श्रीशैलमका मल्लिकार्जूनदेखि काशीका पशुपतिनाथसम्मको यात्रा

भगवान खनाल

भारतका सीमा क्षेत्र यसअघि पनि टेकेको थिएँ। ०६१ सालमा सर्लाही क्याम्पस मलङ्वामा शिक्षण गर्दा भारतको सीतामढी जिल्लाको सोनवर्षा बजार घुम्न गएको थिएँ, दुई पटक स्थानीय एक साना व्यापारीसँग। यसपछि विराटनगरबाट साथी मीनकुमार श्रेष्ठ लगायतसँग। यस्तै रौतहटको वैरगनिया पारी साथी सुब्बा कार्कीसँग र भैरहवा बेलहियाबाट सुनौली र धनगढीबाट यसो पारी पट्टी टेकेकोसम्म थिएँ। तर दुई बिसे पार भइसक्दा पनि राहदानी साहदनी पनि नचाहिने भारतको यात्रा चाहिँ गरेको थिइनँ। जाऊ जाऊँ लाग्यालागै तर समय भएर पनि स्रोत जहिले उस्तै। निस्फिक्री समय उपलब्ध थियो तर स्रोत पुगेस् नपुगेस् । तैपनि भारत जाने निधो गरेँ। यसको चाँजोपाँजो मिलाउनु भयो, दुर्गानाथ गौतमले। गौतमसँग दोस्ती जमेको १० वर्ष भयो, अनन्य मित्र नवराज गौतममार्फत।

०७९ फागुन २० गते बिहान गोरखा र काठमाडौँबाट भारत भ्रमणमा निस्केकाको भेट हेटौँडामा भयो। त्यसपछि हामी वीरगन्ज हुँदै रक्सौल पुग्यौँ। वीरगन्जमा साथी नीरज पीठाकोटे मगरले मलाई भारतीय मोबाइल फोनको सीमकार्ड खोजिदिनुभयो। रक्सौल गएपछि टिकट मिलाउने, सीमकार्ड लिने काम गरियो। बजारमा निस्किएर फलफूल किन्यौँ। बिहानको टिकट भएकोले होटेल नबसी रेल स्टेसनमै अतिथि कोठामा बस्यौ। ४ जनाको लागि मात्रै बिछ्यौना भएकोले ५० रुपैयाँका दरले जम्मा २०० रुपैयाँ तिर्‍यौँ।

