के हो कणिक ऋषिको शत्रु दमनको निर्मम नीति?

शत्रुलाई कसरी व्यवस्थापन गर्ने र आफ्नो स्वार्थ सिद्धि गर्ने भन्ने कणिकको कूटनीतिक तरिका

हरिविनोद अधिकारी

कणिक नीति, कणिक ऋषिले प्रतिपादित गरेको नीति। व्युत्पत्तिमूलक नेपाली शब्दकोश (नीलमणि ढुङ्गाना—२०७५) ले कणिकको अर्थ यस्तो लेखेको छ —राजनीति तथा अध्यात्म विषयका विशेषज्ञ एक मुनि। पाण्डवको उत्कर्ष देखेर चिन्तित धृतराष्ट्रलाई यिनले उपदेश दिएका थिए( महाभारत, आदिपर्व अध्याय १३९)।

महाभारतको आदिपर्वको  १३९औँ अध्याय (गीताप्रेस संस्करण) मा कणिकले महाराजा धृतराष्ट्रलाई कूटनीतिक उपदेश दिएका छन्। युवराज पदको अभिषेकपछि युधिष्ठिरमा बुद्धि, शौर्य, धैर्यता, दयालुपन, नम्रता, स्थिरता र जनताप्रतिको अविचल प्रेम बढ्दै गयो। हस्तिनापुरबासी तथा सम्पूर्ण भारतवर्षले युधिष्ठिरमा दिवंगत महाराज पाण्डुको झझल्को महसुस गर्न थालियो। युवराज युधिष्ठिरको शील, सदाचार र विचारशीलबाट जनतामा प्रभाव पर्न थाल्यो।

भाइ भीमसेनले श्रीकृष्णका दाजु बलरामसँग खड्ग, गदा र रथयुद्धको विशिष्ट शिक्षा प्राप्त गरे। युद्धकलाको शिक्षा प्राप्तिपछि उनी पनि राज्यको हेरचाहमा लागे। गुरु द्रोणाचार्यको धारणामा विशिष्ट शस्त्रास्त्र सञ्चालन गर्न र युद्धकलामा अर्जुन बराबर धनुर्धारी कोही पनि छैन। एक दिन कौरवको राजसभामा गुरु द्रोणाचार्यले भने— म अगस्त्यका प्रिय शिष्य अग्निवेशको शिष्य हुँ। मैले गुरु अग्निवेशबाट ब्रह्मशिर नामको अस्त्र पाएको थिएँ जुन मैले अर्जुनलाई दिएँ। अब मैले अर्जुनसँग गुरु दक्षिणा माग्नुछ। अर्जुनले पनि गुरु द्रोणाचार्यलाई भने— हजुरले जे माग्नु हुन्छ, त्यो दिनका लागि म तयार, कटिबद्ध र प्रतिबद्ध छु। अनि द्रोणाचार्यले हाँसेर भने— तिमी सम्पूर्ण युद्धकलामा निपुण भइसकेका छौँ, सम्पूर्ण शस्त्रास्त्रमा निपुण भइसकेका छौँ, त्यसैले मलाई तिम्रो एउटा वचन चाहिएको छ, त्यो के हो भने अब कुनै कारणले मैसँग युद्ध गर्नु परे पनि, लड्नु पर्‍यो भने पनि विना हिच्किचाहट लड्नु सक्नु पर्छ, लड्नै पर्छ। अर्जुनले पनि वचन दिए— यदि गुरुसँग युद्ध गर्नु परे पनि हजुरको आशीर्वादले म लड्न सक्षम हुनेछु। यतिभन्दै गुरुको आशीर्वादको लागि चरणमा ढोगे। राजसभामा यसप्रकारको वार्तालापपछि सर्वत्र हल्ला चल्यो कि अर्जुन बराबरको धनुर्धर अरु कोही छैन।

त्यसो त सहदेवले पनि गुरु द्रोण र देवताका गुरु वृहस्पतिसँग नीतिशास्त्र पढेका थिए र भविष्यमा के हुनेछ भन्ने समेतको ज्ञान अन्तर्निहित रहेका बुद्धिमानका रुपमा गणना गरिएका थिए। नकुलले पनि गुरु द्रोणसँग सम्पूर्ण युद्धकला र शस्त्रास्त्रको शिक्षा पाएर युद्धकलामा निपुण भएकाले अतिरथीको दर्जा पाउन सफल भएका थिए र दाजु युधिष्ठिरको सहयोगीको रुपमा राज्य सञ्चालनका सहयोगीको भूमिका निर्वाह गरिरहेका थिए।  धीरवीर र शूरवीर राजा पाण्डुले समेत जित्न नसकेका राज्यहरू जितेर प्रख्याति कमाउन लागेका पाण्डवहरूका मुख्य व्यक्तित्व युवराज युधिष्ठिर जो धीर, वीर, गम्भीर, अविचल र प्रजावत्सल थिए। उनी र उनका भाइहरूको व्यवहार, संस्कार र ख्यातिले गर्दा कौरवहरूमा व्यग्रता र चिन्ता बढ्न थाल्यो। छोराहरूको चिन्ता देखेर महाराज धृतराष्ट्र झन चिन्तित हुन लागे। चिन्ताले पोल्न थालेपछि राजा धृतराष्ट्र कसरी पाण्डवहरूको उछितो काढ्न सकिन्छ भनेर सोचमग्न हुन थालेँ। राजा चाहन्थे पाण्डवको खोइरो पनि खनियोस् तर ठूलाबाबु महाराजबाट त्यस्तो भएको पनि नदेखियोस् भन्नेमा पनि सतर्क थिए। नदेखिकनै कसरी पाण्डवहरूको अवनति गर्न र गराउन सकिन्छ भन्ने कुरामा सदैव चिन्तित थिए र यसबारेमा आफ्ना निकटस्थ र विश्वासिला सल्लाहकारहरूसँग मन्त्रणा गर्न थाले।

महामन्त्री विदुर भने यसप्रकारको षड्यन्त्रमुलक छलफलमा सहभागी हुँदैनन् भनेर उनलाई पाण्डवविरुद्धको सल्लाहमा, छलफलमा सहभागी पनि गराइँदैन थियो। यदि घुमाउरो पारामा पाण्डवका विरुद्धमा कुनै कुरा सोधेमा महाराजलाई स्पष्ट रुपमा भन्थे, त्यस्तो कुनै कदम नचालियोस् जसले यो राज्यमा विवाद आओस् र पाण्डवको अहित हुने काम होस्, पाण्डवको विपक्षमा केही पनि काम नहोस् भनेर चेतावनी समेत दिएका थिए। पाण्डवहरूको दृढतापूर्वक जनताका सेवा गर्ने प्रण र बढ्दै गएको प्रख्यातिले राजा धृतराष्ट्रमा झन झन चिन्ता थपिन थालेको थियो र उनलाई निद्रासमेत पर्न छोडेको अवस्था थियो। पाण्डवहरूको प्रशंसा सुनेर उनको होसहबास उड्न थाल्यो र पाण्डवका विरुद्धमा मन दूषित हुन थाले पछि कसरी उनीहरूका विरुद्ध कुटिल चाल चल्ने हो भनेर सोचमग्न हुन थालेका थिए।  अनि उनले आफ्ना अत्यन्त विश्वासपात्र प्रिय मन्त्री तथा सल्लाहकार राजनीति तथा अर्थशास्त्रका महापण्डित महर्षि कणिकलाई बोलाएर सोध्न थाले, आफ्ना भित्री नियत खोल्दै भन्न थाले— हे द्विजश्रेष्ठ कणिकजी, पाण्डवको दिनैदिन उन्नति र सर्वत्र ख्याति बढिरहेको सुन्छु छ, गुप्तचरहरूले पनि त्यस्तै समाचार ल्याउँछन्। त्यसकारण उनीहरूको जनसेवा र प्रख्यातिले मेरो मनमा डाह, रिस र प्रतिशोधको भावना जागृत हुन थालेको छ छोराहरूको भविष्य सम्झेर। कणिकजी भन्नुहोस्, अझ निश्चयका साथ भन्नुहोस् कि म राजाको रुपमा भावी राजा युधिष्ठिरसँग मिलेर काम गरूँ कि शत्रुतापूर्ण व्यवहार गरूँ ? म तपाईँको विचारको सम्मान गर्नेछु र त्यसैअनुसार चल्नेछु।

यसरी महाराज धृतराष्ट्र आफूले प्रतिपादित गरेको कणिक नीति (राज्यनीति तथा कूटनीति) कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बुझेपछि कणिक ऋषि भन्न थाले— महाराज, मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्। मेरो नीति सुनेर मलाई बदमास, गलत सल्लाह दिने पनि नठान्नुहोस्। अनि महाराजका धेरै मन्त्रीहरूमध्येका एक कणिक ऋषि आफूले प्रतिपादित गरेका सिद्धान्तलाई यसरी भन्न थाले।

राजा सधैँ दण्ड दिन उद्यत हुनुपर्छ र पुरुषार्थ देखाउन लागिरहनु पर्छ। राजाले आफ्नो छिद्र, दुर्बलता अरुलाई देखाउनु हुँदैन तर अरुका छिद्र, दुर्बलताप्रति भने दृष्टि पुर्‍याई रहनु पर्छ जहाँ शत्रुको दुर्बलता देखिन्छ, त्यही बेलामा शत्रुमाथि जाई लागिहाल्नु पर्छ, आक्रमण गरी हाल्नुपर्छ। जुन राजा दण्ड दिन सदैव उद्यत हुन्छ, त्यही राजासँग सबै डराउँछन्, दण्डको डर देखाएर राजाले आफ्नो स्वार्थ सिद्ध गर्नुपर्छ। आफ्ना कमजोर लुकाउने, तर अरुका कमजोरी पत्ता लगाई तत्कालै निर्मम तरिकाले आक्रमण गरी हाल्ने गर्नुपर्छ। जसरी एउटा कछुवाले आफ्नो शरीर आफ्नो हाडैहाडको आवरणभित्र लुकाएर आफ्नो रक्षा गर्छ र चाहिएको बेलामा फुत्त आफ्नो मुख देखाउँछ, हिँड्छ, ठिक त्यसैगरी राजाले पनि आफ्ना परिवारका सदस्यहरू —रानी, युवराज, युवराज्ञी, राजकुमारहरू, राजकुमारीहरू सहित मन्त्रीहरू, सेना, अमात्य, राज्य, दुर्ग, कोष र आफ्ना भाइभारदार र आफन्तहरूको रक्षा तथा सुरक्षा गर्नुपर्छ तर आफ्ना कमजोरीहरू भने लुकाएर राख्नुपर्छ।

शत्रुमोचनको काम मनमा लिइरहनु पर्छ र मौका आउने बित्तिकै शत्रुलाई समाप्त पारी हाल्नुपर्छ जसरी कि शरीरमा गाडिएको काँडो तत्कालै ननिकाल्ने हो भने त्यसले शरीरलाई पीडा दिइरहन्छ। यदि आधा काँडामात्रै बाहिर आयो भने सधैँ पीडा दिइरहन्छ जबसम्म पूरा काँडो झिकिँदैन। ठिक त्यस्तै हो, शत्रुका विरुद्धमा सुरु गरेको काम कुनै पनि हालतमा बिचमा छोड्नु हुँदैन यदि माया, दया गरेर शत्रुलाई छोडियो भने जङ्गलमा लागेको सानो आगोले डढेलोको रूप लिन्छ र शत्रुले कसैको सहारा लिएर फेरि कुनै पनि बेला आक्रमण गर्न सक्छ। त्यसैले आफ्नो अनिष्ट गर्ने, गराउन चाहने शत्रुको वध नै गरेर ढुक्क बस्नुपर्छ, त्यही नै प्रशंसनीय काम हो राजाका लागि।

