नेपाली परम्परामा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने कुनै चिज छ भने त्यो फूल हो। यसै पनि फूललाई शान्त तथा सुन्दरताको प्रतीक मानिन्छ। कसैलाई उपमा दिँदा पनि फूल प्रयोग भएको पाइन्छ– फूलजस्तै मान्छे, फूलजस्तै कोमल, फूलझैं निष्पाप आदि–इत्यादि।
समयक्रमसँगै फूलको आयातन फैलिएको छ। आफ्नो रुचिका लागि बगैंचादेखि कौसीसम्म फूल रोप्ने मानिस छन् भने कतिले यसलाई व्यवसाय पनि बनाएका छन्। जस्तो धनकुटा औरखौलेका रोहितराज सुवेदीले बनाउनुभएको छ।
किसानी परिवारमा जन्मिएका सुवेदीले सानैमा बुवा गुमाउनुभयो। त्यसपछि पारिवारिक अवस्था पनि बिग्रन थाल्यो। त्यसलाई भरथेग गर्न सुवेदी पढाइ बीचमै छोडेर घरबाट भाग्नुभयो।
सुरुमा गाउँकै चिनेका दाइसँग विराटनगर पुग्नुभयो सुवेदी। त्यहाँ उहाँले माडेको पसलमा काम गर्नुभयो। कामचाँहि टिसर्टको टाँकमा धागो हाल्ने थियो। ‘जिन्दगीमा कहिले नसोचेको काम गर्न लागियो। महिनामारी २९५ रुपैयाँ तलब थियो,’ सुवेदी भन्नुहुन्छ, ‘बिहान पाँच बजेदेखि बेलुकाको ६–७ बजेसम्म गर्नुपर्थ्यो। त्यतिबेला उहाँको उमेर १२–१३ थियो। पैसा कमाउँदै अलिकति घरखर्च पनि पठाउँदै गर्नुभयो।
करिब ३ वर्ष जति विराटनगरमा काम गरेपछि थप अवसर खोज्दै काठमाडौँ आउनुभयो। काठमाडौँमा काम खोज्दा खोज्दा सुवेदीले गारमेन्टमा काम पाउनुभयो। त्यसपछि उहाँको काठमाडौँको पहिको काम त्यहीँबाट सुरु भयो।
‘गारमेन्टमा कपडामा चकले चिनो लगाउने काम थियो,’ उहाँ भन्नुहुन्छ, ‘सुन्दा सजिलो लागे पनि सुनेजस्तो सजिलो भने थिएन। कारखानामा मेसिनले छिट्छिटो दिएको कपडामा चिनो लगाउने काम मेसिनले झैं गर्नुपर्थ्यो। ढिला गर्दा ठेकेदारले कराउँथ्यो।’
काम गर्दै जाँदा राम्रो र पद बढोस् र तलब पनि राम्रो होस् भन्ने को चाहँदैन ? हरकोही चाहन्छ। उस्तै मिहिनेत र त्यही समयमा काम गर्ने सँगैका दाइहरूले आफूले भन्दा चार गुणा बढी कमाएको देखेपछि त्यसरी नै पैसा कमाउने रहन सुवेदीलाई पनि जाग्यो। ‘अनि मैले सिनियर दाइहरूलाई काम सिकाइदिन अनुरोध गरेँ। उहाँहरूले दिउँसो कामको चाप हुन्छ, राति हामी सुतेको बेलामा यसरी–यसरी गर भनेर सिकाइदिनुभयो,’ सुवेदीले भन्नुभयो, ‘त्यसपछि कैयौँ रात नसुतीकन काम सिकेँ।’
काम सिकेपछि सुवेदीमा आत्मविश्वास पनि बढ्दै गयो। त्यहीबेला अर्को एक ठाउँमा कपडामा टाँक लगाउने मिस्त्री चाहिएको खबर पाएपछि त्यहाँ जानुभयो। काम पनि पाइयो। ‘एउटा टाँक लगाएको दुई पैसा दिन्थ्यो,’ लाख पनि रुपैयाँसरह बनेको अहिले समयमा त्यतिबेलाको पैसाको कहानी सुनाउनुभयो सुवेदीले, ‘हप्तामै ८ देखि १० हजार कमाउन थालेँ।’
यसरी काम सिक्दै जाँदा सिलाइसम्बन्धी काममा पोख्त भई सिनियर कामदारदेखि ठेकेदारसम्म बन्नुभयो। यसरी संघर्ष गर्ने क्रममा उहाँले १८ वर्ष बिताउनुभयो।
यही बीचमा विवाह भयो। सन्तान जन्मियो। अब समय परिवारलाई दिनुपर्छ भन्ने लागेपछि गर्दै आएको काम छोड्नुभयो। तर बिनाकाम काठमाडौँमा कहिलेसम्म टिक्ने ? त्यसपछि फेरि एयरपोर्टमा काम थाल्नुभयो।
‘एयरपोर्टमा काम गर्न पाइयो भनेर मन गदगद भयो,’ सुवेदी भन्नुहुन्छ, ‘त्यहाँ गएर काम बुझ्दा त प्लेनभित्र सामान लोड गर्ने पो रहेछ। सिमेन्टका बोरा, जस्तापाता घर निमार्णका सबै सामान लोड गर्नुपर्ने रहेछ। सुरुमा एकाध दिन काम गरेपछि ज्वरो आयो। तर काम रोकिनँ। यसरी त्यहाँ पनि १५ वर्ष बितेको पत्तै भएन। ओभरटाइमसहित मासिक ५० देखि ६० हजारसम्म कमाएँ।’
सुवेदी १५ वर्षदेखि गर्दै आएको त्यो काम पनि छोड्नुभयो। काम छोड्नुको कारण, अब अरूको काम गर्नेभन्दा पनि आफ्नै केही गर्नुपर्छ भन्ने लागेर हो। त्यसपछि सुरु भयो नयाँ व्यवसाय बाख्रा पालनको।
‘नयाँ व्यवसाय सुरुवात गरेँ। भक्तपुरमा एउटा राम्रो ठाँउ खोजेँ। जीवनभर मिहिनेत गरेर कमाएको पैसा बाख्रा पालनमा लगाएँ। ३९ लाख एकल लगानीमा व्यवसाय सुरु गरेको हुँ,’ सुवेदीको अनुभव छ, ‘सय, दुई सय वटा बाख्रा राख्ने गोठ बनाउँदा धेरै खर्च भयो।’
सुवेदी कामदार, ठेकेदार हुँदै व्यवसायी त बन्नुभयो। तर यो उहाँको क्षेत्र थिएन। अर्थात् यसबारे राम्रोसँग अध्ययन नै गर्नुभएको थिएन। ‘हरेक व्यवसाय गर्दा पहिला त्यसबारे राम्रोसँग अध्ययन गर्नुपर्ने रहेछ,’ सुवेदी भन्नुहुन्छ, ‘कति मात्रामा घाँसपराल खुवाउने, बस्ने स्थान कतिको बाक्लो पातलो बनाउने, तापक्रम कति राख्नेजस्ता ज्ञान नभएरै होला दुई वर्षमै सबै बाख्रा मरे। मेरो ३९ लाख डुब्यो।’
खाई–नखाई जम्मा गरेको पैसा बाख्रापालनमा डुबेपछि सुवेदीलाई पर्नु चिन्ता पर्यो। विदेश भासिऊँ कि जस्तो पनि भयो। त्यही बीचमा छोरी–ज्वाँइले टनेल नर्सरी गर्न सुझाव दिए। यो पनि गरिहेरौँ न त भनेर ९–१० लाखको लगानीमा गोकर्णश्वर–७ नमुना चोकमा नसर्री किन्नुभयो।
‘मैले ७ महिना अगाडिमात्रै नर्सरी किनेको हुँ,’ यो पंक्तिकार भेट्न जाँदा उहाँ सुनाउँदै हुनुहुन्थ्यो, ‘त्यति धेरै अनुभव त छैन। तर यति थाहा छ कि यसलाई मिहेनत र माया धेरै चाहिन्छ। आफ्ना छोराछोरीलाई जतिको स्याहार गर्नुपर्छ।’
अहिले सुवेदीको नर्सरीमा सुन्तला, मुन्तला, अनार, एभोकाडो, अम्बा, आरु, किभी, ड्रागनफुडका ४५ देखि ५० थरीका बिरुवा छन्। यस्तै फूलमा सयपत्री, लाउरेफूल, बकमबेली, अपराजिता, ऐजेलिया, ब्रह्माकमल, इन्द्रकमल, कालिन्चो आदि छन्। स्पाइडर प्लान्ट, अंगुर, लालुपाते, गोदावरी, असारेफूल, ब्लिडिङ हट, गुलाफ ,प्यालरगोनियम पनि सुवेदीको नर्सरीमा पाइन्छ।
‘जान्दै छु, सिक्दै छु र संघर्ष पनि गर्दै छु,’ दृढ आवाजमा सुवेदी सुनाउनुहुन्छ, ‘अझै फूलहरू थप्छु।’
सुवेदीका अनुसार अहिले दैनिक ७ हजारसम्म कमाइ हुन्छ। कुनै दिन १८ हजारसम्म पनि भएको छ। यस्तै कुनै ठाँउमा डेकोरेसन गर्न एकैपटकमा ६८ हजारको पनि सुवदीले लैजानुभएको छ।
कडा परिश्रम र निरन्तरको लगावले सुवेदीलाई समयले सफलताको स्वाद चखाउँदै छ। नेपालमै बसेर, थोरै लगानीमा टनेल नर्सरीबाट फूल बेचेर नै मासिक दुई लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ सुवेदी।
‘आफ्नै देशमा केही गरौँ भन्ने सोचले पनि होला सानो उमेरदेखि नै जेसुकै होस् भनेर स्वदेशमै काम गरियो,’ सुवेदीको आत्मसन्तुष्टिको स्वर सुनियो, ‘त्यसैको फल पनि होला अहिले मेरो जीवन फूलजस्तै सुगन्धित हुँदैछ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो