धामीझाँक्रीमा विश्वास गर्दा खुट्टा गुम्यो, वैशाखी टेकेर श्रम गर्दा अपमान र तिरस्कार

रूपेश आचार्य

महोत्तरी जिल्ला औडी नगरपालिका वडा नं २ मा जन्मिएका राजदेव यादव अपांग हुनुहुन्छ। तर उहाँ जन्मजातै अपांग भने होइन।

राजदेव सानैदेखि घरायसी काममा बुवा–आमालाई सघाउनुहुन्थ्यो। ‘गाँउघरमा जन्मिएको मान्छे हुँ। गोठालोदेखि गाईबस्तुलाई घाँसपात ल्याउन रुखमा चढेका धेरै अनुभवहरु छन् मसँग,’ उहाँ भन्नुहुन्छ।
एक दिन आँप खान भनेर रुखमा चढ्नुभयो। मौसम पनि सफा थियो। पानी पनी परेको थिएन। तैपनि उहाँ चढेको रुखको हाँगा भाँच्चियो। हाँगासँगै जमिनमा बजारिनुभयो।

‘रुखबाट लड्दा दाहिने खुट्टाको घुँडा बजारिएको थियो। जसोतसो घरसम्म पुगेँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि आमा–बुवा सबै घटना सुनाएँ।’

आमा–बुवालाई घटना सुनाउनु त भयो। तर पनि तुरुन्त अस्पताल लगिएन। किनकि चलन नै थिएन त्यतिबेला। उहाँहरूले नजिकैको धामीझाँक्रीकहाँ लग्नुभयो।

‘धामीकोमा आशा बोकेर लगातार १५ दिनसम्म धाइराख्यौँ। ठोक्किएर सुन्निएको खुट्टामा कहिले तेल लगाएर मालिस गर्दिन्थ्यो। कहिले झारफुक भनेर खै के के मन्त्र पढेझैँ गथ्र्यो त कहिले जडिबुटी भनेर घुँडाको आसपासमा लगाइदिन्थ्यो, तीतो न तीतो झोल खुवाउँथ्यो,’ राजदेव सुनाउनुहुन्छ।

यति गर्दा पनि आफूलाई भने दुखाइ कम नभएको बताएपछि धामीले नै अस्पताल लैजानू नत्र धेरै दिन बाँच्दैन भने। त्यसपछि बल्ल बुवा–आमाले अस्पताल लाने निणर्य लिएको राजदेवको भनाइ छ।

गाँउमा रहेको सरकारी अस्पतालमै चेक जाँचको लागि जाँदा सम्भव छैन भनेर फर्काइदिए। उपचारका क्रममा कहिले धामीझाँक्री त कहिले सरकारी अस्पताल गरेर १६–१७ दिन बितिसकेको थियो। दुखाइको सीमा रहेन। खुट्टा सुनिएर भित्री हड्डी करकराएझैँ हुन लाग्यो। ‘धेरै छट्पटाउन थालेको थिएँ। के मेरो उपचार हुँदैन त भनेर डर पनि लाग्यो ?’ राजदेवले बताउनुभयो।

रुखबाट लड्दा जम्मा १४ वर्षका हुनुहुन्थ्यो राजदेव। तर सामान्य रुखबाट लड्दा पनि उपयुक्त स्वास्थ्य सेवा नपाएपछि बुवा–आमाले उहाँलाई वीर अस्पताल काठमाडौँ ल्याउनुभयो।

सामान्य चेकजाँच भयो। डाक्टरले हप्ता १० दिनका लागि औषधि दिए। तर १० दिनसम्म पनि केही सुधार आएन। फेरि जाँच गर्दा डाक्टरले खुट्टाको हड्डी खिइएको भने। त्यसको राजदेवको मन आत्तिन थाल्यो।

‘हड्डी खिइएको छ, अस्पताल ल्याउन ढिला गर्नुभयो, खुट्टामा क्यान्सर भएछ, अब त्यो खुट्टा काट्नुपर्छ, नत्र शरीरको अन्य भागमा पनि असर गर्न सक्छ,’ डाक्टरले यस्तो भनेपछि छाँगाबाट खसेझैँ भएको राजदेव बताउनुहुन्छ।

‘डाक्टरले त्यति भनेपछि मर्नुभन्दा बरु एउटा खुट्टाबिनै छोरा भन्ने कठोर निर्णय लिई बुवा–आमा अप्रेसनका लागि तयार हुनुभयो,’ बोल्दाबोल्दै राजदेवको गला अवरुद्ध बन्न खोज्यो, ‘सकुशल हिँड्दै डुल्दै गरेको खुट्टा नरहने सुन्दा ननिको लाग्दो रहेछ।’

गाँउमा भएको चार धुर जग्गा बेचेर उहाँको अप्रेसन भयो। तर सोचेजस्तो भएन। अप्रेसनपछि पनि ३ महिना अस्पतालको बेडमै बस्नुपर्यो।

अस्पतालबाट डिस्चार्ज भएर घर त पुग्नुभयो राजदेव। तर उहाँलाई दैनिक गरिआएका काम गर्न अब आकाश छुनुजस्तै लाग्न थाल्यो। सबैभन्दा विडम्बना ! शौचालय प्रयोग गर्नसमेत कठिन भयो। सामान्य काम पनि गर्न सक्नुभएन। जिउँदै मरेतुल्य लागेको उहाँको भनाइ छ।

राजदेव गाँउमै जसोतसो ४–५ वर्ष बस्नुभयो। बिरामी छोरालाई आमा–बुवाले स्याहारसुसार गर्नुभयो। तर राजदेवलाई भने आफू ठूलो भएर पनि आमा–बुवालाई धेरै नै दुख दिएको महसुस भयो। ‘त्यसैले आशाको किररण बोकेर महोत्तरीबाट भक्तपुर आएँ,’ उहाँले बताउनुभयो।

भक्तपुरमा एउटा साहुको घरमा दुई वर्ष जति लुगा धोइदिने, भाँडा माझ्ने, भुँइ पुछ्नेजस्ता काम गर्न थाल्नुभयो। खान बस्न पनि त्यहीँ व्यवस्था थियो। तलब भने महिनाको एक हजार रुपैँया मात्रै दिन्थ्यो। पछि सीप सिकाउन भनेर साहुले नै बनेपामा र्याक, मुढा बनाउने काममा कुरा गरिदिए। ‘तर त्यहाँ खान र बस्न मात्र दिने रहेछ। एक रुपैयाँ पनि नदिने रहेछ,’ राजदेव भन्नुहुन्छ, ‘त्यो थाहा पाएपछि धेरै समय बस्न मन लागेन। एक वर्ष सिकेर त्यहाँ काम छोडँे।’

त्यसपछि राजदेवले धोबीघाटमा दृष्टिविहीन साथीसँग मिलेर अगरबत्ती बेच्ने काम सुरु गर्नुभयो। ‘अगरबत्तीमा फाइदा पनि हुने रहेछ। लागत र खर्च कटाएर एक जनालाई एक हजारसम्म बस्थ्यो,’ दैनिक आम्दामी भएको पैसा आधाआधा गर्ने सर्तमा ६ वर्ष काम गरेको उहाँको भनाइ छ।

राजदेवको जीवनले नयाँ मोड लियो। त्यही नयाँ मोडमा २०७२ सालको भूकम्पपछि उहाँले बिहे गर्नुभयो। ‘सविताले तपाईंको अवस्था जेजस्तो भए पनि जीवनभरि साथ दिन्छु। खुट्टा र जीवनको सारथि बन्छु भनेपछि बिहे गरेको हँु,’ राजदेवले विवाहको प्रसंग सुनाउनुभयो, ‘जसको कोही हुँदैन उसको भगवान् हुन्छ भन्थे। मेरा लागि मेरी श्रीमती नै भगवान् हुन्।’

राजदेवका अहिले दुई छोराछोरी छन्। विवाहपछि राजदेवको परिवार नारायणटारमा बस्दै आएको छ। परिवार भएपछि संघर्ष थपिने भएकाले फेरि अगरबत्ती नै बेच्न थालेको उहाँले सुनाउनुभयो।

‘१८ हजारको अगरबत्तीमा ६ देखि ७ हजार नाफा हुन्छ। तर त्यति बिक्न हप्ता १५ दिन लाग्छ,’ उहाँको अनुभव बोल्छ।

राजदेवका दिन संघर्षमय छन्। बिहान खाजा खाएर पसल–पसल चहार्दै अगरबत्ती बेच्नुहुन्छ। वैशाखी टेकेर, पछाडि झोलामा दुई–तीन दर्जन अगरबत्ती बोक्दै हिँड्न सहज भने पक्कै हुँदैन।

अगरबत्ती बेच्ने क्रममा सधैं भद्रभलाद्मी मात्रै भेटिँदैनन्। ‘पसलमा अगरबत्ती लिनुस् भनेर छिर्न लाग्दा भित्रैबाट हातले इसारा गरेर नछिर भन्छन्। कसैले गाली गर्छन्,’ राजदेव खिन्न हुँदै सुनाउनुहुन्छ, ‘कसैसँग भिख मागेको होइन। मिहिनत गरेर खान लाग्दा हप्काउँदा शारीरिक अशक्तता देखेर दुव्र्यवहार गरेको जस्तो लाग्छ र मन खिन्न हुन्छ। तर पनि केहि छैन्। संघर्ष गर्न पछि पर्दिनँ। यही अगरबत्ती बेचेर गाँउका बुढा बुवा–आमालाई खर्च पठाउन, छोरी पढाउन र परिवारलाई हातमुख जोड्ने काम गरेकौ।

राजदेवको अब एउटा आशा छ। ‘कोही सहयोगी मनकारी मान्छेले कृत्रिम खुट्टा हाल्न सहयोग गरिदिए मज्जाले हिँड्ने थिएँ। दिल खोलेर हिड्न मन छ,’ उहाँ भन्नुहुन्छ, ‘सानो छँदा डाइभर बन्ने सपना थियो। तर खुट्टा नहँुदा सपना सिसाझैं फुटेर गएको छ।’

‘जीवनमा संघर्षका दिन झन्झन् थपिँदैछन्। छोरीपछि सानो छोरा पनि पढाउने बेला हुन लागिसक्यो। आफूले विद्यालयको आँगन नटेके पनि छोराछोरीलाई राम्ररी पढाउने रहर छ,’ राजदेवको मन कहिलेकाहीँ यसै कहालिन्छ, ‘यदि वैशाखी टेकेर हिँड्ने म आफैँ थला परेँ भने परिवारको बिजोक नै हुन्छ।’

यदि कोही सहयोगी मन हुुनुहुन्छ र राजदेवलाई सहयोग गर्न चाहनुहुन्छ भने ९८१३४७०७१४ सम्पर्क सोझै सम्पर्क गर्न सक्नुहुनेछ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
धामीझाँक्रीमा विश्वास गर्दा खुट्टा गुम्यो, वैशाखी टेकेर श्रम गर्दा अपमान र तिरस्कार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link