कोशी प्रदेशमा पुनः उद्धव थापा नै मुख्यमन्त्री

सुरेन्द्र भण्डारी/झापा

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनु भएको छ।  नेपाली कांग्रेस कोशी संसदीय दलका नेता समेत रहनु भएका थापा  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएसँगै मुख्य मन्त्रीमा नियुक्त हुनु भएको हो। थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार नियुक्त गर्नुभयो। थापालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदको समर्थन रहेको छ।
यस अघि पनि कोशी प्रदेशको मुख्य मन्त्रीमा थापा नियुक्त हुनु भएको थियो। तर, सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेका कारण २२ दिनमै मुख्यमन्त्रीबाट उहाँ बर्खास्त हुनु भएको थियो। तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। तर, साउन ११ गते संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले सो नियुक्ति खारेज गरिदिएको थियो।
अदालतबाट बर्खास्तमा पर्नु भएका थापालाई मुख्यमन्त्री बनाउन र गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमले आज नै पदबाट राजीनामा दिनुभएको थियो। यसअघि सभामुख गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गर्नु भएको थियो। तर, अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उहाँ माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद भएका छन्। सोही आधारमा गठबन्धनले मुख्यमन्त्रीका लागि दावी पेश गरेको थियो।
थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो। झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुनुहुन्छ। उहाँ नेपाली कांग्रेस कोशी प्रदेश सभापति समेत हुनुहुन्छ।
कोशी प्रदेशसभामा एमालेका ४०, काङ्ग्रेसका २९, माओवादीको सभामुखसमेत १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद रहेका छन्।  सरकार गठनको लागि सभामुखले राजीनामा दिएपछि गठबन्धनले सहज बहुमत जुटाएको भएपनि विश्वासको मत लिन भने सहज देखिदैन।  सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
गौतमलाई क्याबिनेटमा मन्त्री बनाउने आश्वासन
कोशी प्रदेशमा सरकार निर्माणमा सहजताका लागि सभामुख बाबुराम गौतमले पदबाट आजै राजीनामा दिनु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेतासँग छलफल पछि उहाँले उहाँले पदबाट राजीनामा दिनु भएको थियो।
काठमाडौंबाट विराटनगर फर्किएलगत्तै प्रदेश सभा सचिवालयमा पुगेर उहाँले  पदबाट राजीनामा दिनु भएको हो।  गौतमले आफ्नो राजीनामा पत्र प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई बुझाउनु भएको थियो। सभामुखबाट हटेपछि नयाँ क्याबिनेटमा गौतमलाई मन्त्री बनाउने आश्वासन पाएको बताइएको छ।
सभामुख गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट प्रदेशसभामा निर्वाचित हुनु भएको थियो।  नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा निर्वाचित भएका उहाँ  २०७९ पुस २९ गते सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएको हो।
प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा सरकार गठन भएको हो। 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link