काठमाडौँ टुँडिखेल नजिकै एक प्रसिद्ध महाङ्काल भैरव मन्दिर छ । हरेक दिन यस मन्दिरमा हजारौँ भक्तजनहरू भैरवको उपासना गर्न आउने गर्दछन् । यस मन्दिरमा पूजा सामग्रीको रूपमा मदिरा प्रयोग हुन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न पनि सक्छ । करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यस मन्दिर हाल जीर्ण अवस्थामा छ ।
सर्वसाधारणको चहलपहल र पुरानो बजारको रूपमा परिचित न्यूरोडलाई काठमाडौँको मुटु मानिन्छ । यहीँ प्रमुख बजार क्षेत्रमा पर्ने उक्त भैरवको मन्दिर लामो समय देखि जीर्ण अवस्था रहेको छ । मन्दिरमा सङ्कलन भएका भेटी तथा मन्दिरको भुईँ तलामा भएका भाडाका पसलबाट उठेका पैसा भने कहाँ जान्छ र के गरिन्छ भन्ने कुरा ओझेलको विषय बनेको छ ।
मन्दिरमा भक्तजनहरूले दिएको वा चढाएको दान तथा भेटीको बारेमा न कुनै हिसाब राखिन्छ, न त यहाँ जम्मा भएको भेटीले मन्दिर जीर्णोद्धारका लागि कुनै व्यवस्थापन नै गरिएको छ । मन्दिरको पर्यावरण अस्तव्यस्त रहेको छ । साँघुरो बाटोमा मानिसहरूको चहलपहल हुँदा अत्यधिक भिड हुने गर्दछ । जसोतसो त्यस भीड छिचोलेर मन्दिरको प्राङ्गणमा पाइला राख्नका लागी पनि धौ धौ पर्ने गरेको भक्तजनका गुनासो छ ।
राष्ट्रिय ट्रमा अस्पतालको अगाडि रहेको महाङ्काल मन्दिर परिसरमा मगन्तेहरूको भीड नै लाग्ने गरेको छ । भक्तजनहरूले आफू शुद्ध र चोखो भएर मन्दिर पनि छिर्न नपाएको गुनासो गर्ने गरेका छन् । ‘पूजा पाठको लागि मन्दिर छिर्न नपाउँदै माग्न बसेकाहरूले पाइन्ट तान्ने, हातले पूजाको थालीहरू तान्ने जस्तो असभ्य व्यवहारले गर्दा पनि मन्दिर छिर्न असहज भएको पूजा गर्न आउनुभएका एक व्यक्तिको गुनासो छ । मन्दिरबाट उठ्ने पैसाले माग्न बसेकाहरूको व्यवस्थापनमा खर्च गरिदिए पनि हुने उहाँको सुझाव छ ।
मन्दिर पुग्नका लागि मुस्किलले पाँच १० सिँढी चढ्नु अगाडि पाँच देखि १० जना माग्न बसेका व्यक्तिहरूलाई छिचोल्दै जानु परेको यस्तो हैरानी दिनेहरूप्रति व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिएकोमा एक भक्तजनले गुनासो गर्नुभएको छ ।
उक्त मन्दिरको व्यवस्थापन तथा निगरानीको जिम्मा भने गुठी संस्थानको छ । तर व्यवस्थापन बाहेकको सम्पूर्ण कार्य गर्दछ । अर्थात् मन्दिर परिसरमा भएका बहालमा दिएका सटरहरूको भाडा लिने, दुई वर्षको अवधिमा १० प्रतिशतका दरले भाडा बढाउने जस्ता काममा बढी ध्यान गएको देखिन्छ ।
मन्दिरमा आएका भक्तजनहरूको सवारीका लागि पर्याप्त पार्किङ व्यवस्थापनमा कुनै चासो छैन । गुठी संस्थानले भक्तजनको निमित्त एउटा शौचालयसम्म निर्माण गरेको छैन । महांकाल मन्दिरको केही पर महानगरले सार्वजनिक शौचालय बनाएको छ । मन्दिर परिसरको सटर भाडामा लिएको पैसा समयमै तिर्ने गरेका छौँ तर शौचालयको व्यवस्थापन भने अहिलेसम्म नभएको मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएका व्यवसायीहरूको गुनासो छ ।
सुविधाले भरिपूर्ण स्थानमा रहेको मन्दिरको भौतिक अवस्थामा दयनीय छ । मन्दिरका पर्खालहरू चर्किएका छन् । मन्दिरका भित्ताहरूमा वर्षौँ देखि रङ गरिएका छैनन् । मन्दिर निर्माणका लागि गुठी संस्था तथा मन्दिरका पुजारीहरूले भने कुनै ठोस कदमहरू चालेका छैनन् ।
महाङ्काल मन्दिर परिसरको भुईँ तल्लामा पुस्तकालय, चमेना गृह, साँचो बनाउने पसल लगायत पसल गरी १५ भन्दा बढी पसलहरू छन् । उक्त पसलहरूबाट करिब महिनाको पाँच लाखको हाराहारीमा भाडा सङ्कलन हुन्छ । उक्त सङ्कलन भएको पैसा काहा जान्छ र त्यसबाट हालसम्म के कस्ता कामहरू भए भन्ने बारे कसैलाई केही थाहा भने छैन ।
महिना सकिने बित्तिकै हामीले बैङ्कमा पैसा जम्मा गर्दिन्छौ । भाडा दर तोकिदिएको हुन्छ । दुई वर्ष पछि पुन भाडा दरमा १० प्रतिशतका दरले बढ्ने गरेको एक व्यापारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ- ‘ हामीलाई खाता नम्बर र बैङ्कको नाम दिइएको हुन्छ हामीले त्यहाँ जम्मा गरिदिन्छौ । बैङ्क भने परिवर्तन भई रहन्छ । कहिले एउटा त कहिले अर्को खातामा पैसा जम्मा गरिदिन्छौँ ।
मन्दिरमा सङ्कलन भएको भेटीको प्रयोग के मा र कसरी हुन्छ भन्ने प्रश्नमा मन्दिरका पुजारी केही बोल्नै चाहँदैनन् । साथै मन्दिर परिसर भित्र उठेका भाडा के कार्यका लागि कसले कसरी प्रयोग गर्ने गरेको छ भन्ने प्रश्नमा गुठी संस्थाका कर्मचारी उत्तर दिनै चाहँदैनन् । मन्दिरलाई आम्दानीको स्रोत गुठी संस्थाले बनायो तर त्यसको व्यवस्थापन र पुनर्निर्माण बारे भने सम्बन्धित निकाय केही जवाफ दिन चाहँदैन ।
त्यस्तै भद्रकाली मन्दिरका केही भागहरू भने भत्किएका छन् । चढ्ने खुट्किला तथा सिँढीहरू पनि खाल्डाखुल्डी भएका छन् । मन्दिर वरपर माग्न बस्नेको भिड महांकाल मन्दिर सरह नै छ । मन्दिरमा उठ्ने भेटीको कुनै तथ्य तथा हिसाब भने छैन ।
यहाँ सङ्कलन भएको पैसा जान्छ कहाँ ? गुठीसँग कति पैसा छ ? के गर्ने योजना छ भन्ने ? हालसम्म के कस्ता काम गरियो ? भन्ने प्रश्नको सम्बन्धित निकायसँग जवाफ नै छैन ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो
- रिक्सा चालकको दुखः न स्वास्थ्यले साथ दियो न त आम्दानीले