इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’का रूपमा विरोध गर्न मतदान गरेको छ ।
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको बताएको एक दिनपछि संसद्ले मतदान गरेको हो ।
प्यालेस्टिनी नेतृत्व र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र आलोचना भएको उक्त मतदान धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको छ । आगामी बुधबार अमेरिकी कांग्रेसमा नेतान्याहुको सम्बोधन गर्नुअघि मतदान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेतान्याहुले गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौताको मध्यस्थता गर्ने अमेरिकी प्रयासमा कम रुचि देखाएका छन् । उनले हमासमाथि ‘पूर्ण जीत’ निकाल्ने अवस्था रहेको भन्दै सैन्य दबाब बढाउने वाचा गरेका छन् ।
इजराइलले हालका दिनहरूमा गाजामा व्यापक बमबारी जारी राखेको छ । हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ५४ जनाको मृत्यु भएको बताएको छ ।
इजराइली सांसदहरूले पारित गरेको प्रस्तावमा इजराइली सेनाले कब्जा गरेको भूमिमा प्यालेस्टिनी राज्यले ‘इजराइल–प्यालेस्टिनी द्वन्द्वलाई निरन्तरता दिने र यस क्षेत्रलाई अस्थिर बनाउने’ बताइएको छ ।
एक सय २० सदस्यीय संसदमा उक्त प्रस्ताव ६८ मतले पारित भएको छ । विपक्षमा मात्र ९ मत आएको छ ।
प्यालेस्टिनी प्राधिकरणले इजराइलको कट्टर–दक्षिणपन्थी सत्तारुढ गठबन्धनमाथि ‘गाजा क्षेत्रलाई रसातलमा धकेलेको’ आरोप लगाएको छ । मतदानप्रति ‘आश्चर्य’ प्रकट गर्दै फ्रान्सले उक्त प्रस्ताव संयुक्त राष्ट्रसङ्घीय सुरक्षा प्रस्तावहरूको ‘विरोधाभास’का रूपमा आएको बताएको छ
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
