…त्यसपछि जनज्योति बसाइँ सर्यो

भगवान खनाल

मानिस आफ्नो व्यक्तिगत स्वार्थका लागि गाउँबाट बेँसी झर्ने, बेँसीबाट बजार, सहर लाग्ने क्रम खास गरी तीन दशकयता बढोत्तरी भएको हो । गाउँबाट गाउँमै बसाइसराइ भइरहेको समयमा कमाउनेहरू, क्षमतावानहरू बजार—सहर पस्नु असामान्य होइन । सहर बजार छिर्न नचाहने र नसक्नेहरू गाउँभित्रका मानवबस्ती बाक्लिएका ठाउँमा ओर्लिएका छन् । फलस्वरुप गाउँभित्रका ट्रान्जिट बस्तीहरूको, पुर्खाकै खेतबारी भएका बेँसी भेगहरूमा घनत्व बढेको छ । व्यवस्था बद्लिए पनि, गाउँमा विकासका पूर्वाधार पुगे तापनि थातथलोबाट पलायन हुने क्रम भने रोकिएको देखिँदैन ।

विश्व नागरिकको अवधारणा विकास भएसँगै अध्ययन तथा रोजगारीको लागि बिदेसिनु नौलो मान्नु पर्दैन । बिदेसिए भन्ने जति चिन्ता र चासो चार पाँच वर्षयता देखि बोलिन थालिएको छ, अहिले त्यो भन्दा आन्तरिक बसाइसराइ चाहिँ मुख्य समस्याको रूपमा देखिन्छ । गाउँघर चाहर्दा धन्न मानिसहरू त्यहाँको स्थानीय समुदाय, समाज र संस्थाहरू चलाएरै बसिरहेका छन् भन्ने लाग्छ ।

आन्तरिक बसाइसराइको प्रभावले गर्दा जन्मथलोको विकास ओझेलमा परेको छ । ती मानिस अन्यत्र थुपरिदा बसाइसराइ गएको ठाउँ चाहिँ बाक्लिएको मात्र छैन, पूर्वाधार विकास लगायतमा पनि चलायमान बनेको छ । गाउँका हिजोका अर्थ सामाजिक गतिविधि निमिट्यान्न भएर बजार—सहरमा भने जागेको देखिन्छ । यसर्थ आन्तरिक बसाइसराइले सामाजिक संरचनामा नै बदलाव ल्याएको छ ।

मानिसले गाउँ छाडेर बजार—सहर छिर्दा दुःखले घडेरी जोड, दुःखले घर बनाऊ गर्दागर्दै एउटा पुस्ताको दुई तीन दशक स्थापित हुनको लागि नै बितेको देखिन्छ । जसको कारण ऊ न त्यहाँको सामाजिक कामहरूमा संलग्न हुन सकेको छ, न त गाउँ नै फर्किन सकेको छ । आन्तरिक र बाह्य, बसाइसराइ फेरी मानवीय विकास र प्रगतिको द्योतक पनि हो ।

हिजो गाउँको माझमा रहेका स्थानहरू अहिले अपायक बनेका छन् । हिजोको गाउँ पञ्चायत वा गाउँ विकास समितिका केन्द्रहरू अहिले अपायक बनेको देखिन्छ । खास गरी गाउँमा ४० देखि ५० को दशकमा गाउँ बस्तीको माझ परेका संस्थाहरू जस्तै विद्यालय, स्वास्थ्य चौकी लगायतहरू अहिले अपायक देखिन्छन् । समुदायमा  ती संस्था मानिस बाक्लिएका ठाउँमा झार्नु न बन्द गर्नु भन्ने समस्यामा देखिन्छ ।

यस्तैको एक उदाहरण हो गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ स्थित जनज्योति आधारभूत विद्यालय । विसं २०४४ मा गाउँघरको बिच पारेर स्थापित विद्यालयमा स्थानीयको गाउँबाट बेँसी झर्ने क्रम बढेसँगै २०७५ सालसम्म आइपुग्दा यस विध्यालयमा जम्मा ४ जना विद्यार्थी रहन पुगे ।

स्थानीय समुदायले विद्यालय कसरी जिउँदो राख्ने भन्ने जुक्ति गर्दागर्दै विद्यालयलाई नै बेँसी झार्ने उपायमा पुग्यो। स्थानीयसँगै विद्यालय पनि बसाइँ सर्यो ।  बेँसी झारेर विद्यालय ज्युँदो राख्ने जनज्योति विरलै कोटीको उदाहरण हो । यसअघि पनि विपद्लगायतका कारणले विद्यालय स्थानान्तरण गरेका उदाहरण धेरै नै देखिन्छ ।

निजी विद्यालयमा सहरमा यसको खुब खेती खेलो चल्छ । तर विद्यार्थी कम भएपछि विद्यालय जीवन्त राख्ने जनज्योति जुक्ति भने नगण्य छ । विद्यालय व्यवस्थापन समितिले २०७४ साल चैत १४ मा २०७५ को शैक्षिक वर्षबाट सबै कक्षा बेँसी झार्ने निर्णय लियो । यस भन्दा अघि नै बाल विकास कक्षा बेँसी झारिएको थियो भने र २०७३ साल चैत १४ को बैठकले कक्षा १ र २ पनि बेँसी झारेको हो ।

यस विद्यालयको संस्थापक अध्यक्ष बाबुराम दुवाडी हिजो विद्यालय स्थापना गर्दाको सङ्घर्ष सम्झँदै भन्छन्, “हिजो पनि गाह्रो थियो, अहिले पनि उत्तिकै गाह्रो भएको छ ।” हिजो गाउँको माझ (पोखरी भन्ने स्थानमा) पारेर खुलाएको विद्यालय हुँदाहुँदै नचल्ने जस्तो देखिएर बेँसीमा झार्ने बाध्यता आइलाग्यो । साबिक मनकामना गाउँ पञ्चायत वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका बाबुराम दुवाडी लगायत स्थानीयको सक्रियतामा जनज्योतिको जग बसेको थियो । एक समय विद्यालय स्थापना गर्ने लहरका बिच जनज्योतिको जग बसेको थियो । हिजो न आज, सामाजिक संस्थाहरू जन्माउने, हुर्काउने काममा लाग्नेहरूले धेरै मेहनत गर्नुपर्दछ । 

सामाजिक संस्थाहरू दुःखका साथ स्थापना भएका हुन्छन्, अझ जुन पुस्ताले स्थापना गर्यो, त्यसले धेरै सङ्घर्ष गर्नुपरेको कटु यथार्थ हो ।  पोखरी आसपास बनौती गाउँमा स्थानीयहरू बिस्तारै बेँसी झर्दै गएपछि गाउँ पातलियो ।

मनकामना मन्दिरको पश्चिमी पाटोको मर्स्याङ्दी नदीको किनारको समीपमा स्थानीयहरू क्रमश झर्दै गए । घरकै घनत्व घटेपछि जनघनत्व घट्ने नै भयो । वरपर नै विद्यालय जाने बालबालिका नभएपछि विद्यालयमा विद्यार्थी सङ्ख्या त्यसै घट्दै गयो । मानिस बेँसी झरे पनि पोखरीसम्म पढ्न जान्थे उति बेला । तर निजी विद्यालय प्रतिको आकर्षण र सरकारी पनि अरू राम्रा विद्यालयमा पढ्ने पढाउने चाहका बाबजुद बेँसीबाट गाउँमा पढ्न जानेहरू भएनन् । बेँसी झरे पछिको दानापानीले गाउँ उक्लिने चाह सबैको क्रमश घट्ने नै भयो ।

पहिला चाहिँ ७० घरधुरी रहेको गाउँ (पोखरी आसपास) मा हाल दश घर जति छन् । जब स्थानीय बेँसी झर्दै गए, विद्यालय नचल्ने जस्तो देखिँदै गयो । विसं ०७४/७५ मा जम्मा ४ जना विद्यार्थी भर्ना भए । कक्षा पाँचका १६ जना उत्तीर्ण भएर ६ कक्षामा पढ्न हिँडेपछि विद्यार्थी अभाव देखियो । यसैले विद्यालयलाई तल नाम्जुङ फाँटमा झार्ने निर्णय समितिले गर्यो ।

बेँसी झरेपछि पनि पाँच वर्षको अवधिमा जनज्योति दुई ठाउँ सर्यो । सुरुमा कान्टारस्थित महिला समूहको भवनबाट अस्थायी रूपमा तीन वर्ष सञ्चालनमा आएको विद्यालय दुई वर्षदेखि नाम्जुङ्फाँटमा पक्की भवनमा सञ्चालनमा छ । बिच गाउँबाट तल झरेपछि पनि उपयुक्त स्थानको खोजीमा पुनः अर्को ठाउँमा आइपुग्दा सम्म स्थानीय समुदायले विद्यालयलाई जीवन्त राख्न गरेको पहलकदमी, समन्वय, साथ सहयोगको भने जति प्रशंसा गरे पनि कम हुन्छ ।

विद्यालयमा विद्यार्थी कम हुँदै जाँदा शासन व्यवस्था बद्लिने सङ्घारमा थियो । एक शासन व्यवस्थाबाट अर्को बन्दै  गर्दै त्यहाँ गरिने समन्वय, कार्य प्रक्रियामा पनि पक्कै पनि बदलाव आइहाल्छ । विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा आयो । यस भन्दा अघि आएको भूकम्पबाट गोरखा जिल्ला प्रभावित थियो ।

जिल्लामा जिल्ला आयोजना कार्यान्वयन इकाई (डीएलपी) थियो । यसले भूकम्प प्रभावित सामुदायिक विद्यालय भवन निर्माण गर्न पनि सहयोग गर्दथ्यो । साबिक स्थानमा दुई ट्रस्ट भवनसहित ६ ओटा कोठा, खानेपानी, शौचालय सबै थियो ।  पक्की भवनको आवश्यकता एकातिर थियो भने अर्कोतिर साबिक स्थानमा भवन बनाएर विद्यालय चल्दैन भन्ने थियो ।

यस्तै सुर्तामा हुनहुन्थ्यो, २०४४ सालदेखिकै विद्यालयका प्रधानाध्यापक मेदनदत्त कोइराला । एसएलसी उत्तीर्ण भएकै वर्षदेखि वहाँले विद्यालयको नेतृत्व गर्दै आउनु भएको हो । भवन माग्ने, नमाग्ने, भवनको लागि नै आर्थिक सहयोग आयो भने पनि बनाउने नबनाउने के गर्ने नगर्ने भन्ने दोधारका बिचमा साबिकका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी पनि विद्यालयको अवस्थिति अनुगमन गर्न आए ।

डीएलपीका अधिकारी पनि विद्यालयको अनुगमनको लागि आए । अनुदान दिने निकाय र अधिकारीलाई पनि क्या फसाद भने साबिकको स्थानमा भवन बनाएर विद्यालय नचल्ने अवस्था छ, तत्काल समुदायको घनत्व भएको ठाउँमा पूर्वाधार बनाउन पनि कानुनी अड्चन । तत्कालीन जिसिअ र डीएलपीका अधिकारीहरूले पनि समुदायले झैँ बेँसीमा विद्यालय चल्छ भन्ने निर्क्यौल निकाले र कोइरालालाई ढाडस दिए । उता स्थानीय तह अस्तित्वमा आइसकेको थियो । विद्यालय बेँसी झार्ने निर्णयसहित विद्यालयले गाउँपालिकामा निवेदन दियो । अध्यक्ष रमेश थापा मगर आफैँ अनुगमनमा आए ।

सरकारी अनुदानबाट बन्ने भवनको लागि केही पुर्जावाल जमिन चाहिने भएपछि समुदायले विद्यालयको लागि जमिन खोज्ने काम गरे । गाउँघरमा छलफल चल्यो । खोज्दै जाँदा नाम्जुङफाँटमा विद्यालय बनाउन स्थानीय रामचन्द्र पोखरेलले ५ र कृष्णप्रसाद अर्यालले ३ गरी ८ आना जग्गा विद्यालयको नाममा दिनुभयो । विद्यालयले जग्गा सम्याउने काम गर्यो । गाउँपालिकाले नाम्जुङ्फाँटमा विद्यालय बनाउन स्वीकृति दियो । डीएलपी फेज आउट हुने अन्तिम वर्ष २०७७ सालमा नाम्जुङफाँटमा विद्यालय भवन बनाउने गरी अनुदान आयो । जिल्ला रेडक्रसले शौचालय बनाइदिएको छ ।

कान्टारमा बनौति महिला समूहको भवनमा विद्यालय तीन वर्ष चल्यो । पुर्जामा ८ आना र अन्य ३ रोपनी जग्गा भोगचलन गरिएको प्रअ कोइराला बताउनुहुन्छ । २०७५ सालमा कान्टारमा महिला समूह भवनमा पढाएर इसीडी कक्षाको लागि कोठा बनाइएको थियो । कतारका नागरिक मुना अलिले ७० हजार रुपैयाँ पठाइदिएका थिए ।  आँबुखैरेनी—३ का केशव तिमिल्सिना मार्फत अलि विद्यालयमा सहयोग गरेका थिए । कान्टार गाउँको बिच भागमा पर्ने भए पनि अलि साँघुरो थियो । पालिकाले अनुगमन आउँदा कान्टारमा भन्दा पनि अन्यत्रै जग्गा खोज्न भन्यो । समितिले जग्गा खोज्यो । व्यक्तिको जग्गा चाहिने भएपछि नाम्जुङफाँटमा आइपुगेको हो । विद्यालयको लागि चाहिने शान्त वातावरण छ ।

