जनात्मकता कुनै एक दिशामा थिएन । यी वर्षहरूमा उहाँ एकातिर राजनीतिक दृष्टिले अत्यन्त सक्रिय हुनुहुन्थ्यो ।
राष्ट्रिय कांग्रेसका स्थापना समयदेखि आफ्ना जीउ ज्यानका समेत परवाह उठाउने गर्नुभएको थियो । २००७ पनि कोइरालाको प्रवृत्ति यस्तै कायम नै रह्यो । तिनताकका कोइरालाले एकातिर प्रतिर वैचारिकता अर्कोतिर अदम्य सक्रियता र साहसिकताको प्रदर्शन गर्नुभएको प्रखर वैचारिकता निश्चय नेपालको लोकतान्त्रिक प्रयोगका सर्वश्रेष्ठ वर्ष थिए। सत् ५० र ६० को दशक यसै पनि सिङ्गो एशियाका निमित्त आशा, उत्साह र सनजी वनको सन्देश थियो । एकातिर भारत भर्खरै स्वाधीन भएको थियो । अर्कोतिर चीनमा जनवादी क्रान्ति सम्पन्न भएको थियो ।
एशियाका अरू देशहरू यता अफगानिस्तान, पाकिस्तान, वर्मा, श्रीलंकासमेत पनि नयाँ युगमा प्रवेश गरेका थिए । कोइरालाको राजनीतिक क्षितिज नेपालमा मात्र सीमित थिएन । उहाँ एशियाली समाजवादी आन्दोलनसित घनिष्ट रूपमा आवद्ध हुनुहुन्थ्यो । नेपालमा २००७ सालको जनक्रान्ति सम्पन्न नहुँदैमा कोइराला एशियाली समाजवादको सङ्गठन समेतको कार्यभार लिएर रंगुन पुग्नुभएको थियो । रंगुनको त्यस कार्यभारले नेपाली क्रान्तिलाई समेत भौतिक सहायता पुऱ्याउनु त्यस यात्राको अर्को पक्ष थियो । भारतीय समाजवादी आन्दोलनसँगको कोइरालाको घनिष्ट सम्बन्धले उहाँलाई रंगुन-यात्राको त्यो सुवर्ण अवसर प्रदान गरेको थियो ।
कोइरालाका यस कालअवधिका रचनाहरू अत्यन्त ताजा वा टट्का छन् । कोइरालाले समाजवादी दर्शनको मौलिक सिद्धान्तको बारेमा कुनै स्वतन्त्र कृति यस अवधिमा लेख्नुभएको छैन । त्यो काम बेलावखतमा भारतका आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण र सर्वोपरि डा. राममनोहर लोहियाले गरिरहेका हुन्थे । कदाचित् कोइरालाले तीनै भारतीय रचनाहरूलाई मूल सिद्धान्तका रूपमा नेपालका निमित्त पनि पर्याप्त सम्झनुभएको थियो । मूल सिद्धान्तको हकमा यस्तो सम्झना गलत पनि होइन । यो बाहेक आफूले जान्नु, मान्नुभएको समाजवादी सिद्धान्तका आधारमा नेपाली राजनीति घटनाक्रमलाई केलाउने र प्रष्ट्याउने काम भने कोइरालाले लगातार नै गरिरहनुभयो । यस दशकमा नेपाली कांग्रेसका तीनवटा महत्वपूर्ण घोषणापत्र लेखिए ।
ती तीनवटै घोषणापत्रहरूको लेखनमा कोइरालाको राजनीतिक प्रभाव बिलकुलै छर्लङ्ग थियो । २००७ सालको संघारमा लेखिएको घोषणापत्र त स्पष्टतः कोइरालाको कृति थियो । २००७ सालको महत्व एवं यस तथ्यको स्पष्ट जानकारीको कारणले यस घोषणापत्रलाई भने यहाँ शामेल गरिएको छ । यस सङ्कलनमा परेको ‘हाम्रो अन्तिम लडाई भन्ने लेखमा कोइरालाले यस घोषणापत्रका विषयमा स्पष्टीकरण दिने क्रमम यसको उल्लेख गर्नुभएको छ । लगत्तैपछि कोइराला कांग्रेस पक्षको नेतृत्व गर्दै गृहमन्त्रीसमेत हुनुभयो । गृहमन्त्रीत्वको अवधिका लेख भेटिदैनन् । तर तिनताक अवश्य पनि अनेकानेक भाषण र प्रवचन भएको थियो ।
बीपीको नेतृत्व कौशल
गृहमन्त्रीबाट राजीनामा दिनासाथ कोइरालाको राजनीतिक जीवन अर्को चरणमा प्रवेश गर्छ । छिट्टै नै केही समयपछि कोइराला नेपाली कांग्रेसको सभापति हुनपुग्नुभयो । तर यो काम सजिलै भएको थिएन । नवनियुक्त प्रधानमन्त्री मातृकाप्रसाद कोइराला त्यतिञ्जेलसम्म नेपाली कांग्रेसको सभापतिसमेत हुनुहुन्थ्यो । मातृका कोइराला सहज रूपमा नेपाली कांग्रेस सभापतित्व छोड्न तयार हुनुहुन्न थियो । दाजु र भाइमा ठूलो कचिंगल भयो । यस कचिंगलको अनेकौँ आयाम र व्याख्या छँदैछन् । तर मुख्य कुरो के भने कोइरालाले मातृकाप्रसाद कोइरालासँगको यस कचिंगललाई प्रखर सैद्धान्तिक रूप दिनुभयो । अधिकांश पर्यवेक्षकले आजसम्म पनि यस झगडालाई दाजुभाइको सत्ता-सङ्घर्षका रूपमा हेरेका छन् ।
राजनीतिमा सत्ता सङ्घर्ष स्वभाविक कुरो हो । त्यस्तो सत्ता-सङ्घर्षको माध्यमबाट समाज र राजनीतिलाई अझ उँभो र अगाडि जानसक्नु ज्यादा महत्वपूर्ण कुरो हो । कोइरालाका निमित्त दलीय राजनीति नेताहरू विशेषको कोठे छलफलको विषय थिएन । राजनीतिको लक्ष्य र कार्यपद्धतिलाई नेतृत्वले आमकार्यकर्तालाई सर्वथा सुसूचित र शिक्षित राख्नुपर्छ भन्ने कुरोबाट कोइराला सचेत हुनुहुन्थ्यो । कोइराला फेरि यस्ता लेखहरू मात्र लेखेर सन्तुष्टि रहनुभएको थिएन । आफ्ना लेखहरूमा अन्तरनिहित सूचना र सन्देश कार्यकर्तालाई प्रत्यक्ष रूपमा सुनाउन-सम्झाउन कोइरालाले व्यापक देशभ्रमण पनि गर्नुभएको थियो ।
मातृकाप्रसाद कोइरालासँगको विछोडपछि नेपाली कांग्रेस फेरि लामो समयसम्म सत्तामा गएन । त्यसैले कालावधिमा कांग्रेसले साङ्गठनिक आधार प्राप्त गर्यो । प्रस्तुत सङ्कलनमा परेका लेखहरूले कोइरालाका ती वर्षका गतिविधिहरूलाई रेखाङ्कित गरेका छन् । २००७ सालको क्रान्तिलगायतका ऐतिहासिक घटनाक्रमका कोइरालाको दृष्टिकोण यहाँका लेखहरूमा पाइन्छन् ।
संविधानसभाका पक्षमा यहाँ प्रखर तर्क भेटिनेछन् ।’ तर अन्ततः कांग्रेसले संविधानसभाको परित्याग गरेको पक्षमा समेतका कारणहरू १९ गतेको शाही घोषणा’ भन्ने लेखमा सविस्तार गराइएका छन् ।
कोइरालाका यी वर्षहरूका लेखहरू एउटा खास शब्दावली र शैलीका सहायताले लेखिएका छन् । कोइराला बारम्बार केही निश्चित अवधारणाको प्रयोग गर्नुहुन्छ । यी लेखहरूमा कोइरालाले समाजको अनिवार्य ऐतिहासिक विकासक्रमको बारम्बार उल्लेख गर्नुभएको छ । यसो त कोइरालामा आजीवन तीव्र इतिहास चेतना रह्यो, तर विभिन्न मनीषी वा समाजवादीहरूका माझ एकै किसिमको इतिहास चेतना रहेको छैन ।
आचार्य नरेन्द्रदेवको एउटा किसिमको इतिहास चेतना थियो । नरेन्द्रदेवलाई बौद्ध दर्शनको काल-चिन्तन र मार्क्सको ऐतिहासिक कालक्रमले प्रभावित गरेको थियो । डा. राममनोहर लोहिया इतिहासको चक्रीय धारणामा विश्वास राख्नुहुन्थ्यो । विश्वेश्वरप्रसाद कोइरालाका यी वर्षका रचनाहरूमा मार्क्सली चेतनाको इतिहास-बोधको प्रमुखता पाइन्छ ।
कोइरालामा खासमा आजीवन जस्तो मार्क्सको ठूलै प्रभाव रहेको छ । तर यो कम्युनिस्टहरूको मार्क्सवाद होइन । यो दुई महायुद्धको बीचको युरोपको सोसल डेमोक्रेसीको मार्क्सवाद हो । अझ ठोस रूपमा भन्ने हो भने यो कांग्रेस सोसलिस्ट पार्टीको मार्क्सवाद हो ।
बन्दी बीपी र विद्रोहमा काङ्ग्रेस
बीपी कोइराला नेपाली कांग्रेसको सातौँ महाधिवेशनबाट निर्वाचित हुनुभएको अध्यक्ष हुनुहुन्थ्यो । तसर्थ कोइराला जेल परेपछि नेपालले आफ्ना निर्वाचित प्रधानमन्त्री मात्र गुमाएको थिएन, नेपाली कांग्रेसको नेतृत्व पनि हराएको थियो । सौभाग्यवश उपप्रधानमन्त्री सुवर्णशमशेर त्यस दिन कलकत्तामा हुनुहुन्थ्यो । सुवर्णशमशेरले केही पर्खेर तर समयमा नै शाहीकदमको विरोध वक्तव्य जारी गर्नुभयो । साथसाथै उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई सङ्गठित गर्ने प्रयास गर्नुभयो ।
भारत पुगेका र भूमिगत रहेका कार्यकर्ताहरू पटनामा जम्मा भए । पटना सम्मेलनले सुवर्णशमशेरलाई नेपाली कांग्रेसको कार्यकारी अध्यक्ष छान्यो । सुवर्णशमशेरको नेतृत्वमा नेपाली कांग्रेसले राजा महेन्द्रका विरुद्ध सङ्घर्ष गर्ने निर्णय गर्यो । प्रारम्भमा शान्तिपूर्ण सङ्घर्ष भए । तर दमनको क्रुरताका सामु त्यस्तो प्रयास टिक्ने कुरा थिएन ।
आखिर नेपाली कांग्रेसले सशस्त्र सङ्घर्ष प्रारम्भ गर्यो । दुर्गानन्द झाले जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहारसमेत गरे । ठाउँ-ठाउँमा कांग्रेसले सेनासँग समेत भीडन्त गर्यो । तर त्यसैबीच भारत र चीनको सीमा-सङ्घर्षले युद्धको रूप लियो । अब नेपालभित्रको सशस्त्र सङ्घर्षमा चीनले समेत चाख देखाउन थाल्यो । जनजीवन र राष्ट्रियताका दृष्टिले यो खतरनाक वस्तुस्थिति थियो ।
जनरल सुवर्णशमशेरले सशस्त्र विद्रोहको स्थगनको घोषणा गर्नुभयो । नेपाली कांग्रेसका सामु अब एक अप्रत्याशित परिस्थिति आएको थियो । सशस्त्र सङ्घर्षको पृष्ठभूमिमा मुलुकभित्रको राजनीति झन् जटिल भएको थियो । पार्टी मुख्यतः भारतमा निर्वासनमा बसिरहन बाध्य थियो । अनेकन कारणले गर्दा निर्वासनमा पार्टी मजवुत रहनसक्ने अवस्था थिएन । कांग्रेसलाई यसै पनि भूमिगत राजनीतिको अभ्यास थिएन । यस्ता परिस्थितिमा राजा महेन्द्रले मुलुकमा निर्दलीय पञ्चायती व्यवस्थाको प्रयोग गर्न थाले । पञ्चायतलाई कुनै व्यवस्थाको संज्ञा दिनु त एउटा ढोंग मात्र थियो । तर यस ढोंग र छलले राजा महेन्द्रको लवेदाकोटको काम अवश्य गरेको थियो ।
पाँच छ वर्षको एक छत्र शासनपछि पनि राजा महेन्द्रले मुलुकमा कुनै जाँगर र विश्वास उत्पन्न गर्न सकेनन् । बेलाबेलामा यस्तो अनुभूति भएको झझल्को राजा महेन्द्रको शाहीघोषणामा भेटिन्थ्यो । मुलुकमा विघटनकारी शक्ति बढ्न थालेका थिए । तथाकथित निर्दलीय प्रजातान्त्रिक व्यवस्थाले युवा वर्गलाई व्यक्तिवादी र गैरजिम्मेदार बनाउँदै लगेको थियो । यो कुरो कसैबाट लुकेको थिएन । आखिर यस्तै निराश परिस्थितिमा राजा महेन्द्रलाई हृदयाघात भएको समाचार बाहिर आयो ।
मुलुकभित्र र बाहिर नेपालको भविष्यको बारेमा चासो बढ्न थाल्यो । त्यतिञ्जेलमा तिनताक हिन्दुस्तानमा बसेर चलाउने-चल्ने सशस्त्र सङ्घर्षले नेपालमा प्रजातन्त्रको बहाली हुन सक्तैन भन्ने निष्कर्षमा नेपाली कांग्रेस पनि पुगेको थियो । अब नेपाली कांग्रेस भने राजा महेन्द्रसँग संवाद स्थापित गर्न चाहन्थ्यो । यस पृष्ठभूमिमा बीपी कोइरालासमेतलाई कारागारमुक्त गरिनुपर्छ भन्ने आम समझदारी थियो । बीपी कोइरालाको रिहाइको आवश्यकता नेपाली कांग्रेसलगायत अरूले पनि महसुस गरेका थिए ।
सन् १९६८ मे १५ का दिनमा सुवर्णशमशेरले कलकत्ताबाट एउटा वक्तव्य प्रकाशित गर्नुभयो । स्मरणीय छ, एक वर्षअघि मात्र नेपाली कांग्रेसको कार्यसमितिले संविधानसभाको माग गरेको थियो । अबको वक्तव्यले त्यो अडान छोड्यो । सुवर्णशमशेरले त्यस वक्तव्यबाट राजा महेन्द्रबाट स्वयं संवैधानिक विकासको प्रकृयाबाट जनताको अधिकार बहाल हुने आशा व्यक्त गर्नुभयो । त्यस्तै आशाको पृष्ठभूमिमा कारागारमुक्तिको क्रममा बीपी कोइरालाले समेत सुवर्णशमशेरको त्यस वक्तव्यलाई समर्थन गर्नुभयो ।
३१ अक्टुवर, १९६८ तद्नुअनुसार कार्तिक १४, २०२५ को वक्तव्यमा, ‘उक्त वक्तव्य राष्ट्रिय एकता र राष्ट्रको हितमा छ । आजको वस्तुस्थितिमा श्री सुवर्णले गर्नुभएको कुरा ठीक छ भन्ने कुरामा मलाई कुनै शङ्का छैन । एक प्रजातन्त्रीवादी र विश्वासी साथीको हैसियतले सुवर्णको वक्तव्यको समर्थन गर्दछु’ भनिएको थियो । यो लगायत अनेकौं राजनीतिक एवं कुटनीतिक दबाबपछि सन् १९६८ को अक्टुबर महिनामा बीपी कोइराला कारागारमुक्त हुनुभएको थियो ।
आफ्नो कारामुक्ति एक वृहत्तर राजनीतिक सम्झौताको परिणति हो भन्ने कोइरालाको प्रारम्भिक विश्वास थियो । तर वनारसमा बसोबास थाल्नुअघि नै कोइरालाले कतिपय घटनाक्रमबाट त्यस्तो सम्झौता नहुने अनुमान लगाइसक्नुभएको थियो । कारागारबाट मुक्त भएपछि जसरी भए पनि राजा महेन्द्रलाई एकपटक भेट्ने र संवाद बढाउने उहाँको प्रबल इच्छा थियो । स्वयं कोइरालाले बम्बैमा स्वास्थ्यलाभ गर्दागर्दै पनि यस्तो प्रयास गर्नुभएको थियो । तर कोइरालाको प्रयास विफल भयो ।
लामो काराबासपछि अब नेपाल फर्केर कोइराला जेल जान भने तयार हुनुहुन्नथ्यो । उता काठमाडौँमा भने कोइरालाका रिहाइले आत्तिएका तत्व पनि उहाँका विरुद्धमा जुटिसकेका थिए । यस्तै अन्योल र व्यग्रताका बीचमा बनारस बसोबास गर्न थाल्नुभएका कोइरालाको ‘क्रान्तिको अनिवार्यता’का विषयमा वक्तव्य र लेख आउन थाले ।
बीपीको अन्तिम प्रवास र दोस्रो सशस्त्र विद्रोह
बनारस पुगेपछि कोइरालाको तर्क र थेसिसले एकातिर पार्टीको तत्कालीन संस्थापनको कार्यनीतिलाई अतिक्रमण गरेको थियो भने अर्कोतिर स्वयं कोइरालाको हिजोको जेलबाट छुट्दाको वक्तव्य र समझदारीलाई खण्डित बनाएको थियो । त्यस समयसम्म नेपाली कांग्रेसको कार्यकारी अध्यक्षको रूपमा सुवर्णशमशेर स्थापित रहनुभएको थियो । कोइरालाले चाहँदा काराबासबाट मुक्ति भएको भोलिपल्ट नै आफू कांग्रेसको अध्यक्ष भएको दावा गर्न सक्नुहुन्थ्यो । तर उहाँले त्यसो गर्न चाहनु भएन ।
जानकारहरूका अनुसार कलकत्तामा भेट्नेसाथ सुवर्णशमशेरले यस्तै प्रस्ताव राख्नुभएको थियो । तर त्यति भएर पनि वनारस पुग्नासाथ कोइरालाले सशस्त्र विद्रोहको कुरो गर्न थाल्नुभयो । यो कुरा पार्टीको तत्कालीन नीतिको विपरीत थियो । तर कोइरालाको व्यक्तित्व पार्टीभन्दा पनि ठूलो थियो । एक त पार्टीको सङ्गठन भताभुङ्ग भएको थियो । दोस्रो, जो रहेका पार्टीका कार्यकर्ताहरूसमेत अत्यन्त असुरक्षित र भयभीत मनस्थितिमा बाँचेका थिए । अझ नेतृत्वको हताशाको त कुरै थिएन । नेतृत्वको कुण्ठा र मनोदौर्बल्य चरमावस्थामा पुगेको थियो । तर कोइराला लामो काराबासबाट भर्खरै छुट्नुभएको थियो ।
विवश-परवश भएर जेल बसेको मानिस क्रिया र कर्मका निमित्त वेचैन रहन्छ । कोइरालामा यस्तै वेचैनी थियो । उहाँको क्रान्ति आह्वान कदाचित यस्तै वेचैनीको अभिव्यक्ति पनि थियो । तर यस वेचैनीले नेपालका विद्यार्थी र तन्नेरीलाई भने जोश, जाँगर र आशासमेत प्रदान गर्यो । उता नेपाली कांग्रेसको औपचारिक नेतृत्व भने राजासँग संवाद गर्ने पक्षमा थियो । एकातिर बीपी कोइराला औपचारिक नेतृत्वको संवाद-वार्ता पार्टी लाइन हो भन्न पछि पर्नुभएको थिएन ।
अर्कोतिर उहाँले तत्कालीन नेपालमा क्रान्तिलाई अनिवार्य ठान्नुभएको थियो । कोइरालाको यस्तो विभक्त मानसिकताबाट कांग्रेसको अन्योल बाक्लिदै गयो । केही समयपछि गिरिजाप्रसाद कोइराला पनि हिन्दुस्तान पुग्नुभयो । त्यस दिनदेखि नेपाली कांग्रेसका कार्यकर्ताहरूले सशस्त्र सङ्घर्षको नयाँ अर्थ फेला पारे । प्रारम्भमा बीपी कोइरालाले सशस्त्र क्रान्तिलाई एउटा थेसिसका रूपमा मात्र प्रतिपादित गरेको दावा गर्नुभयो । त्यसपछि त्यो थेसिस आह्वानमा मात्र सीमित रहेन । सन् १९७३ जून १० का दिन एउटा नेपाली विमानको सनसनीखेज अपहरण भयो । त्यस अपहरणले कोइराला र सुवर्णशमशेरको संवाद समाप्तौँ बनायो ।
पञ्चायत व्यवस्थाको बर्बर दमन र अरू परिबन्दमा पनि परेर विभिन्न राजनीतिक कार्यकर्ता एवं आमजनतासमेत नेपालबाट भागिरहेकाहुन्थे । निर्वासनमा रहनुभएका गिरिजाप्रसाद कोइरालाले त्यस्ता केही मानिसहरूलाई समेत फारविसगञ्जमा आश्रय र संरक्षण दिनुभएको थियो । त्यहाँ आर्थिक सङ्कट हुनु स्वाभाविक थियो । त्यसै सङ्कटलाई बेहोर्न विमानबलान्नयन भएको थियो । कोइरालाको क्रान्ति-आह्वानको पृष्ठभूमिले निश्चय गिरिजाप्रसादलाई नैतिक एवं राजनीतिक औचित्य प्रदान गरेको थियो । गिरिजाप्रसाद कोइरालाको पहलमा नै ओखलढुंगा-काण्डसमेत भयो । विमान बलान्नयनको काण्डबाट प्राप्त भएको धन-साधनले समेत ओखलढुंगा काण्डको मूल तयारी भएको थियो ।
सामान्यतः क्रान्ति र विद्रोहको राजनीतिका दुई पक्ष रहन्छन् । एक पक्ष भनेको यस्तो प्रयासको सैद्धान्तिक औचित्य र व्यवहारिकता हो । कुन लक्ष्यका निमित्त क्रान्ति गरिने हो ? त्यो लक्ष्य आफूमा स्वागतयोग्य छ वा छैन ? लक्ष्य उचित भए पनि तैयारी कस्तो छ ? क्रान्तिको लक्ष्य र तयारीका प्रति आमजनताको उत्साह र समर्थन कस्तो छ ? कुनै पनि क्रान्ति र विद्रोह गर्नका निमित्त जनताको उत्साह र समर्थनमा आधारित रहेको एक राजनीतिक सङ्गठन चाहिन्छ । के कोइरालासँग त्यस्तो सङ्गठन थियो ? यसको जवाफ नकारात्मक नै दिनुपर्छ ।
यसो त क्रान्ति-चिन्तनको इतिहासमा ७० को दशकको विशेष महत्व छ । १९६७ मा चे गुवेरा मारिएका थिए । क्रान्तिको इतिहासमा चे गुवेराले विशेष स्थान राख्दछन् । क्रान्ति गर्नका निमित्त आमजनताको चेतनाको उकासिएको स्तर र सङ्गठन चाहिन्छ भन्ने मार्क्स, लेनिन र माओको ठहर छ । चे गुवेराले यस्तो विश्लेषणलाई बहसमा ल्याए । चे गुवेराका अर्को ठहर छ । उता र अल्लारे अनुयायी थिए । रेगीस देने नाम थियो तिनको । तिनताका बौद्धिक क्षेत्रमा रेगीस डेब्रेको क्रान्ति विषयक पुस्तक बडो प्रचलित थियो । क्रान्तिका निमित्त सङ्गठन चाहिँदैन, बन्दुक र इच्छा शक्ति भए पुग्छ भन्ने डेब्रेको तर्क थियो ।
विश्वेश्वरप्रसाद कोइरालाको वृत्तमा यस्ता तर्कहरू र डेब्रेका पुस्तक पनि देखिन्थे । यस्तै क्रान्तिका प्रति रोमान्टिक उल्झनका वीच जेनेबल ढुंगा-काण्ड भएको थियो । ओखलढुंगा-काण्डको उद्देश्य के थियो ? तयारी कस्तो थियो ? तयारीका आधार के थिए, अझै गम्भीर बहसको विषय हुन सकेको छैन । कांग्रेस वृत्तबाट ज्यादातर गैरजिम्मेदार र हास्यास्पद किसिमका अभिव्यक्ति बेलाबखतमा देखिरहन्छन् । त्यस्ता अभिव्यक्ति समेतलाई एक ठाउँमा राखेर संश्लेषण र विश्लेषण गर्ने काम अझै भएको छैन ।
यस्तो किसिमको अध्ययनको अभावले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो हानि पुऱ्याएको छ । नेपाली कांग्रेसको आजको दिशाविहीनता र कमजोरी यस्तै अनेकन आवश्यक विचार-विमर्शको अनुपस्थितिले उपस्थित भएको हो । ओखलढुंगा-काण्ड दशकौँ भयो । ढिलै भए पनि पार्टीले यस्ता विषयमा बहस गर्नु र गराउनुपर्दछ । तर पार्टीभित्र र बाहिर यस्ता विषयमा कहिल्यै कतै छलफल भएन । कोइरालाले आफ्नो बयानमा ओखलढुंगा-काण्डको नैतिक जिम्मेवारी अवश्य लिनुभयो । तर त्यो पर्याप्त छैन ।
कोइराला उच्चकोटीको बुद्धिजीवीसमेत हुनुहुन्थ्यो । कोइरालालाई मार्क्स र लेनिनका साहित्यको ज्ञान थियो । माओ त्सेतुङका गुरिल्ला विषयक रचनाहरूको जानकारी थियो । यस सङ्कलनमा कोइरालाको क्रान्तिकारी राजनीतिका विषयको एउटा गम्भीर लेखसमेत छापिएको छ । ‘क्रान्ति-चर्चा’ शीर्षकको लेख ओखलढुंगा-काण्ड अघि नै छापिएको थियो । १६ त्यस लेखले एउटा कुरा स्पष्ट पारेको छ । सिद्धान्ततः कोइराला स्वयम् ओखलढुंगा-काण्ड जस्तो दुस्साहसिक कार्यका पक्षमा हुनुहुन्नथियो । त्यसैले समग्रमा यो घटना अझै पनि विवेचित र आलोकित हुन सकेको छैन भन्नैपर्छ ।
“राष्ट्रिय मेलमिलाप” र स्वदेश आगमन
सन् १९७६ डिसेम्वर ३१ का दिन कोइराला एक्कासी जस्तो नेपाल फर्किनुभयो । तर त्यो एकाकी निर्णय थिएन । नेपाल फर्किनुअघि नै कोइरालाले आफ्नो एउटा विशेष राजनीतिक सोचाइ र दृष्टिकोण बनाउनु एवं प्रचारित गर्नुभयो । त्यसलाई उहाँले ‘राष्ट्रिय मेलमिलाप’को संज्ञा दिनुभएको थियो । उहाँले राष्ट्रिय मेलमिलापको यस संज्ञा वा सोचलाई आफूमा मात्र सीमित राख्नुभएन ।
नेपाल आउनुअघि कोइरालाले आफ्ना सहयोगी र समर्थकलाई सकेसम्म सम्पर्क गर्नुभयो । ठाउँ-ठाउँमा कार्यकर्ता भेला भए । त्यस्ता भेलामा कोइरालाले परिवर्तित परिस्थितिमा नयाँ किसिमको कार्यक्रम तयार गर्ने खाँचो र आफूले त्यसै गर्नुभएको कुरा समेतको सविस्तार बताउनुभयो । त्यस्ता बैठकहरूमा गरिएको महत्वपूर्ण टेप वार्ताको दुई अभिलेख यहाँ छापिएका छन् । हिजो ‘तरुण’ मा प्रकाशित भएका लेखहरूका यावत् मान्यतालाई यहाँ छोडेको भेटिन्छ । बीपीको चिन्तनमा अब राष्ट्रियताले नयाँ परिभाषा प्राप्त गरेको छ ।
‘तरुण’ का पानामा कोइरालाद्वारा राजा र राजतन्त्रलाई राष्ट्रियताको विरोधी वा विपरीत शक्तिका रूपमा प्रस्तुत गरिएको छ । अब ती पुराना तर्क विस्मृत भएका थिए । त्यसका ठाउँमा राजतन्त्रलाई राष्ट्रियताको प्रमुख सहायक शक्तिका रूपमा अगाडि राखिएको छ । यस्ता तर्कका माध्यमबाट कोइराला नेपाल फर्कने तयारी गर्दै हुनुहुन्थ्यो । भारतको इमर्जेन्सीले कोइरालालाई निराश बनाएको थियो । कोइराला अब राजा वीरेन्द्रसँग संवाद गर्ने कोशिसमा हुनुहुन्थ्यो ।
नेपाल फर्कने दिनमा राष्ट्रिय मेलमिलापको आधारभूत तर्कलाई कोइरालाले एक आह्वान रूपमा प्रसारित गर्नुभयो । स्मरणीय छ, त्यतिञ्जेलसम्म निर्वासनमा राजनीतिक गतिविधि गर्दा कोइरालाले आफूलाई नेपाली कांग्रेसको अध्यक्षका रूपमा प्रस्तुत गर्नुभएको थिएन । तर अब नेपाल फर्कदाका दिन कोइरालाले नेपाली कांग्रेसको अध्यक्षता आफूले ग्रहण गरेको कुरा घोषणा गर्नुभयो । यो एक महत्वपूर्ण राजनीतिक कदम थियो ।
राजा वीरेन्द्रले कोइरालाको नेपाल प्रत्यागमनलाई कसरी लिन्छन्, त्यो सबैले हेरिरहेका थिए । राजाले कोइरालालाई गिरफ्तार गरे । सँगसँगै दक्षिण एसियामा र विशेष गरी भारतमा महत्वपूर्ण राजनीतिक घटनाक्रम भइरहेको थियो । भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउनाले कोइरालाका निमित्त त्यहाँ बसिरहनु अप्ठेरो भएको थियो । तर कोइराला नेपाल फर्कनुभएको सय दिनभित्रै भारतमा इन्दिरा गान्धी सत्ताच्युत भइन् । भारतमा जनता दलको सरकार बन्यो । बिग्रदो स्वास्थ्यका एवं भारतलगायत वाह्य दबाबका कारणले कोइराला छिट्टै नै छुट्नुभयो ।
कोइरालाको रिहाइको साथ नेपाली राजनीतिमा एउटा नयाँ हलचल प्रारम्भ भयो । लगत्तै पछि नेपालमा २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन भयो । राजा वीरेन्द्रले सहज रूपमा जनमतसङ्ग्रहको घोषणा गरे । यस घोषणाको पृष्ठभूमिमा कोइरालाको राजनीतिक उपस्थिति र अभियान पनि एक कारक तत्व अवश्य थियो ।
नेपाली कांग्रेसका कार्यकारी सभापति जनरल सुवर्णशमशेरले झण्डै दश वर्षअघि कलकत्ताबाट एक वक्तव्य प्रकाशित गरी राजा महेन्द्रलाई संवैधानिक विकासको आशाका साथ सहयोगको प्रस्ताव ‘टक्रयाउनु’ भएको थियो भनेर माथि भनिसकिएको छ । कोइरालाले गर्नुभएको ‘राष्ट्रिय मेलमिलापको आह्वान’ को सार सुवर्णजीको वक्तव्यभन्दा फरक थिएन । तर दुवैको कार्यपद्धति फरक थियो । सुवर्णशमशेरले राजाप्रति विश्वास व्यक्त गरेर संविधानको विकासका निमित्त अनुरोध र प्रयास गरिरहनुभयो ।
यस दृष्टिले सुवर्णशमशेर भारतीय नेता फिरोज शाह मेहता, गोखलेजस्ता नेताहरूको बाटोमा हिड्न चाहनुहुन्थ्यो । यसमा स्पष्टतः सम्झौतावादको झलक छ । कोइरालाले करिब गान्धीको बाटो अख्तियार गर्नुभयो । सुवर्णशमशेरसरह नै कोइराला पनि राजाको हृदय परिवर्तन होस् भन्ने चाहनुहुन्थ्यो । तर त्यतिले मात्र उहाँको चित्त बुझेको थिएन । कोइराला यो बाहेक जनताको हृदय परिवर्तनको अर्को बाटो खोज्दै हिँड्नुभयो । त्यस दृष्टिले राष्ट्रिय मेलमिलापले जनआन्दोलनको रूप लियो ।
राष्ट्रिय जागरणमा बीपीको अन्तिम प्रयास
कोइरालामा कांग्रेसको स्थापना कालदेखि नै गान्धी र सत्याग्रहको प्रभाव स्पष्टता परिलक्षित छ । विराटनगरको मजदुर हडताल एक सत्याग्रह थियो । राणाको काराबासमा रहँदाको अनशन सत्याग्रह नै थियो । भूमिगत रूपमा आएर भए पनि मोहनशमशेरलाई भेट्ने इच्छा कोइरालाको सत्याग्रहको कार्यशैलीबाट प्रेरित थियो ।
कोइरालाले राष्ट्रिय मेलमिलापको चरणमा राजा वीरेन्द्रलाई भेटेर उनको हृदय परिवर्तन गराउने कार्य पनि सत्याग्रहको शैलीमा नै गर्नुभयो । त्यसैले उहाँ राजालाई भेटेर मात्र सन्तुष्ट हुनुभएन । राष्ट्रिय मेलमिलापका ती वर्षमा मौका पाउनासाथ कोइराला आमजनताका घर दैलोमा पुग्नुभयो । कोइरालाको स्वागत गर्ने साथीहरू कुटिए- पिटिए । कोही त मारिए पनि । तर अन्ततः कोइरालालाई देख्न, भेट्न पाउँदा आमजनता उत्साहित भए । डराएर लुकेर बसेका कांग्रेसका कार्यकर्ताहरू निर्भीक भएर हिँड्न र बोल्न थाले । कांग्रेसले सङ्गठनको नयाँ आधार प्राप्त गर्यो । यही नै राष्ट्रिय मेलमिलापको उपलब्धि थियो । यस अर्थमा यो एक अभिनव सत्याग्रह भयो । यो तत्वतः गान्धीवादी सङ्घर्षको अङ्गीकार थियो ।
समसामयिक नेपालमा अन्य कुनै कुरोभन्दा पनि कोइरालाद्वारा अगाडि सारिएको राष्ट्रिय मेलमिलाप भनिने कार्यनीतिलाई केन्द्रमा राखिन्छ । लामो समयदेखि यो आह्वान वा कार्यनीति नै कोइरालाको विचारधाराको पर्यायजस्तो रहेको छ । अहिले पनि कांग्रेसका आमकार्यकर्ताले यस नीतिलाई कोइरालाको प्रमुख अवदानका रूपमा लिएका छन् । यस अवदानका हकमा पनि यसको गुण-दोष, उपलब्धि वा कमजोरीका बारे भने छलफल भएको छैन ।
राष्ट्रिय मेलमिलापका पक्षमा कुरा गर्दा यस आह्वानको माध्यमबाट बीपी कोइरालाले कांग्रेसका कार्यकर्ताहरूको मनोबल उच्च बनाउन योगदान पुऱ्याउनुभयो भनेर भन्नै पर्छ । नेतृत्वले गरेको कुनै निर्णयलाई कार्यकर्ता पंक्तिले कसरी लिन्छ, कसरी हेर्छ भन्ने कुरो बडो महत्वपूर्ण हुन्छ । आखिर कार्यकर्ताहरूले नै आमजनताको घर-दैलोमा पुग्नुपर्छ, एक्लै नेता जाने होइन । तात्विक दृष्टिले भन्दा कोइराला र सुवर्णशमशेरको राजनीतिक प्रस्तावनामा विशेष अन्तर थिएन ।
सुवर्णशमशेरको सहयोग-प्रस्तावले कांग्रेसमा आशा, विश्वास र उत्साहको सृजना गर्न सकेन । तर लगभग उही आशयको कोइरालाको वक्तव्यले भने नेपालको राजनीतिक वातावरणमा सर्वथा नयाँ किसिमको तरङ्ग ल्यायो । कोइरालाको क्रान्ति आह्वानमा समेत यस्तो हुन सकेको थिएन । विद्यार्थी र युवाको सानो जमातबाहेक उल्लेखनीय जन समर्थन कोइरालाको क्रान्ति आह्वानको पक्षमा उभिन सकेको थिएन । दुवै कार्यक्रमका प्रस्तुतीक हकमा कोइरालाले अपनाउनुभएको काम गर्ने शैली पनि सर्वथा पृथक थियो । मेलमिलापको सार्वजनिक घोषणा गर्नुअघि बीपी कोइरालाले कार्यकर्तापक्तिसँग प्रसस्त सल्लाह गर्नुभएको थियो । कार्यकर्ता सम्मेलन बोलाएर छलफल गर्नुभएको थियो । सशस्त्र क्रान्तिको आह्वानका हकमा यस्तो भएको थिएन ।
दुर्भाग्यवश, मेलमिलापलाई सत्याग्रहको त्यस्तो दृष्टिकोणले भने हेरिएन । स्वयं वीपी कोइराला समेतले यस अभियानलाई सत्याग्रह वा त्यस्तै कुनै संज्ञा दिन चाहनु भएन । गान्धीले सत्याग्रहका क्रममा आफ्ना विरोधीका प्रति एक खास दृष्टिकोण प्रतिपादित गर्दथे । गान्धीले कसैलाई शत्रु मान्दैनथे । गान्धी र माओत्सेतुङ्गको सङ्घर्षको सिद्धान्त र शैलीमा आधारभूत फरक थियो । गान्धी विरोधीलाई उसको गलत कामका निमित्त प्रतिरोध गर्दथे । तर गान्धीलाई उसको मानवीयताप्रति कुनै शङ्का थिएन ।
कुनै कुकृत्यका कारण अत्याचारीसँग विरोध हुनै पर्छ भन्ने एउटा कुरो हो । पीडक वा शोषक समाजमा हुन्छन् । गान्धीको सहानुभूति सधै नै शोषित र पीडितसँग थियो । तर यसको अर्थ शोषक र पीडकको मानवीयता हुँदैन भन्ने पनि होइन । त्यस्तो मानवीयताको चिनारीमा सङ्घर्षको कार्यक्रम ओझेल हुँदैन । कोइरालाको राष्ट्रिय मेलमिलापको व्याख्यामा यस कुरोको झल्को पाइन्छ ।
तर राजासँगको सम्बन्धलाई हदभन्दा ज्यादा महत्व दिएर प्रचारित र प्रसारित गरिएको देखिन्छ । कोइरालाले राष्ट्रिय मेलमिलापको व्याख्या गर्ने क्रममा राजतन्त्रलाई राष्ट्रियताको प्रतीक भन्नुभएको थियो । भन्दै जाँदा उहाँले ‘राजा र मेरो घाटी जोडिएको छ’ समेत भन्नुभयो । कोइरालाका यस्ता कथोपकथनले नेपाली कांग्रेसभित्रका काथर र कमजोर तत्वलाई ठूलो बल पुऱ्यायो । सत्याग्रहको मर्म ओझेलमा पर्यो । सहयोग र सम्झौताको प्रस्ताव मात्र अग्रपंक्तिमा रहयो । स्मरणीय छ, गान्धी सदैव नै सम्झौताका निम्ति तत्पर थिए । तर उनी सम्झौतावादी थिएनन् ।
कुनै पनि राजनीतिज्ञको जीवनमा उसले चाहेकोजस्तो परिस्थिति रहँदैन । राजनीतिज्ञले जहिले पनि एउटा इतिहास-प्रदत्त ठोस परिस्थितिका आधारमा काम गर्नुपर्छ । इतिहास बनाउने मानिसले नै हो। यो सत्य हो । तर कुनै पनि मानिसले आफूखुशी इतिहास बनाउँदैन । इतिहास र समाजका कण्टकाकीर्ण जंघारलाई पार गरेर मात्र राजनीति अगाडि बढ्छ । यसै कारणले गर्दा राजनीतिलाई सम्भावनाको खेल एवं तात्कालीकताको व्यवसाय भनिन्छ ।
बीपी कोइरालाले क्रान्ति वा राष्ट्रिय मेलमिलापको आह्वान गर्दा उहाँका के-कस्ता बाध्यता थिए, तिनलाई बुझ्न विशेष गाह्रो छैन । तर त्यस्तो बुझाइको आधारमा मात्र यस्ता विचारको मौलिकता र गहनतालाई प्रमाणित गर्न सकिँदैन । तार्किक परीक्षणका दृष्टिले सशस्त्र क्रान्ति वा राष्ट्रिय मेलमिलाप दुवै नै सशक्त नीति-वक्तव्य थिएनन् । एक अत्यन्त अप्ठेरो परिस्थितिमा अगाडि बढ्ने प्रसङ्गमा राष्ट्रिय मेलमिलापले भने कांग्रेसलाई निर्विवाद रूपमा अगाडि बढायो ।
राष्ट्रिय मेलमिलापको आफ्नो आह्वानको स्पष्टीकरण र प्रचार गर्दागर्दै कोइरालाको देहान्त भयो । उहाँको देहान्त सन् १९८२ जुलाई महिनामा भयो । कोइरालाका अन्तिम घडीसम्म पनि उहाँका आह्वान र अपीललाई तत्कालीन राजा वीरेन्द्रले कहीँबाट कतैबाट सकारात्मक रूपले लिएका थिए भनेर भन्ने ठाउँ देखिएको थिएन् । कोइरालाले कहिल्यै सुविधाको राजनीति गर्नु भएन । उहाँ सुविधाका होइन, आस्थाका राजनेता हुनुहुन्थ्यो । यस्ता राजनीतिज्ञहरू निराश हुँदैनन् । त्यसैले कोइराला पनि मृत्युशैय्यामा समेत कहिल्यै निराश हुनु भएन ।
वीपी कोइरालाको देहान्त भएको झण्डै चालिस वर्ष हुन लाग्यो । कांग्रेस स्थापना भएको पनि ७० वर्ष नाघ्यो । नेपाली समाज र राजनीतिको यो ७० वर्षको विकासक्रम कांग्रेस र कोइरालासँग घनिष्ठ रूपमा आवद्ध रहेको छ । एउटालाई नबुझी अर्कोलाई वुझ्न सकिँदैन । अझ, २०४७ सालदेखि यताका वर्षमा नेपाली कांग्रेसले सरकार र राज्यको नेतृत्व गर्ने प्रशस्त मौका समेत पायो । यस्ता वर्षहरूमा कांग्रेसका टाउके नेताहरूले सँधैभरि नै कोइरालाको सपना साकार गर्ने नारा र भाषण लगाइनै रहेका छन् ।
स्वर्गीय प्रदीप गिरिले सम्पादन गर्नुभएको विश्वेश्वरप्रसाद कोइराला/राजनीतिक अभिलेख पुस्तकको भूमिकाको अंश सामान्य सम्पादनसहित ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार