यस्ता छन् स्थानीय तहको निर्वाचनका नौ तयारी

१) स्थानीय तहको निर्वाचनको लागि आयोगमा कति वटा दल दर्ता भएका छन्?

– स्थानीय तहको निर्वाचन प्रयोजनको लागि ८० वटा दलले दर्ताको लागि निवेदन दिएका छन् । जबकि निर्वाचन आयोगमा १०३ दल दर्ता छन्।

२) दर्ता भएका दलहरूले कानुन अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर कागजपत्र बुझाएका छन् ?

– दल दर्ताको लागि परेको निवेदनसहित कागजपत्र कानुन अनुसार पुरा भए नभएको हेर्नको लागि आयोगले तीन–चार दिनको समय छुट्टाएको छ । संविधानको धारा २७१ ले गरेको व्यवस्था अनुसार कागजात पूरा गरेर दल दर्ताको लागि निवेदन दिन सकिने प्रावधान अनुरूप दलहरू आएका छन् । सबै कागजात पुरा भए–नभएको अध्ययन गरेरर आयोगले कति दललाई मान्यता दिने अन्तिम नामावली दुई–चार दिन पछि प्रकाशन गर्ने छ ।

३) दर्ता भएका पार्टीहरूको लागि निर्वाचन चिन्हको व्यवस्था कस्तो छ ?

– स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था भए बमोजिम राष्ट्रिय दलको रूपमा मान्यता पाएका छ वटा मुख्य दल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफूले तोके बमोजिमको चुनाव चिन्ह पाउनेछन् । अन्य दलहरूको हकमा राष्ट्रिय दलको रूपमा मान्यता पाएका दलको चुनाव चिन्ह बाहेक आयोगले निर्धारण गरेको चुनाव चिन्ह छानेर निर्वाचनमा सहभागी हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।  स्थानीय तहको निर्वाचनको लागि कुन–कुन चिह्न प्रयोग गर्ने भन्नेबारे आयोगले आन्तरिक रूपमा तयारी गरिरहेको छ ।राष्ट्रिय दलको रूपमा मान्यता पाएका छ वटा मुख्य दल बाहेक अन्य दलले एउटै चुनाव चिन्ह नपाउन सक्छन्।

४) आगामी स्थानीय तह निर्वाचनमा सहभागी हुन पाउने वा मतदाता नामावलीमा नाम अंकित भएका मतदाताहरूको संख्या कति रहेका छन् ? साथै अन्तिम नामावली कहिले प्रकाशन हुन्छ ?

– अहिले मोटामोटी रूपमा एक करोड ७९ लाख मतदाता रहेका छन् । तर यो अन्तिम नामावली भने होइन । आयोगले विभिन्न ठाँउबाट संकलन भएको मतदाता नामावलीलाई सबै जिल्लाहरूमा दावी–विरोधको लागि पठाइसकेको छ । जिल्लाले सबैभन्दा पहिले त्यो नामावली स्थानीय तहमा रहेका प्रत्येक वडाहरूमा लगेर टाँस्छ । त्यहाँबाट कुन–कुन सच्याउने र दोहोरिएका नाम हटाउएर छाँटकाट गर्ने काम भएपछि त्यो नामावलीको लिस्ट जिल्ला हुँदै केन्द्रमा आउँछ । त्यसमा आयोगले दोहोरो नाम भएको, सच्याउनुपर्ने हेरेर अन्तिम नामावली चैतको १० देखि १२ गते भित्र प्रकाशन गर्छ ।

५) मतदानको लागि ७५३ वटा स्थानीय तहमा कतिवटा मतदान केन्द्र तोकिएका छन् ?

– मतदान केन्द्रको लागि मतपेटीकामा अट्ने मतपत्रको आधारमा निर्धारण हुन्छ । त्यसको लागि केही दिन कुर्नुपर्छ । मतदाताको अन्तिम नामावली नआएसम्म यतिवटा केन्द्र हुन्छ भनेर निर्धारण गर्न सकिने अवस्था छैन । त्यो चैत १२ गते पछि मात्रै थाहा हुन्छ । अहिलेको हिसाबमा कुरा गर्ने हो भने करिब १० हजार ५ सय भन्दा बढी मतदानस्थल र २२ हजार मतदान केन्द्र हुने अनुमान गरिएको छ ।

६) मतदानस्थल कहाँ हुन्छ ? स्थानीय विद्यालय वा वडा कार्यालय वा अन्य कुनै पायक पर्ने स्थानमा? यी कुराहरूको निर्धारण कसले गर्छ ? आयोगले गरिसकेको छ कि के छ ?

– मतदानस्थल कहाँ राख्ने भन्ने विषयमा जिल्ला सिफारिस समितिले पठाएको सुझावका आधारमा आयोगले निर्णय गरिसकेको छ । धेरै जसो विद्यालय छन्, केही वडा कार्यालय र स्वास्थ्यचौकीहरू पनि रहेका छन् ।

७) स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता कहिले देखि लागु हुन्छ ?

– यसको लागि आयोगले तोकिएको मितिदेखि लागू हुने भन्ने व्यवस्था छ । आयोगले उपयुक्तता हेरेर मिति तोक्छ ।

८) स्थानीय तहको निर्वाचनको लागि आयोगले कति बजेट माग गरेको थियो ? कुन कुन शीर्षकमा कति–कति बिनियोजन भएको छ ?
– शीर्षक अनुसारको विवरण मसँग छैन । सबैभन्दा ठूलो बजेट भनेको निर्वाचनको लागि जनशक्ति परिचालनमा नै हुन जान्छ । तलब, भत्ता परिचालन खर्च, भ्रमण नियमावली अनुसार डेलिभरी दिनुपर्ने हुन्छ, त्यसैकारण सबैभन्दा बढी खर्च जनशक्ति परिचालनमा भएको हो । निर्वाचनको लागि आयोगले दुई लाख कर्मचारी परिचालन गर्छ । आयोगलाई प्राप्त हुने ८ अर्ब ९५ करोड बजेट मध्ये ८५ प्रतिशत बजेट त आयोगभन्दा बाहिर अन्य निर्वाचन कार्यालयमार्फत खर्च हुन्छन् । निर्वाचनको प्रयोजनको लागि निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरूबाट खर्च हुन्छ ।

९) पर्यावेक्षण कसरी गराइदै छ ?
– यसमा राष्ट्रिय पर्यावेक्षक मात्रै हुन्छ । सूची प्रकाशन गरिन्छ । आकांक्षीले निवेदन हाल्छन् । तोकिएको मापदण्ड पुगेकालाई पर्यावेक्षणको लागि अनुमति दिइन्छ । यस मापदण्डको लागि आयोगले निर्देशिका बनाउँदै छ ।(श्रोत: INS NEWS-स्वतन्त्र समाचार) 

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालसँग  INS NEWS-स्वतन्त्र समाचारका संवाददाता आदित्य दाहालले गर्नु भएको कुराकानीमा आधारित।

–––

 

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Share via
Copy link