निषेधाज्ञा पछि माइतीघर र बानेश्वर सुनसान

१६१ दिन देखि माइतीघरमा अनशनरत आरती परिवार शान्ति बाटिकामा

रूपेश आचार्य

निषेधाज्ञा पछि माइतीघर र बानेश्वर सुनसान क्षेत्र सुनसान बनेको छ । न्याय माग्न माइतीघरमा भेला हुने स्थानमा सुरक्षाका कारण  प्रशासनले लगाएको निषेधाज्ञासँगै सो क्षेत्र सुनसान बनेको हो । 

विगत १६१ दिन देखि काठमाडौँ माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बस्दै आएका आरतीका परिवार हाल शान्ति बाटिकामा न्यायको माग गरिरहेका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मङ्सिर ४ गतेदेखि ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेपछि सुरक्षाकर्मीले माइतीघर खाली गरेको हो । माइतीघर मा निरन्तर धर्नामा बस्दै आएका आरतीका परिवारलाई भने निषेधाज्ञा जारी भएपछि प्रहरीका टोलीले अन्यत्रै सारेको हो ।

माइतीघर मण्डलामा राजा आउँ देश बचाउ भन्ने अभियानमा बसेका र आरतीका परिवार १६० दिन देखि धर्नामा बसेका थिए ।

काठमाडौँको माइतीघरसँगै भद्रकाली, रत्नपार्क, ललितपुरको पाटन, मङ्गलबजार लगायत क्षेत्रमा नागरिक निर्धक्क उभिएर सरकारलाई खबरदारी गर्न र न्यायका लागि औँला उठाउने ठाउँका रूपमा परिचित भएपनि माइतीघर क्षेत्र थप परिचित थियो ।  यस खबरदारी थलोमा पनि सरकारले निषेधाज्ञा लगाइदिएको छ ।

मङ्सिर ७ गते दुर्गा प्रसाईँ र एमालेको युवा सङ्घले गरेको प्रदर्शन बिच हुनसक्ने सम्भावित घटनालाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

 

निषेधाज्ञाले व्यवसायी पनि मारमा

निषेधाज्ञाका कारण सो क्षेत्र सुनसान बनेपछि व्यापारीहरूलाई समेत यसको परेको छ । माइतीघर नजिकै विगत दुई वर्ष देखि मण्डला फुड सञ्चालन गर्दै आउनुभएका नेत्र कार्की भन्नुहुन्छ ‘ शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारको हनन पन भएको छ ।

त्यस्तै दुई दिनमा १० देखि १५ प्रतिशत व्यापार पनि घटेको छ, व्यापार व्यवसाय गर्नेमाथि पनि राज्यले केही सोचेर यस सम्बन्धमा निर्णय निकालेको भए उचित हुने उहाँको भनाइ छ ।

धादिङका कुबेर तिवारी विगत पाँच वर्ष देखि माइतीघर नजिक लीक्वेर शप सञ्चालन गर्दै आउनुभएको छ । निषेधाज्ञा प्रति चिन्ता व्यक्ति गर्दै भन्नुहुन्छ ‘ मानिसको चहलपहल हुँदा व्यापार पनि राम्रो हुन्छ । आन्दोलनको क्रममा त एक दिनमै २५ देखि ३० कार्टुन समेत पानी बेचियो तर अहिले दुई दिन यता व्यापारमा पनि नियमित ह्रास छ ।’

एक वर्ष देखि माइतीघर नजिकै मकै पोल्दै आउनुभएकी गङ्गा भुजेल भन्नुहुन्छ– ‘खोइ यो निषेधाज्ञाले गर्दा बाटोमा हिँड्ने बटुवाहरू पनि घटेका छन् । मान्छेहरू जति चहलपहल गर्‍यो त्यति राम्रो मकैको व्यापार हुने हो तर निषेधाज्ञाले गर्दा २० प्रतिशत व्यापार घटेको छ ।’ 

बानेश्वरका होलसेल व्यापारी प्रेम थापा भन्नुहुन्छ– ‘मान्छेको चहलपहल र सवारीसाधन समेत कम चलेको हुनाले व्यापारमा प्रतिकुल असर परिरहेको छ । सरकारले चालेको कदमका कारण पनि हामीहरूलाई दुख झेल्नुपरेको छ । न्यायको लागि शान्तिपूर्ण अधिकार माग्न पाउने अधिकारको पनि हनन भएको छ । यसले नागरिकको अधिकार पनि खोजियो भने हाम्रो व्यापार पनि घट्यो ।’

मङ्सिर ७ गते भएको दुर्गा प्रसाईँको प्रदर्शन र एमालेको युवा सङ्घले गरेको प्रदर्शन बिच हुनसक्ने सम्भावित घटनालाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त घोषणा लगत्तै माइतीघरको धर्ना थलो र बानेश्वर शान्त बनेको छ । न्याय माग्ने थलो बनेको माइतीघर मण्डलामा मानिसको चहलपहलमा कमी आएको छ । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
निषेधाज्ञा पछि माइतीघर र बानेश्वर सुनसान
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link