काशीको पशुपतिनाथ मन्दिर

फागुन २१ गते बिहान रक्सौलबाट ३:१५ बजे हैदरावाद एक्सप्रेस नामक रेलको यात्रा सुरु भयो । यसपछि हैदरावाद रेल स्टेसनमा पुगियो २३ गते बिहान  १ बजे। रेल स्टेसनकै पाहुना कक्षमा घण्टाको ५० भारुका दरले ३०० रुपैयाँ तिरेर बिहान ५ बजेसम्म सामान्य आराम गरियो। त्यसपछि हैदरावाद बसपार्कमा अटो रिक्सा समाएर महात्मा गान्धी बसपार्कतिर हानियौ। बिहान सवा ७:१५ को बस चढेर श्रीशैलम मन्दिरतर्फ गयौँ, बसले १ बजे शैलमबजार ओराल्यो। त्यसपछि हामी गेस्टहाउसको खोजीमा लाग्यौँ। त्यहाँस्थित धर्मशाला गङ्गा गेस्ट हाउसको पातालेश्वर सदनमा हाम्रो बासको टुङ्गो लाग्यो। साँझपख पङ्क्तिमा बसेर मन्दिर भ्रमण भयो। फागुन २४ गते बिहानै ४ बजे उठेर श्रीशैलम मन्दिर भ्रमण गरियो। यस मन्दिरलाई मल्लिकार्जून मन्दिर पनि भनिन्छ। त्यसपछि त्यहाँस्थित अड्केश्वर, ललितादेवी, अम्मावारपिटम दर्शन गर्‍यौँ। त्यसपछि पालधारा-पञ्चधारा, श्री शारदाचन्द्र मौलिया र शङ्कर मन्दिर गयौँ। पालधारामा ढुङ्गाको चेपबाट पानी निस्केको छ । बस्ती छुटेपछि जङ्गल सुरु हुने, जङ्गल छुटेपछि बस्ती। शैलमबजार पुग्नै लाग्दा चिहान पनि भेटिन्छ। यो बजार सफा छ। यो सुन्दर पहाडी बस्ती हो। बजारभर कालोपत्रे सडक छ। बजारमा त्यहाँका सरकारी कार्यालयहरू छन्। श्रीशैलम मन्दिर बाहिर त्यस क्षेत्रको अन्य स्थानमा साइट सिन गराउन अटो रिक्सा वा जिप चालकहरू पर्यटक पर्खेर बसेका हुन्छन् र संक्षिप्त व्याख्या समेत गरिरहेका भेटिन्छन्। शैलम बजार क्षेत्रमा शैलम मन्दिर दर्शन गर्न आएका दर्शनार्थीहरू सडकका पेटीहरूमा पनि व्यवस्थित तवरले सुतेका हुन्छन्। बजारमा पसलहरू, होटेलहरू, सपिङ कम्प्लेक्स, अडिओटोरिम हल, डर्मिटरी, होटेल तथा रेस्टुरेन्ट, ससाना पूजासर्दम सामग्रीहरूका पसलहरू छन्। जङ्गलमा वन्यजन्तु रहेकाले ठाउँ ठाउँमा प्रदेश सरकारले सूचना बोर्ड राखेको छ। मुख्य मन्दिर वरपरका ससाना अन्य मन्दिर रहेकाले अटो रिक्सा, जिपको पनि व्यापार चल्दो रहेछ। धार्मिक क्षेत्र वरपर आर्थिक क्रियाकलाप बढेको संसारभर नै देखिन्छ। कालोपत्रे सफा सडकमा यात्रा मनमोहक भयो, हामी ५ जना तीर्थालुले निकै आनन्द महसुस गर्‍यौ। त्यसपछि हामी आवास गरेको क्षेत्रमै फर्कियौँ। चार जना एक होटेल र मैले चाहिँ फरक होटेलमा खाना खायौँ। विष्णुमान सरले त  त्यहाँ स्थानीयले त हामीले खान पनि जान्ने रहेछन् भन्छन् कि क्या हो भनेर प्रसङ्ग उप्काउनु भयो। केराको पातमा खाने चलन रहेछ त्यहाँ। त्यस रात त्यही बस्ने भएपछि हामीले साँझ पनि गणपति मन्दिर जाने सोच राखियो। बढी पैसा तिरेमा छिटोबाट जान पाइने र निःशुल्क लाइनमा चाहिँ ढिलो हुने रहेछ।

१२ वटा ज्योतिर्लिङ्ग मध्येको एक हो श्रीशैलम मन्दिर। यो मन्दिरको शिर सुनको पाताले पहेंलपुर छ। यस मन्दिरभित्र अन्य थुप्रै मन्दिरहरू छन्। प्राय मन्दिरहरू ढुङ्गाले बनेका छन्। पाषाणकलाको लीला नै देखिन्छ। यहाँका कलाकृतिहरू दक्षिण भारतमै अब्बल रहेको कुदिएका ढुङ्गाले बताउँछन्। मुख्य मन्दिरका गर्तमा जान भारु ५ हजार लाग्ने रहेछ। तर दर्शन चाहिँ गर्न पाइन्छ। मन्दिर भित्र ठाउँ ठाउँमा मुख्य चोक चोकमा दान बाकस (हुन्डी) राखिएको छ। त्यस्ता स्थानमा सुरक्षाका लागि प्रहरी समेत छन्। दानलाई सुरक्षा दिन भारत चुकेको छैन। श्रीशैलम मन्दिर कृष्णा नदीको समीपमा छ। यसको उत्पत्ति रोचक छ। विभिन्न पुराण आदिमा उल्लेख भएअनुसार गणेशको दाइ कार्तिकेय विवाह गर्नुपर्ने प्रस्ताव आमा पार्वतीले राखिन्। पृथ्वीको सात परिक्रमा जसले गर्छ उसलाई छिटो विवाह गरिदिन्छु भनेर आमाले भनिन्। कार्तिकेय आफ्नो वाहन (मयुर) चढेर परिक्रमा गर्न गए। गणेश आफ्नो वाहन (मुसा) मा शिव पार्वतीको पूजा गर्न गए। कुमार चाहिँ घुम्न गए। तर घर फर्किदा गणेशको विवाह भैसकेको पाउँछन् कुमारले। अनि उनी रिसाउँछन्। कुमार हिँड्छन् एकातिर। कहाँ गए भनि नारद खोज्न आउँदा शैलमको मुनी कृष्ण नदीमा भेटिन्छन्। घर जान मान्दैनन्। बाबुआमा (शिव पार्वती) आउँदा पनि फर्किन मान्दैनन्। बरु बाबुआमाको शिला स्थापना गरेपछि उक्त स्थानलाई मल्लिका (पार्वती) र अर्जुन (शिव) भएको भन्ने एक खालको किम्बदन्ती भेटिने रहेछ।

यात्रा टोली

२४ गते साँझको समयमा कृष्णा नदीमा डुङ्गा सयर गरियो। साँझै भैसकेको शायद अन्तिम डुङ्गा थियो त्यो। र डुङ्गा चालक वा तिनका सहयोगीले रैथाने लवजमा भनिरहेका थिए, रावलइन्डी  रावलइन्डी । हिन्दी, मैथिली भाषा बुझ्नेले पनि त्यहाँको रैथाने भाषा तेलगु नबुझ्ने।  धेरैजसो शब्दमा ड, र आएको सुन्थेँ मैले चाहिँ। पछि रामोजी फिल्म सिटी पुग्दा मात्रै थाहा भयो रावलइन्ड भनेको ‘छिटो आउनु, छिटो’ भनेको रहेछ। मैले मल्लिकार्जुन मन्दिर दर्शन गर्न जाँदा जानेको शब्द त्यही थियो, रावलइन्डी ।

२५ गते बिहानै ४ बजे उठेर पुनः कृष्ण नदी गयौँ म र दुर्गानाथ। मैले सामान्य मुख धोए भने उहाँले नदीमा डुबुल्की मारेर स्नान नै गर्नुभयो। बिहानै नदीमा पुग्दा जलारीहरू जाल हानेर माछा मारिरहेका थिए। यसपछि गेस्टहाउस फर्किएर पाँचै जना पुन श्रीशैलम मन्दिर गयौँ, जुन तेस्रो पटक थियो। पहिलो पटक जाँदा म चाहिँ भित्र प्रवेश गरेको थिइनँ। हामी पुग्दा ६ बजेको पङ्क्ति भित्र प्रवेश गरिसकेकाले करिब डेढ घण्टा प्रतीक्षालयमा बसेपछि मात्रै अर्को पटकको प्रवेशमा मन्दिर भित्र गयौँ। भित्रैसम्म दर्शन गरियो, प्रसाद ग्रहण पनि गरियो। प्रसाद नै भातजस्तो वस्तु थियो। २४ गते साँझ कृष्ण नदीमा जाने क्रममा कोठाको ताल्चा रत्नबहादुर बा ले लगाउनु भयो तर विष्णुमान सर त भित्रै थुनिनु भएछ। रामकुमार दाइले हेर्दा त विष्णुमान सर देख्नुभएन, कोठामा जाँदा त उहाँ त बाहिरिएका हामीलाई झ्यालबाट सर, सर भनेर बोलाउँदै हुनुहुँदो रहेछ। तीन पटक श्रीशैलमको दर्शनपछि धर्मशालामा पुगेर हैदरावादतर्फ फर्कियौँ। १० बजे तेलङ्गना राज्य सरकारको सरकारी बस चढेर हैदरावाद सहर पुग्यौँ।

पहिलो रेल यात्रा त्यो पनि ४० घण्टाको एक हिसाबले पट्यारै लाग्यो। हामी पाँचै जना एकै डिब्बामा एसी सिटमा थियौँ। रेल यात्रा भर खाएको खायै। काठमाडौँबाट जानुभएका दुर्गानाथ गौतम, विष्णुमान श्रेष्ठ र रत्नबहादुर श्रेष्ठले घरायसी तयारी खानेकुरा लैजानु भएको रहेछ। मीठो खालको सातु विष्णुमानले लैजानु भएको रहेछ। म र रामकुमार अधिकारी दाइले भने घरायसी केही खानेकुरा बोकेका थिएनौँ। किनमेल गर्दा भागबन्डामा परेको रुपैयाँ व्यहोर्‍यौं। हुन त म शैशव अवस्थामा नेपालगन्ज मामाघर भएको बखत रेल यात्रा गरेको थिएँ रे। आमा घर माइती गर्दा नेपालगन्ज जाँदा भारतीय रेल चढ्नुपर्दथ्यो रे। यस अघि रेल चाहिँ जोगवनीमा रोकिराखेको अवस्थामा छोएको थिएँ र पार्किङको रेल मुनिबाट अर्कोतर्फ गएको थिएँ। रेल आफैमा व्यापारिक यात्रा साधन रहेछ। स्टेशन स्टेशनमा खुद्रे व्यापार चल्छ भने अन्य चिया, अण्डा, पाउरोटी अरू रैथाने खानेकुरा बनाएर जीविकोपार्जनको लागि गरिबहरू बेच्न ल्याउँदा रहेछन्।

हैदरावाद टु रामोजी फिल्म सिटी

२६ गते हैदरावाद बस स्टेसनमा अलमलिएर बसपार्कमा एक जना राय थरका कर्मचारीलाई भेटेर चिया जुस पियौँ। उसैले हामीलाई होटेलसम्म लगिदिए। बस यात्रामा थाकेका हामीहरू होटेलमा आराम गर्‍यौँ। एक रात हैदरावादमा बसेपछि भोलिपल्ट (२७ गते) चार मिनार, रामोजी फिल्म सिटी घुम्ने योजना थियो। बबाल रामोजी फिल्म सिटी (बाहुबली फिल्म सुटिङ भएको स्थान) घुमियो। हैदरावादबाट रामोजी जाँदा एक अटो रिक्सा रिजर्भमा लियौँ। चार मिनारदेखि रामोजी फिल्म सिटीलाई एक हजार भारुमा। तर रामोजीमा घुम्दा ऊ भागिदियो। अनि अर्को अटो रिक्सा रिजर्भमा लियौँ र हैदरावादस्थित होटेलमा फर्कियौँ। रामोजी फिल्ट सिटी प्रसिद्ध छ।  हैदरावाद जानेहरूले फिल्म सिटी घुम्नुले अपार आनन्द दिन्छ। त्यहाँ फिल्म निर्माण गर्न पाइने रहेछ। बाहुवली फिल्म सुटिङ गरेपछि उक्त स्थललाई पर्यटकीय केन्द्र बनाइएको रहेछ। त्यहाँ लगानी, साजसज्जा, उपलब्ध मनोरञ्जनात्मक सेवा सुविधाले जोकोहीलाई पनि लोभ्याउँछ। त्यहाँ टिकट महँगो लागेकोले म र रामकुमार चाहिँ भित्र नजाने निधो गर्‍यौँ। भित्र घुम्न चाहिँ दुर्गानाथ, विष्णुमान र रत्नबहादुर जानुभयो। उहाँहरू दिनभर अवलोकन गरेर फर्किनुभयो भने हामी बाहिर बस्ने पनि बाहिरी दुनियाँमा विचरण गरियो। बाहिर राखिएका टेलिभिजन सेटमा हामीले भित्रका दृश्यहरू केही अवलोकन र केही अनुमान लगाइयो। खाजा र निःशुल्क पानी पिएर करिब ५ घण्टा समय प्रतीक्षालयतिर बसेर बिताइयो।

चार मिनारमा दुर्गानाथ, विष्णुमान र रत्नबहादुरले घरपरिवारको लागि केही सामानहरू किन्नु भएको रहेछ। जुन सामान रामोजी फिल्म सिटी भित्र जाँदा त्यहीँ अटो रिक्सामै थियो। बाटोमा अटो रिक्सामा तेल समेत भरेका थियौँ। हामीलाई ठगेर अटो रिक्सा चालक भागेपछि अर्को अटो रिक्सा लिएर महात्मा गान्धी बसपार्कमा उनै राय थरका कर्मचारीलाई भेट्न गयौँ। अटो रिक्साले हाम्रो सामान लिएर भागेको रायजीलाई बताएपछि प्रहरीकोमा खबर भयो। प्रहरीले उतिखेरै भगुवा अटो रिक्सा चालकको नाम थर, ठेगाना पत्ता लगायो। मैले उक्त अटो रिक्साको नम्बर आउने गरी फोटो खिचेको थिएँ, चार मिनारमा। त्यही फोटोले अटो रिक्सा चालकको बारेमा पत्ता लगाउन सहज भयो। यसअघि रामोजी फिल्म सिटीमा म र दुर्गानाथले गरेको मोबाइल फोन उसले रिसिभ गरेको थिएन। तर फर्किदा प्रयोग गरेको अटो रिक्सा चालकले पनि उसलाई प्रहरीकोमा कारबाही गर्न निवेदन दिएको सुनाएछन् र प्रहरीले पनि बारम्बार फोन गरेपछि बल्ल भगौडा चालकले फोन गर्न थाल्यो। जति बेला हामी नयाँ दिल्ली पुगिसकेका थियौ। प्रहरी महँगा र धेरै मूल्यका सामानहरू नभए पनि ससानो कुरामा देशको इज्जत गर्न नसकेकोमा अटो रिक्सा चालकसँग रिसाएको दुर्गानाथ सरले बताउनु भएको थियो। अन्ततः उसले ती सामानहरू प्रहरीकोमा अर्को मानिसलाई दिएर पठाउन लगाएको मोबाइल फोनमा बतायो।

२७ गते साँझ सिकन्दरबाट रेल यात्रा गरी बिहान ४ बजे हजरतनिजामुद्दिन रेल स्टेसनमा झरियो। रेल स्टेसनमा के दिन, के रात। मानिसको ठेलमठेल, भिडभाड। त्यहीँमाथि राजधानीको स्टेसन, भीड नहुने कुरै भएन। आउने जानेको चापाचाप। विश्रामालयमा एक घण्टा बस्यौ र लकरमा झोला राखेर अक्षर धाम मन्दिर घुम्न निस्कियौ। स्टेसनबाट करिब २०० मिटर हिँडेर बस चढ्न गयौ। बसले १० मिनेटमा नै अक्षर धाम जाने चोकमा झारिदियो। भारतमा लामो दुरीका सरकारी बसको यात्रा मज्जा लाग्यो। कन्डक्टरलाई ढोकनेरको सिट। ढोका ढ्याप्प गर्न पनि नपर्ने। तोकिएको गन्तव्य, स्टेसन र खाना, शौचआदि तोकिएको समय नै गर्ने। चालक, सहचालकको पोशाक कोड। अक्षर धाम नखुलिसकेकोले त्यहाँको मेट्रो रेलको दृश्यावलोकन गरियो। सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा पर्यटक पनि उति नै जाने। मेट्रो रेलमा समेत भिडभाड। भुइका बस र रेलमा उस्तै ठेलमठेल। सडकले नधानेर सडकको बीचमा भीमकाय खाँबा ठडाएर मेट्रो रेललाई बाटो बनाइएको रहेछ। दक्षिण हुँदै दिल्ली र गोरखपुर पुग्दासम्म ठाउँ ठाउँमा रेलका लिग बनिरहेका छन्, पुराना लिगको मर्मत सम्भार चलिरहेको छ भने मेट्रो रेलको लिगको लागि उत्तिकै संरचना बनाइरहेकै छ। भारतभर ओभर हेड ब्रिज बनाउने अभियानै चलेको रहेछ। दिल्लीजस्तो जनघनत्व भएको सहरमा हरियालीको विकास गरिएको रहेछ। ठाउँ भएको ठाउँमा ससाना रूख बिरूवा रोपण भएको र ठाउँ नै नभएको ठाउँमा पनि ठुल्ठूला पिलर र पुल मुन्तिर पनि मिनी बगैँचा, सवारीसाधन र यात्रीलाई असर नपुर्‍याउने खालका फूल रोपण गरिएको छ। अक्षर धाम नखुलुन्जेल म र दुर्गानाथ सरले नजिकैको पाण्डव नगरका गल्ली चहार्‍यौ। उखु र नरिवलको जुस पियौ। पाण्डव नगरका गल्लीहरूमा ढाका टोपी लगाएका मानिसहरू भेटिए। हामीले गफिन चाहे पनि तिनीहरू मानेनन्। अक्षर धाम झन्डै नेपालको प्रशासनिक केन्द्र सिंहदरबार हाराहारीकै देखिन्छ। निकै मनमोहक, फराकिलो, सफा छ अक्षर धाम। सूचना प्रविधिको प्रयोग गरी धामभित्र भिडियो कथानकको आधारमा बनाएको नाटक हेर्न पाइन्छ। यस्तै प्राचीन कथामा आधारित रहेको अडिओसहित डुङ्गा सयर गर्न सकिन्छ। विचित्रको बनावटसहितको धार्मिक स्थल हो अक्षर धाम। वृहत् भारत भित्रको एक रमणीय स्थलमा दिनभर बिताएको पत्तो भएन। दिनभर घुमेर हजरतनिजामुद्दिन रेल स्टेसनबाट साँझतिर आनन्द विहारको लागि हिँड्यौ। यसपछि हामी ट्याम्पो रिजर्भ गरेर प्रयागराज दर्शन गर्न गयौ। प्रयागराज तीन नदीको सङ्गम हो, प्रयाग, गङ्गा र जमुनाको। डुङ्गा पनि चढ्यौ। यसपछि त्यहाँकै अक्षय वर मन्दिर घुमियो। प्रयाग जवाहरलाल नेहरू, इन्दिरा गान्धीको घर भएको ठाउँ हो। काली माता र भारतद्वाजमुनी आश्रम समेत गयौँ।

बनारस यात्रा

दक्षिण भारतबाट अघि बढेको यात्रा उत्तरतर्फ सोझिइसकेको थियो। दक्षिणको सामाजिक, धार्मिक, सांस्कृतिक वैभवको विचरणपछि उत्तरको प्रयागराजबाट बस चढेर अहिले औपचारिक रूपमा वाराणसी भनिने काशी वा बनारस घुमफिरमा पुग्यौ। यात्रारत दुर्गानाथ सरले आइएसम्म अध्ययन गरेको स्थान बनारस। विष्णुमान र रत्नबहादुर पनि पटक पटक पुगेको स्थान बनारस। बनारसको एक धर्मशालामा बस्ने निधो भयो। रात बिताएर बिहानै विश्वनाथ मन्दिर र काशी नदीको भ्रमण गरियो। विश्वनाथ मन्दिर परिसर भर्खरै पुन निर्माण गरिएको रहेछ। मन्दिरमा ४ वटा प्रवेशद्वार छन्। मुख्य प्रवेशद्वार काशी नदी हुँदै रहेको छ। योगी आदित्यनाथले ४०० वटा घर भत्काएर पुन निर्माण गरेको विश्वनाथ मन्दिर परिसरले हिन्दु मात्रै होइन, विश्वका सबै धर्मालम्बीको ध्यान तानेको छ। सफा, स्निग्ध, फराकिलो, सिङ्गमरमर युक्त छ प्रवेशद्वार। दर्शनार्थीको सधैँ घुइँचो लाग्छ। मन्दिर भित्र गएर दर्शन गरियो। एक छिन एकचित्त भएर एक कुनामा पाँचै जना आँखा चिम्लिएर बस्यौ। सबै एक छिनमा आँखा खोलेर जर्‍याकजुरुक उठ्यौँ तर रत्नबहादुरले आँखा खोल्नु भएनछ। उहाँ बाहेक चार जना बाहिर निस्कन भनेर हिँड्यौ। एक मिनेट जति हिँडेपछि हेर्दा रत्नबहादुर बा देखिनुभएन। विष्णुमान दौडेर जानुभयो, तर अघि आँखा चिम्लेर बसेको ठाउँमा हुनुहुन्थ्यो रत्नबहादुर। चार जनाले छोडेर हिँडे भनेर उहाँ चाहिँ एक्लै भएपछि नजिकैको गणेशलाई भेटी चढाउन जानु भएको रहेछ। भेटी चढाएर उहाँ पनि फर्किनु, हामीले पनि उहाँलाई भेट्टाइयो। कसैले पनि नबोलाईकन हिँडेको भनेर रत्नबहादुर बा रिसाउनु स्वाभाविकै थियो। हुन पनि हो, कसैले पनि सङ्केतसम्म पनि नगरीकन हिँड्दा एक छिन रत्नबहादुरसँग बाँकी चार जनाको सम्पर्क विच्छेद भयो। कथम् हराएको भए, भेटिन मुस्किल। यसपछि बाहिर निस्कने बिन्दु खोजेर हिँडियो तर सुरक्षाकर्मीले सोधे, ‘कति नम्बर प्रवेशद्वारबाट भित्र छिरेको ?’ कति नम्बरको प्रवेशद्वारबाट गयौ भन्ने भेउ भएन। पाँचै जना मुखामुख गरियो।  जुन प्रवेशद्वारबाट गएको हो, उही नम्बरबाट निस्कनु पर्ने रहेछ किनकि जुत्ता चप्पल, घडी, मोबाइल फोन वा अन्य सामग्री बाहिरै राखिएको हुन्छ। बाहिर सशुल्क लकरैलकरै हुने रहेछन्। कोठाबाट निस्केर साँघुरा गल्ली हुँदाहुँदै मन्दिर प्रवेश गरिएको थियो। मैले १ नम्बर प्रवेशद्वार भनेँ, रत्नबहादुरले २ नम्बर भन्नुभयो। अगाडि हिँड्नुभएका दुर्गानाथ सरले मैले भनेको सही होला भन्ने अनुमान गर्नुभएछ। तर हामी निस्कियौ, ३ नम्बरबाट। हामी न मैले भनेको र न रत्नबहादुरले भन्नुभएकोबाट निस्कियौ। अर्कोबाट निक्लिदा त चप्पल, घडी कहाँ राखिएको स्थान आन कि तानले फरक पर्‍यो। करिब ४० मिनेट बनारसका साँघुरा गल्लीमा खाली खुट्टा हिँड्दै जुत्ता चप्पल र घडी राखिएको ठाउँमा बल्लतल्ल पुगियो। दुर्गानाथको डिजिटल घडीले आफलताफल बनायो। आखिर रत्नबहादुर हेक्का राख्नुभएको रहेछ, प्रवेशद्वारको नम्बर।

उहाँले भनेको सही रहेछ। उहाँले भन्नुभयो, ‘मैले भनेको कसैले सुन्ने होइन, कसैले पत्याउने हैन ?’ जुत्ता चप्पल र घडी फेला पारेर फर्किदा सही प्रवेशद्वार पकड्न नसकेको गलफती गर्दै निस्कियौ। चिया पियौ र काशी नदीतिर गयौ। मुख धोइयो। विश्वनाथ मन्दिर नजिकै मुस्लिमको मस्जिद पनि रहेछ। भारतमा हिन्दु—मुस्लिम हिंसा भड्किएको पनि थियो। दुवै धार्मिक स्थल वरपर सुरक्षा व्यवस्था कडा थियो। गल्ली गल्ली र चोक चोकमा प्रहरी छन्। हिउँद याममा पानी सुक्दै गएकोले पारी किनारामा बालुवाको थुप्रोमा टेन्टका घरहरू टन्टै थिए। त्यही दिशामा रहेछ पूर्व प्रम लालबहादुर शास्त्रीको गाउँ पनि। विश्वनाथ मन्दिर परिसरमै जोडिएको रहेछ पशुपति नाथ मन्दिर। भारतमा नेपालको नाममा पुर्जा रहेको पशुपतिनाथ मन्दिर रहेछ। तर निकै जीर्ण छ। सँगैको विश्वनाथ मन्दिर परिसर जुन मुख्य प्रवेशद्वार पनि हो, चकाचक हुँदा, नेपालको पशुपतिनाथ मन्दिर परिसर भने चमक हराएको, निन्याउरो छ। विश्वनाथ मन्दिर परिसरको पुनर्निर्माण गर्दा सँगै पशुपतिनाथको मन्दिरको पनि पुनर्निर्माण गर्न तत्कालीन सरकारले पहल गरेको रहेछन्। एक किसिमका भारतीयहरूले पशुपतिनाथ मन्दिरबाट नेपालीहरूको अस्तित्व मेटाउन बेलाबखत रडाको पनि गर्ने गरेको मन्दिर रूगेर बसेका एक जना नेपाली युवाले बताएका थिए। नेपाल नआएका भए पनि तेह्रथुमका रोहित ढकाल भारतको पशुपतिनाथ मन्दिर संरक्षण, संवर्द्धनमा नेपाल सरकारले चासो नदेखाएको भन्दै रोष समेत प्रकट गरे। त्यहाँस्थित वृद्धाश्रममा केही नेपाली वृद्धाहरू बसिरहेका छन्। उनीहरूको भरण पोषणमा समस्या बन्दै गएको ती युवाले बताएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुठी संस्थानले मासिक एक लाख रुपैयाँ खर्च पनि पठाउँदो रहेछ। श्री ५ सुरेन्द्र शाहको पालामा प्रधानमन्त्री रणबहादुरले निर्माण गरेको पशुपतिनाथ मन्दिर घुम्दा नेपालमै पुगेको महसुस भयो।  मेरो विचारमा नेपाल सरकारले औपचारिक रूपमा भारत सरकारलाई पशुपतिनाथ मन्दिर परिसरको गुरुयोजना बनाएर पुनर्निर्माण गर्न अनुरोध गरेमा भारतले कसो नगर्ला ? नजिकै पर्यटकको चाप नधानिसक्नु छ भने पशुपतिनाथ परिसर उपेक्षित छ। यसैले पुर्खाको नासो जोगाएर राख्नुमा जति गर्व छ, त्यति नै त्यस परिसरको पर्यटकीय विकास भइदिएमा नेपाली छाती झनै चौडा बन्छ।

बनारसमा ३ रात बिताइयो। गल्ली गल्ली गएर मिठाइ, चिया, खाजा खायौ। नेपाली भाषा प्रकाशन समितिको कार्यालय पनि गयौ। काशी नदी किनारमा सन्ध्याकालीन आरतीको दृश्यावलोकन गर्नेहरूको उधुमै भीड हुने रहेछ। आरतीमय काशी किनारमा तेस्रो विश्वका पर्यटकहरू समेत सम्मोहित हुँदा रहेछन्। काशी पितृ कार्य गर्नेहरूको आमसभा नै हुँदो रहेछ। पण्डितले माइकिङ गरेर कर्म गराउँदा रहेछन्। आरती र पितृ श्राद्ध मैले चाख मानेर हेरेर। सन्ध्याकलामा काशी नदीमा बोटिङ गर्‍यौँ। काशी नदीका थुप्रै घाटहरू घुम्यौँ। ललिता घाट पनि छ त्यहाँ। काशी नदी किनार सफाचट थियो। बनारसमा पिउने पानी पुर्‍याउन नदीमा डिप बोरिङ गरिएको छ। सहरका गल्ली गल्लीमा धारै धारा छन्। पानीको अभाव छैन। मलाई त बनारस नेपाली बजार असन, इन्द्रचोककै झल्को लाग्यो। साँघुरा साँघुरा गल्ली, घर, सवारीसाधन र मानिसको भीड। बनारस सहर सफा पनि छ। नेपाली राजनीतिज्ञको रिहर्सल स्थल पनि हो बनारस। बिपी, कृष्णप्रसाद, पुष्पकालदेखिका नेताहरूको बसेको सहर हो बनारस। अध्ययन र व्यापार गर्न पनि वर्षौँदेखि नेपालीहरू पुगेको स्थान हो बनारस। भारतमा बसेर राजनीति गर्न सिके पनि नेपाली नेताहरूले भारतका गतिला पक्षलाई भने आत्मसात् नगरेको जस्तो बुझेँ मैले। गुजरात गृह नगर भए पनि भारतका प्रम नरेन्द्र मोदीको निर्वाचन क्षेत्र पनि रहेछ बनारस। गल्लीहरूमा रहेका बोर्डहरूमा मोदीको निर्वाचन क्षेत्रको बजेटबाट विकासका पूर्वाधार बनेको लेखिएको थियो। बनारसबाट रेलमा गोरखपुर आएर १३ दिनको भारत यात्रा सम्पन्न भएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

भगवान खनाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link