मधेस प्रदेश सरकारले धूमधामका साथ बलिदानी दिवस मनाएको छ । तर मधेस आन्दोलनमा घाइते र साहदात दिएका सहिद परिवारको असन्तुष्टि र आक्रोश पनि त्यतिकै देखियो । मधेस प्रदेश सरकारले धूमधामका साथ शुक्रवार वीरगन्जमा छैटौँ बलिदानी दिवस मनाएको छ । गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा वीरगन्जको नगर सभागृहमा बलिदानी दिवस मनाइएको हो ।
कार्यक्रममा पनि सत्ताधारी सबै दलका मन्त्रीहरूको पनि सहभागिता थियो । मधेस आन्दोलनमा साहदात प्राप्त गरेका ६३ सहिद र एक जना जिउँदो सहिद लगायत ६४ जनालाई तिन लाख सहयोग प्रदान गर्दै कार्यक्रममा सम्मानित गरिएको थियो । सहिदहरूको सम्मानमा आर्थिक सहयोगको रूपमा प्रदेश सहकारले साढे ६ करोड रुपैयाँ खर्च गरेको छ ।
प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई ३/३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । यसका अतिरिक्त सहिद परिवार र घाइतेलाई १/१ थान कम्बल र यातायात खर्च बापत जनही ४ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।
तर मधेस प्रदेश सरकार प्रति घाइते र सहिद परिवारको आशा अपेक्षाको ठुलो चाङ छ । केन्द्र देखि प्रदेश र स्थानीय सरकारमा रहेका मधेसी दलका नेताहरू प्रति आक्रोश पनि त्यतिकै छ । कार्यक्रममा पुगेका पर्सा बगहिका जिउँदो सहिद मुन्सी पटेलले आर्थिक सहयोग भन्दा पनि कुशलता पूर्वक जीवन बिताउन सरकारले स्थायी व्यवस्था गर्नु पर्ने आवश्यकता रहेको बताउँछन् ।उनले भने,‘यो लाख दुई लाखको सहयोग भन्दा पनि हाम्रो जीवन कसरी बित्ने हो ,सरकारले त्यसको व्यवस्था गर्नुपर्दछ । ’
बलिदानी दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनले राज्य प्रणालीमा परिवर्तन ल्याएको बताउनुभयो । देशमा भएका अन्य आन्दोलनहरू केवल सत्ता प्राप्तिका लागि भएको बताउँदै नेता यादवले मधेस आन्दोलन राज्य प्रणाली परिवर्तन सह समान हक अधिकारीको लागी भएको बताउनुभयो । बलिदानी दिवसमा बोल्दै जसपा अध्यक्ष यादवले मधेस आन्दोलनमा सहिद भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने,‘अब फेरि मधेसमा अर्को ठुलो सङ्कट आउन लागेको छ, त्यो सङ्कट भनेको चुरेको उत्खनन हो । यो उत्खननले मधेस नै ध्वस्त हुने भएकाले यसको संरक्षण गर्नुपर्छ ।’
माफियाहरूको चलखेलमा चुरेबाट बालुवा गिट्टी उत्खनन गर्ने खेल भइरहेको छ, जसबाट मधेसमा पानीको मुहान अझ तल घटेर जान्छ । यो भनेको मधेसको हितमा होइन, उहाँले भन्नुभयो,‘यो रोक्नका लागि सडकदेखि सदनसम्म सङ्घर्षको जरुरी छ । त्यो सङ्घर्षको तयारीमा तपाईँहरू बस्नुहोला ।’
कार्यक्रममा सहभागी मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले घाइते र सहदाता परिवारका लागि एउटा कार्ड जारी गर्ने सरकारको तयारी रहेको बताउनुभयो। उनका अनुसार मधेस सरकारबाट जारी यो कार्डले प्रदेशभरिका अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरिन्छ ।
उहाँले भन्नु भयो ,‘ मधेस प्रदेश सरकारले कसैलाई विभेद गरेको छैन , सबैलाई सहिद परिवार र घाइतेहरूलाई जागिरको व्यवस्था गरिन्छ, अन्य सेवा सुविधा पनि दिइन्छ । त्यसका लागि प्रदेश सरकार आफ्नो गृहकार्य सुरु गरिसकेको छ ।’
कार्यक्रममा मधेस आन्दोलनका केही घाइतेहरूले प्रदेश सरकारले आफूहरूलाई विभेद गरेको भन्दै नाराबाजी समेत गरेका थिए । मधेसी सहिद प्रतिष्ठानले तयार पारेको घाइते सूचीमा आफूहरूको नाम नभएको भन्दै उनीहरू मञ्चमै पुगेर विरोध जनाएका थिए ।
दोस्रो मधेस आन्दोलनमा खुट्टामा गोली लागेर घाइते भएका पर्साको कालीकामाई गाउँपालिका १ मुडलीका दिनेश साह कानुले मधेस सरकारले आफु लगायत दर्जनौँ घाइतेलाई विभेद गरेको आरोप लगाउनुभयो । आन्दोलनमा गोली लागेर घाइते भई कष्टकर जीवन यापन गरिरहेको भए पनि मधेस सरकारले घाइतेहरूको सूचीमा आनो नाम नै समावेश नगरेको प्रति उहाँको आक्रोश थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै ,मुख्यमन्त्री र मन्त्रीहरू आसीन मञ्चमै पुगेर माइकमा बोल्दै कानुले भने, ‘मधेसको अधिकारका लागि हामी पनि गोली खायौँ, रगत बगायौँ , राहत र सहयोग दिने बेला नेता र प्रदेश सरकारले नै विभेद गरेको छ ।
कानुन लगायतका घाइतेहरूले विरोध जनाउँदै आक्रोश पोखेपछि मुख्यमन्त्री सरोजकुमार राय यादवले घाइतेको सूचीमा छुटेकाहरूको माग प्रदेश सरकारले सम्बोधन गर्ने आश्वासन दिएपछि अवस्था शान्त भएको थियो ।
मुख्यमन्त्री यादवले भन्नुभयो,‘ घाइतेको प्रमाणपत्र बनाउनका लागि सिडिओ कार्यालयको सिफारिस आवश्यक पर्दैन । घाइते हुँदाका बखत जुन अस्पतालमा उपचार गराएको हो उक्त अस्पतालको पुर्जी पेस गरे सहिद प्रतिष्ठानले घाइतेको प्रमाणपत्र बनाउँछ । त्यस अनुसारको सेवा सुविधा मधेस सरकारले उपलब्ध गराउँछ ।’
मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिद र घाइतेले दिएको बलिदानको सम्मानका लागि प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवसमा आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो दुई तीन लाखले हुन त केही हुने होइन । २५ करोड दिँदा पनि गएको ज्यान फर्केर आउँदैन । तर बलिदानको सम्मानका लागि सहिदका परिवार र घाइतेलाई प्रदेश सरकारले सहयोग गरेको हो ।’
यसअघि प्रदेश सरकारले दिएको रोजगारीबाट छुटेका सहिदका परिवारलाई पनि अब रोजगारी दिने भन्दै उहाँले भन्नुभयो,‘सहिद परिवार र घाइतेका लागि जे जे गर्नुपर्छ त्यो प्रदेश सरकारले गर्छ ।’ उनले मधेसी सहिदका सपना मधेस सरकारले नै साकार पर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रमलाई सङ्घीय सरकारका पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव, प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जय यादव, खेलकुद मन्त्री सुनिता साह, उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन साह कलवार, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरू जर्नादन सिंह क्षेत्री, श्याम पटेल, प्रमोद जयसवाल लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने