के हो स्वर्ण प्राशन ?
स्वर्ण प्राशन संस्कृत शब्द हो । स्वर्ण अर्थात् सुन र प्राशन भनेको प्रयोग विधि हो । बालरोग सम्बन्धी आयुर्वेदीय ग्रन्थ, ‘कश्यप संहिता’का अनुसार बच्चाहरूमा प्राथमिक रूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सुन मिश्रित औषधिको प्रयोग हो । प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चटाउनु वा खुवाउनु स्वर्ण प्राशन विधि हो । यही औषधीलाई थोपाको रूपमा खुवाउनुलाई स्वर्ण प्राशन बिन्दु भनिन्छ । स्वर्ण प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागत रूपमा बच्चाहरूलाई गराइने १६ संस्कार मध्येको एक संस्कार पनि हो । यसलाई आयुर्वेदीय खोप पनि भन्ने गरिन्छ।
स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ । औषधयुक्त गाईको घ्यूमा अमला, बोझो, ब्राह्मी/मण्डुकपर्णी, गुडुची, शतावरी, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि जडबिुटि (एवं प्रक्षेप द्रव्य: मरिच, सौंफ, पिप्पली, आदि) निश्चित मात्रा राखिन्छ र विशेष विधिबाट विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा त्यार पारिन्छ । यसरी अर्धठोस् स्वरूपमा निर्मित औषधी बच्चालाई चाट्न लगाउने विधान छ । हिजोआज त्यसरी स्वर्ण प्राशन बिन्दु बजारमा किन्न पनि पाइन्छ जसलाई थोपा थोपाको रूपमा प्रयोग गर्न सकिन्छ ।
स्वर्ण प्राशनका फाइदा
स्वर्ण प्राशनले प्राथमिक रूपमा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउँछ । यसले बच्चाको मनोबल (बुद्धि), पाचन बल (अग्निबल) र शारीरिक बल बढ्नुको साथै ओज, आयु एवं सुन्दरता समेत सहज रूपमा बढ्दछ । स्मरण शक्ति एवं ग्रहण शक्ति (मेधाशक्ति) अति नै सबल बनाउँछ । पटक पटक हुने सामान्य स्वास्थ्य समस्याहरू रुघाखोकी, ज्वरो, पेटको दुखाइ, पखाला लाग्नु, पाचन सम्बन्धी समस्या आदि समस्याहरूलाई स्थायी रूपमा हटाउन सहयोग गर्दछ । त्यस अतिरिक्त बच्चाहरूको शरीरिक मानसिक विकासका लागि आवश्यक तत्त्वहरूको आपूर्ति गराउँछ । शरीर भित्र जमेर बसेका विषालु पदार्थहरूलाई शरीरबाट बाहिर निकाल्न मदत गर्दछ । आँखा एवं कानको कार्यक्षमता पनि बढाउँछ। शास्त्रीय मान्यता अनुसार स्वर्ण प्राशन पवित्र एवं मंगलकारक हुन्छ । फलत: अदृश्य एवं नकरात्मक ऊर्जाहरूबाट सुरक्षा प्रदान गराउँदछ ।
स्वर्ण प्राशनको निमार्ण विधि
आधारभूत रूपमा स्वर्ण प्राशनको मुख्य घटक भनेको सुनको भष्म (स्वर्ण भष्म), मह र औषधसिद्ध घ्यू नै हो । उपलब्धता र आवश्यकताका बमोजिम चिकित्सकले योग्य औषधीय जडीबुटीहरू (अमला, बोझो, ब्राह्मी/मण्डुकपर्णी, गुडुची, शतावरी, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि)को चयन गरी त्यसलाई घ्यूसँग सिद्ध गर्दछन् । आयुर्वेदीय शास्त्रोक्तविधिद्वारा निमार्ण गरिने स्वर्ण प्राशन निकै संवेदनशील र बुद्धिमतापूर्वक धैर्यका साथ बनाउनुपर्ने हुन्छ । यसको निर्माण आधिकारिक अनुभवी आयुर्वेद अभ्यासीले मात्र गर्न सक्दछ । अनाधिकारिक रूपमा अनुभवहीन व्यक्तिबाट निमार्ण गरिएको स्वर्ण प्राशन निष्प्रभावी मात्र नभएर हानीकारक एवं दीर्घरोग कारक पनि हुन सक्दछ ।
स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ । औषधयुक्त गाईको घ्यूमा अमला, बोझो, ब्राह्मी/मण्डुकपर्णी, गुडुची, शतावरी, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि जडबिुटि (एवं प्रक्षेप द्रव्य: मरिच, सौंफ, पिप्पली, आदि) निश्चित मात्रा राखिन्छ र विशेष विधिबाट विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा त्यार पारिन्छ ।
स्वाद र गन्धका लागि मरिच, सौंफ, पिप्पली, आदि राखिन्छ । समग्रमा स्वर्ण प्राशनका सबै घटकहरू मिलेर शरीरमा धातु निमार्णको कार्यलाई गतिशील बनाउँछ, त्रिदोषलाई सन्तुलनमा राख्दछ र शरीरको मललाई शरीबाट सम्यक रूपमा बाहिर निकाल्दछ । मनमा सत्विकता वृद्धि गराउँछ ।
कति खुवाउने त ?
मात्राको योजना चिकित्सकद्वारा बच्चाको उमेर र तौलको आधारमा निर्धारण गर्ने गरिन्छ । दैनिक रूपमा खानेहरूका लागि मात्रा एउटा तरिकाले योजना गरिन्छ भने पुष्य नक्षत्रमा मात्र खानेहरूका लागि अर्कै तरिकाले योजना गरिन्छ । विहान खाली पेटमा, सूर्योदयभन्दा पहिले नै स्वर्ण प्राशन गराउनु उत्तम मानिन्छ । सुरुको १ महिना देखि ६ महिनासम्म स्वर्ण प्राशन दैनिक रूपमै पनि दिइन्छ र त्यसपछि प्रत्येक महिनाको पुष्य नक्षमा (प्रत्येक २८ दिनमा १ पटक आउने) दिनु उपयुक्त मानिएको छ ।
२३ अगस्त सन् २०२० मा स्प्रिङ्गरको ‘बायोलोजिकल ट्रेस् एलिमेन्ट रिसर्च’ जर्नलमा स्वर्ण प्राशन सम्बन्धी प्रकााशित एक अध्ययनका अनुसार बच्चाहरूलाई सुरुको ६ महिनासम्म २/२ थोपा त्यसपछी ४/४ थोपा खुवाउनु पर्ने शास्त्रीय निर्देश छ (सामान्यत: १ मि.लि.मा २० थोपा हुनेगर्दछ) । चिकित्सकको सल्लाह लिएर महामारीको अहिलेको अवस्थामा हरेक बच्चाहरूलाई अबको १ देखि २ महिनासम्म दैनिक रूपमै खुवाउनु निकै सुरक्षात्मक हुनसक्दछ ।
स्वर्ण प्राशन गर्दाको सावधानी
स्वर्ण प्राशन चिकित्सकको सल्लाह लिएर मात्र बालबालिकामा अभ्यास गर्नुपर्दछ । चिकित्सकले बच्चाको उमेर, तौल, उचाइ, खानापान शैली, पटक पटक हुने स्वस्थ समस्या एवं रोग आदि आवश्यक केही मापदण्डहरूको अध्ययन गरेर मात्र स्वर्ण प्राशन अभ्यास गराउँछन् । पखाला चलेको, ज्वरो आएको, अपच आदि भएको बिरामी बच्चालाई स्वर्ण प्राशन गराइँदैन वा चिकित्सको सल्लाह लिएर मात्र गराइन्छ ।
त्यारी स्वर्ण प्राशन अन्य भ्याक्सिन जस्तै संवेदनशील हुने भएकोले यसलाई आफू बसेको कोठासँग मिल्ने तापक्रममै राख्नुपर्छ । धेरै तातो वा धेरै चिसोमा संरक्षण गरिनु हुन्न । जाडोमा घ्यू चिसो भएर स्वर्ण प्राशन जम्न गएमा त्यसलाई भाँडोसँगै मनतातो पानीमा राख्ने र पघ्ली सकेपछि त्यसलाई हल्लाएर मात्र पुन: प्रयोग गनुपर्छ ।
स्वर्ण प्राशनको साइडइफेक्ट
अहिलेसम्मसम्म स्वर्ण प्राशनबारेमा भएका सबै अनुसन्धानहरूले यसलाई सतप्रतिशत साइडइफेक्ट रहित देखाएको छ । स्वर्ण प्राशनमा प्रयोग भएका घटकहरूको स्वाद र गन्धका कारण केही बच्चाहरूमा उल्टी हुनुबाहेक अहिलेसम्म अन्य कुनै नकरात्मक असर भेटिएको छैन ।
नानो मेडिसिनको नानो पार्टिकल र स्वर्ण प्राशनको स्वर्ण भष्म
स्वर्ण प्राशनको प्रमुख तŒव भनेको त्यसमा प्रयोग हुने शुद्ध सुन धातु नै हो । सुन एउटा यस्तो धातु मानिन्छ जो पाचन क्रियामा गए पनि त्यसमा कुनै रसायनिक रूपान्तरण हुँदैन साथै सुनको संगठन
(कम्पोजिसन) मा पनि कुनै परिवर्तन आउँदैन ।
पछिल्ला दशकका अनुसन्धानहरूले के देखाइरहेको छन् भने आधुनिक नानो मेडिसिनमा रोगको परीक्षण एवं उपचारका लागि नानो पार्टिकलको रूपमा प्रयोग हुने सुन धातु जैवमैत्री (बायो–कम्प्याटिबल) हुन्छ ।
सुनलाई नानो पार्टिकल बनाउन विभिन्न रसायनिक विधि, इलेक्ट्रो केमिकल रेडिएसन विधि, फोटोकेमिकल विधि र जैविक विधिहरूद्वारा प्रशोधन गर्ने गरिन्छ । यसरी यी विधिबाट बनाइएको सुनको नानो पार्टिकल नानो मेडिसिनमा प्रयोगमा ल्याउँदा त्यसको शरीरमा निकै हानिकारक असरहरू हुनेहुन्छ ।
शुद्ध सुन धातुलाई जैविक तत्वहरू (बाईलोजिकल कन्जुगेट) जस्तै प्रोटिन, पेप्टाइड, फ्याटिएसिड्, एमिनोएसिड् आदिको साथमा मेडिसिनको रूपमा प्रयोग गर्दा त्यसबाट कुनै प्रकारको साइडइफेक्ट बिना सतप्रतिशत सुरुक्षित हुने गर्दछ । यसरी बनेको नानो मेडिसिनसँग एन्टी ब्याक्टेरियल, एन्टी क्यान्सर, एन्टी इन्फ्लामेटरी आदि प्रभावहरू हुने गर्दछ ।
स्वर्ण प्राशनले कसरी काम गर्दछ ?
