सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा ‘मायाको चिनो’ अर्थात उपहारका रुपमा स्थापित भएको छ, ‘विजयसालको अम्खोरा’। यसलाई सुदूरपश्चिमको ‘ब्राण्ड’ अम्खोराका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ तर बहुउपयोगी रूख विजयसाल नै हराउन थालेपछि ‘ब्राण्ड’ अम्खोरा नै नपाउने त्रास बढेको छ।
जिल्लामा एक दशक अघिदेखि थालिएको पर्यटन महोत्सवले विजयसालबाट बनेका भाँडाकुँडाको महत्व बढेको हो। महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने ‘सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ ले यसको प्रबर्द्धन तथा प्रचारप्रसारमा थप टेवा पुर्यायो। उवासङ्घका अध्यक्ष जंगबहादुर मल्ल भन्नुहुन्छ, ‘उद्योग वाणिज्य सङ्घले विजयबाट निर्मित अम्खोरा लगायतका वस्तुलाई महोत्सवमा प्राथमिकता दियौं। अहिले सुदूरपश्चिमको पहिचान भएको छ।’
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विजयसालका भाडाले जिल्लाको पहिचान बढाएको जिकिर भन्दै उवासङ्घका अध्यक्ष मल्लले थप्नुभयो, ‘यो औषधिमूलक र सजावटका लागि पनि उपयुक्त छ। त्यससँगै जिल्लाको पहिचानसमेत योसँग जोडिएको छ।’
वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’ भएको विजयसाल नेपालमा मात्र होइन पश्चिमा देशमा समेत औषधीय गुणका कारण प्रख्यात छ। चिनोका रूपमा दिइने विजयसालको भाँडोमा राखेको पानी पिउँदा मुख्यतया पेट सम्बन्धी विभिन्न रोगहरू निको हुने विश्वास गरिन्छ। औषधीको रुपमा समेत प्रयोग हुन थालेपछि यसको महत्व झन बढेको छ। विजयसालको बोक्रा, खोटो र कलिला पातबाट निकालिएको रस विभिन्न रोगको उपचारका लागि औषधीमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन्।
विजयसालका भाँडामा राखिएको पानी पिउने गरेमा पेटका विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने रोग निदान गर्न प्रयोग गरिन्छ। विजयसालका भाँडामा सँधै पानी राख्दा माथिल्लो भाग नीलो, बीचको भाग रातो र पिँधको भागको रङ्ग पहेलो देखिने गर्छ। यसलाई घरघरमा सजावटको रुपमा पनि राख्न थालिएको छ।
भारत र श्रीलङ्कासमेत विजयसाल कञ्चनपुर, कैलाली र कपिलवस्तु जिल्लामा मात्र पाइन्छ। समुद्र सतहदेखि एकहजार मिटरको उचाइमा चुरे शृङ्खलाको फेदमा भावर क्षेत्रमा विजयसालका रूख पाइन्छ। तर पर्याप्त जनचेतनाका अभावका कारण घाँस दाउराको रूपमा प्रयोग हुँदै जाँदा यो मासिदै गएको छ। वन विभागले विश्व वन्यजन्तु कोषसँग मिलेर विजयसाल संरक्षणको कार्यनीति २०१८-२०२२ बनाए पनि कञ्चनपुर त्यसको खासै प्रभाव देखिएको छैन।
२०५७ सालमा भीमदत्त नगरपालिकाको भाँसीमा मेरिट काष्ट उद्योग सञ्चालन गरि विजयसालका भाँडा बनाइरहनु भएका व्यवसायी गणेशदत्त बोहरा भन्नुहुन्छ, ‘दाउरा घाँसमा प्रयोग हुने विजयसाल औषधीका रुपमा प्रयोग हुन थालेको थियो, बल्ल सदुपयोग हुन थालेको थियो तर अहिले सहजै पाइदैन।’
कञ्चनपुरको झलारी, दैजी, सिसैया, भगतपुर, भाँसी लगायतका ठाउँमा विजयसालका भाँडाकुँडा उत्पादन हुने गर्छन। तर अरुले मेरिष्ट काष्ठ उद्योग जस्तो व्यावसायीकता दिएका छैनन्। चुरे क्षेत्रमा पाइने विजयसाल मासिदै गएपछि यो व्यवसाय सङ्कटमा पर्दै गएको उनीहरूको अनुभव छ। पर्याप्त रुपमा विजयसालको काठ नपाउने गरेको व्यवसायीहरू बताउँछन्। सामुदायिक वन र राष्ट्रिय वनमा सुकेका र ढलेका रूख मुस्किलले पाइन्छन्। वन र आरा मिलबाट खरिद गर्ने गरेका व्यवसायीको विजयसालको कच्चा पदार्थ अप्रयाप्त भएको गुनासो छ। विजयसालको महत्व बढ्दै जाँदा लोप हुने खतरा समेत बढ्दै छ।
विजयसालको उपलब्धता घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्ल भन्नुहुन्छ, ‘जिल्ला वन र सामुदायिक वनले यसको संरक्षणमा भूमिका खेल्नु पर्छ। कटानी मात्रै नभएर वृक्षारोपण आवश्यक छ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राजेन्द्र भट्ट/ महेन्द्रनगर का अन्य पोस्टहरु:
- शुक्लाफाँटालाई घाँडो भो कृष्णसार, पाँच गुणा बढे, अब के गर्ने ?
- पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता
- फेरि उड्न थाल्यो प्रकृतिको कुचिकार
- हात्तीले मर्छकाई लैग्यो लालझारीका केला
- शुक्लाफाँटाका पुतली पहिलो पटक पुस्तकमा
- ‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर: चरेसबाट ब्राउन सुगरमा फड्को
- किन सम्झने भीमदत्तलाई?
- लोप हुन लाग्यो रानाथारूको साउने डोला
- बाघ दिवसः विश्वसामु नेपालको इज्जत जोगाउने शुक्लाफाँटा
- भाँचियो ठाडी भाखाको मेरुदण्ड