नुवाकोटको राजनीतिमा चार दशकदेखि एउटै अनुहार

पछिल्लो समय राजनीतिक क्षेत्रमा युवाले स्थान पाउनुपर्ने आवाज बाक्लो उठ्न थालेको छ। गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र युवाहरूले समेत स्थानीय निर्वाचनमा जित हासिल गर्न सफल भएपछि दलहरूमा समेत युवा तथा नयाँ अनुहारको पक्षमा आवाज मुजबुत हुन थालेको छ। दलभित्रै युवा र परिवर्तनको पक्षमा कुरा उठे पनि मंसिर ४ गते हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने जेष्ठ तथा पुरानै अनुहारहरूको बोलवाला कायम भएको छ।
नुवाकोटमा पनि ठूला भनिएका दलहरूमा परिवर्तनको पक्षमा युवाहरूले कुरा गर्न थाले पनि मैदानमा भने जेष्ठलाई नै अघि लगाएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा ध्रुव अधिकारी उम्मेदवार थिए। अधिकारीविरूद्ध तत्कालीन कांग्रेस युवाहरूले ‘युवालाई अवसर दिनुपर्छ’ भन्दै बेत्रावतीदेखि देविघाटसम्म मोटरसाइकल र्‍याली गरेका थिए। अहिले त्यही पार्टीभित्र ७६ वर्षका अर्जुननरसिंह केसीले नुवाकोट क्षेत्र नं. २ मा प्रत्यक्षको टिकट पाउनु भएको छ। कंग्रेसमा कोइराला खेमाका केसीले टिकट जित्न निकै पापड बेल्नु परेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षधरको नेता भनेर चिनिएका केन्द्रीय सदस्य बहादुरसिंह लामाले पनि नुवाकोट २ मै उम्मेदवार बन्न प्रयास गरेपछि केसीलाई टिकटको लागि सकस भएको हो।
कांग्रेस नुवाकोटका सभापति, क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत लामा पक्षधर भएको कारण पनि केसीलाई थप सकस भएको हो। नुवाकोट क्षेत्र नं. २ को बैठकले केसीको नाम समानुपातिकमा र प्रत्यक्षमा लामाको नाम पठाएपछि केसी झन् चिढिनु भएको थियो। बहादुरसिंह लामा पक्षधर मानिने क्षेत्रीय समितिले केसीलाई पाखा लगाएपछि उहाँ प्रत्यक्षतर्फ टिकट पाउन झन् सक्रिय हुनुभएको थियो।

निर्वाचित भएर गृहमन्त्री बन्ने धोको पालेका केसीले अहिलेको निर्वाचनलाई आफ्नो जीवनको अन्तिम निर्वाचन भन्नुभएको छ। मनोनयन दर्तापछि विदुरमा पत्रकार भेटघाट गरी नेता केसीले पार्टीभित्र र बाहिर पनि युवाहरूको नेतृत्व सुरक्षित गर्न आफू उम्मेदवार भएको र यो नै आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन भएको समेत बताउनुभयो। केसीले भन्नुभयो ‘यो मेरो जीवनको अन्तिम निर्वाचन हो। फेरि म लड्न सक्दिन पनि होला। अर्को चुनावमा यही (नुवाकोट) आएर नयाँ उम्मेदवारलाई सघाउने छु। पहिलेको निर्वाचनमा कतै आफ्नो उम्मेदवारी अन्तिम भनेको रहेछु भने त्यो होइन, अहिलेको अन्तिम हो।’

एकचालीस वर्षअघि नै सांसद
नुवाकोटको राजनीतिमा ४१ वर्षदेखि एउटै व्यक्ति निरन्तर राजनीतिमा सक्रिय छन्। राजनीतिमा सक्रियमात्र होइन, २०४८ सालपछिका हरेक निर्वाचनमा उम्मेदवार समेत भइरहेका व्यक्ति हुन्– अर्जुननरसिंह केसी। पञ्चायतकालदेखि प्रजातान्त्रिक काल हुँदै गणतन्त्रसम्म पनि केसी नै नुवाकोटमा उम्मेदवार बनिरहन सफल हुनुहुन्छ। प्रजातन्त्रपछिको हरेक निर्वाचनमा उम्मेदवार हुन सफल केसीको यो सातौं पटकको उम्मेदवारी हो।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नुवाकोटमा कायम ६३ उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ उम्मेदवार केसी नै हुन्। ७६ वर्षीय केसी ‘युवालाई राजनीतिक क्षेत्रमा अघि ल्याउन आफू उम्मेदवार भएको’ बताउनु हुन्छ। नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका कांग्रेसका केन्द्रीय सदस्य केसीले यो पटक आफ्नो निर्वाचनको लडाईं अन्तिम भएको भनाइ सार्वजनिक भएको छ।

४१ वर्ष अघिदेखि अर्जुननरसिंह केसी नुवाकोटको राजनीतिमा प्रत्यक्ष जोडिदै आउनु भएको छ। तत्कालीन गाउँखर्क गाउँ पञ्चायतको उपप्रधानपञ्च भएका केसी जिल्ला पञ्चायतको सदस्य हुनुभएको थियो–२०३६ साल अघि नै। केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतमा उम्मेदवार भएर विजयी हुनुभयो। २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचनमा पराजित भएपछि २०४४ सालमा जिल्ला पञ्चायतको सभापतिमा निर्वाचित केसीले नुवाकोटमा २०४६ सालको जनआन्दोलन दमन गर्न अग्रणी भूमिका खेलेको आरोप छ। जनआन्दोलन दमन गर्न गठित प्रतिकार समितको संयोजक केसी नै हुनुहुन्थ्यो। प्रजातन्त्र पुनस्र्थापनापछि सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत बनेका केसी २०४७ सालमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। कांग्रेस राजनीतिमा प्रवेश गर्नासाथ केसी २०४८ को आम निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ बाट उम्मेदवार भई विजयी हुनुभयो। २०५१ नुवाकोट क्षेत्र नं. ३ बाट विजयी भएका केसी २०५६ सालमा क्षेत्र नं. ३ मा एमालेका महेन्द्रबहादुर पाण्डेसँग पराजित भएका थिए। केसी २०६४ सालको संविधान सभा निर्वाचनमा भने नुवाकोट क्षेत्र नं. १ बाट उम्मेदवार बन्न पुग्नुभयो। ०६४ मा नेकपा माओवादी केन्द्रकी विमला सुवेदीसँग पराजित भएका केसीले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा सुवेदीलाई नै पराजित गरी विजयी हुनुभयो।
२०७२ को संविधानपछि नुवाकोट दुई निर्वाचन क्षेत्रमा सीमित भयो। २०७४ को निर्वाचनमा क्षेत्र नं. २ बाट उम्मेदवार भएका केसी नेकपा एमालेका नारायणप्रसाद खतिवडासँग पराजित हुनभयो।
केसी उम्मेदवार बनेपछि युवाहरूले सामाजिक सञ्जालतिर आक्रोश पनि व्यक्त गर्न थालेका छन्। ‘चार दशकदेखि एउटै व्यक्ति, पाँच पुस्ताले एउटैलाई मत हाल्नुपर्ने, कस्तो विडम्बना’ जस्ता कुराहरू आउन थालेका छन् तर केसी पक्षधरले भने युवा युवा भन्नु भन्दा पनि परिपक्वताको लागि पुराना नेताले पनि स्थान पाउनुपर्ने बताउने गरेका छन्। सधैं सत्ता र शक्ति निकट रहेका केसी पटक पटक मन्त्री पनि भइसकेका व्यक्ति हुन्। स्वास्थ्य, शिक्षा र शहरी विकास मन्त्रालय सम्हालेका केसीसँग नुवाकोटको विकासको लागि नौलो भिजन केही नभएको कारण पनि उनको उम्मेदवारीको विरोध गर्नेहरू उनकै पार्टीभित्र पनि देखिएका छन्।

अन्तिम निर्वाचन
निर्वाचित भएर गृहमन्त्री बन्ने धोको पालेका केसीले अहिलेको निर्वाचनलाई आफ्नो जीवनको अन्तिम निर्वाचन भन्नुभएको छ। मनोनयन दर्तापछि विदुरमा पत्रकार भेटघाट गरी नेता केसीले पार्टीभित्र र बाहिर पनि युवाहरूको नेतृत्व सुरक्षित गर्न आफू उम्मेदवार भएको र यो नै आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन भएको समेत बताउनुभयो। केसीले भन्नुभयो ‘यो मेरो जीवनको अन्तिम निर्वाचन हो। फेरि म लड्न सक्दिन पनि होला। अर्को चुनावमा यही (नुवाकोट) आएर नयाँ उम्मेदवारलाई सघाउने छु। पहिलेको निर्वाचनमा कतै आफ्नो उम्मेदवारी अन्तिम भनेको रहेछु भने त्यो होइन, अहिलेको अन्तिम हो।’
नेता केसीले संसद्मा उपस्थित भएर आफ्ना कुरा राख्दा संसारले देख्ने र सुन्नेमान्छे जिल्लाको आफूमात्र भएको दाबी गर्दै एकीकृत विकास परियोजना भिœयाएर आफ्नो क्षेत्रको विकासमा कायापलट गर्ने धोको पूरा गर्न उम्मेदवार भएको बताउनुभएको छ।
केसी बलिया
गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा आएको मतको आधारमा गठबन्धनको तर्फबाट उम्मेदवार कांग्रेस नेता केसी नै बलियो देखिनुभएको छ। ठूला राजनीतिक दलहरू एकल रूपमा निर्वाचनमा जाँदा पनि नुवाकोटमा कांग्रेस अन्य दलभन्दा केही बलियो रहेको छ। कांग्रेससँग माओवादी पनि गठबन्धनमा रहेका कारण जितको बलियो संभावना देखेकै कारण केसी यो पटक टिकटको लागि ज्यान फालेर लाग्नु भएको हो।
दुई नगरपालिका र तीन गाउँपालिका रहेको क्षेत्र नं. २ मा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवारहरूले २९ हजार आठ सय ६१ मत ल्याएका थिए। नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवारहरूले २६ हजार ७७ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवाहरूले १४ हजार पाँच सय ७८, राप्रपाले दुई हजार एक सय र नेकपा एकीकृत समाजवादीले नौ सय ६१ मत ल्याएका थिए। गठनबन्धनबाट प्रदेश क्षेत्र नं. २ ‘ख’ माओवादीलाई परेको भए पनि अन्तिममा कांग्रेसका बहादुरसिंह लामाको उम्मेदवारी कायम भएको कारण पनि केसीले थप सुरक्षित महसुुस गर्नुभएको छ। केसीकै जोडबलमा संघको टिकटका दाबी गरिरहेका पार्टीभित्रकै विरोधी खेमाका लामालाई प्रदेशमा कायम राखी माओवादी उम्मेदवार राममाया बोगटीको उम्मेदवारी फिर्ता गराउन सफल हुनुभयो। लामाले टिकट नपाएको खण्डमा संघमा केसीलाई लामा पक्षधरबाट हुन सक्ने असहयोगको खतरा पनि टरेको हुँदा केसीले गत निर्वाचनमा आफूलाई पराजित गर्न सफल नेकपा एमालेका नारायणप्रसाद खतिवडालाई यो पटक हराएर पैंचो तिर्न सक्ने संभावना बलियो बनेको देखिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवदीप श्रेष्ठ/नुवाकोट का अन्य पोस्टहरु:
नुवाकोटको राजनीतिमा चार दशकदेखि एउटै अनुहार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link