शुद्ध सुन धातुको भष्ममा सुन धातुको नानो पार्टिकल विभिन्न सेप, साइज र कम्पोजिसनमा राखिन्छ जुन मह, जडीबुटी औषधीसिद्ध घ्यूले घेरिएको हुन्छ । यसरी घेरिएको सुनको नानो पार्टिकलले मल्टिभ्यालेन्सी देखाउने गर्दछ । साथै स्वर्ण प्राशनमा हुने विभिन्न सेप, साइज र कम्पोजिसनका सुनको नानो पार्टिकलले गर्दा नै स्वर्ण प्राशन कुनै एक रोगको विरुद्धमा मात्र नभएर धेरै खाले रोगहरूको विरुद्धमा एकसाथ नन–स्पेसिफिक एन्टीबडीरूपी जैविक इम्युनिटी उत्पादन गर्न सक्षम हुन्छ । यसै कारण स्वर्ण प्राशन कोभिड १९ का सबै खाले भेरियेन्ट वा म्युटेन्टका लागि पनि प्रभावकारी मानिन्छ ।
डेन्ड्राटिक सेललाई लक्षित गर्ने रणनीतिबाट विश्वमा धेरै इम्युनोथेरापीहरू र भ्याक्सिनहरूको विकास भएको छ । ती विधिहरू निकै प्रभावकारी पनि देखिएका छन् । त्यही रणनीति अन्तर्गत स्वर्ण प्राशनको पनि अनुसन्धान भएका छन् र वैज्ञानिकता पुष्टि गरिएको छ ।
डेन्ड्रिटिक सेल स्तनधारी जीवको इम्युन सिस्टममा हुने कोष हो जसको उत्पादन हड्डी भित्रको बोन म्यारो सेलबाट हुन्छ । यस सेलको कार्य भने शरीरभित्र शरीर बाहिरबाट आउने एन्टिजेन (संक्रामक तŒव–कोभिड १९ वा बीजातीय तŒव) लाई विभिन्न तरिकाले आफू भित्र हुल्दछ र एम्सीएच् ककप्लेक्स बनाउँछ । त्यसपछि त्यस एन्टीजेन विशेषलाई डेन्ड्रिटिक सेलले टी सेल (विशेष प्रकारको ह्वाइट ब्लड सेल) को अगाडि प्रस्तुत गर्दछ । टी सेलले प्रस्तुत उक्त एन्टिजेनको विरुद्धमा शरीरमा एन्टीबडीरूपी साइटोकाइन (रगतमा घुलनशील इम्युनी कारक तत्व आइएल ६, आइएल ७, आइएल १०, आइएल १२, आइएल २३, टीएनएफ र आइएनएफ उत्सर्जन गर्दछ । फलत: यसबाट युक्तिकृत बल
(एडप्टिभ इम्युनिटी) प्राप्त हुन्छ ।
नेपालमा स्वर्ण प्राशनको उपब्धता
स्वर्ण प्राशनको अभ्यास विशेषत आयुर्वेदीय बालरोग विशेषज्ञहरूले गराउने गरेको पाइन्छ । नेपालमा हालसम्म आधा दर्जन जति दर्तावाल विशेषज्ञ अयुर्वेद बालरोग चिकित्सकहरू छन् । अन्य विधाका विशेषज्ञ आयुर्वेदीय चिकित्सकहरू पनि यस विधिको अभ्यास गराउने आधिकारिक व्यक्तिहरू हुन् तर नेपालमा २/३ जना आयुर्वेदीय स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सकहरूले मात्र यसको औपचारिक अभ्यास गराउने गरेको तथ्याङ्क छ । त्यस अतिरिक्त केही आयुर्वेद चिकित्सकहरूले स्वर्ण प्राशन विन्दु बेच्ने एवं त्यस सम्बन्धी परामर्श दिने मात्र गरेको पाइन्छ । तयारी स्वर्ण प्राशन बिन्दु खरिद गर्न पनि मिल्छ ।
स्वर्ण प्राशन इम्युनिटी बढाउने पूर्णत: प्राकृतिक, सुरक्षित र प्रभावकारी विधि हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) का अन्य पोस्टहरु:
- भात स्वस्थकर कि रोटी ?
- हानिकारक प्रशोधित खानाको लतमा नेपाली
- बढ्दो ‘केक कल्चर’को दुष्प्रभाव
- आयुर्वेदिक औषधिको ‘एक्सपाइरी डेट’ हुन्छ ?
- रक्सीसित मासुकै सितन किन ?
- डेंगु रोगः मेवा–पातको रस र विज्ञान
- दशैंको स्वास्थ्य सुत्र
- बढी मसला हाले मिठो हुन्छ भन्ने बुझाइ नै गलत
- डेंगु रोगको उपचारमा मेवा–पात रसको वैज्ञानिक प्रामाणिकता
- लसुन र प्याज रोक्नु पछाडिको विज्ञान