महाकालीको अवतार मानिएकी द्रौपदी 

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—५१

भीममा दौपदकिो दुःख देख्न सक्ने धैर्यता नै थिएन र द्रौपदीमा पनि भीमप्रतिको चाहना आन्तरिक रूपमा बढेको द्रौपदीले महसुस गरेकी थिइन् ……

हरिविनोद अधिकारी

द्यूतक्रीडामा हारेमा पाण्डवहरूले के के भोग्नुपर्छ भनेर केही कडा सर्तहरू राखिएका थिए। त्यसो त यदि दुर्योधनादिले हारेमा राज्य सबै पाण्डवहरूको हुने पनि सर्त थियो। तर कौरवहरूलाई के थाहा थियो भने शकुनिको दाउमा हार्ने कुनै सम्भावना नै थिएन। एकपटक हारेर, विभिन्न सर्तहरूमा दुर्योधनादिकासर्त बमोजिमका दण्डका वर्षहरू बित्नै आँटेका बेलामा पक्कै नै मानसिक उतार चढाव आएकै थियो। बाहिरका मानिसहरूले, कतिपय भारतवर्षका अधीनका राज्यहरूले पनि पाण्डव र कौरवका कथा बिर्सन थालेका थिए। राज्य त चलिरहेकै थियो। कोही राजा नहुँदा पनि चलेको भारतवर्षमा त महाराजाका रूपमा धृतराष्ट्र थपना छँदै थिए, उनका नाममा राज्य चलाउनका लागि दुर्योधनले आफ्नो निकटस्थका रूपमा भाइ दुःशासन, मामा शकुनि, साथी कर्ण, गुरुपुत्र अश्वत्थामा सहितको समूह तयार थियो। हस्तिनापुरको आफूमात्र कुरुवंशी रक्षक सम्झने गङ्गापुत्र भीष्मलाई लाग्दैथ्यो मेरो वास्ता हुन छाडेको छ। पाञ्चालको आधा राज्यको भोग गर्ने सत्तालिप्साले गुरु द्रोणाचार्यलाई मोहित गरेको थियो। दुर्योधनको अति प्रिय गुरुभाइको रूपमा सम्मानित द्रोणाचार्य पुत्र अश्वत्थामामार्फत् त्यो राज्य सञ्चालित थियो। कर्ण र अश्वत्थामाको बढी सम्मानको कारण थियो, प्रख्यात धनुर्धर अर्जुनका बराबरीमा ती दुई धनुर्धरमात्र थिए र अर्जुनसँगको युद्धमा कौरवलाई भोलि बचाउने उनीहरू रहेकाले सम्मान गरेर राखिएको थियो। दुर्योधनलाई के पनि थाहा थियो भने भीष्मले पाण्डवहरूको वध गर्दैनन् र पाण्डवहरूले पनि भीष्मको वध गर्दैनन्। त्यसैले पाण्डवहरूमध्येको अर्जुनलाई युद्धमा रोक्न र परास्त गर्नका लागि कर्ण र अश्वत्थामाको जरुरत पर्नेछ।

रणमैदानमा जानुभन्दा पहिले रणनीतिका बारेमा व्यापक छलफल हुनुपर्छ भनेर दुवैतर्फ यसको तयारी भएको थियो। कौरवहरूलाई पनि के थाहा थियो भने पाण्डवजस्ता शूरवीर चुपचाप बस्ने छैनन् तर ज्येष्ठ पिता महाराज धृतराष्ट्रको वचन पनि काट्न सक्दैनन्। उता पाण्डवहरूको परिचय खुलेपछि मत्स्य देशका महाराजा विराट र पाञ्चाल नरेश द्रुपदले पनि भावी युद्धका लागि सल्लाह गर्न थालेका थिए। यसका लागि श्रीकृष्णको सहयोगको जरुरत पर्थ्यो। एउटा अचम्म थियो, श्रीकृष्णको सम्झना भयो कि उनी हाजिर हुन्थे र अरुका मनमा उठेका जिज्ञासाहरूको जबाफ उनैले दिन्थे। महर्षि वेदव्यास, महात्मा विदुर र कुरुकुल शिरोमणि शन्तनुनन्दन देवब्रतसमेतको धारणा थियो, यो संसारका पालक उनै हुन् र संहारक पनि उनै हुन्। अर्थात् उनी त्रिकालज्ञ छन् र संसारको भार हर्न आएका पनि हुन्। कारण थियो उनले बारम्बार भनेका थिए, म कुनै निश्चित उद्देश्य पूरा गर्न यो संसारमा बारम्बार आउँछु र आवश्यकता पर्दा आई नै रहने छु। उनको सहयोगका अपेक्षा गर्दा नै उनको आगमन भयो र भावी रणनीति तयार हुनलाग्यो।

