‘बुढेसकालको सहारा नाङ्लो पसल छोडेर अब कहाँ जानु, के खानु?’

सडक छेउतिर कतै ठेलामा त कतै भुइँमै बसेर जाडो–गर्मी, हिउँद–बर्खा नभनी बाह्रैमास मकै पोलिरहेको दृश्य हाम्रा लागि नयाँ होइन। यो दृश्य सम्झँदा मात्रै पनि मुख रसाउँछ। अझ ट्वाक्क नुनखुर्सानी लगाएर मकै खानुको मज्जै अर्कै ! तर पोलेका मकै पोल्नेको कथा मकैजस्तो स्वादिलो भने छैन। त्यहीमध्येका एक पात्र हुनुहुन्छ, कृष्णप्रसाद ढकाल।

काभ्रेको चौरीदेउराली गाँउपालिका–५ मा जन्मिनुभएका ढकाल नाङ्लो (साना) व्यापारी हुनुहुन्छ। उमेरमा ६५ वर्षको हुनुभयो। सामान्य परिवारमा कान्छो सदस्यका रूपमा जन्मिएका ढकालले देउराली स्कुलमा कक्षा ६ सम्म अध्ययन गर्नुभयो। कान्छो छोराले अंश छान्न पाउने नियममा धेरै पढ्यो भने बाठो हुन्छ र आफ्नो भागमा आउने अंश पढेर सक्छ भनेर दाजुहरूले उहाँलाई पढ्न जान दिएनछन्।

१९ वर्ष पुगेपछि नन्दादेवीसँग विवाह बन्धनमा बाँधिनुभयो। त्यसको एक वर्षपछि जेठी छोरी चन्द्रा जम्निुभयो। त्यसपछि क्रमशः छोरा होमप्रसाद, छोरी शान्ता र सीता ढकाल गरी परिवारको सदस्य संख्या ६ जना पुग्यो। ‘मेरा सन्तान पनि धेरै भए। त्यही निहुँमा किचलो, झैझगडा हुन थाल्यो र मलाई छुट्टै राखिदिए,’ ढकालले सुनाउनुभयो, ‘त्यतिबेला चलन पनि त्यस्तै थियो राख्ने। भान्साकोठा अलगै भयो। बारी आँगन, घरका कोठा बारिन थाले। परिवारका सदस्यसँग पनी बोलचाल विस्तारै कम हुँदै गयो। सुरुमा त नराम्रो लाग्थ्यो। तर बिस्तारै बानी पर्न थाल्यो। परिवारको बोझ पनि थपिन थाल्यो।’

पारिवारिक जिम्मेवारीले थिचिँदै जाँदा र सदस्य संख्या पनि धेरै भएपछि ढकाललाई खेतीपाती गरेर जीविकोपार्जन गर्न कठिन हुन थाल्यो। यही कठिनाइबीच छोराछोरीको सामान्य तरिकाले विवाह गरिदिनुभयो।

सबै जना घरमा बेरोजगार बसेर के गर्ने ? यहीबीचमा जेठो छोरा विदेश जाने कुरा चल्यो। आफ्नै ज्वाइँले काम लगाइदिन्छु भनी छोरालाई कन्ट्र्याक्ट भिसामा मलेसिया पठाइदिनुभयो। तर सोचेजस्तो भएन। ‘त्यसरी जाँदा कैले एक ठाँउबाट अर्को ठाउँ सारिदिने, कहिले काम नपाएर भोकै सुत्नुपर्ने भयो। छोराले दुःख पायो भनेर स्वदेश झिकाएँ,’ ढकाल गम्भीर बन्नुभयो, ‘केही गर्ला कमाउला भनेर विदेश पठाको उल्टै ढाइ लाख ऋण थपियो। बिहानबेलुका हातमुख जोर्न धौधौ हुने मैले कसरी तिर्नु त्यत्रो ऋण ? यही सम्झेर कति रात त निन्द्रा पनि लागेन।’

ढकालका दिन दुःखमा धकेलिँदै गए। अरूको ज्याला–मजदुरी गरेर बल्लतल्ल ऋण तिर्नुभएको थियो। तर अब जेठो छोरा दिनदिनै झगडा गर्न थाल्नुभयो। मलाई दुःख दिनलाई विदेश पठा’को भन्दै बिहानै दिउँसै रक्सी खाएर हात उठाउन थाल्यो। ‘हामी बुडाबुडीलाई दिनकै हात उठाउन थाल्यो,’ ढकालले गुनासो गर्नुभयो, ‘नशाले जन्मदिने बा–आमा पनि नचिन्ने बनाउँदो रहेछ। अत्ति नै गर्न थालेपछि हामी बुडाबुडी नै घर छोडेर हिड्न बाध्य भयौँ।’

ढकाल दम्पतीले घर छोडेको हो न कि श्रम। अतः एउटा साहुकोमा ज्यालादारी गर्दै, जग्गा कमाउँदै जीविकोपार्जन गर्न थाल्यो। खानलाउन मात्रै पुग्ने भएपछि दुःख गर्नुको कुनै अर्थ लागेन। तीन वर्ष हेटौँडामा बसेर कही पार नलाग्ने देखिएपछि उहाँहरू भूकम्पपछि काठमाडौँ नयाँबस्तीमा डेरा गरेर बस्नु थाल्नुभयो।

काम नगरी बसौँ, कोठाभाडा तिर्न गाह्रो, हातमुख जोर्नै गाह्रो। केही गरौँ पढाइलेखाइ खासै छैन, जागिर गरौँ उमेर ढल्किसकेकाले काम पाउन गाह्रो, व्यवसाय गरौँ पुँजी छैन। धेरै सोचविचार गरेपछि नाङ्लो पसल राख्ले ख्याल आयो।

अहिले जम्बुडाँडास्थित फलामे पुलको छेउमा ढकालको नाङ्लो पसल छ। सडकको पेटी छेउमै साना बाँसका चारवटा खाँबो गाडेर पालका टुक्राले छाएको छाप्रो छ। छाप्रोभित्र पराग, सुर्तीदेखि चाउचाउ र मास्कसम्म पाइन्छ। एउटा बोरामा हरिया मकै छन्। ‘ताजा मकै खानुहुन्छ ?’ भन्दै सडकमा हिडेकालाई सोध्नुहुन्छ, बोलाउनुहुन्छ। हँसिलो अनुहार भएका ढकालको बोलीवचन मीठो छ। यसैले गर्दा पनि मान्छे आकर्षित हुन्छन्। उहाँको मीठो मुस्कानलाई सुनको दाँतले झनै स्वर्णिम बनाइदिएको छ।

ढकाललको दैनिकी एकनासको छ। दैनिक डेराबाट खाना खाएर ९ बजे निस्कनुहुन्छ र बेलुकी ७ बजेपछि फर्किनुहुन्छ। यसबीचमा उहाँको मुख्य काम भनेको मकै पोल्ने नै हुन्छ। घामपानी केहीले छुँदैन।

ढकालको मुस्कानको रहस्य पनि बेग्लै रहेछ। उहाँले मुस्कानलाई झनै आकषर्ण बनाउन सुनको दाँत हाल्नुभएको रहेछ। ‘दाँत झरेर वा बिग्रिएर नक्कली दाँत हाल्नुभएको हो ?’ भन्ने मेरो प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘दुईदिनको जिन्दगी मरिलानु के छ र ? मेरो दाँत झरेको या किराले खाएको होइन। मुस्कान झन चमक र हाँसोलाई आकर्षण बनाउन लगाएको हो।’

मुस्कानलाई सुनले सिँगार्ने ढकालले उक्त दाँत ७–८ महिनाअगाडि मात्रै सुनको खोल हालेको बताउँहुन्छ। ‘हँसिलो मुहार छ, रमाइलो मान्छे छ, सबै आउने जानेले त्यसै भन्छन्,’ यति भनेर उहाँ पनि मुस्कुराउनुभयो।

दैनिक २५ देखि ३० घोगा मकै, चुरोट, पानी बेच्ने ढकाल घाटा नभएको बताउनुहुन्छ। ‘दिनको ८ सय देखि ९ सयसम्म कमाइ हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘कतिपय मान्छे मकैको प्रतिघोगा ३० भन्दा ठुस्किएर जान्छन। आफूले प्रतिघोगा १५ रुपैँया र दाउरा प्रतिकेजी २५ पर्छ। यस्तो घामपानी नभनी मकै पोल्दा २-५ रुपैँया पनी बसेन भने मिहिनत गरेको केही सार नै भएन। अरुले गरेको दुःखै बुझदैन्न मान्छे।’

जीवनमा जति दुःख गर्नु थियो गरेको तर अब आफू पनि हाँस्ने र अरूलाई पनी हसाएर बाँच्ने ढकालको चाहना छ। नगरपालिकाको टोली आएर अब सडक छेउमा पसल राख्न पाइँदैन भन्दा खल्लो पनि लागेको छ। ‘बुढेसकालमा अरु काम गर्न सीप छैन। भारी बोक्न तागत छैन,’ टिलपिल आँखा बनाउँदै ढकाल भन्नुहुन्छ, ‘बुढेसकालको सहारा बनेको नाङ्लो पसल पनि छोडेर अब कहाँ जानु, के खानु?

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
‘बुढेसकालको सहारा नाङ्लो पसल छोडेर अब कहाँ जानु, के खानु?’
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link