मनसुनजन्य प्रकोपका कारण विगत ११ वर्षको अवधिमा नेपालमा २ हजारभन्दा धेरैले ज्यान गुमाएका छन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वि.सं. २०६८ चैत १ देखि २०७८ चैत ३१ गते सम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाका कारण २ हजार ३ सय ६२ सर्वसाधारणको मृत्यु भएको हो । यस अवधिमा ५ हजार ८ सय २५ वटा पहिरो र भारी वर्षाका घटना भएका छन् । यी घटनामा ८ सय ८० जना बेपत्ता भएका छन् भने ६१ हजार ४ सय ३२ वटा घरमा क्षति भएको छ । यसरी ११ वर्षको अवधिमा मात्रै विभिन्न विपद्बाट १९ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ मा उल्लेख छ ।
त्यसैगरी पछिल्लो तीन महिनाको अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागीका कारण १२१ जनाले ज्यान गुमाएका छन् । वि.सं. २०७९ साल वैशाख १ गतेदेखि ३२ असारसम्म विपद्का घटनाबाट १२१ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । वैशाख, जेठ र असार गरी तीन महिनाको अवधिमा चट्याङका कारण मात्रै ५० जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा आगलागीबाट १९ र पहिरोबाट १७ जनाको मृत्यु भएको प्राधिकरणको भनाइ छ ।
यस वर्ष भएका विपद्जन्य घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते छन् । तीन महिनाको समयमा विपद्मा परी १ हजार ४०३ परिवार प्रभावित भएका छन् । प्राधिकरणले बाढी पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आतंक आदिलाई विपद्का घटनामा राखेको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको निर्माण भए पश्चात् वि.सं. २०६८ सालबाट नेपालमा विपद्का घटनाहरूको व्यवस्थित रूपमा अभिलेखीकरण गर्न शुरु भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्नका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ तयार पारी सबै विषयगत निकायलाई प्रतिकार्यमा लाग्न निर्देशन दिइएको बताउँछन । विपद्जन्य घटनाको न्यूनीकरणमा काम गर्नका लागि सरोकारवाला निकायलाई कार्ययोजना मार्फत स्पष्ट रूपमा जिम्मेवारी समेत बाँडफाँट गरिएको उनको भनाइ छ । स्थानीयस्तरमा समेत विपद्बाट बच्न जनचेतना अभिवृद्धि गर्ने देखि सबै सरकारी निकायलाई विपद् प्रतिकार्यमा लगानी गर्न समेत पे्ररित गर्न थालिएको छ, उनले भने– यसमा नीजी क्षेत्रलाई पनि सहकार्यका लागि आह्वान गरेका छौं ।
यस वर्षको मनसुनजन्य प्रकोपबाट नेपालमा अनुमानित २० लाख जनसङ््ख्या प्रभावित हुन सक्ने प्राधिकरणको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
गोपालजंग थापा का अन्य पोस्टहरु:
- स्वस्थ जीवनशैलीले जोगाउँछ मुटु
- चासो शिक्षाको कि निजी विद्यालयमा रहेको लगानीको?
- बुङमतीमा वृक्षारोपण
- किन गर्न पर्छ विरोध गर्न पाउने अधिकारको संरक्षण ?
- कसरी गर्ने बिजुली चुलोको प्रवर्द्धन?
- जलवायु न्यायको प्रतीक्षा
- कर्णालीमा बाढी र पहिराको असरको अध्ययन
- बेनी जोमसोम सडक: माथि पहिरो तल उर्लिदो काली
- झपट बुढाको दुखेसो