सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता हुनासाथ उनीहरु निलम्बनमा नपर्ने स्पष्ट पारेको छ। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगमाथि बिहीर पूर्णपाठमार्फत यस्तो स्पष्ट पारेको हो।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गत मंसिर ७ मा फैसला गरेको भए पनि फैसलाको पूर्णपाठ भने बिहीबार मात्रै सार्वजनिक भएको हो।
स्मरण रहोस्, २०७४ वैशाखमा १७ मा प्रतिनिधिसभामा एक चौथाइभन्दा बढी सांसदले तत्कालीन प्रहरी महानिरीक्षकको बढुवाबारे सर्वोच्च अदालतको फैसलाबाट असन्तुष्ट बनेपछि कांग्रेस र माओवादी केन्द्रका सांसदले तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। यसविरुद्ध २०७४ साउन ५ मा अधिवक्ताहरु सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपाउनेले रिट दर्ता गरेका थिए। उक्त रिटमा व्यवस्थापिका संसद, तत्कालीन सभामुख, संसद् महासचिव, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संसदीय दलको कार्यालयसमेतलाई विपक्षी कायम गरिएको थियो।
२०७४ वैशाख २० मा सर्वोच्च अदालतमा दर्ता भएको यो रिटमाथि तत्काली न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले कारण देखाऊ आदेश जारी गरी सुविधा सन्तुलनका आधारमा प्रधानन्यायाधीश कार्कीलाई यथावत् पदमा रही काम गर्न बाटो खोलिदिएको थियो।
‘महाभियोगसम्बन्धी अधिकारी संवैधानिक मर्यादा कायम राख्ने सन्दर्भमा संविधानसम्मत तवरबाट अपवाद अवस्थामा प्रयोगमा ल्याउन सकिने व्यवस्था हो,’ पूर्णपाठमा भनिएको छ, ‘महाभियोगको कुरालाई न्यायपालिकाउपर हस्तक्षेप वा नियन्त्रण गर्ने माध्यम बनाइनुहुँदैन। यसलाई न्यायिक निष्ठा कायम राख्ने, स्वेच्छारिता हुन नदिने, खराब आचरण भएबापत उत्तरदायित्व वहन गराउने र न्यायिक सक्षमता कायम राख्ने माध्यमको रुपमासम्म पर्याप्त आधार र कारण विद्यमान रहेको अवस्थामा असल नियतले प्रयोग गर्न सकिन्छ।
पूर्णपाठका मुख्य बुँदा यस्ता छन् :
–प्रधानन्यायाधीश कार्कीउपर महानिरीक्षकको बढुवासम्बन्धी रिट निवेदनमाथिको निर्णयलाई आधार बनाएर महाभियोग प्रस्ताव दर्ता गरिएको छ। सो विषयमा निर्णय गर्दा प्रधानन्यायाधीशबाट के कसरी संविधान र कानुनको गम्भीर उल्लंघन हुन गयो वा कसरी कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कत्र्तव्यको पालना नगरेको, आचारसंहिताको उल्लंघन गरेको भनी खुलाउन सकेको देखिँदैन।
–वस्तुनिष्ठ आधार वा कारणको अभावमा महाभियोगको प्रस्ताव न्यायिक स्वतन्त्रताको विरुद्ध हुन्छ। यस्तो अवस्थामा न्यायपालिका उपरको जनआस्था कायम रहन सक्दैन।
–विवादित महाभियोगको प्रस्ताव संविधानको भावना प्रतिकूल छ। महाभियोग दर्ता हुनासाथ कारबाही प्रारम्भ भएको मानी निलम्बन गर्ने कुरा पनि युक्तिसंगत देखिँदैन।
–सामान्यता महाभियोग संसद्को क्षेत्राधिकारको विषय हो। तर कुनै बदनियत, राजनैतिक आग्रह–पूर्वाग्रह राखेर, राजनीतिक उद्देश्य परिपूर्तिका लागि या स्वतन्त्र न्यायपालिकालाई नियन्त्रण गर्न, प्रभावमा पार्न महाभियोग प्रयोग गरिएमा सो विषय न्यायिक पुनरावलोकनको विषय बन्न सक्छ।
–आफैँ व्याख्या गरेर आफ्नो विशेषाधिकार विस्तृत गर्न संसद्ले पाउँदैन।
–कुनै विशेषाधिकारका कारणले उक्त विशेषाधिकार असीमित वा अगम्य छ भन्न मिल्दैन।
–संसदीय विशेषाधिकारको विषय उठाएर संविधान वा कानुनको व्याख्या गर्ने अदालती अधिकारलाई सीमित गर्न मिल्दैन।
–महाभियोगको प्रस्ताव प्रतिशोधपूर्ण धारणाको उपज हो भन्नेमा द्विविधा छैन।
–न्यायपालिकाबाट गरिएका आदेश र फैसलाको विषयलाई लिएर कुनै पनि कारबाही वा प्रस्तावको नाममा संसद्लगायत अन्य कुनै निकायले हस्तक्षेप गर्न मिल्दैन। महाभियोग वा अन्य कुनै सन्दर्भमा अदालतबाट भएको फैसला वा आदेशको कुरालाई लिएर कारबाहीको विषय बनाउँदा न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा गम्भीर आघात पर्न जान्छ। त्यसैले महाभियोग प्रस्ताव स्वयंमा संविधानप्रतिकूल देखिन्छ।
–फैसलाको औचित्यमा प्रवेश गरी महाभियोग लगाउने वा संसद्ले छानबिन गर्न पाउने हो भने परिणामतः संसद् अदालतको फैसला जाँच्ने र पुनरावेदन जाँच्ने तहमा परिणत हुन पुग्छ। सो अवस्थालाई सुखद र शक्तिपृथकीकरणको सिद्धान्तअनुकूल मान्न सकिँदैन।
–संविधानमा रहेका प्रावधानअनुकूलका उचित र पर्याप्त आधार तथा कारण विद्यमान भएमा न्यायाधीशउपर पनि महाभियोग लगाई पदबाट हटाउन सकिन्छ। तर, यो जथाभावी चलाउने वा प्रतिशोधको भावनाले प्रयोग गर्ने हतियार होइन। साथै अदालतमा विचाराधीन मुद्दा वा न्यायिक निर्णयमा भएको असन्तुष्टिलाई आधार बनाएर पनि महाभियोग लगाउन मिल्दैन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
