काठमाडौँमा एकबिहानै सुतिरहेकै अवस्था सुनिन्छ, ‘कबाडीवाले ! आयो फलाम, कापीकिताब… !’
यो आवाज लगाउनेमध्येका कैयौँ पात्रमध्ये एक हुनुहुन्छ चन्द्र खत्बे।
पानी पिएपछि बोत्तल जहाँ पायो त्यहीँ फ्याँक्ने हामीमध्ये धेरैको बानी अझै गइसकेको छैन। सिसाका भाँडा चर्किएपछि पनि फोहोरसरि कतै न कतै फालिरहेकै हुन्छौँ। पढिसकेका पुराना किताबकापी पनि फाल्नै हतारो गर्छौं। यस्तै घरमा कुच्चिएका, प्वाल परेका भाँडाकुँडा, जस्ताका टुक्राटाक्रीलगायत काम नलाग्ने चिज कहाँ थन्क्याउने भनेर मेसो पाइरहेका हुँदैनौँ। ती चिजले घरको ठाउँ ओगटेका हुन्छन्। यी सबैको समाधान पनि खत्बेजस्तै पात्रहरू हुनुहुन्छ।
देशमा रोजगारीको अवसर छैन भन्नेलाई गतिलो सिकाइ बन्नुभएका सर्लाही जिल्ला, चकरघट्टा गाँउपालिका वडा नं–४ का खत्बे दैनिक कबाडी उठाउने काम गर्नुहुन्छ। सामान्य परिवारमा जेठा छोराको जिम्मेवारीसहित जन्मिनुभएका खत्बेले स्कुलको आँगन टेक्नुभएको छैन। सामान्य जीविकोपार्जन गर्न अरुको घरमा ज्यालादारी गर्नुभन्दा आफ्नै केही गर्छु भनेर काठमाडौँ छिर्नुभएको बताउनुहुन्छ।
खत्बेका माहिलो भाइ जोरपाटीमा पानीपुरी पोल्ने काम गर्नुहुन्छ भने कान्छो भाइ गाँउघरमा ज्यालादारी तथा खेती गर्नुहुन्छ। ‘आमाको एक वर्षअगाडि क्यान्सर लागेर बित्नुभयो,’ खत्बेले मृत्युको कारण बताउँदै भन्नुभयो, ‘चुरोट–बिँडी धेरै खाएर खोकी लागेको लाग्यै गथ्यो। खोक्दा पनि र दिशा–पिसाबबाट पनि रगत बग्थ्यो। आमालाई बचाउन धेरै कोसिस गरेँ, तर सकिएन।’
खत्बेका अनुसार बुवा पत्लु खत्बेले गाँउमा भएको एक बिगाहा जमिन बेचेर सम्पूर्ण परिवारको पालनपोषण गर्नुभएको थियो। ‘मलाई पढ्न मन त थियो। तर घरमा खानलाउनकै समस्या थियो। यही समस्याले आफ्नो इच्छा मार्नुपर्यो।’
चन्द्रको पहिलो विवाह रामपरी देवीसँग १५ वर्षको उमेरमा भयो। विवाह गरेको पाँच वर्षपछि निमोनियाका कारण रामपरीको मृत्यु भयो। ‘रामपरी बितेको तीन वर्षपछि फेरि बिहे गरेँ। बालबच्चा जन्मिए। गाँउमै बसेर छोराछोरीलाई पढाउन कठिन भयो। जन्मेको एउटा अपाङ्ग छोरालाई औषधि नभएपछि काठमाडौँ आएको थिएँ,’ चन्द्र भन्नुहुन्छ।
अवसर खोज्दै काठमाडौँ आइपुग्नुभएका खत्बेले गाँउकै साथी उपेन्द्र खत्वेसँग मिली पहिलोपटक कबाडीको काम सुरु गर्नुभयो। तर यो काम सोचेजस्तो सजिलो थिएन। नयाँ मान्छेलाई पहिलो समस्या बाटो बन्यो। ‘एकै ठाउँमा घण्टौँ पनि घुमेँ,’ हाँस्दै सुनाउनुहुन्छ खत्बे, ‘बिहान ७ बजे चिया खाएर मूलपानी, चाँगुनारायण, साँखु, जरसिहंपौवा, गागलफेदी डुलेर बेलुका ६–७ बजे कोठामा आइन्थ्यो।’
चन्द्रका अनुसार पहिला दिनको तीन सयदेखि ५ सयसम्म कमाइ हुन्थ्यो। प्रतिकेजी फलामको भाउ १० रुपैँया, सीसाको बोतल प्रतिगोटा ५० पैसा, कार्टुन प्रतिकेजी दुई रुपैयाँ, कापी प्रतिकेजी १० रुपैयाँ र जस्ताका टुक्रा प्रतिकेजी पाँच रुपैयाँ थियो।
‘पुरानो कापीकिताव उठाउन आयो कबाडी आयो’ भन्दै हिँडिन्थ्यो। नेपाली बोल्न पनि त्यति नआउने। सुरुमा ओए मदिसे ! तँल्लाई धोती ! भनेर हेप्थे। ‘मदिरा सेवन गरी समूहमा घेरेर पैसा कति छ निकाल् भन्दै धम्की पनि दिए,’ काठमाडौँमा संघर्षको चरण सम्झँदै खत्बे भावकु बन्नुहुन्छ, ‘यसरी लुट्न, कुट्न खोज्दा आफ्ना पक्षमा बोल्ने कोही थिएन। जसरीतसरी दुःख गरेर महिनाको पाँचदेखि १० हजारसम्म घरमा पठाउँथें।’
खत्बेको जेठो छोरा जोधन जन्मजातै अपांग जन्मिनुभयो। दाँया खुट्टाको घुँडाको गोठी नै नभएकाले चार हातखुट्टा टेकेर हिँड्न थाल्नुभयो। ‘सर्लाहीमा उपचार हुन सकेन। पछि बनेपा ल्याई उपचार गर्दा अलिक भए पनि राहत मिल्यो,’ उहाँ सुनाउनुहुन्छ।
डाक्टरहरूले छोरालाई विदेश लगे राम्रो हुने र हिँड्न पनि सक्ने नबताएका होइनन्। तर त्यति धेरै खर्च उहाँसँग छैन। छोरा सम्झँदा खत्बेलाई जहिल्यै एउटै कुराले पिरोल्छ– यदि पैसा भइदिएको भए…?
अहिले खत्बेले छोराछोरीलाई ऋण गरेरै भए पनि पढाउनुभएको छ। कुनै बेला विदेश जाने सोच आएको थियो। अपांग छोरालाई छोडेर जान मन लागेन। ‘मेरा पाँच छोरा जन्मँदै कोही १० दिनमा, कोही हप्ता दिनमा त कोही जन्मेकै दिन बिते,’ आँखाबाट बलिन्द्रधारा आँसु खसाल्दै भक्कानिनुहुन्छ खत्बे।
अहिले खत्बेका दुई छाेरा, जसमध्ये एक जना अपांग र दुईवटी छाेरी हुनुहुन्छ।
‘यही कबाडी काम गरेर अपांग छोरालाई औषधि, बाँकी छाेराछोरीलाई पढाइ, घरको खर्च तथा ऋणको ब्याज तिर्दै आएको छु,’ खत्बे भन्नुहुन्छ, ‘गाँउघरमा अपांगको बाउ आयो भनेको सुन्दा नराम्रो लाग्छ। चुपो लागेर हिड्ँछु। जेजस्तो भए पनि कोहीसँग हात थाप्दै मागेर हिँडेको छैन। हिँड्न पनि नपरोस्।’
कबाडी बेचेरै खत्बेले अहिलेसम्म दिनकै सर्वाधिक धेरै १० हजार कमाउनुभएको छ। यस्तै सबैभन्दा कम तीन सय रुपैँया। ‘बर्खाको बेला दैनिक आठ सयदेखि एक हजारसम्म कमाइ हुन्छ। हिँउदमा १५ सयदेखि तीन हजार हुन्छ,’ आफ्नो कमाइबारे खत्बे बेलिविस्तार लगाउनुहुन्छ, ‘महिनाको साधारण खर्च कटाएर ७० हजारसम्म बचाउँछु।’
सर्वसाधारणसँग प्रतिगोटा बोतल एक रुपैयाँमा किनेर दुई रुपैयाँमा बेच्नुहुन्छ खत्बे। यस्तै प्रतिकिलो फलाम ५० रुपैँयामा किनेर ५५ मा, कापी प्रतिकिलो १० रुपैयाँमा किनेर १५ मा बेच्दै आउनुभएको छ। १० हजार आफ्नो खानपानका लागि छुट्याउने खत्बेको भनाइ छ।
यही पेसाले खत्बेलाई छोराको औषधिपानी, पढाइ, परिवारको खर्चबाहेक जग्गाजमिन जोड्न पनि सघाएको छ। ‘गाउँमै आधा कठ्ठा जग्गा साढे तीन लाखमा किनेँ,’ खत्बेले भन्नुभयो, ‘त्यसको साँवा–ब्याज गरी वर्षको २५ हजार गर्दै ५ वर्षमा तिरेँ। अहिले त्यो जग्गाको १० लाख पर्छ। खुसी छु। अब जम्माजम्मी तीन लाख ऋण छ। त्यति तिरेर छोरीको बिहे गरिदिन पाए आनन्द हुन्थ्यो,’ उहाँले अबको इच्छा र चाहना सुनाउनुभयो।
मानिसले जस्तै व्यवसाय गर्ने साधनले पनि साथ दिनुपर्छ। खत्बेलाई कबाडी पेसा सुरु गर्ने बेला नौ सय रुपैयाँमा किनेको साइकलले साथ दिइरहेको छ। यही साइकलसँग जिन्दगीका सुखदुःख साट्नुभएको छ। सबैभन्दा विश्वासिलो साथी पनि त्यही साइकल बनेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो