गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी

रूपेश आचार्य

सटर भाडामा लिएर व्यापार व्यवसाय गर्न नसक्ने केही फुटपाथ तथा सडकका व्यापारीहरू अझै पनि सडक पेटीमै छन् । उनीहरूसँग अन्य कुनै विकल्प नै छैन । विकल्प नभएपछि महानगर प्रहरीले पटक पटक दुख दिने गरे पनि फुटपाथका व्यापारी प्रहरीको ज्यादती सहँदै सडक पेटीमै बस्छन् । महानगरपालिकाले सडकमा दुख गरेर आफ्नो जीविका चलाउने ती फुटपाथका व्यापारीहरूको व्यवस्थापन गर्ने भन्दा लछारपछार पार्ने र लखेट्नेमा नै बढी अग्रसर भएको देखिन्छ। 

कुनै पनि सरकारी निकायसँग उपत्यकाको फुटपाथमा बसेर व्यापार गर्नेहरू कति छन् भन्ने यकिन तथ्याङ्क छैन । फुटपाथ नै कतिको आम्दानीको स्रोत र कतिको जीविकोपार्जनको सहारा बनेको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्दा पनि रोजीरोटी नै खोसेर गाँसबास विहीन बनाउने पक्षमा सरोकारवालाहरू देखिन्छन् ।  

यस्तै समस्याको केन्द्र काठमाडौँ उपत्यकाको कोटेश्वर पनि हो । यहाँ मानिसहरूको चहलपहलको हिसाबले होस अथवा व्यापारिक हिसाबले यो स्थान अग्रस्थानमा नै छ । मुख्य बजार तथा सवारीसाधनहरूको चहलपहलले गर्दा साना ठुला व्यापारीका लागि यो ठाउँ उपयुक्त नै मानिन्छ ।

कोटेश्वरमा गुडिरहने साना तथा ठुला गाडीहरूको लावालस्कर यहाँको दैनिकी नै हो । चोकको चारै दिशामा मानिसहरू चढाउने र ओराल्ने क्रम चलिनै रहन्छ । यहीँ चोकमा केही मानिसहरू हातमा केही सामानका पोकाहरू बोकेर गाडीमा चढ्छन् र ओर्लिन्छन् । उनीहरूको ध्यान भनेको आफ्नो सामानको व्यापार गर्नु नै हो । ‘पानी लिनुस् पानी, चिप्स लिनुहोस् चिप्स, इयरफोन लिनुहोस्, तितौरा लिनुस्’ भन्दै गाडीमा रहेका यात्रुहरूमाझ व्यापार गर्ने कोटेश्वरका फुटपाथका व्यापारीको दैनिकी बनेको छ । 

प्लास्टिकको झोलामा केही बोतल पानी र केही पाकेट कुरकुरे, चिप्सहरू बोकेर फुटपाथमा बस्नुभएकी काभ्रे पनौतीकी रामकुमारी श्रेष्ठलाई घाँटी सुक्ने गरी कराउन साथै लामो दुरीको यात्रामा निस्केका गाडीहरूमा दौडिएर   चढ्न रहर भने होइन । कराएर बोलेन भने कसैले नसुन्ने र लामो दुरीको यात्रामा निस्केका गाडीहरूमा दौडिएर चढ्न सकेन भने व्यापार नै नहुने उहाँको तर्क थियो । यो उहाँको रहर नभएर बाध्यता हो । 

चिसो तातो नभनी गुजाराका लागि दैनिक काम गर्छौ । छोराछोरीको पढाइ खर्चका लागि पनि गर्नु परेको श्रेष्ठले बताउनुभयो । खाना बस्न र छोरा छोरीको पढाइको निमित्त उनको बिहान देखि बेलुकासम्म सडककै बास हुन्छ । 

काम गर्ने कुरा मुख्य भए पनि कति बेला नगर प्रहरीले आएर सामान उठाएर लैजाने हो भन्ने डरले सताइरहन्छ । सजग र चनाखो भएर सडकमा बस्दा बस्दै कति पटक नगर प्रहरीले छापा मारेर सामान उठाएर लगेको रामकुमारीको गुनासो छ । ‘खै कुन बेला आउँछन् नगर प्रहरीहरू भन्ने नै पत्तो पाइँदैन, फिल्मी शैलीमा आएर सामान जफत गरेर लगी हाल्छन् । मेरो पनि कति पटक सामान जफत गरिसके, जफत गरे भन्दैमा यो काम नै नगर्नु भन्ने त भएन नि, उहाँ थप्नुहुन्छ – ‘यो काम छोडेर अरू कुनै काम गर्नुपर्‍यो भन्दा काम पाइँदैन । काम नपाए पछि खान लगाउनका लागि भए पनि यो काम नगरी सुखै छैन । यो त हामीले बाँच्नका लागि गरेको सङ्घर्ष हो ।’

