पछिल्लो समय डाक्टरमाथि सांघातिक हमला गर्ने क्रम बढेको छ। यही हमलाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार काठमाडौँको माइतीघर मण्डलामा चिकित्सकले विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भएमा उनीहरुका आफन्तले उपचारमा संलग्न चिकित्सक, नर्समाथि हातपात गर्ने गरेका छन्। एक महिनाभित्र मात्रै ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ।
चिकित्सकमाथि पटकपटक हातपात भएपछि त्यसको प्रतिकारमा चिकित्सक नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले मंगलबार देशभर पोसाकमै प्रदर्शन गरेका छन्। उनीहरूले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट’, ‘अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ’, ‘डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ ?’, ‘नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने’, लगायतका प्लेकार्ड बोकेर नारा प्रदर्शन गरेका छन्।
केही हप्ताअघि हेटौँडास्थित सन्चो अस्पतालमा साउन २२ मा भर्ना भएका एक जना बिरामीलाई डेंगीको लक्षण देखा पर्यो। त्यसपछि सो अस्पतालले भोलिपल्टै बिरामीलाई भरतपुर अस्पताल रिफर गरिदियो। भरतपुर अस्पतालमा ती तीन दिनपछि अर्थात् साउन २५ गते मृत्यु भयो। त्यसपश्चात् सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रसान्त विडारीमाथि भदौ २६ मा सांघातिक आक्रमण भयो। बिरामीको मृत्यु भएको निहुँमा डाक्टरमाथि आक्रमण गरिएको नेपाल चिकित्सक संघले दाबी गरेको छ।
त्यस्तै लमजुङ अस्पतालका डाक्टर सन्दीप अधिकारीमाथि पनि असोज ७ गते राति नर्सिङकक्षमै हातपात भयो। बेँसीसहर नगरपालिका ७ का वडाध्यक्ष ऋषिराम बस्नेत आमाको उपचारार्थ आएका बेलामा उहाँले नर्सिङकक्षमै डाक्टरमाथि हातपात गर्नुभयो।
त्यसैगरी, पोखराको मणिपाल शिक्षण अस्पतालका डा. अनिल शाहमाथि असोज ८ मै सेवाग्राहीको कुटपिटबाट अचेत हुनुभयो। दुई दिनअगाडि अस्पतालमा भर्न भएका बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालभित्रै हातपात गरेको थिए। घटनामा संलग्न रहेको आरोपमा पोखराका विनय गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माथि उल्लिखित घटना एक महिनाभित्रका र केही प्रतिनिधि मात्रै हुन्। उपचाररत बिरामीको मृत्यु भएपछि डाक्टरको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै बिरामीका आफन्तजनले अस्पतालभित्रै स्वास्थ्यकर्मीमाथि हातपात गर्नु सामान्यजस्तै बनेको छ। यसले हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्नसमेत उठाएको छ।
डाक्टरमाथि भएका दुर्व्यवहार तथा कुटपिटका घटनाको न्यायिक किनारा नलाग्दै त्यस्तै प्रकृतिका घटना दोहोरिँदै गएपछि देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीले मंगलबारबाट आकमस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारी विरोध प्रर्दशन गरेका छन्। स्वास्थ्यकर्मीमाथि बारम्बार हुने घटनाको छानबिन, दोषीलाई कारबाहीसँगै यस्ता घटना पुनः नदोहोरिऊन् भन्दै विभिन्न अस्पतालले पनि आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरी ऐक्यबद्धता जनाएका छन्।
‘हामी डाक्टर भगवान् होइनाँै। सक्दो प्रयासमार्फत उपचार गरेका हुन्छौँ,’ आन्दोलनमा उत्रिएका एक डाक्टर भन्नुहुन्छ, ‘केही बिरामीको अवस्था अत्यधिक नाजुक भएको वा ढिला ल्याएको अवस्थामा उसको मुत्यु भयो भने अरुको लहलहैमा लागेर वा उचित क्षतिपूर्तिको आशामा पनि डाक्टरमाथि हातपमात वा अस्पताल तोडफोड पनि गर्छन्।’
यस्तै अवस्था हो भने नेपालमा कोही पनि डाक्टर बन्न नचाहने उहाँको भनाइ छ। ‘अब पनि सम्बन्धित निकायले कुरा सुनेर र स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाएन भने म पनि यो देशमा बस्दिनँ,’ उहाँले बताउनुभयो।
आन्दोलनमा संलग्न अर्का एक डाक्टरले गल्ती भएमा वा डाक्टरले बिरामी मारेको पाइएमा नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्नुपर्ने बताउनुहुन्छ।
मैले गल्ती गरेँ भने मलाई पनि सजाय हुनुपर्छ। तर यसका लागि पनि केही विधि र प्रक्रिया छन्,’ उहाँ भन्नुहुन्छ, ‘गल्ती गरेको खण्डमा केही दिन निलम्बन हुने, डाक्टरको लाइसेन्स खारेज हुने, त्यतिले नभए जेल हाल्ने र आपाराधिक मुद्दा लाग्ने खालका सजाय डाक्टरहरूका लागि पनि छन्। तर यहाँ गुन्डागर्दीको शैलीमा, नेताले भनेको भरमा डाक्टरले लापरबाही गर्यो भनेर गरिने सांघातिक आक्रमण र तोडफोड मान्य हुँदैन।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो