काँकरभित्ता–लौकाही सडक चार लेनको बनाउन एडिबीद्वारा ३० करोड डलर ऋण दिने निर्णय

एडिबीले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण सहयोग गरेको हो

एसियाली विकास बैंक (एडिबी)ले ३० करोड अमेरिकन डलर प्रदान गर्ने भएसँगै काँकरभित्ता–लौकाही सडक विस्तार हुने भएको छ। विस्तारित सडक अन्तर्राष्ट्रियस्तरको हुने र उक्त सडकमा ट्राफिक संकेत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् भने सडक चार लेनको हुने छ।

मनिलास्थित बैंकको प्रधान कार्यालयले गत बुधबार ऋण स्वीकृत गरेसँगै पूर्व–पश्चिम राजमार्ग बन्ने निश्चित भएको हो।

एडिबीले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण सहयोग गरेको हो। भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका लागि एडिबीले ऋण उपलब्ध गराउने निर्णय गरेको हो।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रूपमा पूर्व–पश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने बताइएको छ। काँकरभित्तादेखि सुनसरीको लौकही सडकखण्डअन्तर्गतको ९५ किलोमिटर सडक दुई लेनबाट चार लेनमा विस्तार गरिने छ। यसमा ६ वटा आधुनिक पुलसहित अन्य पुल निर्माण हुने छन्।

त्यस्तै झापाको चारआली र बिर्तामोड तथा सुनसरीको इटहरीमा अन्डरपास निर्माण गरिने छ। यो आयोजनासँगै एडिबीले जलवायु परिवर्तन सुधार, सडक परियोजना, पर्फर्मेन्स इन्डिकेटरलगायत प्राविधिक सहयोगका लागि अतिरिक्त साढे ७ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।

उक्त सडक बिस्तारका लागि यसअघि नै बोलपत्र आव्हान भएर विभिन्न कम्पनीले निर्माणका लागि प्रस्ताव पत्रसमेत दर्ता गरिसकेका छन्। हाल पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दुई लेन (क्यारिजवे) को सडकमा दैनिक १४ हजार सवारीसाधन ओहोर दोहोर गर्ने गरेका छन्। सन् २०४१ सम्ममा यो सडकमा ४८ हजार ८ सय सवारीसाधन गुड्ने एडिबीको प्रतिवेदनमा उल्लेख छ।

निर्माण गरिने सडक मध्य भागमा विभाजित हुने छ। सहरी क्षेत्रमा सेवा लेन, फुटपाथ, साइकल लेन हुने छ। परियोजनामार्फत, सुधार ज्यामिति, फुटपाथ, ढल निकास, सडक सुरक्षा, र जलवायु तथाच प्रकोप प्रतिरोधी सुविधाहरूसहित बढ्दो यातायातको मागलाई समायोजन गर्न सडकलाई दुई लेनको दोहोरो क्यारिजवेमा स्तरोन्नति गरिने भएको छ।

सडक निर्माणका क्रममा हिँड्ने, साइकल चलाउने वा सार्वजनिक यातायातको प्रयोग गर्ने महिला र बालबालिकालगायत जोखिममा रहेका सडक प्रयोगकर्ताहरूको सुरक्षामा सुधार गर्न जंक्सनहरूमा ग्रेड पृथकीकरण वा ट्राफिक संकेत अपनाइनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
काँकरभित्ता–लौकाही सडक चार लेनको बनाउन एडिबीद्वारा ३० करोड डलर ऋण दिने निर्णय
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link