हुन त विश्वमा नागरिकलाई पूर्ण सन्तुष्ट पार्ने कुनै प्रणाली विकास भएको छैन। हरेक लोकतान्त्रिक वा तानासाही प्रणाली भित्र असन्तुष्ट अथवा फरक मत राख्ने नागरिक हुन्छन् नै। यसलाई लोकतन्त्रको सुन्दरता अथवा मानवीय स्वभावका रूपमा लिइन्छ। तर यसको सिमाना र मात्राका आधारमा प्रणालीको लोकप्रियतामा नागरिकको असन्तुष्टि जोख्नुपर्छ। जुन धेरै हिसाबले नेतृत्वका सन्दर्भमा अनि केही हदसम्म प्रणालीको गुण र दोषमा आधारित रहन्छ।
सन्दर्भ: नेपालको लोकतान्त्रिक पद्धति भित्र राज्य सत्ता सञ्चालन गरिरहेको नेतृत्व माथि बढ्दो असन्तुष्टिको हो। जसको पछिल्लो उदाहरण रवि लामिछाने भएका छन्। अहिलेको प्रतिनिधि सभामा चौथो ठुलो दल भएर पनि प्रभावकारी भूमिका देखाउन नसकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने माथि पोखराको एउटा कार्यक्रममा सहभागीले पोलेको मकैको खोया प्रहार गरे र विरोध जनाए। समाचार अनुसार अमरसिंह चौरको खेल मैदानमा लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरे र उनी कुनै सहकारीबाट ठगिएका पीडित हुन्। लामिछानेले सूर्य दर्शन सहकारीबाट एक करोड लिएको कागज सामाजिक सञ्जालमा सार्वजनिक भएकै दिन, ग्यालेक्सी टेलिभिजनका सञ्चालक ठगीको आरोपमा पक्राउ परे लगत्तै सोही टिभीका संस्थापक मध्यका एक लामिछाने निशानामा परेका हुन्। तर उनले सन्तोष रानाभाट पीडित नभई श्रीमतीले छाडेको आवारा रहेको टिप्पणी गरेका छन्।
यसअघि गएको मङ्सिर २८ गते नेकपा एमालेको ‘मध्य पहाडी सङ्कल्प यात्रा’ का क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली माथि धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा लेगुवाकै महेश राईले मुक्का प्रहार गरे। माथिका यी दुई ताजा सन्दर्भ र घटना चर्चामा रहे पनि नेपाली राजनीतिक इतिहासमा नेतामाथिको आक्रमण कुनै नयाँ होइन। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, सुशील कोइराला, डा. बाबुराम भट्टराई, झलनाथ खनाल जस्ता नेताले जनताको आक्रोश सहित जुत्ता, मुक्का, कुर्सी बोतलको सामना गरिसकेका छन्। तर, वैकल्पिक भनेर उदाएका लामिछाने माथि मकै खाए पछिको जुठो खोया प्रहार हुनु चाहिँ नौलो भयो।
आफ्नै समर्थकको निशाना
नेपालको राजनीतिमा जनताको आक्रोशबाट आक्रमणमा परेकाहरू अधिकांश नेतृत्व तहमा पुगेका नेता छन्। २०७९ मङ्सिर ६ गते चुनावी दौडाहाका क्रममा सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल माथि जुत्ता प्रहार भयो। साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रम सकेर नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा माओवादी निकट एक युवाले दाहाललाई जुत्ता प्रहार गरेका थिए।
यसअघि २०७६ साल फागुन १८ गते काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पनि दाहाल माथि जुत्ता प्रहार भएको थियो। दाहाललाई जुत्ता हान्ने जुम्लाका २२ वर्षीय युवा रतन तिरुवा सशस्त्र युद्धमा होमिएका पूर्व लडाकु थिए। यस अघि पनि नेपाल संवत् ११३३ को अवसरमा माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पनि पदम कुँवर नाम गरेका एक युवाले दाहाललाई झापड हानेका थिए। दाहालले
आफूलाई झापड हान्ने युवकलाई माफी दिएको बताए पनि रतन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २८ हजार धरौटी बुझाएर छुटेका थिए।
२०६९ साउन ३ गते पुनः भृकुटीमण्डप प्लेनममा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सहितका नेताहरूमाथि असन्तुष्ट लडाकुले कुर्सी प्रहार गरे। सार्वजनिक कार्यक्रममा दाहालमाथि झापड हानिँदा अथवा जुत्ता प्रहार हुँदा माओवादी नै सत्तामा थियो।
यस्तै २०६७ माघ ७ गते नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई सुनसरीमा एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले झापड हाने।
झापड खाएको १५ दिनपछि खनाल प्रधानमन्त्री बने। २०६९ असोज १३ गते नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि काठमाडौँको कपनमा आफ्नै कार्यकर्ता नेविसङ्घका प्रवेश बस्नेतले कुर्सी प्रहार गरे। कुर्सीले लागेर कोइरालाको शरीरमा सामान्य चोट लागेको थियो। नेता कोइरालाले पनि आक्रमण गर्ने प्रवेश प्रति उदार बने, ‘आक्रमणकारी’ लाई आफ्नै पहलमा रिहा गराए तथापि प्रवेश बस्नेतलाई काँग्रेस कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए।
पहिलो संविधानसभा चुनावको बेला एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका माओवादी सभासद् झक्कु सुवेदीले २०६९ जेठ २ गते झापड खानुपर्यो। संविधानसभाको बैठक सकेर घर फर्कँदै गर्दा तीनकुने स्थित एक चिया पसलमा दुई जनाको हातबाट झापड खाए तर सुवेदीले पनि उनीहरूलाई माफी दिए। यो तत्कालीन संविधान सभाले समयमै जिम्मेवारी पुरा नगर्दा पोखिएको आक्रोश थियो।
नेपालको संसदीय राजनीति विकृत बन्दै जाँदा बढी रहेको जुत्ता मुक्का र हमलाका शृङ्खला भने २०५१ साल बाटै सुरु भएको हो। त्यसअघि पञ्चायती कालमा समाज यस्तो धेरै खुला थिएन र राजनीतिक घेरा पनि सानो थियो। बदनाम नेताहरू जनताको नजिक पुग्दैनथे। अथवा जनतामा पर्याप्त सूचनाको पहुँच पनि थिएन।
त्यसैले पछिल्लो समय दाश ढुङ्गा काण्डपछि २०५१ सालमा तत्कालीन एमालेको तर्फबाट राष्ट्रिय सभाका सदस्य गोल्छे सार्कीले तत्कालीन कृषि मन्त्री काँग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभामा मलको हाहाकार सम्बन्धी विषयको जवाफ दिएर ड्यासबाट बेन्चमा आउनै लाग्दा चड्कन हानेका थिए। यो घटना निकै चर्चित र विवादित बन्यो।
चड्कन र जुत्ता प्रहार कै शृङ्खला २०६५ ज्येष्ठ १५ गते नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले सामना गर्नु पर्यो। संविधानसभाको पहिलो बैठक बसेकै दिन सुर्खेत क्षेत्र नं. १ बाट विजयी एमालेकी सभासद् कमला शर्माले आफ्ना पति ऋषिप्रसाद शर्माको हत्यामा खड्काकै हात रहेको आरोप लगाउँदै काँग्रेसका सभासद् एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई चप्पल हानिन्।
२०७३ साल मङ्सिर २२ गते तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई माथि पोखरामा जुत्ता प्रहार भयो। पोखराको पृथ्वीनारायण क्याम्पसमा आफूनिकट विद्यार्थी सङ्गठनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरिरहेको बेला, कैलालीका ३४ वर्षीय सञ्जीव भट्टराईले कालो झन्डा देखाएर डाक्टर भट्टराईलाई जुत्ता प्रहार गरेका थिए। भट्टराईले पनि सञ्जीव भट्टराईलाई प्रहरी नियन्त्रणमा नराख्न र चर्चाको विषय नबनाउन आग्रह गर्दै तत्कालै माफी दिए।
नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि पनि २०७४ चैत १ गते नुवाकोटमा बोतल प्रहार भयो। दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा पक्की पुल शिलान्यास गर्न पुगेका काँग्रेसका केन्द्रीय सदस्य महतलाई दुप्चेश्वर–३ का रामहरि खड्काले पानीको बोतल प्रहार गरेका थिए।
२०७९ कार्तिक २२ गते घरदैलोका क्रममा भोट माग्दै हिँडेका नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडालाई पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–४ का पुरुषोत्तम खड्काले दुई झापड हाने।
यस्तै निशानामा राष्ट्रिय मात्र हैन स्थानीय तहका नेताहरू पनि पर्न थालेका छन्। २०७८ असोज ४ गते बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले आफ्नै कार्यकर्ताबाट मुक्का खाए। पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि गणेश पङ्गेनीले मुक्का प्रहार गर्दै हातपात गरेका थिए।
यी माथिका घटना शृङ्खलाले नेपालका सबैजसो पार्टीका शीर्ष नेताहरू आफ्नै कार्यकर्ता माझ नै अलोकप्रिय बन्दै छन् भन्ने सङ्केत गर्छन्। आफ्नै पार्टीका नेता कार्यकर्ताको भरोसा बन्न नसकेको नेतृत्वबाट सिङ्गो राष्ट्रले के अपेक्षा गर्ने ?
नेताहरू पनि कम छैनन्
नेतृत्वबाट नागरिकको धेरै अपेक्षा हुन्छ, त्यो स्वाभाविक पनि हो तर, माग वा अपेक्षा पुरा भएन भन्दैमा कोही कसैलाई हातपात अधिकार संविधानले नागरिकलाई दिएको छैन। अर्कातिर नेतृत्वले पनि जनताको अपेक्षा र मागलाई सम्बोधन गर्न जरुरी छ। तर अहिले यी दुवै कोणबाट नेतृत्व अथवा नागरिक विचलित बन्दै गएको देखिन्छ। विगतका प्रतिनिधिमूलक घटनाबाट पाठ सिकेर अघि बढ्नु पर्ने नेतृत्व तहमा पुगेकाहरू नै यस्तै हातपातका घटनामा उत्रिएका उदाहरण पनि धेरै छन्।
२०७६ साल माघ ८ गते ‘गुन्डा नाइके’ तथा गण्डकी प्रदेश सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हाने। मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले २०७५ साल पुस २९ गते आफ्नै कार्यकक्षमा वन वातावरण पर्यटन तथा उद्योग मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका छन्।
त्यसअघि २०६५ साल असारमा तत्कालीन वन मन्त्री मातृका प्रसाद यादवले ललितपुरको ढुङ्गा खानी सम्बन्धी विवादलाई लिएर ललितपुरका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई ट्वाइलेट थुने। मन्त्रीले कर्मचारीलाई यस्तो दुर्व्यवहार गरेको विरोधमा देशभरका स्थानीय निकायमा काम नै ठप्प भयो।
विश्वव्यापी प्रकोप
जुत्ता अथवा मुक्का प्रहारको घटना शृङ्खला हेर्ने हो भने यो विश्वव्यापी रूपमा अहिले नागरिकले आक्रोश पोख्ने माध्यम जस्तै बनेको छ। सन् २००८ को डिसेम्बरमा इराक भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यु बुसले बगदादमा पत्रकार सम्मेलन गर्दा एक पत्रकारले जुत्ता प्रहार गरेका थिए। सन् २०१२ मा इजिप्ट भ्रमणमा रहेकी तत्कालीन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनमाथि टमाटर र जुत्ता प्रहार भएको छ। फ्रान्सका तत्कालीन राष्ट्रपति म्याक्रोन माथि राष्ट्रपति रहेकै समयमा झापड प्रहार भएको छ। अमेरिका भ्रमणमा रहेको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गाडीमा भारतीयले नै जुत्ता प्रहार गरेका छन्।
राष्ट्रसङ्घ महासभामा भाग लिएर स्वदेश फर्किने क्रममा इरानी राष्ट्रपति हसन रुहानीमाथि अण्डा र जुत्ता प्रहार भएको छ। सन् २०१३ मा पाकिस्तानका तत्कालीन सैनिक शासक परवेज मुर्शरफमाथि बेलायतमा जुत्ता प्रहार भएको छ। पाकिस्तानका तत्कालीन गृहमन्त्री राणा सनाउल्लाह माथि जुत्ता प्रहार गरिएको छ। भारतीय काँग्रेसका नेता राहुल गान्धीले राजनीतिक कार्यक्रमका क्रममा सन् २०१६ मा जुत्ता प्रहार सामना गरेका छन्। दिल्लीका लोकप्रिय मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले जुत्ता प्रहार भोगेका छन्, उनको शरीरमा कालो मसी छ्यापिएको छ।।
नेपालको संविधान २०७२ को भाग ३ धारा १७ को उपधारा २ अन्तर्गत च (१) मा ‘कुनै पनि व्यक्ति हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा संलग्न हुन पाइने छैन’ भनी उल्लेख गरिएको छ। संविधान अनुसार पनि सार्वजनिक व्यक्ति होस् या कोही कसैलाई पनि हिंसा, दुरुत्साहन सार्वजनिक नैतिकता प्रतिकूल कार्य गर्न नहुने उल्लेख हुँदा हुँदै पनि नेताहरू माथि नै हमला बढ्नु आफैँमा चुनौतीपूर्ण प्रश्न हो। तर राजनीतिक अलोकप्रियताका कारण बर्सिएको मुक्का र हमलालाई नेताहरूले आफ्नो छवि सुद्धिकरणको अवसरका रूपमा सामान्यीकृत गरिरहेका छन्। फौजदारी कसुर ऐन अन्तर्गत त्यस्तो कसुर गर्नेलाई कानुनी कारबाही हुने व्यवस्था त छ तर सार्वजनिक व्यक्तिहरूले आजसम्म अधिकांश घटनामा संलग्नलाई सहानुभूति सहित कसुरमा सफाइ दिँदै आएका छन्। अधिकांश नेता माथि हमला गर्नेहरूको एउटै तर्क सुनिन्छ, नेताहरूले राजनीतिको नाममा आफ्नो स्वार्थ मात्रै पूरा गरे जनताको जीवनमा खेलबाड गरे।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
- ओलीको चीन भ्रमण: ऋणको पासो की अनुदानको आशा ?
- सङ्क्रमणकालीन न्यायको प्रश्नमा द्वन्द्व पीडितको शङ्का: हाम्रो घाउ फेरि बल्झिन सक्छ !
- १२ महिनामा प्रचण्ड सरकारको १२ धक्का
- जुर्मुराउदा ती प्रचण्ड र शिथिल यी पुष्पकमल
- बीआरआईको त्रास: श्रीलङ्का र पाकिस्तान बन्ने की इटाली !
- विशेष खोज: शङ्का र स्वार्थमा जेलिँदै एमसीसी परियोजना
- प्रतिशोधको भड्खालोमा जकडिएको चीनको सी–सत्ता
- सीमा अतिक्रमण : कालापानीमा भारत र तातोपानीमा चीनको ज्यादती, भोटेकोशीको बस्ती नै उठ्दै
- हङकङमा प्रजातान्त्रिक योद्धाविरुद्ध तीव्र धरपकड
- छानबिनको राडारमा नपर्ने गणतन्त्रका ‘वाम राजकुमार’हरू