भारत बिहारको बेतिया जिल्ला माधवपुर ७ मा जन्मिएका मोहमद आलम बाल्यकाल जोरपाटी तथा नारायणटारमा हाँसखेल गर्दै बिताउनुभयो।
नारायणटारस्थित राई स्कुलबाट कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएका आलमलाई एक दिन लाग्यो, ‘पढाइले मात्र हुँँदैन। सीप सिकेर पैसा पनि कमाउनुपर्छ।’
आलमले आफ्ना बुवाको ‘सम्सुल अटो केयर’ मा सबै काम सिक्नुभयो। कक्षा १० सकेलगत्तै गाडी मिस्त्री बन्ने सपना बोक्नुभएका उहाँले गाडीका पार्ट, इन्जिन खोलफिट, वायरिङ, इन्जिन रिपेयरिङसम्बन्धी सम्पूर्ण काम सिक्न दुई वर्ष लागेको हो। आलम भन्नुहुन्छ ‘मलाई यो काम सिक्न त्यति प्रेसरचाहिँ भएन। तर आफ्नो दिमाग चलाएर काम सिक्न छोटो समयमै मैले मिस्त्री काम सिकेको हुँ। अहिले यही काम अरुलाई सिकाउन कम्तीमा पनि ४ देखि ५ वर्ष लाग्छ।’
जोरपाटी बराल पेट्रोल पम्पभित्र सम्सुल अटो केयर नामको ग्यारेज छ। पाँच वर्षदेखि चलिरहेको छ। ‘त्यहाँ हामीले मनग्य आम्दामी पनि गर्यौँ। काम भ्याइ–नभ्याइ हुन्थ्यो। तर ठाँउ अलिक साँगुरो भएर तल जम्बुडाँडामा सर्नुपर्यो,’ अलम बताउनुहुन्छ।
लकडाउनका बेलामा बुवाको ब्रेनह्यामरेज भएर धेरै खर्च भयो। नेपालमै उपचार गर्न धेरै अस्पतालमा चहार्दा–चहार्दा पाँच लाख रुपैँया यत्तिकै सकियो। तैपनि उपचार पाउनुभएन। पछि केही सीप नलागेपछि इन्डिया लगेर उपचार गराउनुभयो। उपचारमा १८ लाख रुपैँया खर्च भयो। ‘खर्च भए पनि अहिले बुवाको अवस्था धेरै नै राम्रोे छ,’ आलम बताउनुहुन्छ।
अहिले २१ वर्षका हुनुभएका आलमका अनुसार सम्लुस अटो ग्यारेज मन्दिरसरह हो। त्यही ग्यारेजले आफूले कक्षा १० सम्म, दाइले मेकानिकल इन्जिनियर र भाइले डाक्टर पढ्न सफल भएको सम्झनुहुन्छ।
जम्बुडाँडामा ग्यारेज सञ्चालन गर्न २० देखि २४ लाख रुपैँया लागेको आलमको भनाइ छ। अहिले ग्यारेजमा पाँच जाना सहयोगी छन्। ग्यारेज राखिएको जग्गाको भाडा र कामदार लाई गरेर मासिक १ लाख ५० हजार रुपैँया खर्च हुन्छ। यो सबै ग्यारेजले धानिरहेको छ।
‘राम्रो काम आइरह्यो भने मासिक ३ लाखभन्दा बढी आम्दानी हुन्छ,’ आलम भन्नुहुन्छ,’ ‘यही ग्यारेजको काम गरेर नै गाँउमा १० कठ्ठा जमिन किनेका छौँ।’
जुनसुकै पेसा पनि सधैं फाइदामा नरहन सक्छ। कहिले घाटा पनि व्यहोर्नुपर्ने हुन्छ। ‘ग्यारेजमा गाडी बनाउन आउँछन्,’ आलम दुःखेसको पोख्नुहुन्छ, ‘हामीले गाडी मर्मत गरेपछि टेस्ट ड्राइभ गर्छु भनेर निस्कछन् र फर्केरै आउँदैनन्। यसै गरी–गरी लगभग ८ लाख जति खाएर भागेका छन्। कोही दुई दिनमा दिन्छु, कोही एक हप्तामा दिन्छु भन्दै महिनौँ कुराएर फोन नम्बर ब्लक गर्ने या सिम नै चेन्ज पनि गर्छन्।’
त्यसो त आलमलाई अन्य ग्यारेज काम गर्ने अफर नगरेका होइनन्। मासिक १ देखि डेढ लाख तलब दिन्छु पनि भन्छन्। तर सुन् फलोस् या नुन, आफ्नै काम गर्छु भनेर लागिपरेको उहाँको भनाइ छ।
आलमले वर्षौंको अनुभवमा प्रायः नेपालमा पाइनेदेखि विदेशी गाडीको अनुभव बटुल्नुभएको छ। जर्मनी, जापनिज, कोरियन, इटालियन, मलेसियन र इन्डियन कम्पनीका गाडी उहाँको अटो केयरमा मर्मत भइसकेका छन्। तर उहाँको ग्यारेजमा निजी सवारीसाधन मात्रै मर्मत गर्ने गरेको आलमको भनाइ छ।
बिहान ७ बजेदेखि राति अबेरसम्म ग्यारेजमा खट्नुहुन्छ उहाँ। ‘म यो कामबाट सन्तुष्ट छु। मलाई सोचेभन्दा बढी नाफा हुने पेसा यही लाग्यो,’ उहाँले सुनाउनुभयो।
ग्यारेजबाहिर गएर काम गर्दा विशेष फाइदा हुन्छ। ‘बाहिर जाँदा बाटो चार्ज छुट्टै पाइन्छ। त्यस्तो हुँदा बाहिरको काम पर्यो भने हप्तामै एकलाख सम्म पनि कमाइ हुन्छ,’ आलमको भनाइ छ।
नेपालमै काम गर्न चाहे र दिमाख चलाउन सके २/४ लाख कमाउन विदेश गइरहनुपर्ने आवश्यकता नभएको आलमको ठम्याइ छ। ‘यहाँका मान्छे काम छैन भनेर २०/३० लाख खर्च गरेर विदेश जान्छन्,’ आलमको अनुभवले भन्छ, ‘तर त्यो पैसा यहीँ सदुपयोग गरे राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहारण हामी बनेका छौँ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो