धादिङ–१: पाण्डे र त्रिपाठी: पहिले सहकर्मी, अहिले प्रतिस्पर्धी

नवदीप श्रेष्ठ/नुवाकोट

मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा बागमती प्रदेशमा धादिङलाई पनि धेरैले चासोको रुपमा हेरिरहेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे निर्वाचनको मैदानमा हुनुहुन्छ। पाण्डेको राजनीति जीवनमा यो आठौं पटकको उम्मेदवारी हो। प्रदेश सभाबाट प्रतिनिधि सभामा फड्किन धादिङ क्षेत्र नं. १ बाट उम्मेदवार हुनु भएका पाण्डे आफ्नै पूर्वसहकर्मी भूमिप्रसाद त्रिपाठीसँग भिड्दै हुनुहुन्छ। पाण्डे र त्रिपाठी दुबै एमालेमा रहेर लामो समय सहकार्य गरेका व्यक्ति हुनुहुन्छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एससहितको गठबन्धनका उम्मेदवार पाण्डेले आफैंलाई पटक पटक जिताउन भूमिका खेलेका नेकपा एमाले धादिङका अध्यक्ष तथा उम्मेदवार त्रिपाठीसँग प्रतिस्पर्धामा उत्रिनु भएको छ। पूर्व सहकर्मीबीचको चुनावी प्रतिस्पर्धालाई रोचक रूपमा लिइएको छ।

२०४८ सालबाट धादिङमा नेकपा एमालेलाई जिताउनको लागि २०७४ सालसम्म निरन्तर काँध मिलाएर चुनावी मैदानमा नारिएका हिँडेका पाण्डे र त्रिपाठी एमाले विभाजनको कारण अहिले आमनेसामने हुनु भएको छ। धादिङ–१ मा २०७४ सालमा नेकपा एमालेबाट त्रिपाठी प्रतिनिधि सभामा निर्वाचित हुँदा पाण्डे क्षेत्र नं. १ प्रदेश १ बाट निर्वाचित हुनु भएको थियो। नेकपा एमाले विभाजनपछि पाण्डे नेकपा एसतिर लागे भने त्रिपाठी एमालेमै रहे। पाण्डे नेकपा एसका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।

कतिपयले पाण्डेलाई त्रिपाठीको राजनीतिक गुरु भएको समेत बताउँछन्। तर, एमाले हुँदा पनि दुवैबीच उत्पातको मित्रता कहिले नभएको नजिकका नेताहरूले बताउने गरेका छन्। पाण्डे र त्रिपाठीको तीन दशक भन्दा लामो राजनीतिक सहकार्य अहिले प्रतिस्पर्धामा बदलिएको छ। यो बदलावमा कसले विजेताको पगरी गुथ्न पाउने हो, त्यो भने मंसिर पहिलो हप्तामात्र थाहा हुनेछ।

३७ वर्षदेखि एकछत्र

मुख्यमन्त्री पाण्डेको धादिङको राजनीतिमा ३७ वर्षदेखि एकछत्र राज रहँदै आएको छ। पञ्चायतकालमा धादिङ जिल्ला पञ्चायतको सभापति भइसक्नु भएका पाण्डेको संसदीय राजनीतिमा यो पटकको उम्मेदवारी आठौं हो। उहाँ चार पटक प्रतिनिधि सभा र एक पटक प्रदेश सभा सदस्य निर्वाचित भइसक्नु भएको छ। २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा राष्ट्रिय पञ्चायतको सदस्यको लागि धादिङबाट उम्मेदवार बन्नुभएका पाण्डे पराजित हुनु भएको थियो। राष्ट्रिय पञ्चायतको निर्वाचन लगत्तै भएको धादिङ जिल्ला पञ्चायतको निर्वाचनमा भने पाण्डे निर्वाचित हुनु भएको थियो। जनपक्षीय उम्मेदवार भएर पञ्चायतमा प्रदेश गरी जिल्ला सभापति हुनु भएको पाण्डे प्रजातन्त्रपछि २०४८ मा नेकपा एमालेबाट उम्मेदवार भई प्रतिनिधिसभामा निर्वाचित हुनु भयो। त्यसयता लगातार चुनावी मैदानमा होमिने मौका पाउनु भएको पाण्डेले २०५१, २०५६, २०७०, २०७४ मा निर्वाचित हुनुभयो भने २०६४ को संविधानसभा निर्वाचनमा भने नेकपा माओवादीका उम्मेदवार शालिकराम जम्मरकटेलसँग पराजित हुनु भयो।

मुख्यमन्त्री हुने योजनाको साथ २०७४ सालमा प्रदेशसभामा जानुभएको पाण्डेको मुख्यमन्त्री हुने योजना एमालेभित्रको जालझेलमा असफल भयो। एमालेमा माधव नेपाल पक्षधर भनेर चिनिने पाण्डेलाई केपी ओली पक्षधरको पेलाइमा पर्दा मुख्यमन्त्री बन्न सक्नु भएन। तर, एमाले विभाजनपछि भने पाण्डेको मुख्यमन्त्री हुने सपना पुरा भयो।

मुख्यमन्त्री हुँदा पनि पाण्डेले जिल्लावासीको लागि स्मरणीय काम गर्न नसकेको र केही नजिकका मानिसको लाभ लिने काम बाहेक केही गर्न नसकेको आरोप रहेको छ। तर, उम्मेदवार पाण्डेले भने मुख्यमन्त्री भएपछि पनि गत आर्थिक वर्षमा अर्कैको बजेटमा काम गर्न परेको र यो पटक चुनावी वर्ष आएकोले सोचे अनुसार काम गर्न नसकेको घुमाउरो शैलीमा स्वीकार्दै आउनु भएको छ।

पाण्डेले आफू पुन निर्वाचित भएमा गर्ने कामहरूको १८ बुँदे पत्र सार्वजनिक गर्नुभएको छ। बुढीगण्डकी आयोजनाको निर्माण अघि बढाउने, पृथ्वीराजमार्गको समानान्तर सडक धार्के–गल्छी–कल्लेरीटार–आरुवासटार–बेनिदोभान सडक सुरु गराउने, जोगिमारादेखि नागढुंगासम्मको अधुरो सडक बनाउने, औद्योगिक क्षेत्र स्थापना गर्ने, विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्नेसम्मका आश्वासनको पोका फुकाउँदै उम्मेदवार पाण्डेले आफूलाई निर्वाचित गराउन आग्रह गर्नुभएको छ।

त्रिपाठीको दोहोरिने दाउ

प्रतिनिधि सभाको लागि एमाले नेता त्रिपाठीको दोस्रो पटकको उम्मेदवारी हो यो। २०७४ मा धादिङ–१ बाट नेकपा एमालेबाट निर्वाचित हुनुभएको त्रिपाठीलाई यो पटक ०७४ को जस्तो साथ छैन। त्यतिखेर साथ पाएको माओवादी अहिले छैन, एमालेकै प्रभावशाली समूह पनि अहिले बाहिरिएको छ। गत आम निर्वाचनमा साथ पाएकाहरूसँग नै त्रिपाठीले यो पटक भिड्नु परेको छ।

एमालेभित्र त्रिपाठीलाई नेकपा विभाजन हुने समय र एमाले विभाजन जस्ता पार्टीको कठिन समयमा धादिङ एमालेलाई नेतृत्व दिन सफल व्यक्ति भनेर पनि चिन्ने गरिन्छ। त्रिपाठीले आफू सांसद हुँदा धादिङको विकासको धेरै काम गरेको र अधुरा कामहरूलाई पूर्णता दिन पुन: उम्मेदवार भएको बताउँदै आउनु भएको छ। एमाले उम्मेदवार त्रिपाठीले नौबिसे नागढुंगा सडक खण्डको वैकल्पिक सडकको रुपमा सिस्नेखोला थानकोट सुरुङ मार्गको निर्माण सुरुवात, धार्के सितापाईला सडक स्तरोन्नति लगायतका महत्वपूर्ण विकास निर्माणको कार्यमा आफ्नो भूमिका रहेको बताउँदै आउनु भएको छ।

उम्मेदवार त्रिपाठीले धादिङ, मकवानपुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि उपयुक्त मानिएका ‘चेपाङ–महाभारत पदमार्ग’ लाई पूर्णता दिन र अन्य अधुरा कामहरूको सम्पन्न गर्न उम्मेदवार भएको बताउनु भएको छ।

स्थानीय चुनावको अङ्कगणित

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा धादिङ क्षेत्र नं. १ को पालिका प्रमुखले पाएको मत हेर्दा सत्ता गठबन्धनको अगाडि एमाले कमजोर देखिन्छ। यस क्षेत्रमा सत्ता गठबन्धनतर्फ ४८ हजार नौ सय ५४ मत रहेको छ। एमालेको ३९ हजार पाँच सय ५०, राप्रपाको एक हजार चार सय ४४ रहेको छ। एमालेसँग राप्रपाको चुनावी तालमेल भएको छ। तर, राप्रपाकोसँगको सहकार्यमा पनि एमाले नै पछाडि देखिन्छ।

एमाले उम्मेदवार त्रिपाठीले गत निर्वाचनमा यो क्षेत्रमा ४९ हजार एक सय २१ मत ल्याएर विजयी हुनु भएको थियो। त्रिपाठीका तत्कालीन निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार नौ सय ६८ मत ल्याउनु भएको थियो। अर्का उम्मेदवार पाण्डे भने गत निर्वाचनमा प्रदेश १ मा २७ हजार तीन सय ३२ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँमा निकटतम् नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याउनु भएको थियो।

निर्वाचन आयोगको अनुसार यो क्षेत्रमा एक लाख ३५ हजार दुई सय ४२ मतदाता रहेका छन्।

स्वतन्त्रको चर्चा

धादिङ–१ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हिमेश पन्त उम्मेदवार हुनुहुन्छ। कलाकार समेत रहुनभएका पन्तले सत्तारुढ उम्मेदवार र एमाले उम्मेदवारप्रति असन्तुष्ट मतदाताको मत लिने अनुमान गरिएको छ। पटक पटक सांसद भएर, सत्तामा पुगेर पनि गतिलो काम गर्न नसकेको आरोप लगाउनेहरूले पन्त जस्तै अन्य स्वतन्त्र उम्मेदवारहरूलाई मत दिन सक्छन्। यो क्षेत्रमा धादिङका पुराना बाम नेता तथा त्रिशूली नदी बचाउ अभियानका अभियन्ता उत्तमराज कँडेल पनि स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा होमिनु भएको छ। कँडेलले माओवादी र एमालेको मत धेरै लिने ठानिएको छ। पन्त र कँडेलको अतिरिक्त यो क्षेत्रमा अन्य विभिन्न दल र स्वतन्त्र गरी १० जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवदीप श्रेष्ठ/नुवाकोट का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link