  
२०८० शैक्षिक वर्षमा विद्यालयमा इसीडीमा २२ जना, केजी ९ जना, एकमा १४, २ मा १३ जना, तीनमा १० जना, ४ मा १० जना र ५ कक्षामा ५ जना विद्यार्थी भर्ना भएका छन् । ४/५ जना ले विद्यालय छाडेका पनि छन् । बाहिरका कामकाजी अभिभावकका बालबालिकाहरूले विद्यालय छाडेका कोइराला बताउनुहुन्छ । साबिकका विद्यालयको व्यवस्थापनमा रहेकादेखि स्थानीय समुदाय विद्यालयलाई जसरी पनि चलाउनु पर्दछ भन्ने भावना राखेको कोइराला बताउनुहुन्छ । छिमेकको तनहुँको आँबुखैरेनी बजारमा निजी र सामुदायिक विद्यालय छन् ।

सरकारी विद्यालय भन्दा निजी विद्यालय आकर्षणमा परेका पनि छन् । “हामीले त कमजोर आर्थिक अवस्था भएका बच्चालाई मात्रै पढाएका छौ”, कोइराला भन्नुहुन्छ, “गुणस्तरमा पनि उत्तिकै ध्यान दिएका छौ, विद्यालयले गाउँका विद्यार्थीलाई आकर्षित गरी विद्यार्थी सङ्ख्या बढाउने नीति लिइएको छ ।” युवा समाजसेवी सुनिल अर्याल पनि समुदायको लागि विद्यालय अत्यावश्यक देखिएकोले निर्बाध रूपमा सञ्चालन हुनेमा विश्वस्त हुनुहुन्छ । विद्यालय साझा भएकाले समुदायले यसको निरन्तरताको लागि सकेको सहयोग गर्ने अर्याल बताउनुहुन्छ । 

४ कोठाको भवनलाई बारबेर गरेर ७ वटा कोठा बनाइएको छ । बेँसी भेगमा यत्रतत्र गरेर १८० घरधुरी छन् । तर ती सबै घरमा पढ्ने बच्चा पनि छैनन् । कुनैमा पाँच कक्षा माथिका बच्चा छन् । विद्यालयमा शिक्षक ७ जना र कर्मचारी १ जना छन् । जसमध्ये स्थायी ३ जना, राहत एक, गाउँपालिका करार एक, इसीडी एक, एक निजी र एक जना कर्मचारी छन् । विद्यालयले करार शिक्षकलाई गापाले दिएकोमा ६ हजार रुपैयाँ थप र दसैँ खर्च समेत दिँदै आएको छ ।

अन्य सरकारी विद्यालय जस्तै जनज्योतिलाई पनि शिक्षणको माध्यम अङ्ग्रेजी भाषा अपनाएमा अभिभावकको मन जित्न सक्ने देखिन्छ कि भन्ने भावनाले घर गरेको छ । इसीडी कक्षामा स्मार्ट टिभी प्रयोगमा छ । विद्यालयमा रहेका २ ओटा कम्प्युटर विद्यार्थीले पनि यदाकदा प्रयोग गर्छन् । स्थानीय सिर्जनशील ऋण तथा बचत सहकारीले प्रोजेक्टर प्राप्त भएपछि आधुनिक तरबरले शिक्षण सिकाइ गर्ने सोच छ । लायन्स क्लब काठमाडौँले २ ओटा कम्प्युटर सहयोग गर्ने वचन दिएको छ ।

स्थानीय बलराम अर्यालले एक लाख ११ हजार एक सय ११ रुपैयाँ राशिको अक्षयको कोष पनि राखिदिनु भएको छ । त्यसको ब्याजबाट जेहेन्दार विद्यार्थीलाई कक्षागत रूपमा छात्रवृत्ति दिने गरिएको छ । गाउँपालिका स्तरीय नतिजामा विद्यालयले राम्रै छाप छोडेको छ । २०७९ शैक्षिक वर्षमा तेस्रो स्थानमा आएको कोइराला बताउनु हुन्छ । यस अघि २०७८ शैक्षिक वर्षमा पनि राम्रो स्थानमा थियो । विद्यालयको कार्यालय कोठा व्यवस्थित छ । दराज, कुर्सी, कम्प्युटर, प्रिन्टर, केही फ्लेक्स बोर्डहरुले धेरै कुराको जानकारी दिन्छ ।

