गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ । केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन् ।
बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ । गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताउनुभयो । …