श्रीस्वस्थानी व्रतकथा मेला आजबाट सुरु

आदित्य दाहाल

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीहरूको श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना आजबाट सुरु भएको छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिएको छ । 

समितिले विगतको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै यो वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि शान्ति सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । 

यस्तो छ स्वस्थानीको महिमा

राजधानीबाट उत्तर पूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तिर्थयात्रीहरु मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रत कथामा उल्लेख छ । उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोक कल्याणका निम्ति यो व्रत कथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ । 

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । 

एकतीस अध्याय रहेको यस श्री स्वस्थानी व्रत कथाको बाह्रौँ अध्यायमा श्री स्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्री स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोग व्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

राजधानीमा श्री स्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणीबहाल भित्रसमेत छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल सम्वत ७९४ मा स्थापना गरिएको मूर्ति पदमा उल्लेख छ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्री स्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्ष प्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रत कथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ । 

परम्परादेखि नै श्री स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।

शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय पवन श्रेष्ठले बताउनुभयो । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।  

मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतबन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचानको रूपमा स्थापित छ । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्य दाहाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link