पेसा नै पैसा हो र पैसा नै पेसा। अर्थात् प्रायःजसो पैसा कमाउनकै लागि गरिन्छ। पेसाले नै मानिसलाई सडकबाट महल र महलबाट सडक सम्मको यात्रा तय गर्दछ। देशको अर्थतन्त्रमा व्यवसायीको ठूलो भूमिका हुन्छ।
पेसा (व्यवसाय) गर्ने हरेक मान्छे सफल हुन्छन् नै पनि भन्न सकिन्न। कोही अकासिन्छन् त कोही यत्तिकै सखाप पनि हुन्छन्।
२२ वर्षीय मोहमद सहजाद राजा भारत, मोतिहारी जिल्ला जमालपुर गाँउपालिका वडा नं ४ मा जन्मिनुभएको हो। सामान्य लेखपढ गरेका उहाँलाई पैसा कमाउने चाहना बढ्यो। र कामको खोजीमा साथीसँग काठमाडौँ भागेर आउनुभयो।
‘७ वर्षअगाडि साथीसँग काठमाडौँ आएर सिरक, डसना, बनाउने काम सिक्न थालें। सुरुमा थली, मेलम्ची, तिम्बु, नारायणटार, बौद्ध, जोरपाटी हिँडे,’ उहाँ भन्नुहुन्छ।’
मोहमदका अनुसार पहिला अहिलेको जस्तो कपास पेल्ने मेसिनको चलन खासै थिएन। हातैले कपास कुटेर सिरक डसना बनाउनुपथ्र्यो। ‘सजिलो कहाँ हुन्छ र ? पाँच घण्टामा बल्ल एउटा डसना तयार हुन्थ्यो,’ उहाँले बताउनुभयो।
दिउँसभर लाठी बजारेको हात दुखेर सुरुसुरुमा त खाना खान पनि गाह्रो भयो। ठेला उठेर हात झमझमाउँदा कति रात सुत्न पनि सक्नुभएन।
महिनाको १५सय तलबमा उहाँले दुई वर्ष काम गर्दा अनेक दुःखहरु सहनुभयो। ‘सुरुमा एउटा सिरक डसना बनाउन पाँच घण्टा लाग्थ्यो। तर अहिले पाँच घण्टामा पाँचदेखि छ वटासम्म बनाउन सक्छु,’ उहाँले ढुक्क हुँदै सुनाउनुभयो, ‘काम सिकेपछि आँट आयो र एक्लै हिँड्न सुरु गरेँ। साहुले पहिले महिनाको १५ सय दिन्थ्यो। एक्लै हिँड्दा दैनिक १५ सय कमाइ गर्थें।’
‘पैसा हाथमे आगइल तो सारा दुःख–दर्द भुले के आदमीको तागत और सुकुन मिल जाता है,’ मोहमदले मुस्कुराउँदै सुनाउनुभयो।
पाँच वर्ष गाँउघरमा काम गर्न हिँड्दा मोहम्दले रुखो वचन मात्रै झेल्नुपरेको छैन, गालीगलौज पनि सहनुपरेको छ। ‘धोती आयो लखेट् !’ ओइ धोती भेट्लास् नि ! भन्दै हप्काउँथे। कसैले त काम गरिसकेपछि पैसा दिन पनि निकै गाह्रो मान्थे।
‘कोहीचाँहि भगवान्रुपी नै भेटिन्थे,’ मोहमद भन्नुहुन्छ, ‘कसैले माया गर्ने, काम गरिदिएकोमा खुसी भएर घरमा खान र बास पनि दिन्थे।’
यसरी मोहमद पाँच वर्षसम्म कपडा बनाउन चाहिने धनुष लाठी र १० किलो जति कपास बोकेर हिँड्नुभयो। कमाइ पनि राम्रौ थियो। त्यसपछि धेरै हिँड्ने भन्दा पनि एकै ठाँउमा बसेर काम गर्ने सोच लाग्यो। ‘मानिसहरूको ओहोरदोहोर हुने ठाँउ हेरेर पसल राख्ने निर्णय गरेँ,’ उहाँ बताउनुहुन्छ।
करिब सात महिनाअगाडि नारायणटार, शिवचोकको मन्दिरअगाडि एउटा सटरमा पसल सुरु गर्नुभएको छ मोहमदले। पसलमा सिरक, डसना, तन्ना, सिरानी, कपास, फाइबरको सिरक ,ब्ल्यांकेट इत्यादि राखिएको छ।
‘सुरुसुरुमा त राम्रै चलेको थियो पसल। लाग्थ्यो, व्यापक फाइदा हुन्छ। मान्छेको भीड धेरै हुँदा एक्लै काम गर्न कठिन पनि लागेको थियो,’ मोहमद बेलीविस्तार लगाउनुहुन्छ, ‘सदा एकनास नहुँदो रहेछ। विस्तारै काम सेलाउन थाल्यो। एकपटक लगेको सामान ५–६ वर्षसम्म केही नहुने हुँदा व्यापार क्रमशः खस्किएर गयो। लैजाने सामान र गरेका काम उधारोमा बढी हुन थाल्यो। घाटाको व्यापारले असहाय बनाउँदो रहेछ,’ मोहमद सुनाउनुहुन्छ।’
अहिले सुरु गरेको तर अहिले कोठा भाडा तिर्न पनि कठिन भएको उहाँको भनाइ छ। ‘खाना खानका लागि मात्र पुगेको छ यहाँको कमाइले,’ मोहमद थप्नुहुन्छ, ‘अहिले त सटरको भाडा तिर्न पनि गाउँबाट बुबा सँग पैसा माग्नुपरेको छ।’
अब मोहमदको आशा दसैँसँग छ। किनकि दशैँमा राम्रो व्यापार हुन्छ भन्ने आशा छ। ‘दसंैमा राम्रो व्यापार भयो भने यहीँ सटरमै बसिरहन्छु। नत्र काम छोडिदिन्छु,’ मोहमदको निराश आवाज सुनियो।
हुन पनि हो, जुन कामले खान–बस्नै धौ–धौ पर्छ त्यसैमा घाटा खाएर के काम गर्नु ?
मोहमदले पसल राख्दा लिएको ऋण तिर्न नसकेको बताउनुहुन्छ, ‘व्यवसायी हेर्दा मात्र उपरखुट्टी लगाएर बसेको देखिन्छ। तर उनीहरुको दुःख वेदना कोही बुझ्न चाँहदैन।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो
