चटपटे बेचेर छोरालाई इन्जिनियर पढाउने मोतीराम साह 

रूपेश आचार्य

सर्लाही बरथवा –८ मा जन्मिनुभएको मोतीराम साह उमेरमा ४५ वर्षको हुनुभयो । गरिब परिवारमा जन्मिनुभएको मोतीरामको बाल्यकाल निकै दुखमा बित्यो। ‘घरमा दुई वटा भैँसी थियो त्यही चराएर बस्थेँ, स्कुल पढाउन सक्ने हैसियत परिवारको थिएन,’ मोतीराम भन्नुहुन्छ। आफू १२ वर्षको हुँदा बुबाको मृत्यु भएपछि त मोतीरामको जीवनमा कहालीलाग्दो दुःख सुरु भयो। घरको जिम्मेवारी मोतीरामको काँधमा आइपुग्यो।

घर चलाउनका लागि  १४ वर्षको उमेर पनि नपुग्दै मोतीराम खेतमा काम गर्न भारतको पन्जाब पुग्नु भयो। खान बस्न दिएर महिनाको एक हजार भारु तलब तर त्यति कमाउनु पनि सानो कुरा भने थिएन। उमेरसँग काम र तलब पनि बढ्दै गयो। पन्जाबमा आठ वर्ष काम गरेपछि बल्ल गाउँमा आफ्नो घर बन्यो, एक बिघा जमिन जोडियो। मोतीराम भन्नुहुन्छ, ‘पन्जाबमा गरेको मेहनतले मेरो परिवारको स्थिति उकासियो । मैँले गाउँमा घर बनाएँ । एउटा घर पनि नभएको सुकुम्वासी भनेर हेप्ने गाउँका छरछिमेकी र आफन्तको मुखमा बुझो लाग्यो। ’

त्यसपछि २०५३ सालमा मोतीराम साहले विवाह गर्नुभयो। पन्जाबको सङ्घर्ष सकियो अब काठमाडौँ आएर अर्को सङ्घर्ष सुरु भयो।  साथीको सहयोगमा काठमाडौँमा पानी पुरी, चटपटेको व्यापार सिक्न थाल्नुभयो। मोतीराम भन्नुहुन्छ, ‘सुरु–सुरुमा कहिले नुन बढी हुने। कहिले पिरो बढी हुने। २२ वर्ष अगाडि मैले काम थाल्दा साह्रै सोझा। नुन पिरो बढी भएन अरू जे जस्तो भए पनि खान्थे तर अहिले त अलिक नुन बढी पिरो बढी या चित्त बुझेन भने त फालिदिन्छन् ।’

२२ वर्ष अगाडि पानी पुरी प्लेटको १० रुपैयाँ मा बेच्नुभएका मोतीरामले अहिले समय अनुसार रेट बढाउँदै ४० पुराउनु भएको छ । ‘महँगी साह्रै बढ्यो। तर मैले क्वालिटी (गुणस्तरीय) सामान मात्र दिन्छु’ मोतीराम भन्नुहुन्छ।

सुरुका दिनमा ७० देखि १०० प्लेटसम्म पानी पुरी, २० देखि ३० प्लेट चटपटे बेचेको मोतीरामलाई सम्झना छ। मोतीराम भन्नुहुन्छ, ‘अहिले त्यति व्यापार छैन नि। पहिले दिनको ३ हजार, ३५ सय भन्दा धेरै कमाई हुन्थ्यो। तर अहिले दिनको १५ सयमा चित्त बुझाउनुपरेको छ ।’

काठमाडौँको जोरपाटीमा पहिलो चटपटे पसल हो मोतीरामको । उहाँको पुराना ग्राहक फर्की फर्की आउँछन्। ग्राहक सन्तोष भन्नुहुन्छ ‘म १० वर्षको उमेर हुँदा देखि उहाँले बनाएको चटपटे पानी पुरी खाँदै आइरहेको छु । मलाई अरूले बनाएको खान मन लाग्दैन । खै के जादु छ कुन्नि उहाँले

बनाएको साह्रै मन पर्छ।’

अर्की ग्राहक निमा भन्नुहुन्छ, ‘मलाई त उहाँले बनाउने गरेको शैली नै मन पर्छ । सरसफाइमा निकै ध्यान दिनुहुन्छ । म त  हरेक दिन जसो आएर एक दुई प्लेट पानी पुरी खाएर जान्छु।’

उहाँ पानी पुरी तथा अन्य खानाको स्वच्छता धेरै ध्यान दिनुहुन्छ। पानी पुरीमा मिसाउने झोलमा जारको पानी नै मिसाउने हो। मोतीराम भन्नुहुन्छ, ‘ग्राहक भगवान् हुन। जब मलाई खान नपुग्ने अवस्था थियो तब यही व्यापारले मलाई यहाँ ल्याएको हो। त्यसैले आफ्ना पुराना दिनहरू पनि बिर्सन चाहन्न ।’

मोतीराम त्यस्ता चटपटेवाला हुनुहुन्छ जो चटपटे र पानी पुरीको तयारी पूरा भएपछि सबैभन्दा पहिला आफ्ना छोराछोरी र श्रीमती चखाउनु हुन्छ अनि आफू खानुहुन्छ र मात्र बेच्न थाल्नुहुन्छ।

मोतीराम भन्नुहुन्छ ‘ग्राहकको विश्वास र पैसा दुवै कमाए यसबाट। ४ सन्तान मध्ये दुई छोरीको विवाह पनि यसैको कमाइले गरेको हो। अब एक छोरा र छोरी छन्। तिनीहरूको भविष्य राम्रो बनाउने हो। छोरालाई यसैको कमाईले इन्जिनियरिङ पढाइ राखेको छु । छोरा ठुलो भएपछि हाकिम भनेर अरूले सलाम ठोकेको हेर्न मन छ।’

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap