पाथीभरा दर्शनलाई सजिलो बनाउने मानव ट्याक्सी : हिँड्न नसक्नेलाई सुविधा, बोक्नेलाई गजबको आम्दानी

आदित्य दाहाल

हर्क राई काफ्लेपाटी देखि पाथीभरासम्मको पाँच किलोमिटर उकालोमा दौडिरहेका छन्। उकालो चढ्न नसकेर बिसौनीमा सुस्ताइरहेका यात्रुलाई हौस्याउँदै छन्। उनी भन्छन्, ‘हिँड्न गाह्रो भएको भए हामी छौँ नि !’

हर्कजस्तै पाथीभराको गुराँस संरक्षण क्षेत्रको मनमोहक उकालोमा लोकगीत घन्काउँदै यसरी यात्रुलाई भरोसा दिने मानव ट्याक्सीको संख्या सयौँमा छ। पूर्वी नेपालको लोकप्रिय धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न हिउँदको सिजनमा दिनमा ८ देखि १० हजार यात्र पुग्छन्। शुक्रबार र मंगलबार त यो संख्या अझै बढ्छ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका– १० मा पर्ने पाथीभरा देवीका कारण पूरै मेची पहाडमा पर्यटकीय गतिविधि बढेको छ। तर, त्यहाँ पुग्न सुविधाजनक सडक छैन। ताप्लेजुङको सुकेटार विमानस्थलदेखि काफ्लेपाटीसम्मको १० किलोमिटर कच्ची सडकको सेवा लिएर तीर्थयात्रीहरू मुस्किलले त्यहाँ पुग्दछन्। काफ्लेपाटीबाट पाथीभरा मन्दिर पुग्न करिब ५ किलोमिटर कठिन र ठाडो उकालो पैदल नै पार गर्नुपर्छ।

यो पर्यटकीय तथा धार्मिक स्थलसम्म पुग्ने यात्रीका लागि त्यही कठोर उकालो बाटोमा सेवा दिन हर्कजस्तै मानव ट्याक्सी उपलब्ध छन्। ‘धर्म पनि हुने आम्दानी पनि हुने,’ ताप्लेजुङको एक पश्चिम गाउँबाट त्यहाँ पुगेका अर्का दावा शेर्पा भन्छन्, ‘म सिजनमा मात्रै यता आउँछु। १५ दिन यहाँ मानव ट्याक्सी सेवाका लागि खट्छु। एक लाख कमाउँछु, फर्किन्छु। ’

होटल व्यवसायी महासंघ नेपाल, इकाइ पाथीभरा क्षेत्र ताप्लेजुङद्वारा सञ्चालित होटल व्यवसायीहरूको संगठनले तीर्थयात्रीलाई सेवा प्रदान गर्न मानव ट्याक्सी दर्ता प्रणाली नै बनाएको छ। दर्ता प्रणालीको उद्देश्य व्यवस्थित होस् भन्ने हो।

काफ्लेपाटी, गुराँसे र माथिल्लो फेदीमा करिब तीन दर्जन होटल सञ्चालनमा छन्। उच्च लेकाली भेगमा सञ्चालित ती होटलले तीर्थयात्रीलाई सेवा दिन्छन् भने उकालो चढ्न नसक्ने यात्रु र माथिसम्म सामान बोक्न साथ दिने मानव ट्याक्सीको पनि व्यवस्था गरिदिन्छन्।

‘हामीजस्ता मानव ट्याक्सी करिब ५ सयको संख्यामा दर्ता छन्,’ मानव ट्याक्सी पदम तेम्बे भन्छन्, ‘दर्ता हुन र नवीकरण गर्न वर्षको ५ सय रुपैँया कर तिर्नुपर्दछ। ’

मानव ट्याक्सीले काफ्लेपाटीबाट पाथीभरासम्म यात्री तथा सामान पुर्याएको एक केजीको १ सय रुपैँया लिने गरेका छन्। यो शुल्क एकतर्फी हो। समितिले नै काफ्लेपाटीबाट पाथीभरासम्मको दुइतर्फी सेवाको लागि प्रतिकेजी दुई सय रुपैँया निर्धारण गरिएको तेम्बे बताउँछन्। यस्तो सेवा लिएबापत ९० केजीको मानिसलाई उकालो पार गराई पाथीभरा माताको दर्शन गरी फर्कन १८ हजार रुपैँया लाग्छ।

‘कुनै दिन त दुई पटक उकालो–ओरालो गर्ने टिप पाइन्छ। तर, सधैं भने यस्तो काम पाइँदैन। खाली भए पनि हामी उकालो–ओरालो गरिरहन्छौँ,’ पदम सुनाउँछन्, ‘जुनसुकै ठाउँमा पनि सेवा चाहिए उपलब्ध हुन्छौँ। दूरीअनुसार शुल्क तय गरेका छौँ। तर प्रतिकेजी ५० रुपैँयाभन्दा कम हुँदैन। ’

मानव ट्याक्सी सञ्चालनार्थ ५ सय जति दर्ता र नवीकरण भए पनि नियमित रूपमा भने ७५ जनादेखि १ सयसम्म हुने गरेका छन्। ३ हजार ७९४ मिटरको उचाइँमा रहेको पाथीभरा मन्दिरको दर्शन गर्न विभिन्न जिल्लाबाट तीर्थयात्री आउने गर्छन्। हिमाली तथा ग्रामीण क्षेत्रका मानिसलाई उकालो चढ्न तुलनात्मक रूपमा सहज भए पनि तराईका मानिसलाई गाह्रो हुन्छ। यसका लागि यस क्षेत्रमा मानव ट्याक्सीको व्यवस्था गरिएको छ। यसको सेवा वृद्धवृद्धाले बढी लिने गरेका छन्। ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्य दाहाल का अन्य पोस्टहरु:
पाथीभरा दर्शनलाई सजिलो बनाउने मानव ट्याक्सी : हिँड्न नसक्नेलाई सुविधा, बोक्नेलाई गजबको आम्दानी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link