मतदान केन्द्रहरू सहज र पहुँचयोग्य: प्रमुख आयुक्त थपलिया

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको बताउनुभएको छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शकरूपमा ग्रहण गर्ने स्पष्ट गर्दै निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरूपमा पर्यवेक्षण गरिदिन आग्रह गर्नुभयो। उहाँले आयोगको क्षमताले भ्याएसम्म मतदान स्थल र केन्द्रलाई मतदाताका लागि कम दूरीमा पार्ने गरी व्यवस्था गरिएको तथा मतदाता नामावलीलाई सकेसम्म शुद्ध बनाइएको उल्लेख गर्नुभयो।

प्रमुख आयुक्त थपलियाले यस पटकबाट आवधिक निर्वाचन कहिले हुन्छ भन्ने खालको अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

यही मंसिर मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गर्नुभएको छ।

आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गर्नुभयो।

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीहरूसमेत पु-याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भनी प्रशंसा गर्नुभयो।

सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराको उपस्थिति रहेको थियो। उहाँहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको थियो।

पर्यवेक्षणका लागि आयो दक्षिण कोरिया र मालदिभ्सको टोली

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौ आइपुगेको छ। दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टाेली निर्वाचन पर्यवेक्षणका लागि आउनुभएको छ।

बिहीबार निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उहाँहरूलाई स्वागत गर्नुभएको थियो। निर्वाचन पर्यवेक्षणका लागि आज भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोलीहरू पनि आउँदै छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link