मतदान: निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून, ६१ प्रतिशत

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको बताउनु भएको छ। आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको बताउनु भएको हो।

आयोगका अनुसार मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ। यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो। केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारू भएको थियो। सो क्रममा राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिको संयमता र सौहार्दताका लागि आयोग धन्यवाद व्यक्त गर्दछ।

निर्वाचन आयोगका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं. ४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं. ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ। स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइनेछ।

निर्वाचन आयोगका अनुसार निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पुर्‍याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लंघन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदान स्थल कब्जा गर्ने लगायतका कार्यमा संलग्न जोसुकैलाई (निर्वाचन कसुर तथा सजय) ऐन २०७३ बमोजिम तत्काल कारवाही प्रारम्भ गर्न निर्देशन दिइएको छ।

निर्वाचन आयोगका अनुसार मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएको छ। मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको छ।

निर्वाचन आयोगका अनुसार मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइनेछ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल तत्काल सम्बोाधन गर्नेछ।

निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको भइरहेको छ। मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आइतबार रातिदेखि नै मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ। जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा मंगलबार अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap