करको अर्थ परिस्थिति अनुसार धेरै हुन सक्छन्। यहाँ कर भनेको सरकारलाई बुझाउने दस्तुर भन्ने बुझौँ। विभिन्न कारणले कर सरकारले लगाउँछ तर सर्त भनेको जनतालाई त्यसको कारण पनि भन्नुपर्छ र कर लिएबापत त्यसको सेवा पनि दिएको हुनुपर्छ।
प्रसङ्ग त महाभारत कालमा किन कर उठाउँथे र कसरी कर उठाउने गर्दथे भन्ने बारेमा नै हो। आजको दिनमा आर्थिक अर्थमा प्रयोग गरिने करको शाब्दिक अर्थ के रहेछ थाहा पाउन नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत् शब्दकोशको विद्युतीय स्वरूपमा उपलब्ध शब्दकोशमा करका बारेमा यस्तो लेखिएको रहेछ:
कर संस्कृत शब्द रहेछ। त्यसको तेस्रो प्रविष्टिमा भनिएको छ
१. पहिले रैतीले भेटीका रूपमा जिमिदार, तालुकदार आदिलाई दिने गरिएको विभिन्न प्रकारको रकम (ओलक, ठेकी, चार दाम, साउने, फागु, कुत )।
२. प्राचीन कालमा एक राष्ट्रले आफूभन्दा बलियो अर्को राष्ट्रलाई बुझाउने दस्तुर, सिर्तो।
३. राजस्वमा दाखिल हुने गरी नागरिकले सरोकारवाला कार्यालयलाई अनिवार्य दिनुपर्ने विभिन्न प्रकारको तिरो वा रकम (आयकर, मालपोत, बिक्रीकर, अन्तःशुल्क, आयातकार, निर्यातकर )।
महाभारतमा कोषका बारेमा भनिएको छ: राज्य भनेको नै कोष हो। राजाको धन (राज्यको धन) कोषमा सङ्ग्रह गरिएको हुन्छ। पौरस्त्य राज्य प्रणालीमा राजालाई राज्यको प्रमुख मानेको अवस्था थियो र राजाको महत्त्व भनेको नै कोषको सङ्ग्रह गरी जनतालाई सेवा दिने हो भन्ने स्पष्ट भनिएको थियो। असुरहरूका गुरु तथा महर्षि शुक्रका विचारमा कोष, बल (सुरक्षा) तथा अर्थ भाव नै यस्ता तीन ओटा मूल तत्त्वहरू हुन् जुन राज्य वृद्धिका मुख्य आधारहरू हुन्। सोमदेवका अनुसार कोष नै वास्तविक शासक हो किनभने राजाको पार्थिव शरीर होइन। राजाको शरीर त मात्र सोच्न र काम लगाउन मात्र काम लाग्छ। कोष विना राज्यको केही पनि काम हुनै सक्दैन। शान्तिपर्वमा नै भनिएको रहेछ, कोष नै हो राज्यलाई वास्तविक स्वर्ग बनाउने र राज्यको सुदृढीकरण गर्ने। कोषहीनताले राजालाई निर्बल गराउँछ। अश्वमेधिक पर्वमा राजा मरुत्का बारेमा भनिएको छ —मरुत्सँग आवश्यक मुद्रा नहुनाले उनले अश्वमेध यज्ञ गर्न पनि सकेनन् र छिमेकी राजाहरूले उनलाई धनविहीन राजा भनेर हेला गरेका थिए। पछि त्यही मरुत्ले कतै लुकाएर राखेको अपुग धन अर्जुनले फेला पारेर अश्वमेध यज्ञका लागि धन सङ्ग्रह गरेको कथा पाइन्छ।
धन सङ्ग्रह गर्ने भनेको नियम बनाएर, जनतालाई बोझ नपारी तर जनतासँग जनताको सेवाका लागि लिइने धन हो। सबैले मागेर खान पाइँदैन भनेर महाभारतको शान्तिपर्वमा भीष्म पितामहले महाराज युधिष्ठिरलाई भनेका रहेछन्। मागेर खाने काम त योगीहरूको हो, ब्राह्मणको हो जो शिक्षा प्रदान गर्नका लागि राज्यबाट प्राप्त अनुदानबाट मात्र जीविका नहुने अवस्थामा निकटस्थ गाउँमा गएर भिक्षा माग्न पाउने अधिकार दिएको बुझिन्छ। त्यसरी माग्न पाउने अधिकार विद्यार्थीहरूलाई थियो, या त परिभ्रमणमा हिँडेका अनुसन्धाताहरूको अधिकारको विषय थियो। पुराणहरूमा त राजाको कर्तव्य नै कोष सङ्ग्रह, कोषको रक्षा र कोषको वितरण गर्ने हो भन्दै राजाका धेरै कर्तव्यहरूमध्ये कोषको सङ्ग्रहका लागि समय समेत विभाजित गरिएको देखिन्छ। कोषको निरीक्षण गर्ने र जनतालाई कुनै कष्ट नपुर्याई, दिन सक्नेहरूबाट मात्र राजी खुसी कर सङ्ग्रह गर्ने गराउने जिम्मा राजाकै हो। प्रथम शासक मनुका अनुसार कोषको सम्पूर्ण जिम्मा राजाकै हो। याज्ञवल्क्यका अनुसार राज्यको आय व्ययको हिसाब राख्ने काम राजाकै हो। कहाँबाट कसरी आम्दानी भयो, कसरी कहाँ कसले कसरी खर्च गरेको छ, त्यसको अद्यावधिक हिसाब राख्ने काम अन्ततः राजाकै हो। आय व्ययको निरीक्षण गर्नु, कर्मचारीहरूले जम्मा गरेको कोषलाई सञ्चित कोषमा जम्मा गर्ने काम पनि राजाकै हो। कोषका बारेमा सम्पूर्ण जिम्मा राजाकै हुन्छ। शान्तिपर्वमा युधिष्ठिरको जिज्ञासामा भीष्म पितामहले स्पष्ट शब्दमा आदेश दिँदै भनेका छन्: हे युधिष्ठिर, एउटा राज्यको मुख्य शासनका आधारहरू हुन्: कोष, दण्ड, मन्त्र तथा चर। यी चारै विषयको जानकारी राख्ने, निरीक्षण गर्ने र कोषलाई वृद्धि गर्ने काम राजाले गरे मात्र राज्यको प्रतिष्ठा बढ्छ।
युधिष्ठिरद्वारा कोष सङ्ग्रह गर्नका लागि लिइने करका सम्बन्धमा गरिएका अनेक प्रश्नहरूको उत्तर दिँदै पितामह भीष्म भन्छन्— जसरी भँवराले रुखमा लागेको फूल र रुखका कलिला डाँठहरूको रस लिन्छ तर रुखलाई भँवराले, फूललाई मौरीले कुनै दुःख पुर्याएको हुँदैन, ठिक त्यसै गरी जनतालाई कुनै शोषण नगरीकन तर उनीहरूसँग भएको रस लिने काम राजाले गर्नुपर्छ र कोष सङ्ग्रह हुन्छ। जसरी भर्खर दाएको बाछोलाई धेरै भारी बोकायो भने उसले त्यो भारी फाल्छ या सुत्छ र भारी बोक्दैन, तर अलि अलि बोकायो भने खुसीसाथ दौडँदै हिँडेको हुन्छ, ठिक त्यसरी नै बिस्तारै बिस्तारै करको दर लगाएर सङ्ग्रह गर्नुपर्छ। करका दरका कारणले जनताको दैनिकीमा गरिबी देखिनु हुँदैन। केही मानिसहरू जुनसुकै करको पनि विरोध गर्नेछन्, त्यसैले एकै पटक सबैलाई कर लगाएर बिच्काउनु भन्दा केहीलाई कर लगाएर प्रयोग गर्ने र बिस्तारै बिस्तारै सबैलाई कर लगाउन थाल्नुपर्छ। केहीलाई लोभ देखाएर, केहीलाई धम्की दिएर र केहीलाई दण्डसमेत दिएर भए पनि विरोधीहरूलाई विभाजित गर्नुपर्छ र उनीहरूको विभाजित समूहको फाइदा लिँदै कर असुली गर्न सकिन्छ।
भीष्म अझ आदेश दिन्छन् —हे नरेश्वर, एकै पटक धेरै करको बोझ जनतालाई नलाद्नू। समय र परिस्थिति हेरेर मात्र कर लगाउनू । प्रजालाई किन कर लगाएको हो, यसबाट के फाइदा छ भन्ने कुरा सम्झाई बुझाई मात्र करको व्यवस्था सुरु गर्नुपर्छ। उचित तरिकाबाट र उचित परिस्थितिमा मात्र कर लगाउनू। जसरी घोडालाई धेरै चाबुक लगायो भने रिसाउँछ र सवारलाई हुत्याउँछ र मनोमानी तरिकाले जता पायो त्यतै दौडन्छ, टोक्छ, लात्ताले हान्छ, त्यस्तै हो जनतालाई पनि मनपरी कर उठाउन थालियो भने र त्यसको सट्टा के सेवा दिने हो स्पष्ट छैन भने जनताले विद्रोह गर्छन् र राजाका विरोधीहरूसँग मिल्न जान्छन्, रोष देखाउँछन्, कर नै तिर्ने छैनन्। जे गरे पनि हुन्छ सरकारलाई कर दिए हुन्छ भन्ने विचार नगर्नू। यौनकर्मी तथा उनका दलाल, जुवा घर, मदिरालय जस्ता पेसा गर्ने गराउनेसँग कर लिने नै होइन, उनीहरूलाई त्यस्तो पेसा गर्न नै दिनु हुँदैन, दण्डित गरेर दबाउनु पर्छ र अरूलाई पनि त्यस्तो नगर्नका लागि कडा कानुन तयार गर्नुपर्छ। कर आउँछ भनेर जनताको दैनिक अवस्थामा नकारात्मक असर पार्ने काम गर्न गराउनु हुँदैन किनभने आशक्तिमा परेको मानिसले मासु खान्छ, मदिरा पिउँछ, अर्काको धन, बस्तुभाउ र परस्त्रीमा आँखा लगाउँछ र लुट्छ। त्यस्तालाई कडाभन्दा कडा कानुन लगाई दण्ड दिनू। तिम्रो राज्यमा आपतकालमा मात्र कसैले मागोस् र हुनेले देओस् तर सकेसम्म भिख माग्ने, लुटेरा नहुन। ती अर्काको कमाइ ठग्ने मात्र हुन्। तिनीहरूले मुलुकको कोषमा वृद्धि गर्ने होइनन्।
भीष्मको आदेश थियो युधिष्ठिरलाई कि हे महाराज, जसले सबैलाई माया गर्छन्, दया गर्छन् र प्रजाको उन्नति र प्रगतिमा सोचिरहेका हुन्छन्, ती मात्र तिम्रो देशमा बसुन्, अरूको अहित गर्नेहरूलाई बेलैमा चिनेर दण्डित गर्नू किनभने तिनले राज्यको बदनाम मात्र गर्नेछन्। जुन राज कर्मचारीले अनुचित रूपमा कर लगाएर वा लगाउन लगाएर जनतालाई दुःख दिन्छन्, तिनलाई तत्कालै चिनेर कडा दण्ड दिनू। अनि अरू असल अधिकारीहरू आउन् र ठिकसँग सम्झाई बुझाई करका दरहरू निर्धारण गरुन्। कुशल कर्मचारीहरू छानेर मात्र कर उठाउन पठाउनू। खेती, गोरक्षा, वाणिज्य तथा यस्तै प्रकारका अन्य व्यवसायीलाई प्रोत्साहित गर्नू, तिनीहरूको बाक्लो बस्ती बनाएर राज्यलाई सम्पन्न गराउनू। अनि मात्र कोष सम्पन्न हुन्छ र कमजोर आर्थिक अवस्था भएकाहरू, विद्यार्थीहरू, ऋषिहरू र गुरुहरूलाई सहयोग गर्न सकिन्छ। यदि बदमासहरूले मुलुकको कोष बढाउने पेसा भएकाहरूलाई दुःख दिएमा राज्यको बदनाम हुन्छ र ती पेसागत मानिसहरू अर्को देशतिर आकर्षित हुनेछन्। त्यसो हुँदा राज्यको पनि बदनाम हुनेछ, राजाको पनि बदनाम हुनेछ र देशको कोष पनि कमजोर हुनेछ।
हे युधिष्ठिर, व्यापारी, उद्योगपति तथा खेती गरेर जनतालाई सेवा गर्नेहरूलाई राजा पुरस्कार दिनुपर्छ र भन्नुपर्छ, हे महानुभावहरू मेरो देशमा बसेर मेरा देशका जनताहरूलाई सीप पनि सिकाउनुहोस् र तपाईँहरू पनि यही देशमा बसेर यो देशलाई समृद्ध बनाउनु होस् र मलाई र मेरा जनता तथा यो देशमाथि कृपा दृष्टि दिनुहोस्। ती सीपयुक्त मानिसहरूलाई मिठो खाना दिएर, राम्रा राम्रा लुगाहरू दिएर अनुरोध गर्नू।
भीष्म भन्छन्; हे भरत नन्दन, धनीहरू नै राज्यका कोषका आधारहरू हुन्। धनवान् पुरुषहरू नै प्राणीहरूमध्ये असल मानिन्छन्। यसका शङ्का नगर्नू। विद्वान, सुरवीर, धनी, धर्मनिष्ठ र स्वामी, तपस्वी, सत्यवादी तथा बुद्धिमान् मानिसहरूले मात्र जनताको रक्षा गर्न सक्छन् भन्ने कुरा बुझ। हे महाराज, सबैलाई प्रेम गर, सत्य, सरलता, क्रोधहीनता, र दयालुपन र सद्धर्मले मात्र जनताको मन जित्न सकिन्छ र राम्रोसँग राज्य गर्न सकिन्छ। यसो हुँदा मात्र तिमीसँग दण्ड धारण गरेर जनतामा राज्य गर्ने क्षमता बढ्नेछ, मित्र, कोश र सुरक्षाका लागि सेनाको सङ्ख्या पनि बढ्नेछ। राज्यको रक्षा पनि हुनेछ र जनतामा राजाका प्रति स्नेह पनि बढ्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?