एक वर्षमा विपदमा परी ५७ जनाले गुमाए ज्यान, साढे ६ अर्बभन्दा बढीको क्षति

सुरेन्द्र भण्डारी/झापा

बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनावर, हावाहुरीजस्ता विपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अर्बौं रुपैयाँको क्षति भएको छ।

आर्थिक वर्ष (आव) २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा विपद्जन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो। विपद्जन्य घटनाका कारण अघिल्लो आव २०७८/ ०७९ मा ३४ जनाले ज्यान गुमाएका थिए। तर, आव २०७९/०८० मा यो संख्या बढेर ५७ पुगेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारण कोशी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष यो अवधिमा ५ जनाले ज्यान गुमाएका थिए।

यता चट्याङका कारण आव २०७९ /०८० मा ९ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएका थिए। आगलागीका कारण आव २०७८ /०७९ र २०७९ /०८० भित्र ज्यान गुमाउनेको संख्या ३० रहेको छ। यसैगरी आव २०७८/०७९ र २०७९ /०८० मा १५/१५ जनाले ज्यान गुमाएका हुन्।

हावाहुरीका कारण पछिल्लो दुई वर्षमा कसैले पनि ज्यान नगुमाए पनि आव २०७७/०७८ मा एक जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

विपद्जन्य घटनामा परी कोशी प्रदेशमा हरेक वर्ष अर्बौं रुपैयाँको क्षति हुने गरेको पाइएको छ। आव २०७९ /०८० मा मात्रै बाढी पहिरोका कारण पाँच अर्ब ३४ करोड, ७१ लाख, २५ हजार ४ सय रुपैयाँबराबरको क्षति भएको छ। अघिल्लो आवको सो अवधिमा एक अर्ब ८० करोड ६५ लाख ६४ हजार १ सय ७० रुपैयाँबराबरको क्षति भएको थियो। तर, आव २०७९ /०८० मा बाढीजन्य विपद्का कारण झन्डै पाँच गुणा बढी धनमालको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बाढीका कारण एक आवमा कोशी प्रदेशमा तीन हजार ३८ घरसमेत प्रभावित भए। बाढीका काण दुई हजार २ सय ८९ स्थानमा क्षति पुर्याएको थियो।

त्यस्तै चट्याङका कारण पछिल्लो एक वर्षमा ९ जनाले ज्यान गुमाए। अघिल्लो आवमा ६ जनाले ज्यान गुमाए पनि आव २०७९ /०८० मा चट्याङका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको हो।

यस्तै चट्याङका कारण १९ घर प्रभावित भएका थिए भने ९८ लाख ७४ हजार मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ। अघिल्लो आवमा ७ घर प्रभावित हुँदा १२ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको थियो।

यता आगलागीका कारण आव २०७९ /०८० मा १५ जनाले ज्यान गुमाएका छन् भने एक अर्ब १३ करोड ८१ लाख ८८ हजार ७ सय ७४ रुपैयाँको क्षति भएको छ। अघिल्लो आव २०७८/०७९ मा ७ करोड ७५ लाख तीन हजार ४ सय ९६ रुपैयाँको क्षति भएको थियो।

यस्तै, जंगली जनावरको आक्रमणमा परी कोशी प्रदेशमा आव २०७९/०८० मा १० जनाले ज्यान गुमाएका छन्। पूर्वका एक सय ५० स्थानमा जंगली जनावरको आक्रमणमा परी उनीहरुले ज्यान गुमाएका हुन्। आव २०७८/०७९ मा समेत जंगली जनवारको आक्रमणमा परी ८ जनाले ज्यान गुमाएका थिए।

पछिल्लो एक वर्षमा ९१ लाख ३ हजार तीन सय रुपैयाँबराबरको धनमालमा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

यता हावाहुरीका कारण आव २०७९/०८० मा १६ करोड १७ लाख ७० हजार रुपैयाँको क्षति भएको छ। मानवीय क्षति नभए पनि एक वर्षमा हावाहुरीका कारण १६ करोड रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link