सैलुन सञ्चालक इस्राफेलको जीवन–संघर्ष : जुन पेसाले लखपति बनायो त्यसैले सडकमा पुर्‍यायो

‘कोही दयालु मान्छेले सैलुन खोलिदिए काम गर्थें। पैसा नभएपछि दिमाग खल्बलिँदो रहेछ।’

रूपेश आचार्य

दाह्री–कपाल काट्न या मिलाउन सैलुन जाने बानी धेरैको हुनुपर्छ। सैलुनमा गएर आफूलाई ‘स्मार्ट’ बनाउन नचाहने कमै होलान्। तर के सैलुन चलाउने मान्छेको जीवन साँच्चै ‘स्मार्ट’ हुन्छ होला त ? त्यो थाहा पाउन इस्राफेल महमदलाई पढ्नुपर्ने र उहाँको जीवन–संघर्ष बुझ्नुपर्ने हुन्छ।

भारतको सितामणि जिल्लामा जन्मिनुभएका इस्राफेल महमद (३७) सैलुन सञ्चालक हुनुहुन्छ। साधारण परिवारमा जेठो सन्तानका रुपमा जन्मिनुभएका उहाँले गाँउकै स्कुलमा कक्षा तीनसम्म अध्ययन गर्नुभएको छ।

आर्थिक अवस्था कमजोर भएकाले लाउन–खानै समस्या पथ्र्यो। त्यसमाथि इस्राफेलको थप अध्ययन असम्भवजस्तै बन्यो। अन्ततः बुबा रियाजत महमदले तीन कक्षादेखि स्कुल छुटाइदिनु भयो। ‘म पढ्न कक्षाकै सबैभन्दा जान्ने थिएँ। कक्षामा कसैलाई नआएको कुरा मलाई आँउथ्यो। तर के गर्नु अवस्था नाजुक भएपछि लागेका चाहानाहरु हाँसेरै मार्नुपर्ने हुँदो रहेछ,’ इस्राफेल बताउनुहुन्छ।

इस्राफेलका बुबा दिनभर ज्यालादारी गर्नुहुन्थ्यो। ज्यालादारीबापत साहुले कहिले पाँच किलो गहुँ त कहिले पाँच किलो मकै दिन्थे। ‘ज्यालादारीबापत चामल दिँदैनथे,’ इस्राफेलले भन्नुभयो, ‘किनकि चामल महँगो हुन्थ्यो।’

इस्राफेलकी आमा सकिना खातुन महमद पनि ज्यालादारी नै गर्नुहुन्छ। बुवाले हलो जोत्ने र आमाले धान रोप्ने, गोड्ने लगायत काम गर्नुहुन्थ्यो। ५० वर्षकै उमेरमा इस्राफेलका बुवा टिबी रोगका कारण बित्नुभयो।

११ वर्षको उमेरमा आफ्नो घरको समस्या देखेर बस्न मन लागेन। बिहान ५–६ बजेतिर उठेर डिल्ली भागेँ,’ उहाँ भन्नुहुन्छ, ‘डिल्ली गएको पहिलो दिन अन्जान सहरमा यताउता भौतारिएँ। केही खाऊँ साथमा पैसा छैन। अरुले खाइरहेको ठाँउमा पुगेर माग्दा हप्काँउथे।’

दिल्ली पुगेको दिन इस्राफेलको सुताइ रेल्वे स्टेसनमै भयो। भोकले रातभर निद्रा परेन। बिहानै उठेर ओहोरदोहोर गर्ने मान्छेसँग हात फैलाएर सहयोग माग्नुभयो। तर कसैले केही दिएनन्। ‘मलाई भौँतारिएको र सानो उमेरको देखेर एउटा होटलको साहुले बोलाएर एक छाक खाना खान दिनुभयो। त्यसै होटलमा खान आउने मान्छेलाई दया लागेर मेरोमा काम गर्न जाऊँ भनेर लग्नुभयो, ’ इस्राफेलले दिल्लीको भोगाइ सुनाउनुभयो।

चौधरी थरका एक व्यक्तिले इस्राफेललाई नयाँ दिल्लीको मुवारकपुर लगेर सब्जी किन्ने, खाना बनाउने, फूलमा पानी हाल्ने काम गर्न लगाउनुभयो। त्यहाँ तीन महिनासम्म काम गर्नुभयो। तर साहुले पैसा दिएनन्। तलब माग्दा उल्टै कामबाट निकालिदिएर आफ्नो साथीकोमा पठाइदिए। ‘त्यहाँ पनि तीन महिनासम्म गाडी धुने काम गरेँ,’ इस्राफेलले भन्नुभयो, ‘साहु निकै दयालु हुनुहुँदो रहेछ। महिनाको तीन सय दिन्छु भनेर काममा राख्नुभयो। पछि कामप्रतिको लगाव र मिहिनत देखेर तीन महिनाको एक हजार रुपैँया दिनुभयो। तर पुरानो स्टाफ आयो भनेर फेरि त्यहाँबाट मैले निस्कनुपर्यो। आखिर गरिब न परियो ! जहाँ गए पनि ठक्कर त खानु नै लेखेको हुने रहेछ।’

एक दिन इस्राफेल कपाल काट्न भनेर सैलुन जानुभएछ। कपाल काट्दा हजामले कैँची चलाएको मन परेछ। त्यसपछि मलाई पनि काम सिकाइदिनुस् न भन्नुभएछ। ‘आफ्नो कपाल काट्न जाँदा कपाल काटेको र कैँची चलाएको मन पर्यो,’ इस्राफेलले सुनाउनुभयो, ‘सैलुनवालासँग दुःख सुनाएर काम सिकाइदिनुस् भनेँ। आफूसँग भएको एक हजार पनि दिएँ। अनि एक वर्षमा पूरै काम सिकेँ।’

दुःखले पोलेपछि सिकाउनेले भन्दा पनि राम्रोसँग कपाल काट्न थालेको इस्राफेल बताउनुहुन्छ। काम राम्ररी गर्न जानेपछि त्यो सैलुन छोडेर अर्को सैलुनमा काम गर्न थाल्नुभयो। चार महिना काम गर्दा ६ हजार भारु कमाउनुभयो। ‘अलिकति पैसा भएपछि आँट पनि आउने रहेछ,’ इस्राफेलले हाँस्दै भन्नुभयो, ‘६ हजारको सदुपयोग गर्न ११ भाडा तिरेर सैलुन खोलेँ। दिनमा दुई हजार भारुसम्म कमाइ हुन थाल्यो। यसरी त्यहाँ तीन वर्षसम्म सैलुन चलाउँदा ५–१० हजार पठाइरहेँ।’

तीन वर्षपछि इस्राफेल घर फर्किनुभयो। केही समयमै कमाएको पैसा सकियो। त्यसपछि काठमाडौँको यात्रा तय गर्नुभयो। त्यतिबेला उहाँको उमेर १७ वर्ष थियो। घुम्ने रहर जागेर काठमाडौँ आएको बताउने उहाँ जोरपाटीमा साथीको कोठामा बस्नुभयो। उहाँको साथीले सिरक डसना बनाउने काम गर्नुहुन्थ्यो।

‘साथीलाई त्यही काममा सघाउन थालेँ। एक हप्तामा १८ सय रुपैयाँ कमाएँ। त्यो पैसाले एउटा ऐना, कैँची, कुर्सी, ब्लेड किनेर खुला ठाँउमा कपाल काट्न बसेँ। पहिलो दिनमै ५०० कमाइ भयो,’ इस्राफेल भन्नुहुन्छ।

बिस्तारै काम चलिरह्यो। दिनकै हजार रुपैयाँ कमाइ हुन थाल्यो। ‘अब सधैँ खुला ठाउँमा बसेर मात्रै हुँदैनजस्तो लाग्यो,’ इस्राफेलले भन्नुभयो, ‘त्यसपछि जग्गा भाडामा लिएर सानो टहरो बनाएँ र त्यसैमा १० वर्ष कपाल काटेँ। त्यसबेला कपाल काटेको प्रतिव्यक्ति ४० देखि ५० रुपैँया र दाह्री काटेको ३० रुपैयाँ थियो।’

दैनिक कमाइ १५ सयसम्म हुन थालेपछि अझै राम्रो गरौँ भन्ने लाग्यो इस्राफेललाई। त्यसपछि शंखरापुर अस्पतालअगाडि पनि अर्को सैलुन सञ्चाल गर्न थाल्नुभयो। दुई जना कामदार राख्दा पनि दैनिक दुई हजारसम्म आम्दानी हुन्थ्यो। ‘पैसा कमाउन थालेपछि आइडिया पनि आँउदो रहेछ,’ संघर्षशील जीवनमा इस्राफेलको अनुभव छ, ‘फेरि अर्को शाखा चामुण्डा गेट छेउमा खोलेँ। त्यहाँबाट पनि दैनिक पाँच हजारसम्म कमाइ हुन थाल्यो।’

‘छाप्रो, शंखरापुर अस्पताल छेउ र चामुण्डा गेटको सैलुन गरी दैनिक २० हजारसम्म कमाइ हुन थाल्यो,’ उहाँ भन्नुहुन्छ, ‘६ जना स्टाफलाई तलब दिएर पनि राम्रै पैसा बस्थ्यो। लाग्थ्यो अबको जिन्दगी राम्रो भयो। अब मेरा दिन खुसीले बित्छन्।’

यही बीचमा इस्राफेलको विवाह भयो। छोरी पनि जन्मिनुभयो। तर समय फेरि ओरालै झर्न थाल्यो।

‘तीन वर्षसम्म त पसल राम्रैसँग चल्यो,’ सुस्केरा हाल्दै सुनाउनुहुन्छ इस्राफेल, ‘स्टाफहरू विदेश जाने भए। शंखरापुर र चामुण्डाको पसल ३०–३० हजारमा बेचेँ। त्यसपछि एक्लैले जोरपाटीको सानो बजारमा १२ वर्ष सैलुन चलाएँ। दैनिक तीन हजारसम्म पनि कमाएँ। तर, कोरोना महामारीका कारण लकडाउन भयो। त्यसपछि जिन्दगीले कहाँको कहाँ पुर्यायो पुर्यायो।’

लकडाउनले गर्दा सबै कुरा ठप्प भयो। अहिलेसम्म कमाएको सबै खान–बस्नमै सकियो। उल्टो नपुगेर चिनजानका मान्छेसँग ऋण गरेर गुजारा चलाउन थाल्नुभयो इस्राफेल।

‘सानो बजार तीन महिनादेखि अर्को ठाँउमा सर्यो,’ इस्राफेल भन्नुहुन्छ, ‘घरबेटीले कपाल काट्ने ठाँउको सट्टा भाँडा पसलका लागि कोठा दिनुभयो र अर्कौले त्यो ठाँउ ओगट्यो। मलाई अझै ५ लाख ऋण छ।’

अहिले इस्राफेल पुरानै अवस्थामा फर्किनुभएको छ। यो सब समयले गरायो। जोरपाटी चोक इट्टा डिपो छेउमा एउटा प्लाइको टुक्रामा ऐना झुन्डाएर र कुर्सी राखेर २२ वर्षअगाडिकै अवस्थामा बस्नुभएको छ। छोरीको नामबाट सैलुनको नाम राखिएको छ– मसुमा हेयर ड्रेसर सैलुन।

‘केही समयअघि नगरपालिकाको टोली आएर छाता र कुर्सी लग्यो,’ उदासी भरिएको स्वरमा इस्राफेल भन्नुहुन्छ, ‘नगरपालिकामा गएर आफ्नो सामान माग्दा १५०० रुपैयाँ दिनु अनि मात्र सामान फिर्ता गर्छु भन्यो। अबदेखि त्यहाँ सैलुन पनि नराख्नु भनेको छ। के गर्ने हो म आफैँ सोच्न सकिरहेको छैन।’

इस्राफेलपत्नी ठेलामा साग बेच्नुहुन्थ्यो। त्यो पनि नगरपालिकाको टोलीले उठाएर लगिदियो। त्यसपछि त्यो काम छोडिदिनुभयो। ‘अब त खान लाउनै कठिन भैसक्यो,’ इस्राफेल दुःख पोख्नुहुन्छ, ‘कोठा भाडा तिर्न, छोरी पढाउन समस्या भइसक्यो।’

अब के गर्नुहुन्छ त भन्ने प्रश्नमा इस्राफेल भन्नुहुन्छ, ‘कोही दयालु मान्छेले सैलुन खोलिदिए काम गर्थें। पैसा नभएपछि दिमाग खल्बलिँदो रहेछ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
सैलुन सञ्चालक इस्राफेलको जीवन–संघर्ष : जुन पेसाले लखपति बनायो त्यसैले सडकमा पुर्‍यायो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link