माहाभारतको युद्ध कुरुवंशीय राजपरिवारको सम्पत्ति बाँडफाँटको कलह जस्तो देखिन्थ्यो बाहिरी आँखाबाट तर एउटा युगको अन्त्यका लागि संहारको वीजारोपण भएको थियो जसले भावी दिनमा पनि धर्मको जित हुन्छ भन्ने सन्देश सदैवका लागि दिनु थियो। त्यो युद्धपछि के हुन्छ थाहा पाउने मात्र दुई जना कृष्णहरू थिए, पहिलो कृष्ण वसुदेव पुत्र श्रीकृष्ण अनि पराशर पुत्र कृष्ण अर्थात् वेदव्यास। कृष्ण त अर्जुनको पनि नाम थियो तर उनी कालो रङ्का कारणले नभएर अत्यन्त सुन्दर भएकाले भनिएको थियो। अर्जुन अघिल्लो जुनीमा नरको रूपमा नारायणका सहयोगी थिए र यो संसारको भार हरण गर्न नारायणलाई सहयोग गर्नका लागि अर्जुनका रूपमा यो अवतार लिएका थिए। तर उनको भागमा युद्धको संयोजनमात्र थियो र सोच्ने अनि रणनीति बनाउने काम त वसुदेव पुत्र बासुदेवको थियो। भन्न त भनिन्थ्यो, युद्धको कारक मानिने महारानी द्रौपदीलाई पनि सबै थाहा थियो। कतिपय लोकोक्तिमा उनलाई महाकालीको अवतारको रूपमा मानिएका थियो। सायद त्यसैले होला कि, द्रौपदीमा युद्धको नसा लागेको थियो जसलाई भीमको समर्थन थियो। द्रौपदीको अपमानको बदला लिनका लागि जोसँग पनि भिड्न भीम तयार थिए। मात्र युधिष्ठिरसँग उनी भित्रभित्र मुर्मुरिए पनि बाहिर अनुशासित भएर नम्रताका साथ आफ्ना विमति राख्ने गर्थे।

द्रौपदीप्रति सबैको आकर्षण थियो। त्यसो त स्वयंवरमा जब पाँच भाइले स्वयंवरका लागि आएकी अयोनिजा याज्ञसेनी कन्या देखेका थिए, उनीहरूमा कामदेवले वाण हानेको कुरा महाभारतमा पढ्न पाइन्छ। चुपचाप बसेका पाँच ऋषिकुमारहरूको भेषका पाण्डवहरूमध्ये अर्जुनले जब वाण सन्धान गर्न थाले, धनुमा प्रत्यञ्चा चढाउन थाले, अरु चारभाइमा हर्षको सीमा नै थिएन।

पाञ्चाल नरेश द्रुपदले स्वयंवरका लागि तयार गरेको कृत्रिम माछा, त्यसमा निसाना लगाउनका लागि तयार गरिएको घुमिरहने छाताजस्तोमा वाण छिर्ने गरी तयार गरिएको अनेक छिद्र र तल हेर्नका लागि राखिएको पानीको सानो पोखरी तयार गर्दा नै एकजनाको मात्र कल्पना गरेका थिए जसले त्यो कठिन सर्त पूरा गर्नेछ र आफ्नी प्राणप्यारी छोरीलाई अर्धाङ्गिनी बनाएर लान सक्नेछ। त्यो स्वयंवर हेर्न देवता, किन्नर, यक्ष, गन्धर्वहरू पनि आएका थिए र काम्पल्यको आकाशमा वायुयानहरू बग्रेल्ती अडिएर यो अपूर्व स्वयंवर हेर्दै थिए। धेरै राजा र राजकुमारहरूले धनुसमेत उचाल्न नसकेको घटनाले सायद यो सर्त पूरा गर्ने कुनै मानिस भारतवर्षमा छैन कि जस्तो भएको थियो। कर्णले धनु उचालेर प्रत्यञ्चा सन्धान गर्न आँटेकै बेलामा याज्ञसेनीले भनिन्, —म सूतपुत्रसँग विवाह गर्दिन।‘ धनु नउठाउन्जेलसम्म उनलाई र सम्पूर्ण सभासदलाई लागेको थियो, कर्णले पनि यो सर्त पूरा गर्न सक्ने छैनन् तर कर्णले धनु सहजताका साथ उचालेपछि भने हाहाकार जस्तै भयो कतै खुसीले त कतै आफूले धनु छुँदा पनि लडेकाहरूको विषादका कारणले। धेरैको अनुमान के छ भने त्यही रिस पोख्नका लागि द्यूतक्रीडामा हारेकी दासीको रूपमा द्रौपदीलाई अपमान गर्न कर्णले वेश्यासमेत भनेका हुन् कि? सायद तिनै द्रौपदीप्रतिको आन्तरिक मोहलाई जगाउन श्रीकृष्णले कर्णलाई पाण्डवतिर लागेर युद्धको परिणामलाई सकारात्मक बनाउन फकाउँदा भनेका थिए —हे कुन्तीपुत्र कर्ण, यदि यो युद्धमा तिमी आफ्ना सहोदर भाइहरूसँग लागेर दुर्योधनलाई हरायौ भने या कौरवहरूको विपक्षमा लागेर युद्ध जित्यौ भने राज्यको राजा त हुन्छौ नै, पाण्डवहरूकी राज्यलक्ष्मी द्रौपदीमा पनि तिम्रो हक लाग्नेछ, द्रौपदी  तिम्री पनि हुनेछिन्। कर्णले भनेको थियो —कृष्ण, तपाईँबाट पनि यस्तो कुरा गर्न सुहाउँछ र? मेरो भरमा त दुर्योधन यो युद्ध गर्न तम्सेको छ भने मैले नै त्यो विश्वासमाथि कसरी धोखा दिन सक्छु र? मसँग सत्यमात्रै छ बाँकी, त्यसैले म कुनै पनि हालतमा पाण्डवका पक्षबाट युद्ध लड्न सक्दिन। द्रौपदीका बारेमा केही पनि बोलेका थिएनन्। अर्थात् द्रौपदी राज्यलक्ष्मीका रूपमा सम्मानित थिइन् र त पञ्चकन्याको रूपमा उनको वर्णन गरिएको छ पुराणहरूमा। उनी जहिले पनि अक्षता थिइन् किनभने उनको जन्म नै अग्निको ज्वालाबाट भएको थियो अयोनिजाका रूपमा।

द्रौपदीकै सल्लाहले विराटनगरको नजिकै एउटा स्वतन्त्र राज्यको रूपमा उपप्लव्य सहर तयार थियो। त्यहीँ  शिविर तयार गरेर पाण्डवहरूको लागि सम्पर्क स्थान बनाइएको थियो। त्यहीँ नै युद्धको रणनीति बनाउने काम सुरु भएको थियो जसमा पाञ्चालको सेनाले रक्षाको जिम्मेवारी लिएको थियो। सबैलाई लागिरहेको थियो, युद्ध अवश्यंभावी छ र कौरवले खुसीसाथ भारतवर्षको राज्य माला लगाएर दिनेवाला छैनन्। कौरवहरू कसरी पाण्डवहरूलाई राज्य माग्न आएमा उल्टै दण्डित गर्ने भन्नेमा थिए र त्यसका लागि कुन तर्कको सहारा लिने भन्ने गोप्य तयारीमा थिए। धृतराष्ट्रका मनमा एकप्रकारले भाइ पाण्डुका छोराहरू राज्य माग्न आउने कुरामा विश्वास नै गरिरहेका थिएनन्। तर पनि आए भने कुनै पनि हालतमा राज्य फिर्ता दिने कुरामा महाराजको इच्छा थिएन। अर्थात् युद्ध हुँदैन भन्नेमा महाराज धृतराष्ट्र देखिन्थे र कसले पो पाण्डवहरूलाई युद्धमा सेना पठाउला भन्ने मनचिन्ते कल्पनामा थिए।

जब पाण्डवहरूको वनबास र गुप्तबास अन्त भएर उनीहरू बाहिर देखिन थाले र युद्धको तयारीका लागि रणनीति तयार गर्न थाले भन्ने भएपछि, युद्ध हुने नै भयो भन्ने सुनेपछि राजाहरू धमाधम त्यो शिविरमा सम्पर्क गर्न थाले आफ्ना कूटनीतिक माध्यमबाट।

के साँच्चै युद्ध हुन्छ र? के धृतराष्ट्रले त्यही पुरानो राज्य इन्द्रप्रस्थ फर्काउने हुन् कि? पाण्डवहरू शूरवीर छन् र द्रुपद, विराट र उनीहरूका सहयोगी राज्यहरूको सहयोगमा सम्पूर्ण भारतवर्षमा नै राज्य गर्न चाहने हुन् कि? त्यसैले दुर्योधनले पक्कै दिने छैनन्, अनि के युद्ध अवश्यंभावी छ त? तर सबैमा एउटा विश्वास थियो, श्रीकृष्ण जता लाग्छन्, त्यो धर्मको पक्ष हुनेछ, सत्यको पक्ष हुनेछ र त्यसैको जित हुनेछ। सबैलाई के थाहा थियो भने कुन्तीका कारणले र अर्जुनका कारणले पनि श्रीकृष्ण पाण्डवहरूकै पक्षमा लाग्ने छन्। कृष्णको विशेषता के थियो भने उनी आफू हतियार चलाउने छैनन्, त्यो उनको प्रण थियो। कुन्ती, द्रौपदीका मनमा पनि लागेको थियो, अन्यायविरुद्ध युद्ध होस् र श्रीकृष्णको सहयोग पाएर युद्ध जितिन्छ र अधर्मको नास हुनेछ। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link