गडीमा लामो दुरीको यात्रा गर्दा होस् या एकान्तमा बस्दा सङ्गीत प्रेमीहरूको लागि कानमा इयरफोन लगाएर बस्न धेरै रुचाउँछन् । वरपरका आवाजहरू नसुनियोस् र सङ्गीतका साथ यात्रा गर्न चाहा नेहरुका लागि दाङ का एक युवक इयरफोन बेच्दै आउनुभएको छ । नाम नखुलाउने भन्दै उहाँ भन्नुहुन्छ– ‘विगत ४–५ वर्ष अघि देखि यो काम गर्दै आएको छु । हामीले त यात्रा गरी रहेका मानिसहरूको आवश्यक परेको सामान विक्री गरेका हौँ । कुनै ठगी तथा लुटपाट भने गरेका होइनौँ । यही काम गरेर परिवारको गुजारा चलाइरहेका छौँ ।’ 

राज्यले रोजगारीको व्यवस्था गर्न नसक्ने युवापुस्ता विदेश पठाउने र स्वदेशमा बसेर ज्यान पाल्ने काम गर्दा हटाउन खोजेको गुनासो गर्दै उहाँको छ ।  ‘हामीले अन्य केही काम मागेको, ठगेको तथा कर छली हुने  काम गरेको छैन । केही होलसेल पसलबाट सामानहरू ल्याएर केही रुपैयाँ नाफा राखेर विक्री गरेको हो । दुख गरेर खाएकोमा महानगरको टाउको किन दुख्छ थाहा पाउन सकेनौँ । श्रम गरेर खाने सर्वसाधारण मानिस माथि किन यती धेरै निर्मम बन्छ महानगर बुझ्न सकेको छैनौँ ।’ 

त्यतिकैमा भर्खरै १६ देखि १७ वर्ष झैँ देखिने एक बालक बसमा चढेर केही प्याकेट क्यान्डी बेचेर बसबाट झर्दै गरेको देखिन्छ । कतिको क्यान्डी बेच्नुभयो ? भन्ने  प्रश्नको जवाफ दिँदै उहाँ भन्नुहुन्छ ‘चार प्याकेट बिक्यो । आफ्नो उमेरका केही साथीहरूले किन्नुभयो ।’ 

आफ्नो नाम उल्लेख नगर्ने भन्दै उहाँले सानो उमेरमा यस्तो काम गर्नु बाध्यता रहेको बताउनुभयो । ‘मैले दिनभर कमाएको पैसाले बिरामी आमाको लागि औषधी लैजानु पर्छ । बुबा म सानो हुँदा बित्नुभयो । यति भन्दै लामो दुरीको लागि आएको बसमा उहाँ चढिहाल्नुभयो ।’

दोलखा घर भएका एक युवक एउटा झोलामा घडी, स्मार्ट वाच लगायतका सामाग्रीहरु बोकेर ग्राहक खोजिरहनु भएको छ । उहाँको दैनिकी यसरी नै बित्छ । बिहान डेराबाट खाना खाएर आएपछि बेलुका ७ बजेसम्म यतै हुन्छु । उहाँ भन्नुहुन्छ ‘कक्षा १२ पास गरियो । कामका लागि होटेल, कार्यालय सबैमा भौँतारिए केही नपाएपछि अन्तिम उपाय सडकका छेउमा बसेर गाडीमा यात्रा गरिरहेका मानिसलाई र पैदल यात्रुहरूलाई सो सामान बेच्ने काम गर्न थाले ।’ उहाँ थप्नुहुन्छ ‘हामीलाई महानगरले खेद्छ, व्यवस्थापनको नाममा हटाउन खोज्नु भनेको नै सडकमा बसेर दुख गरी खानेहरूको मुखको माड खोस्नु हो । यसको उचित व्यवस्थापन गर्नुपर्ने ठाउँमा दुख दिने नियत ठिक होइन । 

कोटेश्वरमै तिन वर्ष यता बस बिसौनीमा अदुवाको धुलो, मरीच, दालचिनी, सुकुमेल लगायतका मसला बेच्दै आएका रमेश यादव पनि महानगरले गरेको ज्यादती देखि निराश हुनुहुन्छ । यादव भन्नुहुन्छ– ‘हामीले एउटा झोलामा सामानहरू बेचेर गुजारा चलाउँदा महानगरले उठिबास लगाउन खोज्छ । हाम्रो सामान जफत गरिदिएपछि हामी काहा जाने के गर्ने कि रोजगारी दिनुपर्‍यो होइन भने रोक लगाउनु भएन ।’

सडक व्यापारी सामान बेचेर जीवन गुजारा मात्रै गरिरहेका छैनन्, उनीहरूले घर परिवार पनि चलाएका छन् । उनीहरूको कामको तारिफ गर्नेहरू पनि कम छैनन् । चाबहिलबाट पाँचखालको लागि जाँदै गर्नु भएका एक यात्रु भन्नुहुन्छ ‘मलाइ यात्राको क्रममा मुखमा रस आउने खानेकुरा राखिन भने वाकवाकी हुन्छ । पसलबाट किनेर ल्याउन बिर्सिएको थिए  धन्न यहाँ तितौरा र दालचिनी बेच्दै गाडीमै ल्याइदिनुभयो । यस्तो आफ्नै पाखुरा चलाएर गरिखाने पौरखीहरूलाई व्यवस्थापन गर्नुपर्ने उहाँको तर्क थियो । 
 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link