हिजोदेखिका विद्यालयका अध्यक्षको नाम, हालका विद्यालयका जग्गादाता, चन्दादाताको नाम लगायत देखिन्छ । जागिरे जीवनको उत्तरार्द्धमा रहनु भएका कोइराला मङ्सिर मै निवृत्त हुने सोचमा पनि हुनुहुन्थ्यो । यस भन्दा अघि गाउँपालिकाले ल्याएको गोल्डनह्यासेकको अवसर पनि लिन खोज्नु भएको थियो । निवृत्त भए पनि विद्यालयको सञ्चालन, व्यवस्थापनमा सकेको सहयोग गरिरहने उहाँमा मनैदेखिको प्रतिबद्धता छ । 

चुनौती

कोइराला विद्यालय जिउँदो राखिराख्ने र शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने चुनौती नै रहेको बताउनुहुन्छ । गाउँपालिका भित्रैकै केही साना विद्यालय स्वत: बन्द भएको देखेका कोइराला जनसङ्ख्या खोज्दै गाउँलेसँगै बेँसी झरेको विद्यालय जीवन्त रहन्छ कि रहन्न भन्नेमा पिरोलिइरहनु भएको छ । आफै पनि स्थानीय हुनुको नाताले र स्थानीय समुदायको आँट, आड भरोसा हेर्दा विद्यालय बन्द हुँदैन भन्नेमा ढुक्क देखिए पनि कता कता उहाँमा संशय भने रहेकै छ  ।

शैक्षिक गुणस्तर सुधार्न, विद्यालय प्रति समुदायलाई सन्तुष्टि प्रदान गर्न विद्यालयको चुनौती नै छ । शैक्षिक गुणस्तर सुधार्न कोइराला गाउँपालिकाबाट योग्य शिक्षक, युवा शिक्षक आपूर्ति भइरहोस् भन्ने अपेक्षा राख्नुहुन्छ । विद्यालयका बाँकी अपुग संरचना जस्तै घेरा बेरा, प्राविधिक पक्ष, कोष वृद्धि क्रमशः निरन्तर हुँदै पनि जाला । 

निष्कर्ष:

नेपाली सन्दर्भमा विद्यार्थी सङ्ख्या कम भएर बन्दोन्मुख हुनु, गाभिनु एउटा विद्यालयको मात्रै कथा होइन । यो एक नमिठो प्रवृत्ति बनेको छ । दूर दराजका विद्यालय त छाडिदिऊ सहरका र जनघनत्वका बाबजुद पनि सरकारी विद्यालय अध्यनार्थी नभएर धरमराएका छन् । ती कतिपय त्यसैगरी गाभिए । यसैले विद्यालयको अवस्थितिले मात्रै चल्ने वा नचल्ने भन्ने हुँदैन । तर दुर्गममा जनघनत्व कम भएका ठाउँमा विद्यालय चल्दैन भन्ने देखिएको छ । किनकि सरकारले नै विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालय गाभ्ने नीति अख्तियार गरेको छ ।

सरकारले सजिलो उपाय अपनायो, विद्यार्थी सङ्ख्या कम भयो कि गाभिदिने । त्यसरी गाभ्दा पनि विद्यार्थीलाई गाभिएका विद्यालय जान अपायक नै बनेको प्रति भने ध्यान दिइएको छैन । यसैले विद्यालय बेंसीभेगमा हुँदैमा, जनघनत्व भएका ठाउँमा सञ्चालन हुँदै विद्यार्थी सङ्ख्या बढ्छ भन्ने होइन । यस्ता धेरै उदाहरणहरू छन् । विद्यार्थी नै नियमित तोकिए अनुसारका सङ्ख्यामा पनि नपुग्ने विद्यालयले जति नै गुणस्तर सुधारको रटान गरेपनि खासै उपलब्धि देखिन्न ।

नेपालमा कतै चाहिँ विद्यार्थी कम भएर विद्यालय सञ्चालन प्रभावकारी रूपमा हुन धक्का लागेको छ भने कतै चाहिँ विद्यार्थी सङ्ख्या धेरै भएर प्रभावकारी रूपमा सञ्चालन हुन धक्का लागेको छ । यो आफैमा विवादास्पद (कन्ट्रोभर्सी) तथ्य हो । तर विद्यार्थी सङ्ख्याले शिक्षकको उपलब्धता वा प्राप्तता, शिक्षण सिकाइ क्रियाकलाप, विद्यालयको सेवा प्रवाह, सहयोग तथा अनुदान प्राप्तिमा भने गम्भीर प्रभाव पार्दछ । विद्यालय टिकाउने जनज्योति जुक्ति भने  अनुसन्धाता र नीति निर्माताको लागि एक उदाहरण भने पक्कै हो । 

                               

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

भगवान खनाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link