नुवाकोटको राजनीतिमा चेपुवामा एकिकृत समाजवादी

नवदीप श्रेष्ठ/नुवाकोट

नेकपा एमालेबाट विभाजित भएर बनेको दल नेकपा(एकिकृत समाजवादी)ले मंसिर ४ को निर्वाचनको लागि देशभरमा गठबन्धन दलहरूसँग माग अनुसारको सिट संख्या पाउन सकेन। पार्टी फुटाएर एमाले नेतृत्व सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको एसले उक्त जसलाई पूर्ण रुपमा निर्वाचनको उम्मेदवार सङ्ख्या परिणत गराउने कोशिशमा असफलमात्र भएन गठबन्धन दलका नेताहरूबीच सहमत भएर पाएको क्षेत्र पनि गुमाउन पुगेको छ।

असोज २२ गते गठबन्धन दलहरूबीचको क्षेत्र अन्तिम सहमति भएको सुची सार्वजनिक हुँदा नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ नेकपा(एकिकृत समाजवादी)को भागमा परेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नुवाकोटमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएको बाहेक अन्यत्र कुनै पदमा जित्न नसकेको एसको लागि मंसिर ४ को निर्वाचनमा प्रदेश सदस्यको टिकट गठबन्धनबाट पाउनुलाई नुवाकोटका समाजवादीहरूले ‘बम्पर उपहार’ सम्झेर सामाजिक सञ्जालमा हर्षबढाई नै गर्न भ्याए। तर, त्यो खुशी १२ घण्टा पनि टिकेन। असोज २३ गते मनोनयन गर्न दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एसका पोलिटव्युरो सदस्य राजेन्द्रप्रकाश लोहनी पुग्दा क्षेत्र नं. २ प्रदेश ‘क’ को लागि नै गठबन्धन दल मध्येकै प्रमुख दल नेकपा माओवादी केन्द्रको उम्मेदवारको टिकट बोकेर मनोनयन दर्ता गर्न रामप्रसाद ढुंगाना पुगिसक्नु भएको थियो। यता नेकपा एसले उक्त क्षेत्रको प्रदेशमा टिकट पाएपछि सोही क्षेत्रको ‘योग्य’ कोही नभटेको भन्दै पूर्वसांसद समेत रहेका लोहनीलाई आफ्नो गृहक्षेत्रभन्दा बाहिर ल्याएर उम्मेदवार बनाइएको थियो। सोही क्षेत्रमा गठबन्धनको सहमति विपरित कांग्रेसकी गीतामा अमात्यले पनि उम्मेदवारी दर्ता भयो।

अध्याँरो अनुहारसँगै मनोनयन दर्ता गरेर मनमा आशंका पाल्दै निस्किएको नेकपा एसको टोली उम्मेदवारी फिर्ता लिने दिन असोज २६ गते गठबन्धनले माओवादी उम्मेदवार ढुंगानाको उम्मेदवार कायम गर्ने निर्णय लियो। नेकपा एसले पाएको क्षेत्र माओवादीलाई फिर्ता लिन उर्दी जारी गरेपछि नुवाकोटका नेकपा एस छाँगाबाट खसे झैं हुन पुगेको छ। तोकिएको समयमा लोहनीको उम्मेदवारी फिर्ता नलिएको कारण मतपत्रमा एसको चिन्ह कलम कायम हुनेछ। तर, उम्मेदवार लोहनीले सामाजिक सञ्जालबाट फिर्ता लिएको घोषणा गरी गठबन्धन दलका उम्मेदवारलाई सघाउने वाचा गर्नुभयो। लोहनीले सामाजिक सञ्जालबाट उम्मेदवारी फिर्ता लिएपनि कार्यकर्ताहरूमा आक्रोशको ज्वाला दन्किएको उनीहरूले लेखका/बोलेका अभिव्यक्तिहरूबाट स्पष्ट हुन्थ्यो।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नुवाकोटमा २०५६ को आम निर्वाचनमा राप्रपाका डा. प्रकाशचन्द्र लोहनीलाई पराजित गर्न सफल व्यक्ति राजेन्द्रप्रकाश भएको भन्दै उहाँको उम्मेदवारी कायम राख्न गरेको अन्तिम प्रयास असफल भएको समाजवादीकै नेताहरूले बताएका छन्। गठबन्धनको सामु नुवाकोटमा नेकपा एस किन घुँडा टेक्न बाध्य भयो भन्ने चित्त बुझ्दो जवाफ नेतृत्वले दिन नसकेको नेकपा एसका एक जिल्ला सदस्यले बताएका छन्। नेकपा एसले पाएको क्षेत्र गुमाउनमा नेपाली कांग्रेस र नेकपा माओवादीको गैरराजनीतिक चरित्र हाबी भएको नेकपा एसका पोलिटव्युरो सदस्य तथा उम्मेदवार लोहनीले बताउनुभएको छ।

गठबन्धनको सहमति अनुसार क्षेत्र नं. २ प्रदेश ‘क’ नेकपा एस र प्रदेश ‘ख’ माओवादी केन्द्रले पाएको थियो। सोही अनुसार प्रदेश ‘क’ मा एसमा लोहनी र प्रदेश ‘ख’ मा माओवादीकी राममाया बोगटीको उम्मेदवार बन्नुभयो। तर, सहमति विपरित प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले मनोनयन दर्ता गराएपछि त्यो क्षेत्र छाड्न पर्ने बलियो पूर्वानमान गर्दै माओवादी केन्द्रले प्रदेश ‘ख’ मा ढुंगानाको उम्मेदवारी दर्ता गरायो। गठबन्धनले अन्तिममा लामा र ढुंगानाको उम्मेदवारी कायम गर्ने निर्णय गरेपछि लोहनी र बोगटी हिस्स पर्दै बाहिरिनु भएको छ। बोगटीले समयमा नै प्रचण्डले नै पत्र पठाएर फिर्ता लिइदिए पनि लोहनीले समयमा फिर्ता नलिएको कारण उम्मेदवारी कायम नै रहन पुग्यो।

धारे हातसँगै सहयोग

नेकपा एसको जिल्ला समितिको विस्तारित बैठक बसेर कांग्रेस र माओवादीको रवैयाको खुलेर विरोध गर्दै अन्तिममा गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्दै टुंगिएको छ। सदस्यहरूले भूमि आयोगको सदस्य नियुक्त गर्नेदेखि स्थानीय तह निर्वाचन पेलानमा पर्न बाध्य भएको आक्रोश पोखेका थिए। कांग्रेस नेतृत्व सरकारले भूमि आयोगको नुवाकोटको लागि चार सदस्यीय टोली नियुक्त गर्दा प्रमुख कांग्रेसले पाउँदा माओवादीले दुई सदस्य पायो। तर, एसले एउटा सदस्य पनि पाउन सकेन। भूमि आयोग, गत स्थानीय निर्वाचन र आगामी निर्वाचनमा समेत एस माओवादी र कांग्रेसको हेपाहा प्रवृत्तिको शिकार भएको एसका जिल्ला नेता बसन्त बस्नेतले बताउनु भएको छ। उहाँले गठबन्धनका ठूला दलको भण्डाफोर गर्नसमेत आग्रह गर्नुभएको थियो। स्थानीय तह निर्वाचनमा नुवाकोटमा गठबन्धनको कांग्रेस माओवादीको समर्थनमा जिल्लाभरमा नेकपा एसले पाएको एउटै वडाअध्यक्षको उम्मेदवार पनि पराजित भएको थियो। माओवादीको सहकार्यमा शिवपुरी गाउँपालिका अध्यक्षको उम्मेदवार पाउन सफल नेकपा एस निर्वाचनमा भने असफल भयो।

बैठकमा सहभागी अधिकांश सदस्यले माओवादी र कांग्रेस पार्टी बेइमानहरूको पार्टी भएकोले गठबन्धन तोड्न सक्नुपर्ने बताएका थिए। कांग्रेस र माओवादीमा दुई पार्टी ठूला छौं र हामी मिल्दा जित्छौ भन्ने घमण्ड भएकोले पनि आफूहरू हेपिएको नेकपा एसले निष्कर्ष निकालेका छन्। पोलिटव्युरो सदस्य लोहनीले कार्यकर्ताहरूलाई धैर्य रहन आग्रह गर्दै कांग्रेस र माओवादी नुवाकोटमा समाजवादी पार्टी नआओस् भन्ने चाहेको र स्थानीय तहको निर्वाचनदेखि नै कांग्रेस र माओवादीले एकलौटी रुपमा समाजवादीलाई पन्छाउन खोजेको बताउनुभयो। उहाँले नेकपा एस ओलीलाई सत्ताबाट हटाउनमात्र दुरुपयोग हुनु परेकोमा दु:ख व्यक्त गर्दै समाजवादी पार्टी एउटा प्रदेशको सीटमै विचलित हुन नहुने भन्दै आफ्नै चित्त बुझाउँदै कार्यकर्तालाई ढाडस दिनु भएको छ।

गठबन्धनको कारण जित सुनिश्चित ठानिएको क्षेत्र गुमाएको पीडालाई पन्छाउँदै एसका विदेश विभाग सचिव सचिव डा. शंकर खतिवडाले कार्यकर्ताको आक्रोशलाई थामथुम बनाउँदै भन्नुभयो ‘एसको भागमा परेको उम्मेदवारी खोसिनुमा नुवाकोटमा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूको भूमिका रहेको छ। माओवादी र कांग्रेसले राजनीतिक चरित्र नदेखाए पनि उनीहरूलाई  उनीहरूलाई  राजनैतिक चरित्र सिकाउन पनि हामी गठबन्धनमै रहेनु पर्छ।’

रुख र कलम कायम

एसले गुमाएको क्षेत्र नं. २ ‘क’मा माओवादीका रामप्रसाद ढुंगाना र नेकपा एमालेका बागमती प्रदेश कमिटि अध्यक्षसमेत रहेका केशवराज पाण्डेबीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ। कांग्रेसका गीता आमात्य र एसका लोहनी दुबैले आफ्नो उम्मेदवारी नरहेको घोषणा गरेको कारण गठबन्धनका उम्मेदवार ढुंगाना बलिया छन्। तर, समयमा उम्मेदवारी फिर्ता नलिएको कारण गठबन्धनको उम्मेदवारप्रति चित्त नबुझ्नेहरूले रुख र कलम चिन्हमा मत हाल्ने विकल्प भने कायमै रहेको छ।

आवरण तस्बिरः नुवाकोटमा नेकपा एसको बैठकमा सहभागी भएका नेताकार्यकर्ताहरू।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवदीप श्रेष्ठ/नुवाकोट का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link