कोशी: पूर्व कांग्रेसीको हातमा सत्ताको चाबी

गठनको रस्साकस्सी: बजेट कार्यान्वयनमा अन्यौल

सुरेन्द्र भण्डारी/झापा

कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा एमाले नेतृत्वको सरकारले ल्याएको बजेट बिचल्लीमा छ। प्रदेश सरकारले गत जेठ ३२ गते प्रस्तुत गरेको बजेट कार्यन्वयन हुनेमा अन्यौल देखिएको हो। बजेट संसदबाट पारित भएर कार्यान्वयनका लागि जाने भएपनि सत्ता सहयात्री दल जनता समाजवादी पार्टी र नेकपा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हिक्मत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेश मार्फत बजेट ल्याएको थियो।

कार्की नेतृत्वको सरकारले गत असार १५ गते विश्वासको मत प्राप्त गर्न नसक्दा एमाले नेतृत्वको सरकार काम चलाउ बन्न पुगेको हो। संसदबाट बजेट पारित हुनु पर्ने कानूनी प्राबधान रहेपनि दलहरू सरकार बनाउने र गिराउने खेलमा लाग्दा बजेट कार्यान्वयनमा अन्यौल देखिएको हो।

कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका थियो।  जसमा चालू खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान सहितको बजेट मुख्यमन्त्री कार्कीले प्रस्तुत गर्नुभएको थियो।

कार्की नेतृत्वको सरकारले कोशी प्रदेशको झापा जिल्लाका लागि मात्रै खानेपानी तथा सरसफाइ आयोजनाका लागि ८५ वटा योजना छनौट गर्दै बजेट विनियोजन गर्नुभएको हो। तर बजेट कार्यान्वयनको अवस्थामा अन्यौल छाएसँगै योजना कार्यान्वयनमा आशंका उब्जिएको राजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तोयानाथ पोखरेलले बताउनुभयो। खानेपानीका लागि मात्र  नभई प्रदेश सरकारले प्रस्तुत गरेको बजेट नै कार्यान्वयन हुने या नहुने भन्नेमा अन्यौलसँगै योजना काटिने डरले स्थानीय समेत चिन्तित छन्। सरकार बनाउने र गिराउने खेलमा लागेर नेताहरूले विकास रोक्न नहुने पोखरेलको सुझाव छ। मुख्य मन्त्री कार्कीले गृह जिल्ला झापालाई लक्षित गर्दै दर्जनौं आयोजनाका लागि बजेट विनियोजन गर्नुभएको थियो। विनियोजित बजेट कार्यान्वयनको चारणमै उहाँ नेतृत्वको सरकार ढलेपछि उनले ल्याएका योजना के हुने भन्नेमा आशंका उब्जिएको हो।

नयाँ सरकार गठन हुँदै

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेश गर्ने समय विहीवार साँझ ५ बजेसम्म रहेको छ। नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले गत असार १५ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको हो।

 प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई असार २१ गते साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्य मन्त्री नियुक्त गरिने गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजन सहितका लागि आफ्नो दावी पेश गर्न आव्हान गर्नुभएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम असार १४ गते प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही उपधारा ३ बमोजिम असार १५ गते पारित हुन नसकेपछि कार्की पदमुक्त हुनुभयो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम वा उपधारा ३ बमोजिम मध्ये कुनै धाराका आधारमा मुख्यमन्त्री नियुक्त गरिने सरकार गठनका लागि राजनीतिक दललाई दावी पेश गर्न प्रदेश प्रमुख खापुङले आव्हान गर्नुभएको हो। प्रदेश सभामा ९३ जना सांसद रहेका छन्। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

यसैबीच सत्तारुढ दलको तर्फबाट कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय भएको छ। तर, सत्तारुढ दलबीच बहुमत पुग्ने सम्भावना नहुँदा राप्रपासँग सहकार्यका लागि छलफल चलिरहेको जनाइएको छ। उता नेकपा एमाले पनि राप्रपा र जनता समाजवादीलाई आफ्नो पक्षमा लिएर सरकार गठनको तयारीमा रहेको एमाले निकट श्रोतले जनाएको छ।

संसदीय दलका तीन नेता झापाली

कोशी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा गरी तीन दलका तीन झापाली संसदीय दलका नेता छन्। तीनै नेता मध्ये एक जना मुख्यमन्त्री बन्ने पक्का छ। नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापालाई गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। उहाँ पनि झापाली नै हुनुहुन्छ।

त्यस्तै नेकपा एमालेका नेता हिक्मतकुमार कार्की एमाले संसदीय दलका नेता हुनुहुन्छ  भने राप्रपाका नेता भक्ति सिटौला समेत झापाली हुनुहुन्छ। उहाँ राप्रपाको संसदीय दलका नेता हुनुहुन्छ। नेपाली कांग्रेसका थापा, एमालेका कार्की र राप्रपाका सिटौलामध्ये एक जना मुख्यमन्त्री बन्ने पक्का छ। तर ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतको लागि ४७ सिट आवश्यक पर्छ। कांग्रेससहितको गठबन्धनमा उसको २९, माओवादीको १३ (सभामुखसहित) , एकीकृत समाजवादीको ४ र जसपाको १ सहित ४७ सिट छ। सभामुख सरकार निर्माणको प्रक्रियामा गणना गर्न नमिल्ने एमालेको दाबी छ। संविधानविद्हरूले पनि त्यही भनिरहेका छन्। यदि सभामुखको संख्या गणना गरेर सरकार निर्माण भए पनि विश्वासको मत लिने बेलामा सदनमा बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मत दिन नपाउने संवैधानिक प्रावधान छ।

यस्तो अवस्थामा ६ सिट भएको राप्रपालाई नयाँ सरकार बनाउनका लागि साथ लिन अनिवार्य छ। हाल ४० सिट भएको एमालेको साथमा रहेको राप्रपालाई साथ नलिए मुख्यमन्त्रीमा प्रस्तावित काँग्रेस नेता थापाको सत्तायात्रा सुरु नै नहुने जोखिम पनि उच्च छ। राप्रपा मनाएको खण्डमा भने  कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री बन्ने पक्का छ। गठबन्धनले राप्रपाको साथ पाए ५२ सांसदको समर्थनसहित सहज ढङ्गको सरकार बनाउन सक्छ। नपाए सरकार गठन भए पनि ३० दिनपछि विश्वासको मत लिँदा गठबन्धन अप्ठ्यारो पर्ने निश्चित छ।

कांग्रेससँग ३० वर्षे लामो नाता छुटेपछिका सिटौला

नेपाली कांग्रेसमा रहेर झण्डै तीस वर्ष लामो राजनीति गर्नुभएका भक्ति सिटौला पार्टीले स्थान नदिएपछि २०७० सालमा चित्त दुखाएर कांग्रेसबाट बाहिरिनुभएको हो। नेपाल विद्यार्थी संघको सहमहामन्त्री र झापा कांग्रेसमा राम्रै प्रभाव राख्ने नेता सिटौलाको बहिर्गमन पछि उहाँ राप्रपाको सक्रिय राजनीतिमा लाग्नुभएको हो। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेस नेता  सिटौला  झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्का थियो। तर, टिकट नपाएपछि उहाँ कांग्रेसबाट बाहिरिनुभयो।

२०३६/०३७ तिर नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका सिटौलाले २०७० मा नेपाली कांग्रेस छाड्नुभयो। त्यसबेला झापाको निर्वाचन क्षेत्र नम्बर २ मा संविधानसभा सदस्यमा उठ्ने तयारीमा हुनुहुन्थ्यो उहाँ। तर, कांग्रेस नेतृत्वले टिकट दिएन।

अवसरको खोजीमा नेपाली कांग्रेस छाडेका सिटौला अन्तत: राप्रपाको राजनीतिबाट अहिले संसदीय दलको नेता बन्नुभयो। उहाँको समर्थनमा मात्रै उद्धव थापा मुख्यमन्त्री बन्न सक्नुहुनेछ।  विगतमा कांग्रेसबाट  अपमानित भएको महसुस गर्दै  बाहिर निक्लिनु भएका सिटौलाले ‘के कांग्रेसलाई साथ दिनुहोला?’

भक्तिको हातमा शक्ति

कोशी प्रदेश सरकारका कामचलाउ उद्योग कृषि तथा सहकारीमन्त्री  भक्ति सिटौला २०७० सालको संविधानसभाको निर्वाचनको मुखमा कांग्रेस छाडेर राप्रपा प्रवेश गर्नुभएको हो। नेपाली कांग्रेसमा अपमानित भएको महसुस गर्दै पार्टी छाडेर राप्रपामा प्रवेश गरेका सिटौला अहिले प्रदेश सरकार गठनमा निर्णायक बन्नुभएको छ।

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाका नातेदार समेत रहेका भक्तिले कांग्रेस भित्रको गुटका कारण आफूले स्थान नपाएको कांग्रेस वृत्तमा चर्चा अहिलेपनि हुने गरेको छ। तर, कांग्रेस छाडेका सिटौलाको हातमा अहिले कोशी सरकार गठनको शक्ति छ। राप्रपा नेता सिटौलाले कांग्रेस नेता थापालाई साथ दिएमात्रै सरकार सहजै बन्ने निश्चित छ। नत्र थापाको सत्तारोहण एक महिनाका लागि मात्र हुने छ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर औपचारिक रूपमै कोशीमा गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। गठबन्धनको बैठकले कोशीमा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि देउवाले राप्रपाको सहयोग माग्नुभएको हो।

झापामा पार्टी अध्यक्ष लिङदेनसहित राप्रपाको कोशी प्रदेश संसदीय दल र प्रदेश अध्यक्षको बैठकले सरकारमा कुन दललाई समर्थन गर्ने भन्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ। २०७० सालको निर्वाचनदेखि एमालेसँग निर्वाचनमा सहकार्य गरिरहेको राप्रपा अध्यक्ष लिङदेन एमालेसँगको सहकार्य तोडेर गठबन्धनमा जालान् ? प्रश्न अनुत्तरित छ। एमाले भने राप्रपाले गठबन्धनलाई सहयोग नगर्नेमा ढुक्क छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link