नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा नयाँ हिंसा भएको एकै दिनमा ५५ जनाको मृत्यु भएको छ । त्यहाँ मुस्लिम गोठालाहरू र ईसाई कृषक समुदायबीच झडप सुरु भएको हो ।
समुदायका नेताहरूका अनुसार पठारको मङ्गू स्थानीय जिल्लामा मङ्गलबार २४ घन्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर भएको थप आक्रमणमा विद्यालय, पूजा स्थल र घरहरू जलाइयो र लुटपाट गरियो ।
अधिकांश ईसाई रहेको जातीय म्वाघवुल मानिसहरूको सङ्गठन म्वाघवुल विकास सङ्घले फुलानी मुस्लिम गोठालाहरूमाथि क्वाहास्लालेक गाउँमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ । “अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छाडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै गर्न सक्छन्”, सङ्घले भनेको छ ।
मङ्गू टाउन सेन्टर नजिकै र वरपर धेरै आक्रमण भएको छ । मुस्लिम समुदायको सङ्गठन जमाअतु नसरिल इस्लाम (जेएनआई) को स्थानीय च्याप्टरका अध्यक्ष जाफरु मुसाले थप २५ जना मारिएको सूचना दिनुभएको छ । “हाम्रा धेरै मानिस मारिएका छन्, हामीले २५ शव फेला पारेका छौँ, शवहरू यहाँ मस्जिदमा हामीसँग छन्”, उहाँले भन्नुभयो ।
पठार राज्यका जेएनआई सचिव सलिम मुसाले पनि भन्नुभयो, “अहिलेसम्म २५ मुसलमान मारिएको पुष्टि भएको छ ।” नाइजेरियाली रेडक्रसको रिपोर्टमा आक्रमणमा कूल ५५ को मृत्यु र एक सयभन्दा धेरै घाइते भएको उल्लेख छ । प्रहरी र सेनाले हालै भएका झडपहरूमा भएको मृत्युको पुष्टिका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएका छैनन् ।
नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले विस्थापितहरूका लागि मङ्गू सहरमा करिब एक हजार पाँच सय मानिसका लागि दुई वटा शिविर स्थापना गरिएको जानकारी दिनुभयो ।
पठारका गभर्नरले थप अर्को झडपपछि मङ्गलबार कर्फ्यु घोषणा गर्नुभएको थियो । अधिकारीहरूले आफ्ना गाईवस्तु लैजाने एक गोठाला र सडक प्रयोग गर्ने बासिन्दाहरूबीचको विवादका कारण झडप भएको बताएका छन् ।
नाइजेरियाका अधिकांश मुस्लिम उत्तर र मुख्यरूपमा ईसाईहरू दक्षिणको बीच विभाजन रेखामा रहेको पठार अन्तरसाम्प्रदायिक हिंसाको केन्द्र हो । यद्यपि क्रिसमसका क्रममा अधिकांश ईसाई गाउँहरूमा भएको आक्रमणमा करिब दुई सय मानिसको मृत्यु भएपछि तनाव बढेको छ ।
नाइजेरियाको उत्तरपश्चिम तथा उत्तर मध्य राज्यहरूमा झडपहरूको मुख्य कारण घुमन्ते गोठालाहरू र गाउँका किसानबीच जग्गालाई लिएर सामुदायिक तनावले भएको हो । यद्यपि जस्तालाई त्यस्तै भन्दै गरिने प्रतिशोधपूर्ण आक्रमण व्यापक आपराधिकतामा परिवर्तन भएको छ ।
स्थानीयरूपमा डाकुहरू भनेर चिनिने भारी हतियारयुक्त गिरोहले विशेषरूपमा उत्तरपश्चिमी राज्यहरूमा गाउँमाथि धावा बोल्दै लुटपाट गर्छन् र फिरौतीका लागि अपहरण गर्छन् । त्यस्ता आक्रमणबाट स्वयंलाई बचाउनका लागि ग्रामीण बासिन्दाहरू प्राय आत्मरक्षा सतर्क समूह बनाउँछन् ।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको र सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा थप विदेशी लगानी आकर्षित गर्न चाहने राष्ट्रपति बोला अहमद टिनुबुले सुरक्षामा सुधार प्राथमिकतामा परेको बताउनुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को