आरती साहको हत्याः परिवार नै निरन्तर धर्नामा

रूपेश आचार्य

धनुषा जिल्ला नगराइन नगरपालिका ७ का विनोद साहसहित उहाँको परिवार असार १ गतेदेखि काठमाडौँ माइतीघर मण्डलामा धर्ना बस्दै आइरहेको छ। यसरी धर्ना बस्न थालेको पनि ४ महिना भन्दा बढी भइसकेको छ।

न्यायको आशामा भौतारिएका आरतीका परिवार चौबिसै घण्टा सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेको १३८ दिन पुगिसक्दा पनि सम्बन्धित निकायको यस विषयमा  ध्यानाकर्षण नभएको हुँदा उहाँहरू चिन्तित देखिनुहुन्छ। घटनाको विवरण अनुसार, यही जेठ ७ गते धनुषा स्थित आफ्नै घरमा आरती साहको हत्या भएको थियो। हत्यामा उहाँका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन, सासू आमा रेणुदेवी र देवर रवि साह रहेको आरती साहका परिवारको आरोप छ। थप दाइजोका लागि सपरिवार मिलेर निर्घात कुटपिट गरी हत्या गरेको कारण न्यायका लागि माइतीघरमा आन्दोलन गरिरहेको आरती साहका जुम्ल्याहा दाइ प्रेम साह बताउनुहुन्छ।

परिवारजनका अनुसार, २०७८ असार ३१ गते आरतीको विवाह जनकपुरधाम थापा चौक ९ का मोतीबाबु साहसँग विवाह भएको थियो। विवाहको ७–८ महिनापछि मोतीबाबुको परिवारले थप दाइजोको माग गर्दै आरतीलाई दिनदिनै कुटपिट गरी यातना दिन थाले। उक्त कुरा आरतीले आफ्ना माइत आएर बेलिबिस्तार सुनाएको आरती साहका बुबा विनोद साह बताउनुहुन्छ।

गत जेठ ७ गते साँझ साढे ६ बजे आरतीका बुबालाई आरतीका ससुरा मदनमोहन साहले फोन गरेर आरतीको स्वास्थ्य अवस्था खराब भएको र जनपुरको काव्या अस्पतालमा बोलाएका थिए। तर उहाँहरू अस्पताल पुग्दा आरतीको मृत्यु भइसकेको थियो।

आरतीको शरीरमा नीलडाम र खुट्टाहरू सुन्निएको देखेपछि आरतीको हत्या भएको हुनसक्ने र यसबारे छानबिन पूर्ण गर्नु पर्ने  र दोषीलाई कारबाही गर्नु पर्ने आरतीका बुबा विनोद साहको भनाई छ।

जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान् मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविविरुद्ध आरतीका बुवाले उजुरी दिन खोजेको थिए। तर प्रहरीले उजुरी लिन नमानेपछि ससुरा र श्रीमान्‌विरुद्ध मात्रै उजुरी दिइएको थियो। पीडित परिवारले उनीहरू विरुद्ध आत्महत्या दुरुत्साहनसँगै कर्तव्य ज्यानमा उजुरी दिएको थिए।

प्रहरीलाई जेठ आठ गते उजुरी बुझाएपछि मात्र पोस्टमार्टम गरी आरतीको शव जलाउन अनुमति दिएका थिए।

जिल्ला अदालत धनुषाले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। त्यस विरुद्ध आरोपीहरू उच्च अदालत पुगेका थिए। असोज १८ गते उच्च अदालत जनकपुरले मोतीबाबु र मदनमोहनलाई साधारण तारेखमा छोडिदिए।

मुख्य न्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजलासले आरतीका माइत पक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएका थिए। ‘हत्याको घटना नभई आत्महत्याजस्तो देखिएकाले पनि उनीहरूलाई साधारण तारेखमा छोडिएको’ उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो।

 त्यस्तै  पटक पटक प्रहरीको दमनमा पर्नु परेको र आफूहरूलाई गुन्डाहरूले समेत ज्यान लिन खोजेकाले न्यायमा पनि खोट देखिरहेको आरतीका जुम्ल्याहा दाइ प्रेम साह बताउनुहुन्छ।

 ‘रातिको समय थियो अनायासै ४/५ जना मान्छेहरू हामी बसिरहेको छाप्रो भित्र पसेर धम्काउन थाले। एउटाले त धारीले चक्कु समेत बोकेको थियो। हामी आत्तियौ र गुहार माग्यौ। आसपासका सबै जना भेला भएपछि बल्ल तिनीहरू भागे’ उहाँ बताउनुहुन्छ।

‘त्यस समूहको एक जनाको मोबाइल फोन समेत फेला पारेका थियौँ’, उहाँ भन्नुहुन्छ, ‘हामीले फेला पारेको फोन प्रहरीकोमा पनि बुझायौँ तर निष्कर्ष विहीन रहेको छ त्यो सबुत पनि। अर्थात् त्यस समूहको टुङ्गो पनि लागेको छैन’ उहाँ बताउनुहुन्छ।

न्यायका लागि विभिन्न निकाय धाउँदा पनि न्यायको टुङ्गो नलागेको आवेग पोख्दै आरती साहकी बहिनी मनीषा साह  भन्नुहुन्छ ‘सरकार बहिरो र अन्धो रहेछ। हामीजस्ता पीडित पक्षको हकहित र न्यायको लागि केही नगर्ने रहेछन्। १३८ दिनरात नभनी धर्ना बस्दै आइरहँदा पनि कानमा तेल र आँखामा पट्टी बाँधेर बसेको देख्दा लज्जा लागेर आउँछ।’

आफूहरूको पक्षमा र न्यायका लागि कोही पनि पदाधिकारीहरूले उपस्थित नजनाएको देख्दा छटपटी भइरहेको र आफूहरू हार नमान्ने। मर्न परे पनि न्यायका लागि यही सडकमा ज्यान त्याग्न तयार रहेको प्रेम साहको भनाई छ।  “के न्यायालयमा न्याय छैन? हामी पीडितहरूको आवाज किन कोही सुन्दैन?” प्रेम साह सोध्नुहुन्छ।  सबैको घरमा दसैँको रमाइलो गर्दा हामीहरूको लागि छोरी र न्याय विनाको दसैँ सडक नै रहेको  र न्याय नपाएसम्म यहाँबाट नहिँड्ने विनोद साहको अठोट रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link