 

शत्रुमोचनको काम मनमा लिइरहनु पर्छ र मौका आउने बित्तिकै शत्रुलाई समाप्त पारी हाल्नुपर्छ जसरी कि शरीरमा गाडिएको काँडो तत्कालै ननिकाल्ने हो भने त्यसले शरीरलाई पीडा दिइरहन्छ। यदि आधा काँडामात्रै बाहिर आयो भने सधैँ पीडा दिइरहन्छ जबसम्म पूरा काँडो झिकिँदैन। ठिक त्यस्तै हो, शत्रुका विरुद्धमा सुरु गरेको काम कुनै पनि हालतमा बिचमा छोड्नु हुँदैन यदि माया, दया गरेर शत्रुलाई छोडियो भने जङ्गलमा लागेको सानो आगोले डढेलोको रूप लिन्छ र शत्रुले कसैको सहारा लिएर फेरि कुनै पनि बेला आक्रमण गर्न सक्छ। त्यसैले आफ्नो अनिष्ट गर्ने, गराउन चाहने शत्रुको वध नै गरेर ढुक्क बस्नुपर्छ, त्यही नै प्रशंसनीय काम हो राजाका लागि। नीतिज्ञहरूले यसै गर्नु भन्छन् महाराज। अत्यन्त पराक्रमी शत्रुलाई पनि आपतकालीन समयमा नष्ट गरिदिनु पर्छ या आपत् परेकै बेलामा लखेट्नु पर्छ र राज्यविहीन गराएर उसको राज्य हडप्नु पर्छ। उसलाई आपत परेकै बेलामा संहार गर्नुपर्छ। त्यो बेलामा पुरानो माया, सौहार्दता, अपनत्व केही पनि सम्झनु हुँदैन। शत्रु दुर्बल छ भनेर उपेक्षा नगरियोस् महाराज, जस्तो कि अलिकति इन्धन पायो भने वनमा, सुकेको झारपात पायो भने, अलिकति आगोले पनि डढेलो लगाउन सक्छ। त्यसैगरी शत्रुले पनि अलिकति मौका  पायो भने कुनै किल्ला वा दुर्गमा पस्न पायो भने या कसैको सहारा पायो भने विनाशकारी बन्न सक्छ।

यदि पहिलेको शत्रु हारेर आफ्नो सेवक भएर सेवामा छ भने पनि उसलाई मौका हेरेर, उसले फेरि मौका पायो भने बिगार्छ भनेर उसलाई मार्नुपर्छ। शत्रुवर्गको त्रिवर्ग( ऐश्वर्य शक्ति, उत्साह शक्ति र मन्त्र शक्ति), पञ्चवर्ग (अमात्य, दुर्ग, कोष, सेना र राष्ट्र) र सप्तवर्ग (साम, दान, दण्ड, भेद, उद्बन्धन, विष प्रयोग र आगो लगाउने ) नष्ट गर्नुपर्छ।

आफ्नो अवस्था र मौका परिस्थिति अनुसार आफ्नो असमथर्ताको बेलामा, केही नसुनेको जस्तो, केही पनि नदेखेको जस्तो नाटक गर्न सक्नुपर्छ राजनीतिमा राजाले।  आफ्नो स्वार्थ सिद्धिका  लागि राजाले समय कुरेर बस्नुपर्छ  जसरी कि व्याधाले मृग पर्खेर बस्दा कुनै चालमाल नगरी चुपचाप बस्छ, झाडीमा लुकेर बस्छ, आवाजविहीन भएर बस्छ र जब मृग असतर्क हुँदै शिकारीको छेउमा आई पुग्छ, अनि शिकारीले आक्रमण गर्छ र मार्छ।

शत्रुलाई कमजोर नठानियोस्। मेरो शरणमा आएको छ भनेर नछोड्ने। शत्रुलाई भौतिकरूपमा सखाप पारेपछि, मारेपछि मात्र राजा निर्भय रहन्छ। यदि शत्रु मरेको छैन, कतै लुकेर बसेको छ र मरे नमरेको टुङ्गो छैन भने कुनै पनि बेला ऊ फर्केर आउने छ र ताक पर्ने बित्तिकै आक्रमण गर्नेछ, त्यसैले शत्रुलाई भौतिकरूपबाट सफाया गरेर मात्र राजा ढुक्क हुनुपर्छ, बरु कसले मारेछ भनेर यो कुरा थाहा पाएका अरु शंकास्पदलाई समेत कारबाही गर्नुपर्छ, मार्नुपर्छ। शत्रुका सम्पर्कमा रहेका, उसका नातागोता, सहायकहरू र शंकास्पद सबैलाई भौतिकरूपमा नै सफाया गर्नुपर्छ। कुनै प्रकारको दया र माया देखाउने संवेदनशीलता देखाउनु हुँदैन। यसो गर्दा शत्रुको आश्रयमा बाँचेकाहरू पनि  भयले भाग्नेछन् या त्रासले मर्नेछन्। अर्थात् स्वतः शत्रुपक्ष नष्ट हुनेछ। यदि वृक्षको जरा नै काटेर ढालेपछि उसका हाँगाबिँगा कसरी जीवित रहने छन् र ? स्वतः सुकेर जानेछन् र दाउराको लागि मात्र बाँकी रहनेछन्। राजाले सधैँ शत्रुको, विपक्षीको र सम्भावित शत्रुको समेत चियो चर्चो गरिरहनु पर्छ। राजा सधैँ शत्रुपक्षको गतिविधि जान्न एकाग्र रहनु पर्छ। आफ्ना राज्यका सबै कुरा गोप्य राख्नुपर्छ। आफूले चाल्ने कदमसमेतको  जानकारी अत्यन्त विश्वासपात्रलाई मात्र भन्नुपर्छ र कार्यान्वयन आफ्नै निर्देशन र अनुगमनमा गराउनु पर्छ। समय लाग्ने बित्तिकै गोप्यता बिस्तारै चुहुन थाल्छ। आफ्ना कुरा गोप्य राख्दा अरुका गोप्य कुराहरूको जानकारी निरन्तर लिइरहनु पर्छ। सधैँ आफ्ना शत्रुका कमजोरीहरूमा ध्यान दिनुपर्छ र सतर्क रहनु पर्छ।

कणिकले एउटा काल्पनिक कथा मार्फत साम, दान, दण्ड र भेदको उदाहरणीय नमुना प्रस्तुत गरेका छन् जुन कथाले शत्रु वा शत्रुहरूलाई कसरी व्यवस्थापन गर्ने र आफ्नो स्वार्थ सिद्धि गर्ने भन्ने कूटनीतिक तरिका भन्छन् महाराजा धृतराष्ट्रलाई।

महाराज, एउटा घना वनमा पाँचजना मित्रहरू बसेका थिए— स्याल, ब्वाँसो, बाघ र न्याउरी मुसो र मुसो। ती पाँचैजना अत्यन्त मिलेर बसेका थिए र एकअर्कालाई अत्यन्त सहयोग गर्थे। त्यो वनमा ती पाँचजनाको मित्रता उदाहरणीय थियो। धेरै बाक्लो जङ्गलमा धेरै प्रकारका वन्यजन्तुहरू पनि थिए। बाघसँगको मित्रताले सबै मित्रहरू ती अन्य वन्यजन्तुहरूसँग निर्भय थिए किनभने ती साथीहरू राती आफ्ना आफ्ना गुँड या बासस्थानमा बस्ने बेलाबाहेक सँगै हुन्थे। एक दिन सबै साथीहरूले एउटा बलियो युवा हरिण चर्दै गरेको देखे र बाघलाई अनुरोध गरे, यसलाई मारौँ र सबै भएर यसको मासु स्वादले खाऔँ। बाघले पनि यो सल्लाहलाई स्वीकार गर्‍यो र धेरै पटक हरिणलाई मार्ने कोसिस गर्‍यो तर बलियो हरिण यसरी दौडन्थ्यो कि बाघले उसलाई भेटेर पक्रन सकेन र मार्ने त कुरै भएन। धेरै पटकको प्रयासपछि पनि मार्न नसके पछि मित्रहरूको बैठक बस्यो र कसरी यो बलियो हरिणलाई मारेर मासु खाने भन्ने बारेमा सल्लाह भयो। यसको संयोजन चतुर जम्बुमन्त्रीले गरेका थिए। अन्तमा एउटा सल्लाह भयो— हरिणलाई दौडन नसक्ने बनाउनका लागि उसका चारैवटा खुरमा घाउ बनाउने जसका लागि सानो मुसोको सहयोग लिने। मुसाले हरिण बस्ने ठाउँ पत्ता लगाउने र ऊ सुतेको बेलामा उसका चारैवटा खुरमा कोतरेर घाउ बनाउने अनि भोलिपल्ट हरिण त्यसरी दौडन सक्नेछैन र बाघले हरिणमाथि आक्रमण गर्ने र मार्ने, अनि सबैले त्यो हरिणको मासु बाँडेर खाने। यसका लागि स्यालले अनुगमन गर्ने र व्यवस्थापन गर्ने जसले गर्दा सबैलाई त्यो बलियो र मोटो हरिणको मासुको भाग यथेष्ट पुगोस्।

मुसाले हरिणको खुर कोतर्ने योजना कार्यान्वयन भयो। मुसाले हरिणको चारैवटा खुट्टाको खुरमा कोतरेर घाउ बनायो भन्ने कुरा पक्का भयो किनभने मुसाले आफ्नो मुखमा खुर कोतर्दा लागेको मासु, रगत देखायो। भोलिपल्ट हरिण सधैँजस्तो आफ्नो चरणमा निस्कियो र उसलाई आफ्नो बल र दौडने क्षमतामा अत्यधिक विश्वास थियो र त अहिलेसम्म बाघ, ब्वाँसो या हुँडार, वन कुकुर, स्याल आदिसँग बचेको थियो। सामान्यतः ऊ एक्लै चर्न जान्थ्यो। उसलाई आफ्नो दौडने क्षमतामा अत्यन्त विश्वास थियो कि कुनै पनि हिंस्रक जनावरबाट आफू बच्न सक्छु। तर त्यो दिन त्यस्तो हुन सकेन किनभने चारैवटा खुरमा घाउ भएकाले अचानक बाघले झम्टदा ऊ त्यसरी भाग्न सकेन किनभने उसका खुट्टाले पहिलेजस्तै दौडन सकेनन्। बाघले पक्रियो र मार्‍यो। सबै साथीहरू एकदमै खुसी भए र यो सफलताको श्रेय जम्बुमन्त्रीले पाउने नै भयो किनभने उसकै सल्लाहमा मुसाले घाउ पारेको थियो र बाघले हरिणको दौडने शक्तिमा कमजोरी आएकाले पक्रेर मार्न सकेको थियो। यो सफलता पछि मरेको हरिण रुँघेर स्याल बस्ने भयो, अरु सबैजना नुहाउन गए र नुहाएर आएपछि मात्र मासु खाने कुरा भयो। सबैभन्दा  पहिले नुहाएर बाघ आयो । मरेको हरिण  र उसको मासु कुरेर बसेको स्याल अलि निन्याउरो मुख लगाएर बसेको रहेछ। बाघले सोध्यो— मित्र, किन मुख  निन्याउरो लगाएर बसेको ? कसैले केही गरे कि तिमीलाई म नभएको बेलामा ? स्यालले भन्यो— त्यसो त कसैले केही गरेको त छैन तर मुसाले भन्थ्यो, बाघको बल र पौरखलाई धिक्कार छ किनभने यस्तो दिन पनि आयो है, मेरो जुठो खानुपर्ने, मेरो पौरखमा बाघले पनि निर्भर गर्नुपर्ने। बाघले त आफैँ शिकार गरेर हरिणलाई मार्नु पर्थ्यौ र हामीलाई खुवाउनु पर्थ्यौ, होइन र ? मलाई पनि हो जस्तै त लाग्यो तर बाघ नभएको भए कसरी हरिण मार्न सकिन्थ्यो भनेर उसलाई सम्झाएँ। बाघमा स्वत्व जाग्यो र भन्यो- नि त, मित्र स्याल, म मुसाको जुठो कसरी खान सक्छु र ? ल है म यो मासु खान्न, साथीहरू बाँडेर खानू। बाघ हिँड्यो।

त्यसपछि मुसो आयो र भन्यो— मित्र स्याल, मासु भाग लगाउँ र खाउँ। स्यालले भन्यो, मित्र मुसा, भर्खरै न्याउरी मुसो आयो र भन्यो कि बाघले मारेको मासुमा त बाघको दाँतको विष फैलिएको हुन्छ र हाम्रा लागि यो मासु विष फैलिएकोले हामी त्यो विषले मर्छौँ, म त खान्न, अरु साथीहरूले पनि नखानू है भन्दै बनभित्र खाने कुरा खोज्न गयो। मुसाले पनि भन्यो, त्यस्तो विष फैलिएको मासु त म पनि कसरी खान सक्छु र ? यत्ति भन्दै मुसो पनि आफ्नो प्वालतिर पस्यो। अनि ब्वाँसो आयो आफ्ना दाँत ङिच्च्याउँदै र भन्न थाल्यो, मित्र स्याल, मेरो भाग मासु कसरी छुट्याउने हो, भोक पनि लाग्यो र धेरै दिनदेखि यो हरिणको मासु खाने इच्छा आज पूरा हुन पाएकोमा म अत्यन्त खुसी छु। अनि स्यालले भन्यो, बाघले भनेको छ कि म नआउँदासम्म कसैले पनि मेरो शिकारलाई हात लगाउने होइन, म बघिनीसमेत लिएर आउँदै छु, बघिनी र मैले अघाउन्जेल कसैलाई पनि नदिनू छुन भनेको छ। सायद आउन लागेको होला, धेरै भोक लागेको छ भन्थे बाघ। यदि तिमीले यहाँबाट कुनै एक टुक्रामात्र पनि खायौँ भने तिमीलाई नै मार्ने जस्तो कुरा गरेको छ। ऊ तिमीसँग अलि बढी नै रिसाएको जस्तो पनि लागेको छ। अनि ब्वाँसो बाघ नआउँदै ज्यान जोगाउनका लागि भन्दै टाप ठोक्यो र भन्यो, बाघलाई मेरो कुरा नभन्नू है, म आएकै छैन भन्नु नि। म त भागेँ है।

अनि फुत्त उफ्रँदै न्याउरी मुसो आई पुग्यो। न्याउरी मुसालाई त स्यालले ठाडै झपार्‍यो र भन्यो— ए न्याउरे, तँ भाग् त। तँलाई के को मासुको भाग नि। अहिले मै तँलाई मारेर खाइदिन्छु है। भाग्, बाघलाई लखेटेँ, ब्वाँसोलाई लखेटेँ, मुसो प्वालभित्र पसिसक्यो भने तँ तत्काल भाग् र यो कुरा अरुलाई भनिस् भने म तँलाई नै खान्छु। यसको कारण थियो, न्याउरी मुसाले रुखबाट यी जम्मै कुरा सुनेको थियो र भगायो।

अनि महाराज, त्यो स्यालले आफू बाघभन्दा र ब्वाँसोभन्दा दुब्लो र अहिंस्रक हुँदा पनि बुद्धि लगायो र हरिण पनि मार्न लगायो अनि मासु पनि एक्लै खायो जहान परिवारसँग मिलेर। किनभने त्यो हरिणको मासुको परिमाण धेरै थियो। यसरी त्यो स्यालले चतुरताका साथ हरिण मार्न लगायो, र विभिन्न तर्क लगाएर मासु पनि आफैँले मात्र खायो।

महाराज, राजाले पनि यसैगरी साम, दान, दण्ड र भेद प्रयोग गरेर जसरी हुन्छ आफ्नो स्वार्थ पूरा गर्नुपर्छ जसरी कि स्यालले गरेको थियो। जबसम्म शत्रुलाई आफ्नो स्वार्थमा प्रयोग गर्न सकिन्छ, प्रयोग गर्ने। आफ्नो स्वार्थ पूरा गर्नका लागि काँधमा बोक्नु पर्दा पनि बोक्ने र आफ्नो स्वार्थ पूरा भए पछि काँधमा बोकेको माटाको घैँटो भुइँमा पछारेझैँ पछारेर ध्वस्त गराउने। शत्रुलाई नै प्रयोग गरेर उसका सहयोगी र साथीहरूलाई अविश्वास उत्पन्न गराएर सिध्याउन लगाउने अनि सहयोगीबिनाको उसलाई  सजिलैसँग समाप्त पार्न सकिन्छ।

आफ्ना कमजोरी आफ्नो सबैभन्दा विश्वासिलो व्यक्ति या अनुचरलाई पनि राजाले भन्नु हुँदैन किनभने राजाले केही भन्दा या सामान्य दण्ड दिँदा पनि उसले शत्रुपक्षलाई जानकारी दिनेछ र रिस उठेको बेलामा गोप्यता भंग गर्नेछ। भित्री कुरा थाहा पाएको मित्र पनि कुनै पनि बेला शत्रु हुनसक्छ महाराज। नजिकको शत्रुलाई यसरी समाप्त पार्नुपर्छ कि कसैले शंका पनि नगरून् र शत्रु पनि नबाँचोस्। आफ्ना कमजोरी तथा गोप्य कुराहरू सबैभन्दा विश्वासिलो मानिएको व्यक्तिलाई पनि भन्नु हुँदैन, जानकारी दिनु हुँदैन।

आफ्ना कुराहरू भनिसकेपछि ऋषि कणिकले भने —महाराज धृतराष्ट्र, पक्कै नै महाराजका छोराहरू युवराजकुमार दुर्योधन, अन्य राजकुमारहरू भन्दा युवराज युधिष्ठिर र अन्य पाण्डवहरू गुणी छन्, विवेकशील छन्, सहनशील छन्, जनताका सेवामा लागेका पनि छन्, त्यसैले भारतवर्षमा प्रख्यात पनि छन्। तर महाराज, अब भाइका छोराहरू हुन् भन्ने माया, ममता होइन, निर्मम तरिकाले उनीहरूलाई समाप्त पार्ने उपायहरू सोच्नुहोस् र निर्मम यस्तो उपाय अपनाउनुस् कि कसैले महाराजलाई शङ्का पनि नगरोस्, अनि उनीहरूबाट राज्य पनि यसरी फर्कियोस् कि फेरि उनीहरूले यो राज्य प्राप्त गर्ने सम्भावना पनि नहोस्।

महाभारतको कथाक्रममा यही सल्लाहपछि नै पाण्डवहरूलाई राज्य सञ्चालनका लागि स्वतन्त्र प्रदेश बार्णावर्त पठाएर राज्य सञ्चालनको तयारी गर्ने भन्ने  आशयले पठाइएको थियो जसको ठूलो दरबार बनाएर राज्य सञ्चालनका लागि नयाँ ठाउँमा  पठाइएको भनिन्थ्यो तर भित्री उद्देश्य थियो, ठुलो दरबार लाहाको घरमा सुताउने र असतर्क भएको बेलामा बाहिरबाट ताल्चा लगाएर आगो लगाउने र सदाका लागि पाण्डुका महारानी र राजकुमारहरूलाई मारेर समाप्त पार्ने र कौरब राजकुमारहरूका लागि निष्कण्टक राज्यको व्यवस्था गर्ने।

यस्तै नीतिलाई ऋषि कणिकको नीति भन्छन्। यसबारेमा महाभारतको आदिपर्वको १३९ अध्याय ( गीता प्रेसको महाभारत) मा विस्तृत बयान गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap