श्राप र वरदानबाट किचिएकाहरू

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—५३

युद्धमा प्रत्यक्ष लडेर भन्दा पनि शत्रुको शिविरमा हतोत्साही गराउने भूमिकाबाट पनि युद्ध जित्न सहज हुने रहेछ। नभन्दै द्रोणाचार्यको मृत्युपछि कर्णको सेनापतित्वमा भएको युद्धमा शल्य महाराजले सारथिको काम गरे जसले बारम्बार कर्णलाई अपमानित गरिरहे र भने—अर्जुनलाई जित्न त्यति सजिलो छैन किनभने जहाँ कृष्ण छन्, त्यतैको विजय अवश्यंभावी छ, तिमीहरूले राज्य अधर्मको सहारामा कब्जा गरेका थियौ नि ………

हरिविनोद अधिकारी

महाभारतको युद्धलाई व्यवस्थित गर्नका लागि युद्धका नियमहरू बनाइएका थिए। युद्धका नियमहरू परम्परागत नै थिए। स्त्रीहरू युद्धमा वर्जित थिए। युद्ध शिविरमा महिलाहरूको उपस्थिति हुनु हुँदैनथ्यो। निहत्थासँग हतियारमार्फत् आक्रमण गर्न पाइँदैनथ्यो र एकजनासँग एकजनाले मात्र प्रतिस्पर्धा गर्नुपर्थ्यो। अर्थात् रथीसँग रथीले, घोडसबारसँग घोडसबारले, गजसबारसँग गजसबारले र पैदलसँग पैदलले, तर हतियार हुनुपर्थ्यो। दूतमाथि कसैले आक्रमण गर्न पाइँदैनथ्यो। विहान सूर्योदयबाट युद्ध सुरु हुने र सूर्यास्तसँग त्यो दिनको युद्ध समाप्त हुन्थ्यो। परिवारको युद्ध भएकाले जोसँग जो भेट्न पनि एकअर्काका शिविरमा आवतजावत सम्भव थियो। गदायुद्धका आफ्नै नियम थिए, पहलबानका आफ्नै नियम थिए। ती नियमहरू हस्तिनापुरले अपनाउँदै आएको नियमअनुसार बनाइएको थियो। नियम बनाउन र कार्यान्वयन गर्नका लागि दुवैतर्फका सेनापतिहरूको मन्जुरी आवश्यक थियो। दुवै सेनाका सेनापतिहरूको रोहबरमा स्वयं भीष्म पितामहले युद्धका नियमहरू तयार गरेका थिए। पितामहले यस्ता युद्धहरू हजारौँ लडेका थिए तर शत्रुपक्षसँग, सीमा विस्तारका लागि, भारतवर्षको रक्षाका लागि तर यसपटकको युद्ध पारिवारिक युद्ध थियो र जसले जिते पनि पितामहका सन्तानले जित्ने थिए।

पितामहले जस्तो नियम बनाए पनि पाण्डवपक्षको कुनै विरोध थिएन तर पाण्डवपक्षका  सात अक्षौहिणी सेनाका सेनापति धृष्टद्युम्नको भने केही भनाइ थियो किनभने यो युद्धमा सेनापति धृष्टद्युम्नलाई पिताका शत्रु मानिएका द्रोणाचार्य गुरुलाई मार्नु थियो जसको मृत्यु उनका चिरञ्जीवी पुत्र अश्वत्थामाको मृत्युपछि मात्र सम्भव थियो। आफ्ना दिदी या दाजु शिखण्डीको स्वयं कुरु सेनापति भीष्म पितामहसँग बदला लिनु थियो र उनको वधका लागि कारक हुनु थियो। उनकी जुम्लाही बहिनी कृष्णामाथि राजसभामा चीरहरण गर्ने र दासी भनेर यौनदासी बनाउन चाहने महाराज धृतराष्ट्रका १०० भाइ छोराहरूलाई मारेर बहिनीको घाउमा मलम लगाउनु थियो। नियम या बेनियम भन्ने कुरामा भन्दा कसरी सात अक्षौहिणी सेनाले कौरवतर्फका एघार अक्षौहिणी सेनालाई जितेर ज्वाईँहरूको अवैधानिक तरिकाले अपहरित राज्य फिर्ता गराउनु थियो। उता कौरव पक्ष भने आफ्ना सेनापति भीष्म पितामहप्रति नै  अविश्वास गरिरहेका थिए। लाग्थ्यो, पितामहले पाण्डवको हत्या गर्ने छैनन्, अनि शत्रुपक्षका मुख्य महानायकहरू  युधिष्ठिरको, भीमसेन र अर्जुनको हत्या नगरी जित्ने सम्भावना नै थिएन। फेरि पाण्डवहरू यति अनुशासित थिए कि पितामह, गुरु द्रोणाचार्य र कुलगुरु कृपाचार्यको कुनै पनि हालतमा वध गर्ने छैनन्। न पितामह, गुरुहरूले पाण्डवको हत्या गर्ने सम्भावना थियो, न पाण्डवहरूले ती सेनापतिहरूको हत्या गर्ने सम्भावना थियो।

कौरवहरूका तर्फ कुलगुरु कृपाचार्य र गुरुपुत्र अश्वत्थामा चिरञ्जीवी हुने वरदान पाएका महारथीहरू थिए र स्वयं सेनापति पितामह आफ्नो इच्छामरणको वरदानको भारी बोकेर युद्धमा सेनापतित्व ग्रहण गरेका थिए। पाण्डवहरूसँग पनि महारथीहरूको कुनै कमी त थिएन तर श्रीकृष्णबाहेक कोही विश्वासिलो र अपराजित योद्धा थिएन। श्रीकृष्ण स्वयं भने यो पारिवारिक युद्धमा कुनै हतियार नउठाउने सर्तमा मात्र भाग लिएको कुरा जगजाहेर थियो।

द्रौपदीलाई लाग्थ्यो, यदि इन्द्रप्रस्थमा भएको राजसूय यज्ञपछि पनि श्रीकृष्ण इन्द्रप्रस्थमा नै बस्नु भएको भए, न त द्यूतक्रीडामा कौरवहरूले बोलाउँथे, न द्यूतक्रीडा नै हुन्थ्यो, न राजसभामा चीरहरणको बीभत्स काण्ड घट्थ्यो, न त युद्धको कुनै आवश्यकता पर्थ्यो। पाण्डवहरू आंशिकरूपमा प्राप्त इन्द्रप्रस्थ राज्यमा राज गर्दै थिए र भारतवर्षमा कस्तो आदर्श राज्य स्थापना गर्नुपर्छ भनेर प्रयोग गर्दै थिए। पाण्डवहरूका तर्फबाट द्रौपदीका पाँच भाइ छोराहरू जन्मेर हुर्कँदै थिए र अर्जुनका सुभद्राका तर्फबाट पनि अभिमन्युको जन्म भएर त्यसको सम्पूर्ण शिक्षादीक्षाको जिम्मा मावलमा स्वयं मामाहरू बलराम र श्रीकृष्णले लिएका थिए। अर्थात् पाँचवटामात्र पाण्डवहरूसँग अब ६जना पाण्डवहरू थपिएका थिए। स्वभावैले ती सबै महारथी हुने क्रममा स्वतः प्रशिक्षित हुँदै थिए। भीमसेनको हिडिम्बातर्फको छोरो, पहिलो पाण्डुपौत्र घटोत्कच पनि हिडिम्बाको प्रशिक्षणमा थियो। नियतिले यी सबैलाई पारिवारिक युद्धमा धकेल्ने गरी तयारी गरिरहेको कुरा वेदव्यास र श्रीकृष्णलाई थाहा थियो। तर द्रौपदीलाई भने लाग्थ्यो, यदि राजसभामा नै श्रीकृष्णको  उपस्थिति भएको भए द्यूतक्रीडामा भएको जालझेल पक्कै हुँदैनथ्यो, मामा शकुनिको पासाको रहस्य खुल्थ्यो र द्यूतक्रीडाको अन्त्य भयावह हुँदै विश्वयुद्धको रूपमा परिणत हुँदैनथ्यो होला। श्रीकृष्णको उपस्थिति भएको भए दुर्योधनहरूले पनि जथाभावी बोल्न सक्दैनथे, पितामह, गुरुहरूमा पनि बोल्ने आँट आउँथ्यो होला। आखिर त्यहाँ बोल्ने भनेको त विकर्णमात्र देखियो जसले न्यायको पक्षमा बोल्ने आँट गर्‍यो र सभाबाट निकालिनु पर्‍यो। आखिर अरु कसैले सहायता गर्न सकेनन्, श्रीकृष्णले उनको चीरहरण गर्नबाट लाज जोगाए। त्यसैले एकदिन युद्ध भइरहेको बेलामा द्रौपदीले भनेकी थिइन् उत्तरालाई —बुहारी उत्तरा, कुनै ठुलो दुःख आई पर्‍यो भने कसैले सहयोग गर्ने छैनन्, मात्र श्रीकृष्णले गर्नेछन्। तिमीले अप्ठेरो पर्ने बित्तिकै तत्काल श्रीकृष्णलाई सम्झिनू र उनको दृश्य अदृश्य सहयोग प्राप्त हुनेछ। उत्तराले पनि हुन्छ भनेर तत्कालै टाउको हल्लाइन् र नभन्दै युद्धको अन्तमा अश्वत्थामा पागलजस्तै भएर ब्रह्मास्त्र उत्तराको गर्भतिर हानेपछि साँच्चै श्रीकृष्णलाई सम्झिइन् र गर्भको भ्रुण बाँचेर कुरुवंश शिरोमणिको रूपमा राज्य गर्ने परीक्षित महाराजको रूपमा पाण्डवहरूको राज्यको मुख्य उत्तराधिकारी हुनसके।

महाभारतका पात्रहरूमा परेका श्रापहरूबाट धेरै मोक्ष प्राप्त गरे, धेरैको वरदानले युद्धमा पाण्डवहरूको जितलाई सघाएको पाइयो। १० दिनसम्म पितामहले कौरवतर्फको सेनापतित्वको भूमिका निर्बाह गरे, त्यसपछिका ६ दिन गुरु द्रोणाचार्यले सेनापतित्वको भूमिका निर्बाह गरे। दुवै सेनापतिको भित्री भावना थियो, पाण्डवहरूको विजय सुनिश्चित छ किनभने उनीहरूको पक्षमा धर्म र सत्य छ। त्यसपछिका सेनापतिहरू कर्ण र शल्यमा पनि त्यो अन्तर्चेतना थियो किनभने कौरवहरूका पक्षमा सत्य र धर्म थिएन। यदि त्यो थाहा नपाएको भए, अन्तरचेतना नभएको भए उनीहरूले श्रीकृष्णलाई भन्ने नै थिएनन् —हे कृष्ण, कसको जित हुन्छ भन्ने कुरा जता तपाईँ हुनुहुन्छ, त्यतैको हुन्छ स्पष्ट छ। तर नियतिले यो युद्ध गराएको हो र एकपटक यो संसार वीरविहीन हुने लक्षण हो किनभने शीघ्र कलियुगको  आरम्भ हुँदैथियो। त्यसका लक्षणहरू प्रशस्त देखिन थालेका थिए।

त्यसो त युगहरूको विभाजन पनि त्यहाँ विकसित सभ्यताका आधारमा मानिने हो। सभ्यता भनेको शासक तथा शासितहरूले स्वेच्छाले तयार गरिएको नियमहरूको पुञ्ज हो। त्यस्ता नियमहरू सबैले पालना गर्नुपर्छ र यदि त्यसमा परिवर्तन गर्ने हो भने प्रजाजनको चाहना प्रतिविम्बित हुनैपर्छ। सत्ययुग, द्वापरयुग, त्रेतायुग र कलियुग हुनुपर्ने हो तर भनिन्छ, त्रेतायुगमा श्रीरामको अवतार हुने छ र गौतमपत्नी अहिल्याको रुपान्तरित स्वरूप पत्थरबाट साध्वी नारीको रूपमा देह परिवर्तन हुनका लागि श्रीरामले त्यो पत्थरमा टेकेपछि मात्र सम्भव हुने भएकाले गौतमपुत्रले समयलाई अघि सारेर त्रेतायुगलाई द्वापरभन्दा पहिले यो संसारमा ल्याए भनिएको छ। सायद सभ्यताको परिवर्तन थियो र द्वापरभन्दा पहिले त्रेतायुगको प्रादूर्भाव भएको मानिन्छ। अनि ती युगहरूको कर्तव्यहरूमा पनि परिवर्तन गरिएको थियो। समयको वारेमा योभन्दा ठुलो परिभाषा पौरस्त्य शास्त्रमा अरु कहाँ पाइन्छ र ?

महाभारतकाल पौरस्त्य सभ्यताको सचेत र विकसित अवस्था थियो। महाभारतमा वर्णित सभ्यताले त्यसको छनक दिएका छन्। तर युद्धमा राखिएका वर्जित नियमहरूलाई नै कौरवहरूले सर्वप्रथम अभिमन्युमाथि प्रयोग गरे। निहत्था अभिमन्युमाथि सात सातजना महारथीहरूले एकैपटक आक्रमण गरेर हत्या गरे जसमा जयद्रथले सीमा उल्लङ्घन गरेर टाउको काटेका थिए। एकातिर एक्लो निहत्था योद्धा, अभिमन्यु चक्रव्यूहभित्र फसेको बेला थियो, उनलाई सहयोग गर्न आएका योद्धाहरूलाई बेनियमले रोकेर राखिएको थियो व्यूहको मुखमा अनि सात सातजना योद्धाले बेहोसमा रहेका योद्धामाथि हतियार प्रयोग गरेका थिए। जब अर्जुनले यी सबै कुरा सुने र आफ्नो महारथी पुत्रको शव बुझे, उनले भोलिपल्टको सूर्यास्त नहुँदै जयद्रथको वध गर्ने शपथ खाए। जयद्रथ नाताले पाण्डव र कौरवहरूको एकमात्र बहिनी दुःशलाका पति थिए। स्मरणीय छ, सयजना छोराहरूको लागि बैडिएको गान्धारीको रक्तपिण्डबाट सयजना छोराहरूको मांसपिण्ड विभाजित गरेपछि अलिकति बाँकी रहेको टुक्राबाट छोरी दुःशलाको जन्म भएको थियो। तिनै जयद्रथसँग दुःशलाको विवाह भएको थियो। तिनै जयद्रथले वनबासका बेलामा द्रौपदी हरण गरेका थिए, पाण्डवहरूले उनलाई पक्राउ गरेर मार्न खोज्दा द्रौपदीले नै नमार्नका लागि पाण्डवहरूलाई अनुरोध गरेकी थिइन् किनभने जयद्रथको मृत्युले दुःशला विधवा हुने थिइन्। त्यसपछि जयद्रथलाई चारपाटा मुडेर पठाइएको थियो।

तिनै जयद्रथले पाण्डवहरूसँग त्यो बेलाको अपमानको बदला लिन युद्धका सबै नियमहरूको सीमा तोडेर बेहोस अभिमन्युको हत्या युद्धको १३औँ दिनमा गरेकाले अर्जुनले युद्धको १४औँ दिनमा जसरी पनि सूर्यास्त नहुँदै उनको वध गर्ने, नभए आफू अग्निकुण्डमा हामफालेर मर्ने प्रण गरेका थिए। सूर्यास्त हुन्जेल जयद्रथलाई अर्जुनबाट धेरै टाढा पठाइएको थियो र आकाशमा सूर्य भगवान पश्चिमाभिमुखी भएर अस्त भएको जस्तो लागेर जयद्रथ अर्जुनको आत्महत्या हेर्न आउँदा सूर्यास्त हुन बाँकी रहेकोले सूर्य बादलबाट बाहिर आएका थिए र हात्तीमाथि चढेर आएका जयद्रथको टाउको वाणले काटेर उडाउँदै उनको हजुर्बा वृद्धक्षेत्रको काखमा पुर्‍याइएको थियो। वरदान कस्तो पाएका थिए भने उनको नाति जयद्रथको टाउको जसले पृथ्वीमा झार्नेछ,उसको टाउको हजार टुक्रा भएर फुट्ने छ। उनी तपस्यारत भएकै ठाउँमा जयद्रथको टाउको उनको काखमा खसेको थियो र तपस्याबाट जब उनी उठे, उनको नातिको टाउको उनले नै भुईँमा खसाए र उनको तत्काल टाउको फुटेर मरे। त्यसैले महाभारतमा श्राप र आशीर्वादको भारी बोकेका पात्रहरू भेटिन्थे र आफैँ ती श्राप र वरदानबाट किचिएर समाप्त भएका थिए।

क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link