बबरमहल माइतीघरनजिक आउजाउ गर्दा एउटा टेबलमा फलफूल तथा चाट बेच्दै गर्नुभएकी महिला देखिनुहुन्छ। उहाँको नाम गेनी चौधरी हो।
चारखुट्टे काठको टेबलमा खरबुजा, नरिवल, काँक्रो, मेवा, अंगुर, चकुन्दर, अम्बा, कटहर, स्याउ, नास्पाती, ड्रागनफ्रुट मिलाएर प्लेटमा राखेर बेच्दै आउनु भएको २५ वर्ष भयो। सडक छेउ फलफूल बेच्दा पनि निकै सफा र ताजा सामानमा ध्यान दिनुभएको छ। फलफूल राखेको टेवललाई जाली भएको कपडाले राम्ररी ढाक्नुभएको छ।
‘म भारतबाट नेपाल आएको ३० वर्ष भयो,’ गेनी भन्नुहुन्छ, ‘नेपाल आएदेखि सुरु गरेको र मन लागेको काम भनेको नै फलफूल र चाट बेच्ने हो।’
सुरुवाती दिनमा प्रतिप्लेट १५, ३०, ६० रुपैयाँ हुँदै अहिले प्रतिप्लेट मिक्स फलफूलको एक सय रुपैयाँ लिने गरेको गेनी बताउनुहुन्छ। यति भन्दै गर्दा दुई जना साना बालबालिका आए। उनीहरुलाई प्रतिप्लेट ५० रुपैँयामा दुई प्लेट चाट बेच्नुभयो।
मनमा खुल्दुली लागेर प्रश्न गरेँ, ‘दिदी ! प्रतिप्लेट एक सय रुपैयाँ भन्नुभएको होइन र ?’ जवाफमा उहाँ पहिले मुस्कुराउनुभयो। अनि भन्नुभयो, ‘मेरा बालबच्चा पनि केही समय भोकै बस्नु परेको थियो। तर अहिले त्यस्तो अवस्था बाट म टरिसकेँ। मेरा बच्चाहरू भोकै सुतेको रोइरहेको आँखाअगाडि झलक आउँछ। बच्चाले आन्टी त्यो दिनुस् न भन्दा मन झसंग हुन्छ। सबैको बच्चा उही त हो नि ! मेरोमा आएका जोकोही पनि पैसा छैन भनेर खालीमुख नजाओस् भनेर पनि कम या सित्तैमा पनि दिन्छु। दिनमा ५/७ प्लेट बाटोमा भोकै सुतेको मान्छेहरुलाई पनि खुवाउँछु।’
व्यापार र मानवीय सहयोग एकपटक आएर फलफूल या चाट खाएको मान्छे अर्को फेरि पनि आउन खोज्छ।
‘अनि यहाँ फलफूल काट्दा निस्केको बोक्रा के गर्नुहुन्छ त ?’ मेरो अर्को प्रश्न थियो गेनीलाई। त्यसको जवाफमा उहाँले भन्नुभयो, ‘यहाँ नजिकै गाईबस्तु पाल्ने दाजु हुनुहुन्छ। उहाँले मेरा वस्तुलाई खुवाउन हुन्छ राखिदिनू भन्नुहुन्छ, त्यसैले एउटा बोरामा हालेर राख्ने गरेको छु।’
त्यसो त गेनी विद्यालयको आँगनसमेत टेक्नुभएको छैन। तर पढेलेखेका मान्छेभन्दा कम हुनुहुन्न।
गेनीको विवाह १६ वर्षको उमेरमा भयो। त्यो पनि बुवाआमाले हेरिदिएको केटासँग। ‘बाआमाले रोजिदिएको केटा राम्रो होला भन्ने लागेर ‘हुन्छ’ पनि भनियो,’ उहाँ भन्नुहुन्छ, ‘हुन्न भनेर पनि सुख थिएन।’
श्रीमान् परिवारको एक्लो छोरा हुनुहुँदो रहेछ। लाड–प्यारमा हुर्किएको बुबा आमाको आँखाको नानीझैँ। जे गरे पनि ठीक मान्ने। मागेको कुरा एक वचनमा दिइहाल्ने। तर उहाँ खराब संगत र लतमा फस्नुभएको छ भनेर गेनीले विवाहपछि मात्रै थाहा पाउनुभयो।
‘श्रीमान् जाँडरक्सी खाने, जुवातास खेल्ने बानीले मलाई धेरै नै कठिन हुन्थ्यो,’ उहाँ सुनाउनुहुन्छ, ‘विवाहको केही समयपछि नेपाल आएपछि त झन आफैँ कमाउने, कमाएको पैसा सबै मदिरा खाएर बाटोमै सुत्ने अनेक पीडा खप्नुपर्यो।’
समय फेरिएको छ। महँगी बढेको छ। ‘आजभन्दा २० वर्षअगाडि फलफूल तथा चाट बेच्दा दिनको एक हजार देखि १२ सय आम्दानी हुन्थ्यो। त्यतिले ४ सन्तान पढाउन पुराउँथें,’ उहाँ भन्नुहुन्छ, ‘मेरो अवस्था अत्यधिक नाजुक भएर पनि त्यतिबेला जेठो छोरालाई पढाउन सकिएन।’
अहिले गेनीसहित श्रीमान्, तीन छोरी र दुई छोरालाई त्यही फलफूल बेच्ने कामले पाल्दै आएको गर्वका साथ सुनाउनुहुन्छ।
दुःखसुख गरेर छोराछोरीलाई कक्षा १० सम्म पढाउनुभयो गेनीले। त्यसपछि उनीहरुको विवाह खर्च पनि त्यही पेसाले नै धान्यो। तर श्रीमानले नशाको तालमा व्यापार गरिरहेको ठाँउमा आएर पैसा माग्दै कुट्ने, कपाल तानेर लछार्ने गरेका तीता पलले उहाँलाई पोलिरहन्छ।
‘मलाई पैसा मात्र होइन, इज्जतका साथ हात मुख जोड्न पुगे हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘श्रीमान्ले बाटोमा कुट्ने गरेकाले गौशाला, रंगशाला, रत्नपार्कतिर जान छोडेकी छु। तेरो पोइ होइन तलाई कुट्ने ? भनेर अरुले औँला देखाँउदा मन खिन्न हुन्छ।’
उहाँको पेसामा समस्या पनि छन्। एकपटक लकडाउनको बेलामा ३५/४० किलो मेवाको बोरा उचाल्नुपर्ने भयो। वजन थाम्न नसकेर भुइँमा बजारिनुभयो गेनी। मेवाको बोराले हात थिच्यो र बाँया हात भाँच्चियो। उपचारका लागि वीर अस्पताल जानुभयो। तर, ठीक नभएपछि भारतमा गएर उपचार गराउनुभयो। हात त भाँचियो भाँचियो, भारतीय पाँच लाख पनि सकियो।
‘पैसा सकियो त्यसमा गुनासो होइन। तर पहिलाजस्तो अलि बढी वजन उचाल्न सक्दिनँ। केही गरी भारी सामान उचाले हात चसक्क हुन्छ,’ उहाँ सुनाउनुहुन्छ।
पहिले–पहिले काम गर्न लाज लाग्ने गर्थ्यो गेनीलाई। तर बिस्तारै–बिस्तारै लाज आफैँ लजायो। ‘पैसा कमाउन थालेपछि राति निन्द्रा पनि मज्जाले लाग्ने रहेछ,’ उहाँले कमाइको सोलोडोलो हिसाब निकाल्नुभयो, ‘जेठो छोराले पनि यही काम गर्छ। उसले दिनको २ हजारदेखि २५ सय कमाउँछ। यता मैले दैनिक २५ सय देखि ३ हजारसम्म कमाउँछु। कहिलेकाहीँ आन्दोलन भयो भने त पाँच हजार पनि हुन्छ।’
आन्दोलनले सम्बन्धित पक्षलाई फाइदा पुग्ला नपुग्ला, तर गेनीको व्यापारलाई भने फाइदा पुग्छ।
‘भगवानले साथ पनि दिएका छन्। म अत्यधिक सन्तृष्ट छु। मनग्ये आम्दानीको स्रोत फलफूल व्यापार पनि हो। एकै ठाउँमा बसेर थोरै मिहिनत र थोरै लगानीमा राम्रो कमाउन सकिने महिलाका लागि यो विशेष पेसा हो,’ उहाँ भन्नुहुन्छ।
यसअघि गेनीले गौशालामा बोतलमा पानी बेच्नुभयो। त्यहाँ व्यापार राम्रो नभएपछि रंगशालामा गएर पानी र चुरोट बेच्न थाल्नुभयो। ‘त्यहाँ प्रहरीले बस्न दिएन। त्यसपछि उपयुक्त ठाउँ खोज्दै बबरमहल आएँ। यहाँ राम्रो व्यापार भयो। सबैभन्दा राम्रो व्यापार यहीँ आएर भएको हो,’ थोरै चिन्तित हुँदै भन्नुहुन्छ गेनी, ‘यो ठाँउ छोड्न मन छैन। तर महानगर प्रहरीले कुन बेला धपाउने हो भन्ने डर लागिरहन्छ।’
गेनीका अनुसार दिनको ४ हजारको सामान ल्याउँदा ७ देखि ८ हजार कमाइ हन्छ। यसमा ३ देखि ४ हजार दैनिक बस्छ। ‘ज्यानले साथ दिए शरीरमा रोग नलागे अझै १० देखि १५ वर्ष यही काम गर्छु,’ उहाँको सपना जोडिएको छ यो पेसामा र त भन्नुहुन्छ, ‘गाँउमा एउटा सुन्दर घर बनाएर बस्ने इच्छा छ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो