स्वास्थ्यकर्मीको लापरवाहीले सृजनाको ज्यान गयो, ३५ लाख क्षतिपूर्ति

सुरेन्द्र भण्डारी/झापा

बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्यकर्मीको  लापरवाहीले बिरामीको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएकी सृजना संग्रौलाको मृत्यु भएको छ । उनको बुधवार अपरान्ह ३:४० मा मृत्यु भएको बिर्तासिटी अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिनुभयो ।
बिर्तामोड १ स्थित २७ वर्षीया संग्रौलालाई प्रसूति गराउन गत साउन २७ गते मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भए लगत्तै सृजनाको शल्यक्रियापछि शिशु (छोरी) निकालिएको थियो । तर, शल्यक्रियाको एक घण्टापछि उच्च रक्तचापका कारण सृजनाको ब्रेन ह्यामरेज भएर त्यहाँ उपचार सम्भव नभएसँगै सृजनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल रिफर गरिएको थियो ।
यता सृजनाको शल्यक्रिया गर्ने चिकित्सक डा. एकराज गौतमको लापरवाहीका कारण सृजनाको उच्च रक्तचापसँगै ब्रेन ह्यामरेज भएको भन्दै डा गौतमलाई कारवाहीको माग सहित सोमबार र मंगलबार मनमोहन अस्पतालमा उनका आफन्तले आन्दोलन चर्चाएका थिए ।
सृजनालाई मृत्युशय्‍यामा पुर्‍याएको भन्दै उनका आफन्तले आन्दोलन चर्काएसँगै पीडित परिवार र अस्पताल प्रशासनबीच ३५ लाख रुपैयाँ लिने सहमति पछि आन्दोलन स्थगित भएको थियो । सृजना सोही अस्पतालको एनआईसीयू वार्डमा कार्यरत नर्स भएको र उनको उपचार तथा नवजात शिशुको शिक्षा र स्वास्थ्यका लागि अस्पतालले ३५ लाख रुपैयाँ दिने सहमति गरेको थियो ।
सृजनाले यस अघि बिर्तासिटी अस्पतालमा पनि आईसीयू वार्डमा लामो समय काम गरेकी थिइन् । 

सम्बन्धित समाचारः नवजात शिशु र परिवारलाई ३५ लाख दिने सहमति, आमाको भेन्टिलेटरमा राखेर उपचार हुँदै

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
स्वास्थ्यकर्मीको लापरवाहीले सृजनाको ज्यान गयो, ३५ लाख क्षतिपूर्ति
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link