झापामा डिआइजीका घुमुवाको दबदबा, डिएसपी कटुवालको संयोजकत्वमा बन्यो छानबिन समिति

सुरेन्द्र भण्डारी/झापा

फलाेअप स्टोरी:

सशस्त्र प्रहरी बल नेपाल कोशी (बराह बाहिनी) का प्रहरी नायव महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेलले आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने मानक स्थापना गर्ने बताएका थिए ।

गत मंसीर १८ गते झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट नेपाल–भारत सीमा नाका छुट्टाउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्यको शुभारम्भ गर्दै डिआइजी पोखरेलले सशस्त्र प्रहरीले घुस नखाने प्रतिबद्धता जनाएको साता बित्न नपाउँदै उनैले घुमुवाका रूपमा झापामा खटाएका सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र ) ले तस्करीको सेटिङ मिलाउने र रकम असुल्ने गरेको खुलेको हो ।

डिआइजी पोखरेल आफैँले खटाएका प्रहरी कुँवरले झापामा अवैध असुलीका लागि सेटिङ मिलाउने काम गरेसँगै डिआइजीको बोली र व्यवहारमा फरक देखिएको हो । डिआइजी पोखरेलले विश्वास पात्रका रूपमा खटाएका सिकेन्द्रले असुली धन्दा चलाउने गरेसँगै सशस्त्र प्रहरी बल नेपाल कोशी (बराह बाहिनी)का प्रहरी नायव महानिरीक्षक (डिआइजी)को बोली एउटा र व्यवहार अर्को देखिएको हो ।

डिआइजीबाट परिचालित घुमुवा सिकेन्द्र आफैँले तस्करीमा संलग्न साना कारोबारीका सबै कारोबार ठप्प पार्दै ठुला कारोबारीसँग मात्र साँठगाँठ गर्ने र सामान वारिपारि गर्ने प्रबन्ध मिलाउन सहयोग पुर्याउने गरेको स्रोतको दाबी छ । उनले माथिको आदेश भन्दै झापामा कार्यरत सशस्त्र प्रहरीलाई समेत दुःख दिने गरेको प्रहरी स्रोतकै दाबी छ । जिल्लाको घुमुवा भएर काम गरिसकेका उनले भद्रपुर र काँकडभिट्टासहितका नाकाबाट भित्रिने र बाहिरिने सामग्रीको लाइन मिलाउने काम गर्दै आएको बताइन्छ । सो बापत उनले मोटो रकम असुल्ने गरेको श्रोतको दाबी छ ।

पूर्वी नाका काँकडभिट्टामा कार्यरत रहँदा एचएमसी होटलसँग साँठगाँठ गर्दै भारु पैसा ओसारपसारमा समेत उनी संलग्न भएका थिए । योसँगै उनले तस्करीमा समेत सहयोग पुर्याउँदै आएका थिए । काँकडभिट्टा हुँदा उनको ठुला तस्कर समूहसँग राम्रो सम्बन्ध थियो ।

डिआइजी पोखरेलको विश्वास पात्र बनेका सिकेन्द्रको सरुवा सिन्धुपाल्चोक भए पनि उनी शक्तिको प्रयोग गर्दै झापामा बसेका छन् । झापामा दबदबा जमाएर बसेका उनीसँग सशस्त्र प्रहरीका अधिकृतहरू नै हच्किने  गरेका छन् ।

भद्रपुरबाट केही समय अघि उनलाई मन नपरेका अर्थात् नजराना नबुझाउने व्यापारीको सामान बरामद गर्दै उनै सिकेन्द्रले राजश्व कार्यालय पठाएका थिए । तर, उनलाई नजराना बुझाउने व्यापारीको भने उनले संरक्षण गर्दै आएको सशस्त्र प्रहरीहरूकै भनाइ छ ।

झापामा सिकेन्द्रकै कारण सशस्त्र प्रहरी दुई गुटमा विभाजित छ– एक सशस्त्र प्रहरीले भने– सिकेन्द्रकै डरले गणले घुमुवा समेत खटाउन सकेको छैन ।

यता सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको विषय सार्वजनिक भएसँगै सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश कटुवालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।

सशस्त्र प्रहरी नम्बर २ गण झापाले छानबिन समिति गठन गरेको गणका सशस्त्र प्रहरी नायव उपरीक्षक वालकृष्ण श्रेष्ठले जानकारी दिए । गठित समितिले काम सुरु गरेको बताइएको छ । सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुमार खड्काले तोडेसँगै सशस्त्र प्रहरी विवादमा परेको हो ।  

दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी र अर्जुनधारा नगरपालिका–५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहित ट्याक्टर र अर्जुनधारा–३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानी घुस रकमसहित पक्राउ परेपछि घटना सार्वजनिक भएको थियो । सोही घटनाका विषयलाई लिएर छानबिन समिति बनेको हो ।  

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
झापामा डिआइजीका घुमुवाको दबदबा, डिएसपी कटुवालको संयोजकत्वमा बन्यो छानबिन समिति
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link